अपर तामाकोशीसँगै घट्यो आइतबारको सेयर बजार, दिनभरि अपरमा के के भयो ?
काठमाडौं । आइतबार अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्यमा गिरावट आएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कारोबार शुरु भएदेखि निरन्तर बढिरहेको अपरको सेयर मूल्य आइतबार ६.१० प्रतिशतले घटेको छ । गत पुस २९ गतेदेखि कारोबार शुरु भएको उक्त कम्पनीको मूल्य ५ दिनसम्म निरन्तर उच्च मूल्यमा कारोबार भएको थियो । तर आज छैटौँ दिनको उक्त मूल्य वृद्धि थामिएको छ । अघिल्लो कारोबार अर्थात गत बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३११ रुपैयाँ थियो भने आइतबार कम्पनीको सेयर प्रतिकित्ता ३२६ रुपैयाँदेखि कारोबार शुरु भएको थियो । कारोबार शुरु भएको केही समयमै कम्पनीको सेयर मूल्य उच्च अंकले बढेर प्रतिकित्ता ३४२ रुपैयाँ पुगेको थियो । सो समयमा कम्पनीको ३ लाख ११ हजार कित्ता सेयर किनबेच भएको थियो । बजारमा उच्च कारोबार भएपछि त्यसपछिको बजारमा सर्किट ब्रेक लाग्यो । बजारमा सर्किट ब्रेकसँगै सिस्टममा केही समस्या आएको थियो र त्यसको करिब १५ मिनेटमै सेयर कारोबार खुल्यो । सर्किट ब्रेक लागेपछि खुलेको बजारमा भने अपरको मूल्य वृद्धिले गति लिन सकेन र त्यसपछि निरन्तर घट्न थाल्यो । अन्ततः बजार बन्द हुँदा अपर तामाकोशीको सेयर मूल्य ६.११ प्रतिशतले घटेर प्रतिकित्ता २९२ रुपैयाँमा सिमित रहेको छ । कम्पनीको मूल्यमा गिरावट आएता पनि सो दिन सबैभन्दा बढी कारोबार भएको छ । जसको एकैदिन २३ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अपर तामाकोशीको मूल्य घटेसँगै आइतबारको बजार समग्रमा ८.६० अंकले घटेर ११७९.१७ अंकमा झरेको छ । बजारमा कुल १४३ कम्पनीको ३६ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
महानगरीय प्रहरी परिसर टेकुसहित ३ संस्थालाई गर्याे जनता बैंकले सहयोग
काठमाडौं । ‘समुदाय–प्रहरी साझेदारी’कार्यक्रममा जनता बैंकले सचेतना मुलक सामाग्री प्रदान गरिएको छ । महानगरीय प्रहरी परिसर टेकुमा नवनिर्मित नागरिक सहायता कक्षको उद्घाटन कार्यक्रममा बैंकको संस्थागत मामिला तथा सामाजिक उत्तरदायित्व विभाग प्रमुख छविलाल हुमागाई र ब्रान्डिङ प्रमुख शैलेन्द नाथले बैंकको तर्फबाट १० प्रकारका २५हजार थान जानकारी मुलक स्टिकर प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरेका थिए । उक्त हस्तान्तरण गरिएको स्टिकरमा सिधा सम्पर्क गर्न सकिने प्रहरी अधिकारी र कार्यालयको सम्पर्क नम्बरहरु उल्लेख गरिएको छ । प्रहरीका अनुसार महानगरका करिब ४ लाख घरमा यस्तो स्टिकर राखिने कार्यक्रम रहेको जनाएका छन् । त्यस्तै जनता बैंकले चितवनस्थित जमुनापुर हेल्थ सोसाइटीलाई सामुदायिक भवन निर्माण सहयोगार्थ रु. १ लाख ५० हजार र धरानमा अवस्थित असहाय सहयोग परिषदलाई रु. १ लाख सञ्चालन अनुदान प्रदान गरिएको छ । यसैगरी त्रिवेणीघाट पनौतीमा रहेको मैंत्री वृद्धाश्रममा ३६० लिटर क्षमताको सोलार वाटर हिटर जडान गरी हस्तान्तरण गरिएको छ ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था १८ औं वर्षमा
