विकासन्युज

इरानले खाडीमा नयाँ प्रतिबन्धित क्षेत्र घोषणा गर्ने

काठमाडौं । इरानले आगामी दिनमा खाडीमा नयाँ प्रतिबन्धित क्षेत्र घोषणा गर्ने भएको छ ।  साथै हर्मुज जलडमरूमध्य हुँदै जाने नयाँ सामुद्रिक मार्गको नक्सासमेत सार्वजनिक गरिने भएको छ । जहाजमाथि भएको आक्रमणको सप्ताहान्त आदानप्रदानपछि तेलको मूल्य सोमबार बढेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाइले आइतबार सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा नयाँ प्रतिबन्धित क्षेत्र अमेरिकी नाकाबन्दी सुरु हुने स्थानबाट सुरु भएर खाडीका विभिन्न क्षेत्रमा फैलिने बताएका हुन् । योजनाबारे विस्तृत जानकारी नदिइए पनि रेजाइले नयाँ प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्ने कुनै पनि जहाजलाई प्रतिबन्ध सूचीमा राखिने बताए । त्यसैगरी, विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण तर हाल ट्यांकर आवागमनका लागि ठूलो मात्रामा बन्द रहेको हर्मुज जलडमरूमध्य हुँदै जाने मार्गको नक्सासमेत छिट्टै स्वीकृत गरिने उनले बताए । उनले भने, ‘इरान र ओमानको जलक्षेत्र हुँदै जाने र जसको व्यवस्थापन इरानले गर्ने नयाँ अन्तर्राष्ट्रिय मार्गको नक्सामा सहमति भएको छ । आगामी दिनमा त्यसमा हस्ताक्षर गरिनेछ ।’ ‘अमेरिकीहरूले इरानविरुद्धको तोडफोड, धम्की र आक्रमण बन्द नगरेसम्म हामी होर्मुज जलडमरूमध्य खुला राख्ने प्रतिबद्धता जनाउने छैनौं,’ उनले थपे । युद्धमा गतिरोध, पुनः बढ्यो आक्रमण इरानमाथि अमेरिका–इजरायलले गरेको आक्रमणबाट युद्ध सुरु भएको करिब छ महिना बितिसकेको छ । अहिले युद्ध गतिरोधको अवस्थामा पुगेको देखिन्छ ।  जुनमा भएको प्रारम्भिक युद्धविराम सम्झौता विफल भइसकेको छ भने शान्ति प्रक्रिया पुनः अघि बढाउने कूटनीतिक प्रयासमा पनि खासै प्रगति भएको छैन । अगस्टको अधिकांश समय सैन्य गतिविधिमा रोकावट आए पनि पछिल्लो समय दुवै पक्षबाट एकअर्कामाथि आक्रमण पुनः सुरु भएको छ । अमेरिकी सेनाले शनिबार तीनवटा इरानी तेल ट्यांकरमाथि आक्रमण गरेको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ । तीमध्ये एउटा इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीप नजिकै थियो ।  त्यसअघि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले क्षेत्रमा रहेका अमेरिकी युद्धपोतलाई निशाना बनाएको थियो । तेहरानसँग छिमेकी मुलुकमा रहेका अमेरिकी स्वार्थमाथि आक्रमण गर्ने तथा हर्मुज जलडमरूमध्य हुँदै हुने तेल आपूर्ति रोक्ने क्षमता अझै रहेको देखिएको छ । युद्धअघि विश्वको कुल तेल आपूर्तिको करिब पाँच भागको एक भाग यही जलडमरूमध्यबाट आवतजावत हुने गरेको थियो । यातायातसम्बन्धी तथ्यांकअनुसार पछिल्लो १० दिनमा औसतमा दैनिक १० वटा व्यापारिक जहाज मात्रै हर्मुज जलडमरूमध्यबाट गुज्रिएका छन् । यो संख्या मेयताकै सबैभन्दा कम हो । यसको प्रभाव तेलको मूल्यमा समेत परेको छ । गत साताको ठूलो वृद्धिलाई निरन्तरता दिँदै ब्रेन्ट कच्चा तेलको मूल्य ०.८ प्रतिशतले बढेर प्रतिब्यारेल ९७ डलरभन्दा माथि पुगेको छ । प्रतिबन्ध र तेल नाकाबन्दीले अर्थतन्त्रमा दबाब इरानले आफ्नो अर्थतन्त्रलाई गम्भीर रूपमा प्रभावित पारिरहेका अमेरिकी प्रतिबन्धबाट उत्पन्न समस्या समाधान गर्न थप प्रयास गर्ने बताएको छ । तर, इरानी तेल निर्यातमा नाकाबन्दी लगाउने र प्रतिबन्ध छल्ने प्रयास रोक्ने अमेरिकी अभियान झन् कडा बन्दै गएपछि त्यसको सामना गर्न कठिन भइरहेको तीन जना वरिष्ठ इरानी अधिकारीले बताएका छन् । इरानको संसद्का सभामुख मोहम्मद बाकेर कालीबाफले आइतबार अमेरिकाले ‘धेरै ढिला हुनुअघि खेलका नियमहरू परिवर्तन भइसकेको बुझ्नुपर्ने’ बताएका छन् । टेलिग्राम च्यानलमा प्रकाशित भाषणमा उनले भने, ‘अबदेखि इरानको हित र सुरक्षाविरुद्ध हुने कुनै पनि आक्रमणको जवाफ अझ छिटो, अझ कडा र अझ पीडादायी हुनेछ ।’ कालीबाफका अनुसार सैन्य मोर्चासँगै अहिले इरानको मुख्य लडाइँ उत्पादन र जनताको जीविकोपार्जनसँग सम्बन्धित छ । उनले मुद्राको तीव्र उतारचढाव, मुद्रास्फीति, बेरोजगारी र बजार व्यवस्थापनलाई प्रमुख चुनौतीका रूपमा औ‌ंल्याए । इरानी जनताले कठिनाइ सहन सक्ने तर कुप्रबन्धन र निष्क्रियता सहन नसक्ने भन्दै उनले सरकारले तत्काल कदम चाल्नुपर्ने बताए । इरानका अर्थमन्त्री अली मदानीजादेहले अमेरिकी आर्थिक दबाबको जवाफ सुधारमार्फत दिने सरकारको योजना रहेको बताएका छन् । उनले प्रतिबन्धका कारण इरान आफ्नो नीतिबाट पछि हट्ने धारणा अस्वीकार गरेका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार उनले भने, ‘उनीहरू आर्थिक दबाब र एक्लोपनाको कुरा गर्छन् । आर्थिक सम्बन्ध तोडेर देशको अर्थतन्त्रमा दबाब दिएपछि त्यहाँका जनताको निर्णय परिवर्तन गर्न सकिन्छ भन्ने उनीहरूको सोच छ ।’ ‘एउटा कुरा स्पष्ट पार्नुपर्छ, इरानको अर्थतन्त्र सुधार गर्ने जिम्मेवारी उसको सरकार र जनताको हो, अमेरिकी अर्थ मन्त्रालयको होइन,’ उनले थपे । प्रतिबन्धले थलिएको अर्थतन्त्र सुधार्ने इरानको प्रयास,  अमेरिकालाई कडा चेतावनी

