प्रधानमन्त्री राहत कोषमा नेपाली कांग्रेसको १ करोड

काठमाडौं । नेपाली कांग्रेसले बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ । 

सोमबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर नेपाली कांग्रेसले प्रधानमन्त्री राहत कोषका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो । 

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको तर्फबाट एक करोड रुपैयाँको चेक हस्तान्तरण गरे ।

पार्टीको तर्फबाट चेक हस्तान्तरण गर्न महामन्त्री पौडेल, कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरू अर्थ मन्त्रालय आएका थिए ।

केही दिनअघि रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी, त्रिशूलीलगायतका नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति गरेको छ । बाढीका कारण कैयौं परिवार विस्थापित हुनुका साथै सडक, पुल, विद्युत्, आवासलगायतका भौतिक संरचनामा व्यापक क्षति पुगेको छ ।

रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले विपद्को समयमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित आवासको व्यवस्था गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सरकारलाई आर्थिक सहयोग गरिएको बताए ।

उनले संकटको अवस्थामा नेपाली कांग्रेस बाढीपीडित नागरिकको साथमा रहेको उल्लेख गर्दै उद्धार, राहत र पुनस्र्थापनाका काममा सरकारलाई आवश्यक सहयोग गर्न पार्टी प्रतिबद्ध रहेको बताए ।

पौडेलले बाढीपहिरोका कारण सुरुङमार्गलगायत विभिन्न स्थानमा फसेका तथा अलपत्र परेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति समेत सरकारको ध्यानाकर्षणसमेत गराए ।

‘सुरुङमा फसेका र अलपत्र परेका नागरिकको उद्धार कार्यमा जुन ढिलासुस्ती देखिएको छ, यसलाई तत्काल सच्याएर उद्धारलाई तीव्रता दिन म सरकारसँग आग्रह गर्दछु,’ उनले भने ।

उनले त्रिशूली र भोटेकोशी आसपासका प्रभावित नागरिकको उद्धार तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाउन मागसमेत गरे । 

राहत वितरणलाई पारदर्शी बनाउन तथा समग्र विपद् व्यवस्थापन प्रणालीलाई थप चुस्त र प्रभावकारी बनाउन पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभापति गगन थापाको नेतृत्वमा सरकारलाई सुझाव तथा सल्लाह दिने, दबाब सिर्जना गर्ने र विपद् व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराउने काम भइरहेको कांग्रेसले जनाएको छ । 

सभापति थापा स्वयं पनि दुईपटक बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किसकेका छन् ।

Share News