
काठमाडौँ । स्वास्थ्यलाई प्रतिकूल असर पर्ने रासायनिक विषादी आयात हुँदा गत आर्थिक वर्ष २०७४/०७५ मा ९२ करोड नेपाली रुपैयाँ विदेशिएको छ । तर, अघिल्लो वर्षको तुलनामा विषादी आयात घटेको छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा १ अर्ब ३३ लाख १२ हजार ९१७ रुपैयाँको विषादी नेपाल आएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा ९२ करोड ४५ लाख ३५ हजार ६२२ रुपैयाँको विषादी भित्रिएको थियो ।
दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा विषादी आयात ७८ करोड ७७ लाख ७ हजार २९५ रुपैयाँले घटेको हो । नेपालमा नै विषादी कारखानाबाट हुने उत्पादन बढेको र विषादीको प्रयोग घटाउनु पर्छ भन्ने जनचेतना बृद्धि हुँदै जानु आयात घट्नुको कारण भएको बताइएको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा नेपालमा अरु देशको तुलनामा सबैभन्दा धेरै भारतबाट विषादी भित्रने गरेको छ । भारतबाट ८५ करोड ७९ लाख ९३ हजार ६७८ रुपैयाँको २९ लाख ५१ हजार ७०४ केजी विषादी आयात भएको छ ।
त्यसैगरी चीनबाट ५ करोड ६६ लाख ४२ हजार ६०३ रुपैयाँको ९३ हजार ८९३ केजी, उतर कोरियाबाट ५७ लाख २४ हजार ५७२ रुपैयाँको २ हजार ३९ केजी, साउदी अरवबाट ५ करोड १६ लाख ८९ हजार ९७८ रुपैयाँको ३८७ केजी, थाइल्याडबाट १२ लाख ११ हजार ९२३ रुपैयाँको २५० केजी र बेलायतबाट १२ लाख ६५ हजार ९२ रुपैयाँको १५० केजी विषादी नेपाल आएको थियो ।
यसैगरी, आर्थिक वर्ष २०७३/०७४ मा १ अर्ब ३३ लाख १२ हजार ९१७ रुपैयाँको विषादी नेपालमा आएको छ । अघिल्लो आर्थिक वर्षमा पनि सबै भन्दा धेरै भारतबाट नै विषादी नेपालमा आयात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यसरी नेपालमा भित्रिएका विषादी तरकारी र फलफूल बालीलाई किराबाट जोगाउनका लागि प्रयोग गरिन्छ ।
बी एण्ड बी अस्पतालका डा. प्रकाशराज न्यौपानेले नेपालमा विषादीको प्रयोगले बिकराल रुप लिइरहेको बताए । कृषि उपजलाई चाँडै उत्पादन गर्न र हेर्दा राम्रो देखाउनका लागि पनि विषादी प्रयोग गर्ने गरिएको उनले बताए ।
तरकारी तथा फलफूलमा गलत तरिकाले जथाभावी विषादी प्रयोग भइरहेको उनले बताए । औषधी बेच्न लाइसेन्स चाहिने, तर विषादी बेच्न सबैले पाउने भएकाले पनि जथाभावि प्रयोग भैरहेको डा. न्यौपानेले बताए ।