अपर तामाकोशीको मूल्य निरन्तर घट्दै, बजारलाई समेत नकारात्मक प्रभाव
काठमाडौं । अपर तामाकोशीकाे मूल्य घट्ने क्रम आज पनि जारी छ । आइतबार ३४२ रुपैंयासम्म पुगेको अपर तामाकोशीको शेयरले बजार बन्द हुने बेलामा करिब १० प्रतिशतकै क्षति व्यहोरेको थियो । सोमबार पनि त्यो क्रमलाई निरन्तरता दिँदा अपर तामाकोशीको शेयर मूल्य आज पनि करिब १० प्रतिशतले घट्दै २६३ रुपैंयामा झरेको छ । अपरको शेयर आज १० करोड ९१ लाख १८ हजार बराबरको कारोबार हुँदा ४ लाख ३ हजार ८०० कित्ता शेयर कारोबार भएको छ । आज बजारमा ३६ करोड ७७ लाख रुपैंया बराबरको कारोबार हुँदा १२ लाख ६५ हजार ७८६ कित्ता शेयर खरिदबिक्री भएका छन् । बजार परिसूचक भने १०.८६ अंकले घटेको छ ।
कादुरी एग्रिकल्चरलको लगानीमा रुकुमको भूमे गाँउ झिलिमिली
काठमाडौं । रुकुम जिल्लाको भूमे गाउँपालिकास्थित लुकुम खोला (सिसाघारी)लघुजलविद्युत् आयोजनाले गाउँपालिकाका ५९० घरलाई झिलिमिली बनाएको छ । कादुरी एग्रिकल्चरल एण्ड एशोसिएशन ब्रिटिस गोर्खाजले उक्त विद्युत् आयोजना निर्माण गरेको हो । निर्माणपछि १३५ किलोवाट विद्युत् उत्पादन क्षमताको आयोजना स्थानीयवासीलाई हस्तान्तरण गरिएको हो । आयोजनाबाट गाउँपालिकाका वडा नं ३ र ४ तथा वडा नं ६ को सीमा, काँडा, महत गाउँमा विद्युत् सुविधा पुगेको छ । यो आयोजनासहित गाउँपालिकामा अहिले ११ वटा विद्युत् आयोजना छन् । नौ वटा वडा रहेको यस गाउँपालिकामा रहेका ती आयोजनाबाट ४५० दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भइरहेको छ । केन्द्रीय प्रशारण नपुगेपनि लघु जलविद्युत् आयोजनामार्फत भए पनि तीन हजार ५३८ घरधुरीमध्ये करीब ७५ प्रतिशत क्षेत्रमा विद्युतीकरण भएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरको भनाई रहेको छ । उनले गाउँपालिका–४ को तल्लो साकिम, वडा नं ५ को माथिल्लो साकिम र डालिबाङ, वडा नं– ६ को खाम्दै र तमारी तथा वडा नं ८ को पोखरापाटा र नाम्पुमा विद्युतीकरण हुन बाँकी रहेको बताएका छन् । रासस
स्मार्ट बन्दै ९११ सामुदायिक विद्यालय, दूरसञ्चार प्राधिकरण मार्फत डेढ अर्ब खर्च हुने
काठमाडौं । सरकारले ९११ वटा सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयको रुपमा विकास गर्ने भएको छ । कम्युटरको माध्यमबाट शिक्षा प्रदान गर्नका लागि सरकारले सामुदायिक विद्यालयहरुलाई प्राविधिक सहयोग गर्ने भएको हो । सरकारले दूरसञ्चार प्राधिकरण मार्फत ९११ विद्यालय छनोटको तयारी शुरु गरेको हो । प्राधिकरणले विद्यालयहरुमा २४ वटा कम्युटर, प्रोजेक्टर साउण्ड सिस्टम र निःशुल्क इन्टरनेटको सुविधा प्रदान गर्ने भएको हो । यसको लागि प्राधिकरणले विद्यालय छनोटको प्रक्रिया अघि बढाएको छ । माग गरिएको आवेदनमा २ हजार भन्दा बढी विद्यालय सहभागी भएको प्राधिकरणका उपनिर्देशक प्रदीप पौडेलले बताए । उनका अनुसार हाल मापदण्ड बनाएर विद्यालय छनोटको काम भइरहेको छ । प्रदेश नम्बर २, ६, र ७ नम्बर प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा ६ वटा विद्यालय छनोट गरिनेछ भने प्रदेश नम्बर १, ३, ४ र ५ मा ४ वटा विद्यालय छनोट गरिनेछ । यसरी छनोट गरिएको विद्यालयलाई करिब १५ देखि २० लाख रूपैयाँ बराबरको प्राविधिक सामाग्री प्रदान गरिनेछ । विद्यालयले कम्युटर साइन्स पढाउने जनशक्ति भने आफैं प्रदान गर्नुपर्नेछ । यी जनशक्तिलाई तालिम भने प्राधिकरणले तालिम प्रदान गर्नेछ । विद्यालय छनोट गर्दा विद्यार्थी संख्या, पिछडिएको क्षेत्र, दलित जनजाति विद्यार्थीको बाहुल्यातालाई प्रथामिकतामा राखिने छ । सामाग्री खरिद गर्नका लागि प्राधिकरणले कार्यविधि स्वीकृत गरिसकेको छ । अबको ४५ दिनभित्र खरिद प्रक्रिया अघि बढाउने प्राधिकरणले जनाएको छ । यसको लागि करिब डेढ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसअघि प्रत्येक प्रदेशको २ जिल्लाका विद्यालयलाई २-२ वटा कम्युटर वितरण गर्ने कार्यक्रम खारेज गरी यो कार्यक्रम लागू गरिएको हो । सञ्चार तथा सूचना मन्त्री गोकुल बास्कोटाले २ कम्प्युटर वितरण कार्यक्रम खारेज गरी २४ कम्युटर प्रदान गर्ने निर्णय गरेका हुन् । सामुदायिक विद्यालयहरुलाई स्मार्ट विद्यालय बनाउनका लागी सो कार्यक्रम ल्याइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले १ वर्षभित्र नै सबै विद्यालयहरुमा सामाग्री पुर्याउने तयारी गरेको छ ।
चीनको अर्थतन्त्रको गति २८ वर्ष यताकै न्यून, अमेरिकासँगको व्यापार युद्धको असर
बेइजिङ । चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको चीनको आधिकारिक तथ्याङ्कमा उल्लेख छ । ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको हो । राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) ले गत वर्ष सन् २०१८ मा आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने अनुमान गरिएकामा समग्र तथ्याङ्क विश्लेषण गर्दा त्यस्तो आर्थिक वृद्धिदर ६.६ प्रतिशत भएको जनाएको छ । एनबीएसका अनुसार सन् २०१८ का अन्तिम तीन महिनामा आर्थिक वृद्धिदरमा अनपेक्षित रुपमा कमी आएको छ । अर्थविज्ञहरुले अमेरिका–चीनबीचको व्यापार तनाब कम नभए सन् २०१९ मा विश्व आर्थिक वृद्धिमै मन्दी आउन सक्ने अनुमान गरिरहेका छन् । “वित्तीय जोखिम रोकथाम गर्ने, लक्षित गरिबी निवारण गर्ने तथा प्रदूषण नियन्त्रण गर्ने कार्यमा निकै प्रगति भएको छ,” एनबीएसका आयुक्त निङ जिझेले बताए । चिनीया प्रधानमन्त्री लि केक्वाङले गत साता चीनको आर्थिक वृद्धिदरमा देखिएको समस्याप्रति सम्बोधन गर्दै चिनीया अर्थतन्त्रलाई कुनै पनि परिस्थितिमा कमजोर हुन नदिइने दृढता व्यक्त गरे । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीचको व्यापारिक तनाब तीन महिनाका लागि विश्राम दिन र व्यापारमा देखिएका समस्याबारे सार्थक सहमति खोज्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सहमति भएको थियो । दुई नेताबीचको सहमतिसँगै दुई देशीय व्यापार वार्ता शुरु भएका छन् । पहिलो चरणको वार्ता बेइजिङमा सम्पन्न भइसकेको छ भने अर्को साता चिनीया उपप्रधानमन्त्रीको नेतृत्वमा एक टोली वासिङटन भ्रमणमा जाँदैछ । चीनको पूर्वाधार लगानीमा पनि कमी आएको छ । अघिल्लो वर्ष पूर्वाधारका क्षेत्रमा १९ प्रतिशत रहेको लगानी गत वर्ष सन् २०१८ मा ३.८ प्रतिशतले मात्र वृद्धि भएको छ । चीनको अमेरिकातर्फको निर्यात र विश्वव्यापी व्यापारमा पनि गतवर्ष डिसेम्बरमा कमी आएको छ । प्रधानमन्त्री लीले गतसाता चीनको व्यापक बजारका कारण उपभोगमा वृद्धि हुने बताउनुभएको थियो, तर तथ्याङ्कहरु भिन्न रुपमा देखिएका छन् । गतवर्ष हरेक महिना समग्र ऋण प्रवाहको वृद्धि खुम्चिएको थियो । “ऋणको वृद्धिमा आएको मन्दीले आर्थिक वृद्धिमा पनि समस्या निम्त्याएको छ,” क्यापिटल इकनमिक्सका अर्थशास्त्री मार्क विलियम्सले बताए । ऋण प्रवाहमा भएका कडाईले गतवर्ष कारको बिक्रीमा कमी आएको थियो । यो गत २० वर्ष यता सबैभन्दा प्रभावित वर्ष थियो । अघिल्लो वर्ष १०.