पिपुल्स हाइड्रोपावरका सेयरधनीले ३० प्रतिशत सेयर बेच्ने
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका एक आधारभूत सेयरधनीले आफ्नो ३० प्रतिशत सेयर बिक्री गर्न चाहेका छन् । कम्पनीका अनुसार आधारभूत सेयरधनी क्लिन इनर्जी कन्सल्टेन्ट्स प्रालिले आफूसँग रहेको सेयरमध्ये ३० प्रतिशत बिक्री गर्न लागेको हो । कम्पनीमा क्लिन इनर्जी कन्सल्टेन्ट्सको कुल ३ लाख ४५ हजार कित्ता सेयर रहेको छ । सोही सेयरको ३० प्रतिशत बिक्री गर्ने जानकारी कम्पनीलाई गराइएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार उक्त जानकारी सार्वजनिक गरेको जनाएको छ । ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहने आधारभूत सेयरधनीले बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।
प्रधानमन्त्री राहत कोषमा नेपाली कांग्रेसको १ करोड
काठमाडौं । नेपाली कांग्रेसले बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ । सोमबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर नेपाली कांग्रेसले प्रधानमन्त्री राहत कोषका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको तर्फबाट एक करोड रुपैयाँको चेक हस्तान्तरण गरे । पार्टीको तर्फबाट चेक हस्तान्तरण गर्न महामन्त्री पौडेल, कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरू अर्थ मन्त्रालय आएका थिए । केही दिनअघि रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी, त्रिशूलीलगायतका नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति गरेको छ । बाढीका कारण कैयौं परिवार विस्थापित हुनुका साथै सडक, पुल, विद्युत्, आवासलगायतका भौतिक संरचनामा व्यापक क्षति पुगेको छ । रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले विपद्को समयमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित आवासको व्यवस्था गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सरकारलाई आर्थिक सहयोग गरिएको बताए । उनले संकटको अवस्थामा नेपाली कांग्रेस बाढीपीडित नागरिकको साथमा रहेको उल्लेख गर्दै उद्धार, राहत र पुनस्र्थापनाका काममा सरकारलाई आवश्यक सहयोग गर्न पार्टी प्रतिबद्ध रहेको बताए । पौडेलले बाढीपहिरोका कारण सुरुङमार्गलगायत विभिन्न स्थानमा फसेका तथा अलपत्र परेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति समेत सरकारको ध्यानाकर्षणसमेत गराए । ‘सुरुङमा फसेका र अलपत्र परेका नागरिकको उद्धार कार्यमा जुन ढिलासुस्ती देखिएको छ, यसलाई तत्काल सच्याएर उद्धारलाई तीव्रता दिन म सरकारसँग आग्रह गर्दछु,’ उनले भने । उनले त्रिशूली र भोटेकोशी आसपासका प्रभावित नागरिकको उद्धार तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाउन मागसमेत गरे । राहत वितरणलाई पारदर्शी बनाउन तथा समग्र विपद् व्यवस्थापन प्रणालीलाई थप चुस्त र प्रभावकारी बनाउन पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् । सभापति गगन थापाको नेतृत्वमा सरकारलाई सुझाव तथा सल्लाह दिने, दबाब सिर्जना गर्ने र विपद् व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराउने काम भइरहेको कांग्रेसले जनाएको छ । सभापति थापा स्वयं पनि दुईपटक बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किसकेका छन् ।
पियोर इनर्जीको सेयर मूल्य १५ प्रतिशतले बढ्यो
काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.०७ अंकले बढेर २५६० बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १९५ कम्पनीको सेयर मूल्य बढ्दा ७९ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३५२ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै गरिमा विकास बैंकको १७ करोड, सोलु हाइड्रोको १६ करोड, एसवाई प्यानलको १३ करोड र सुपर म्यादीको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज पियोर इनर्जीको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सेयर बजारका अधिकांश उपसूचक बढेका छन् । नेप्सेका अनुसार १३ वटा उपसूचकमध्ये ११ वटा बढेका छन् भने २ वटा घटेका छन् । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक १.२४ प्रतिशत बढेर १० हजार ६०९.८७ अंकमा पुगेको छ । यो समूहको सूचक १३०.७१ अंकले बढेको हो । त्यस्तै, निर्जीवन बीमा उपसूचक २.०५ प्रतिशत बढेर ९ हजार ४८१.५३ अंकमा पुगेको छ । बढ्ने उपसूचकमध्ये निर्जीवन बीमा समूह सबैभन्दा अगाडि रहेको छ । बैंकिङ उपसूचक १.१५ प्रतिशत बढेर १ हजार ४४७.१४ अंकमा पुगेको छ । जीवन बीमा ०.४५ प्रतिशत, लघुवित्त ०.६१ प्रतिशत, जलविद्युत् ०.५१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ०.३१ प्रतिशत बढेका छन् । यस्तै, विकास बैंक ०.१३ प्रतिशत, लगानी ०.०४ प्रतिशत, म्युचुअल फन्ड ०.७१ प्रतिशत र अन्य समूह ०.५० प्रतिशत बढेका छन् । कारोबारमा रहेका समूहमा वित्त उपसूचक भने ०.४३ प्रतिशत घटेको छ। यो उपसूचक ९.९० अंकले घटेर २ हजार २४५.११ अंकमा कायम भएको छ । त्यस्तै, व्यापार उपसूचक ०.०९ प्रतिशत घटेर ३ हजार २३८.६४ अंकमा झरेको छ ।
