काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघको नेतृत्वमा चीन काउन्सिल फर द प्रोमोसन अफ इन्टरनेशनल ट्रेड(सीसीपीआईटी हेडक्वाटरी)का उपाध्यक्ष झाङ्ग सेनफेङ्गको नेतृत्वमा नेपाल भ्रमणमा आएका ३० सदस्यीय व्यापारिक प्रतिनिधि मण्डलसंग नेपाल चीन उद्योग वाणिज्य संघले राजधानीमा ट्रेड एण्ड इन्भेस्टमेन्ट इन नेपाल विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना सम्पन्न भएको छ ।
सीसीपीआईटी तथा नेपाल चीन उद्योग वाणिज्य संघवीच संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं विविधिकरण, व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान साथै आर्थिक, व्यापारिक तथा पर्यटन सम्बन्ध विस्तारका लागि दुवै मुलुकहरुमा हुने गोष्ठी, सभा, सेमिनारहरु आदि कार्यक्रमहरुमा सहभागि हुन एक आपसमा सहयोग गरी सन् २००९ मा एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष राजेश काजी श्रेष्ठले दुई संस्थाबीच घनिष्ट सम्बन्ध रहेको चर्चा गर्नु हुँदै यस प्रतिनिधि मण्डलले दुई देशबीच विद्यमान सम्भावनाहरु पहिचान तथा लगानीका लागि अझ नजिक ल्याएको कुरा बताएका छन् । संघले हालसम्म सीसीपीआईटी अन्तरगर्तका ३० वटा सीसीपीआईटी सब काउन्सिलसँग समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सीसीपीआईटीका उपाध्यक्ष झाङ्ग सेनफेङ्गले हाल प्रतिनिधि मण्डलमा रेल्वे, प्रविधी, टेलि कम्युनीकेसन, कन्स्ट्रक्सन, कषि, इन्जीनिएरिङ आदि क्षेत्रका लगानीकर्ताहरु संलग्न रहेको जानकारी दिएका थिए । कतिपय व्यापारीहरुले नेपालमा लगानी गरिसकेको र कतिपय लगानीका लागि नेपाल आएको कुरा बताए ।
कार्यक्रममा संघका पर्यटन समितिका संयोजक विक्रम पाण्डेले नेपालमा पर्यटन संभावना तथा विकासका बारे जानकारी दिएका छन् । साथै हवाइ क्षेत्र, रेल्वे, कृषि आदि क्षेत्रको सम्भावनाबारे समेत नेपाली व्यापारीहरुले प्रतिनिधि मण्डललाई जानकारी गराइयो । कार्यक्रममा विभिन्न नेपाली उद्योगी, व्यापारीहरुको समेत उपस्थिति रहेको थियो ।