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १८ औं वार्षिकोत्सव काठमाडौंमा सम्पन्न भएकाे छ । लघुवित्त अभियन्ता शंकरमान श्रेष्ठको प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक, लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीको विशेष आतिथ्यमा सम्पन्न समारोहको सभापतित्व संचालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठले गरेका थिए । नेपाल राष्ट्र बैंक, लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक तथा विशेष अतिथि जनकबहादुर अधिकारीले शुभकामना दिनुहुँदै नेपालका लघुवित्त वित्तीय संस्थाहरु मध्येको एक सक्षम संस्था स्वावलम्बनको लघुवित्त क्षेत्रको विकासमा विशिष्ट योगदान रहेको बताए । संचालक समितिका अध्यक्ष तथा समारोहका सभापति रामकुमार श्रेष्ठले आगामी दिनमा लघुवित्तमा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि तथा आयस्तरमा वृद्धि गर्न उनीहरुको लागि सीप लगायत शिक्षा जस्ता विषय समेत संगसंगै लान र उनीहरुलाई सकृय राख्न वित्तीय संस्था अगाडी बढ्ने बताए । प्रमुख कार्यकारी अधिकृत भोजराज वस्यालले वित्तीय संस्थाले सानो सानो कर्जा, बचत, लघुवीमा लगायत वित्तीय साक्षरताको माध्यमबाट उद्यमशीलता विकास गर्दै आर्थिक सामाजिक रुपमा स्वावलम्बी समाजको निर्माण गर्न वित्तीय संस्था अग्रसर रहेको जानकारी दिएका छन् । पहिलैदेखि सेवा प्रदान गर्ने कर्मचारीहरुलाई सम्मान एवंम उक्त कार्यक्रममा उत्कृष्ट शाखा कार्यालय, ग्राहक सदस्य तथा कर्मचारीका छोरा छोरीहरु मध्ये २०७४ सालको एस.इ.इ. परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने १२ जनालाई नगद सहित सम्मान–पत्र प्रदान गरिएको थियो ।हाल सातै प्रदेशका ५७ जिल्लामा रहेका १२८ शाखा तथा ९ इलाका कार्यालय मार्फत २ लाख ३० हजार बढी ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा पुर्याउँदै आएको छ ।
मेलम्चीको ठेक्का ताेड्ने सरकारकाे निर्णय, दुई सातापछि नयाँ प्रक्रिया सुरु हुने
काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ लगायत मुख्य निर्माण गर्ने कम्पनी सीएमसीसँगको ठेक्का तोडिने भएको छ । मेलम्ची खानेपानी आयोजनाको शुक्रबार बसेको बोर्ड बैठकले उक्त ठेक्का तोड्ने निर्णय गर्दै त्यसका लागि औपचारिक सूचना निकाल्ने तयारी गरेको छ । ठेकेदार कम्पनी सीएमसीसँगको औपचारिक संवादका क्रममा उसले आयोजनाको कार्यस्थलमा नफर्कने स्पष्ठ पारेपछि बोर्ड उक्त निर्णयमा पुगेको बोर्डका सदस्य सचिव एवं मेलम्ची खानेपानी कार्यकारी निर्देशक सुर्य कँडेलले जानकारी दिए । ‘ठेक्का तोड्ने प्रक्रियाका लागि आजभोलि नै सूचना प्रकाशन गर्छौ, सूचना प्रकाशन भएको २ साताभित्र पनि ठेकेदार कम्पनी काममा नफर्किए स्वतः ठेक्का प्रक्रिया भंग हुनेगरी सूचना निकाल्दैछौं, त्यसैअनुसार प्रक्रिया अघि बढ्छ ।’ कार्यकारी निर्देशक कँडेलले भने । ठेक्का तोडिए पनि त्यसपछि कुन प्रक्रियाबाट अघि बढ्ने भन्नेबारे बोर्ड केही निर्णयमा नपुगेको बताइएको छ । ‘सीएमसी नआउने नै निश्चित भएपछि ठेक्का तोड्न प्रक्रिया औपचारिक प्रक्रिया थाल्ने निर्णय भएको छ, ठेक्का तोड्ने सूचना प्रकाशनपछि अब आयोजनालाई कसरी अघि बढाउने भन्ने बारेमा निर्णय हुनेछ, सीएमसीले त नआउने भनिसक्यो, अब फेरि बोर्ड बसेर तुरुन्त निर्णय हुन्छ ।’ आयोजना स्रोतले भन्यो । ठेक्का प्रक्रिया तोड्ने निर्णयसँगै डेढ महिनामा काठमाडौंमा पानी आउने प्रक्रिया थप अनिश्चित बनेको छ । खानेपानी मन्त्रालयले भने सीएमसी नआए पनि तोकिएको समयभित्रै काठमाडौंमा पानी ल्याइछाड्ने बताए पनि त्यसमा विश्वास गर्ने आधार देखिँदैन ।