२ प्रतिशत रहेको खुद्रा बिक्रीमा पनि ९ प्रतिशतले कमी आएको छ । डिसेम्बरमा बिक्रीमा ८.२ प्रतिशतको झिनो वृद्धि भएको थियो । कारखानाको उत्पादनमा समेत सन् २०१७ को ६.६ प्रतिशतबाट घटी भई गतवर्ष ६.२ प्रतिशत कायम भएको छ । विज्ञहरुले चिनीया सरकारी निकायले समग्रमा राम्रो विवरण सार्वजनिक गरेको बताएका छन् । चीन र विदेशमा रहेका धेरै अर्थशास्त्रीले चिनीया सरकारी विवरणमा तोडमरोड गरिएको आरोप लगाएका छन् । अमेरिकास्थित कन्फरेन्स बोर्डले सन् २०१८ मा चीनको आर्थिक वृद्धि ४.१ प्रतिशतको हाराहारीमा मात्र रहेको दाबी गरेको छ । तर, चीनको आधिकारिक निकायले सन् २०१७ को आर्थिक वृद्धिदरलाई ६.९ प्रतिशतबाट घटाई ६.८ प्रतिशत कायम गरेको छ । रासस/एएफपी
गुहेश्वरीले भैरहवामा खोल्यो ११ औं शाखा
काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले भैरहवा, रुपन्देहीमा ११ औं शाखा शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोककुमार पौडेलले एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् । संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठ, पूर्व अध्यक्ष राजेशलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको कार्यक्रममा उपस्थिति रहेको थियो । चाँडै नै बुटवल रुपन्देहीमा नै १२ औं शाखा विस्तार हुने संस्थाद्वारा प्रेस विज्ञप्ती मार्फत जनाइएको छ । प्रधान कार्यालय हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरु काठमाडौको चावहिल, चुच्चेपाटी, अजरअमर रोड, हेटौँडा, आदर्श नगर, वीरगञ्ज, चारआली, विर्तामोड, थानारोड, दमक, कलैया बजार, बारा, मेनरोड, जीतपुर, जनकपुर, धनुषा र नारायणगढ चितवनमा रहेको छ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले ०७५ पौष मसान्तसम्म निक्षेप संकलन ३ अर्ब ३० करोड तथा कर्जा २ अर्ब ९० करोड प्रवाह गरी ५ करोड २६ लाख संचालन मुनाफा गरेको संस्थाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा १५ करोड ९७ लाख रहेको छ । बैकिङ्ग सेवामा ATM सेवा, SMS Banking सेवा, Internet Banking सेवा, ECC सेवा, IPS सेवा, Safe Deposit Locker सुविधा विभिन्न विप्रेशन (Remittance) सेवा तथा DP सेवा र C-ASBA सेवा साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप विमा सेवा दिइदै आएको छ ।
स्ट्याण्डर्ड चार्टर्डको सिइओमा दस्तिदार नियुक्त
काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड(एससीबी नेपाल) मा नयाँ प्रमुख कार्यकारी अधिकृत(सिइओ)का रुपमा अनिरभन घोष दस्तिदार नियुक्त भएका छन् । बैंकिङ क्षेत्रका २५ वर्षको अनुभव भएका भारतीय नागरिक तस्तिदारलाई बैंकको सञ्चालक समितिको माघ ७ गते बसेको बैठकले सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । ब्रुनाईका प्रमुख कार्यकारी रहेका दस्तिदारलाई चार्टर्ड नेपालको सिइओ नियुक्त गर्ने निर्णय गरिएको हो । जोसेफ सिल्भानुसलाई चार्टर्ड समूहले फिर्ता बोलाएपछि नयाँ सिइओ नियुक्त गरिएको हो । नयाँ सिइओको कार्यकाल फेब्रुअरी १५ देखि शुरु हुने कम्पनी सचिव बिमल सिंहले जनाएका छन् ।
तेह्रथुमको लम्बु खोलामा मोटरेबल पुल निर्माण सम्पन्न