आज साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सोमबार (आज) दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। राष्ट्रपति पौडेलले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएपछि राष्ट्रका नाममा सम्बोधन गर्न लागेको राष्ट्रपति कार्यालयका सूचना अधिकृत अर्चना खड्काले जानकारी दिइन् । उनको सम्बोधन नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।
जेनजी दिवस मनाउने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । हरेक वर्ष भदौ २३ गते जेनजी दिवस मनाउने सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट आएको जानकारी दिए । उनका अनुसार अहिले उक्त रिट अध्ययनको प्रक्रिया छ । दर्ता गर्ने अथवा नगर्ने अध्ययन पछि मात्रै जानकारी हुने कोइरालाले बताए । अधिवक्ता डा. प्रेमराज सिलवालले सोमबार (आज) सर्वोच्च अदालतमा रिट दायर गर्दै सरकारको उक्त निर्णय उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरेका हुन् । रिटमा सरकारले जेनजी दिवस मनाउने निर्णय गर्दा संवैधानिक प्रबन्ध, सीमा र क्षेत्राधिकारको उल्लंघन गरेको दाबी गरिएको छ । त्यस्तै, संविधानप्रतिकूल रूपमा सहिद दिवसको अर्थ, मूल्य र मर्मलाई संकीर्ण राजनीतिक पूर्वाग्रहका आधारमा स्वेच्छाचारी ढंगले प्रयोग गरिएको निवेदकको जिकिर रहेको छ । सरकारको संवैधानिक प्रबन्ध, सीमा र क्षेत्राधिकारको उल्लंघन गरेको, गैरकानुनी र प्राकृतिक न्यायको सिद्धान्तविपरीत गलत भावना लिई निर्णय गरेको रिटमा उल्लेख छ । सिलवालले रिटमा संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै सरकारले संविधान र कानुनविपरीत हुने प्रदर्शन तथा विरोधका क्रममा मृत्यु भएकाहरूको नाममा दिवस घोषणा गरी सार्वजनिक बिदा दिन नमिल्ने तर्क गरेका छन् । उनका अनुसार लोकतान्त्रिक सरकारले संविधानको सीमाभित्र रहेर शासन गर्नुपर्ने भएकाले प्रदर्शन वा आन्दोलनका नाममा हुने आपराधिक गतिविधिलाई राज्यले वैधानिकता दिन नहुने दाबी गरिएको छ ।
गरिमा विकास बैंकले २० प्रतिशत लाभांश दिने
काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावअनुसार सेयरधनीले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश पाउनेछन् । नगद लाभांशमा बोनस सेयरमा लाग्ने करसमेत समावेश हुनेछ । बैंकको हाल कायम चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ । सोही पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र नगद लाभांश वितरण गर्न लागिएको हो । बैंकका अनुसार १० प्रतिशत बोनस सेयरको रकम ६० करोड २१ लाख ३४ हजार ८३६ रुपैयाँ ७२ पैसा हुनेछ । यस्तै, १० प्रतिशत नगद लाभांशका लागि पनि ६० करोड २१ लाख ३४ हजार ८३६ रुपैयाँ ७२ पैसा छुट्याइनेछ । यसअनुसार बैंकले कुल १ अर्ब २० करोड ४२ लाख ६९ हजार ६७३ रुपैयाँ ४४ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ । साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
प्राइम बैंकको ६.२५ प्रतिशत ब्याजदरको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । प्राइम कमर्सियल बैंकको ६.२५ प्रतिशत ब्याजदरको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ नामको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ । नेप्सेका अनुसार प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र सूचीकृत गरिएको छ। यसको कुल चुक्ता मूल्य ३ अर्ब रुपैयाँ रहेको छ । नेप्से व्यवस्थापनको निर्णयअनुसार सोमबार अर्थात् भदौ २२ गते ऋणपत्र सूचीकृत गरिएको हो । उक्त ऋणपत्रको दोस्रो बजारमा कारोबार भने भदौ २४ गतेदेखि सुरु हुने नेप्सेले जनाएको छ । प्राइम कमर्सियल बैंकको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, कमलपोखरीमा रहेको छ ।
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले १२ प्रतिशत लाभांश दिने
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई योजनाको प्रतिफल घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको २०७औँ बैठकले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ का इकाइधनीलाई १२ प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो । कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाइधनीलाई योजनाको आकारको १२ प्रतिशतका दरले प्रतिफल वितरण गरिनेछ । यसअनुसार कुल १२ करोड ३० लाख ९१ हजार ६ सय ३२ रुपैयाँ प्रतिफल वितरण हुनेछ । उक्त रकममा करसमेत समावेश छ । प्रतिफल वितरणका लागि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को इकाइधनी दर्ता किताब बन्द हुने मिति भने पछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ । यस्तै, ग्लोबल आइएमई समुन्नत योजना–२ का इकाइधनीलाई आर्थिक वर्ष २०८२/८३ का लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय भएको छ । दुवै योजनाको आर्थिक वर्ष २०८२/८३ को बाह्य लेखापरीक्षण सम्पन्न भएपछि प्रतिफलसम्बन्धी निर्णय गरिएको कम्पनीले जनाएको छ ।