महालक्ष्मी विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा महालक्ष्मी बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् । बैंकले आफ्नो निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्धारा सेवा प्र्रणाली मार्फत निर्जिवन बीमा सेवा उपलब्ध गराउने भएको छ । यस सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका मुलुक भरका शाखा /उपशाखा तथा एक्स्टन्शन काउण्टर र कार्यालय मार्फत महालक्ष्मी विकास बैंकका ग्राहकहरुले बैंकको शाखाहरुबाट छिटो छरितो तथा सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमाशुल्क भुक्तानी गर्न र दावी भुक्तानी रकम प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।
चितवनकाे भरतपुरमा वोमी माइक्रोफाइनान्सकाे वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले नेशनल बैंकिङ्ग इन्स्टिच्यूटसँग वित्तीय साक्षरता सम्वन्धी कार्यक्रम सम्पन्न भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका स्थित मोहन माध्यमिक विद्यालयमा एक दिने वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न गरेको छ । नेशनल बैंकिङ्ग इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले ५६ जना सदस्य र स्थानिय बासिन्दाको सहभागितामा उक्त प्रशिक्षण तालिममा प्रदान गरेका छन् । वित्तीय साक्षरताको महत्ववारे संस्थाका नायव महा प्रबन्धक रविन्द्र तिमल्सेनाले तथा संस्थाको पहुँच एवं कार्यक्रम विस्तार सम्बन्धमा लेखा प्रमुख हरीप्रसाद सिग्देलले प्रष्ट पारेका छन् ।
खानी तथा भू–गर्भ विभागले शुरु गर्यो चार जिल्लाको भौगर्भिक अध्ययन
काठमाडौं । खानी तथा भू–गर्भ विभागले चार जिल्लाको भौगर्भिक नक्साङ्कन लिने काम शुरु गरेको छ । विभागका प्रवक्ता कृष्णदेव झाले चार जिल्लाको भू–वैज्ञानिक अध्ययन तथा भू–गर्भको बारेमा अध्ययनको काम भइरहेको जानकारी दिए । “भौगर्भिक अध्ययन भएपछि मात्र के कस्ता खानी सम्भावना छन् वा के कस्ता संरचना निर्माण गर्न सकिन्छ भन्ने बारेमा जानकारी पाउन सकिन्छ”–उनले भने । भू–वैज्ञानिक अध्ययन एवं अनुसन्धान गरी देशको भौगर्भिक तथ्यसम्बन्धी ज्ञान प्राप्त गर्ने उद्देश्यले स्थापना भएको विभागले धादिङ, गोरखा, तनहुँ र चितवनको भौगर्भिक अध्ययन लिने काम शुरु गरेको हो । उक्त क्षेत्र भूकम्प धेरै जाने जिल्लामा समेत पर्ने गर्दछन् । यसैगरी, विभागले मकवानपुरको किट भञ्याङमा भू–भौतिक सर्वेको कामसमेत गरिरहेको छ । प्रवक्ता झाका अनुसार खोटाङमा चुनढुङ्गा अन्वेषणका लागि सर्वेक्षण र ड्रिलिङ कार्य सम्पन्न भइसकेको छ भने महोत्तरीको जलेश्वरमा भने भू–इन्जिनीयरिङ कार्य सम्पन्न भएको छ ।