काठमाडौं । तेह्रथुमको म्याङलुङ–ओख्रे–शुक्रबारे सडकखण्डअन्तर्गत लम्बु खोलामा मोटरेबल पुलको निर्माण कार्य सम्पन्न भएको छ । पुल निर्माण सम्पन्न भएकाले केही साताभित्रै उद्घाटन गरी यातायात सञ्चालनमा ल्याउने तयारी रहेको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले जानकारी दिएका छन् । रु पाँच करोड ९८ लाख ४७ हजार २६१ मा कामको जिम्मा लिएको कम्पनीले निर्धारित म्यादभन्दा ढिला गरी भए पनि पुल निर्माणको काम सकेको हो । ४८ मिटर लम्बाइ र छ मिटर चौडाइ रहने उक्त पुल स्टिल प्लेटमाथि आरसिसी स्ल्याब लगाएर बनाइएको छ । पुल निर्माणको काम सम्पन्न भएको पुलमा कार्यरत इञ्जिनीयर अमरेन्द्र चौधरीले बताएका छन् । तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको सपना निर्माण सेवालाई दिएको थियो । पुल बनेसँगै वारिपारिका सडक स्तरोन्नतिको कामसमेत अघि बढ्ने भएको छ । छथर गाउँपालिका क्षेत्रको सडक स्तरोन्नति गरी अबलगत्तै म्याङलुङदेखि छथर गाउँपालिकासम्म सिधा यातायात सञ्चालन गर्ने तयारी रहेको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूको भनाइ रहेको छ । रासस
विषादी खरिदमा ९२ करोड नेपाली रुपैयाँ बिदेशियो, आयात घट्दो क्रममा !
काठमाडौँ । स्वास्थ्यलाई प्रतिकूल असर पर्ने रासायनिक विषादी आयात हुँदा गत आर्थिक वर्ष २०७४/०७५ मा ९२ करोड नेपाली रुपैयाँ विदेशिएको छ । तर, अघिल्लो वर्षको तुलनामा विषादी आयात घटेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा १ अर्ब ३३ लाख १२ हजार ९१७ रुपैयाँको विषादी नेपाल आएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा ९२ करोड ४५ लाख ३५ हजार ६२२ रुपैयाँको विषादी भित्रिएको थियो । दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा विषादी आयात ७८ करोड ७७ लाख ७ हजार २९५ रुपैयाँले घटेको हो । नेपालमा नै विषादी कारखानाबाट हुने उत्पादन बढेको र विषादीको प्रयोग घटाउनु पर्छ भन्ने जनचेतना बृद्धि हुँदै जानु आयात घट्नुको कारण भएको बताइएको छ । आर्थिक वर्ष २०७४/०७५ मा नेपालमा अरु देशको तुलनामा सबैभन्दा धेरै भारतबाट विषादी भित्रने गरेको छ । भारतबाट ८५ करोड ७९ लाख ९३ हजार ६७८ रुपैयाँको २९ लाख ५१ हजार ७०४ केजी विषादी आयात भएको छ । त्यसैगरी चीनबाट ५ करोड ६६ लाख ४२ हजार ६०३ रुपैयाँको ९३ हजार ८९३ केजी, उतर कोरियाबाट ५७ लाख २४ हजार ५७२ रुपैयाँको २ हजार ३९ केजी, साउदी अरवबाट ५ करोड १६ लाख ८९ हजार ९७८ रुपैयाँको ३८७ केजी, थाइल्याडबाट १२ लाख ११ हजार ९२३ रुपैयाँको २५० केजी र बेलायतबाट १२ लाख ६५ हजार ९२ रुपैयाँको १५० केजी विषादी नेपाल आएको थियो । यसैगरी, आर्थिक वर्ष २०७३/०७४ मा १ अर्ब ३३ लाख १२ हजार ९१७ रुपैयाँको विषादी नेपालमा आएको छ । अघिल्लो आर्थिक वर्षमा पनि सबै भन्दा धेरै भारतबाट नै विषादी नेपालमा आयात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यसरी नेपालमा भित्रिएका विषादी तरकारी र फलफूल बालीलाई किराबाट जोगाउनका लागि प्रयोग गरिन्छ । बी एण्ड बी अस्पतालका डा. प्रकाशराज न्यौपानेले नेपालमा विषादीको प्रयोगले बिकराल रुप लिइरहेको बताए । कृषि उपजलाई चाँडै उत्पादन गर्न र हेर्दा राम्रो देखाउनका लागि पनि विषादी प्रयोग गर्ने गरिएको उनले बताए । तरकारी तथा फलफूलमा गलत तरिकाले जथाभावी विषादी प्रयोग भइरहेको उनले बताए । औषधी बेच्न लाइसेन्स चाहिने, तर विषादी बेच्न सबैले पाउने भएकाले पनि जथाभावि प्रयोग भैरहेको डा. न्यौपानेले बताए ।