उपत्यकामा २१ हजार सिसी क्यामरा आवश्यक, ‘त्यसपछि मात्रै उपत्यका पूर्णरूपमा सुरक्षित’
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रको सुरक्षाका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको छ ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययनअनुसार काठमाडौँको नौ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितपुरको ६ हजार ३३९ स्थानमा क्यामरा राख्नुपर्ने देखिएको हो । कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री उपत्यकामा एउटा व्यक्ति पूर्णरूपमा सुरक्षित रहन हजारौँ क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् । “अहिले तत्काल सम्भव छैन, लामो समयमा पछि उक्त क्यामरा जडान गरे उपत्यका पूर्णरूपमा सुरक्षित हुन्छ”, उनले भने । एउटा व्यक्ति राज्यको निगरानीमा हरदम रहनका लागि उक्त सिसी क्यामरा चाहिने उनको भनाइ छ । कार्यालयले गरेको अध्ययनअनुसार नै सिसी क्यामरा जडान भए उपत्यकामा प्रहरी जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिँदैन । हाल काठमाडौँ उपत्यकामा ५२९ सिसी क्यामरा रहेका छन् । जसमध्ये ४६० क्यामरा चालू अवस्थामा छन् । काठमाडौँमा ४०३, ललितपुरमा ३३ र भक्तपुर २४ क्यामरा रहेका छन् । प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न स्थानीय तहसँग समन्वय गरी तत्काल आवश्यक परेका स्थानमा सिसी क्यामरा जडानको कामसमेत शुरु गरेको छ । उपत्यकामा हाल २१ स्थानीय तह रहेका छन् । हरेक स्थानीय तहमा प्रहरी कार्यालयसमेत स्थापना भइसकेको छ । यस्तै, उपत्यकामा हुने अपराधका घटनालाई तत्काल सम्बोधन गर्नका लागि ८१ स्थानमा कन्ट्रोल रुम भेइकल (सिआरभी) भेइकल राखिएको छ । उक्त सिआरभी भेइकलले घटना घट्न नदिन र घटना घटिहाल्यो भने पनि तत्काल घटनास्थलमा पुगेर अनुसन्धान तथा दोषीलाई पक्रने काम गरिरहेको छ । कार्यालयका अनुसार काठमाडौँमा ५४, भक्तपुरमा ११ र ललितपुरमा १६ सिआरबी भेइकल राख्ने व्यवस्था गरिए पनि हाल काठमाडौँमा ४५, भक्तपुरमा ११ र ललितपुरमा १५ सिआरभी भेइकल रहेका छन् । काठमाडौँ उपत्यकामा विसं २०६३ देखि सिआरभी भेइकलबाट सुरक्षा दिन थालिएको हो । जनसङ्ख्या वृद्धिसँगै थप ८१ स्थानमा सिआरभी भेइकल थप्नुपर्ने देखिन्छ । कार्यालयले गरेको अध्ययनमा काठमाडौँमा ४९, भक्तपुरमा १० र ललितपुरमा २२ स्थानमा सिआरभी भेइकल आवश्यक देखिएको हो । काठमाडौँ उपत्यकामा हाल १८ वृत्त र तीन परिसरबाट मुद्दा चल्दै आएको छ । त्यसबाहेक कार्यालयदेखि चौकीसम्म १६७ एकाइबाट सुरक्षा प्रदान गर्दै आइरहेको छ । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह उपत्यकाको १८ स्थानबाट प्रहरी कार्यालय थप गर्न माग आएको बताउँछन् । “काठमाडौँ चार, ललितपुर नौ र भक्तपुरबाट चार स्थानमा प्रहरी कार्यालय थप गर्न माग आइरहेको छ”, उनको भनिन् । मुख्य शहरलाई केन्द्रित गरेर सुरक्षा योजना बनाए पनि पछिल्लो समय भएको बस्ती विकासका कारण गाउँगाउँमा समेत प्रहरी कार्यालय स्थापना गर्नुपर्ने देखिन्छ । काठमाडौँमा ११ हजार ३१९ प्रहरी अधिकृत तथा जवानको दरबन्दी भए पनि हाल नौ हजार ३९८ कार्यरत रहेको कार्यालयले जनाएको छ । रासस