भोटेकोशी बाढीपछि स्वास्थ्य सेवा तीव्र, १० लाख औषधी तथा स्वास्थ्य सामग्री प्राप्त

काठमाडौं । भोटेकोशी र आसपासका क्षेत्रमा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, औषधि आपूर्ति तथा मनोसामाजिक परामर्शलाई तीव्रता दिएको छ । मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा नियमित रूपमा औषधि तथा स्वास्थ्य सामग्री पठाउने र विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी सेवा दिने काम भइरहेको छ । स्वास्थ्य सेवा विभागमा हालसम्म भारत सरकारबाट ९ लाख ९८ हजार ३२९, एमएसएफ हल्याण्डबाट ५ हजार र मर्सी मलेसियाबाट ३ हजार ४९७ गरी कुल १० लाख ८२६ इकाइ औषधि तथा स्वास्थ्य सामग्री प्राप्त भएको छ । प्राप्त सामग्रीमा पेन्टोप्राजोल, एमोक्सिसिलिन, मलेरिया तथा डेंगुका लागि प्रयोग हुने र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) किटलगायतका औषधि तथा स्वास्थ्य सामग्री रहेका छन् । विभागले प्राप्त सामग्रीमध्ये १९ हजार १२८ इकाइ वितरण गरिसकेको जनाएको छ। तीमध्ये बागमती प्रदेशको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागलाई १२ हजार ३२२ र स्वयम्भूस्थित मुस्ताङ गुम्बालाई ६ हजार ८०६ इकाइ सामग्री उपलब्ध गराइएको छ । २४ घण्टामा ३३ संक्रामक रोगका केस इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले एसओआरएमएस प्रणालीमार्फत गरेको नियमित अनुगमनमा पछिल्लो २४ घण्टामा ३३ वटा संक्रामक रोगका केस दर्ता भएका छन् । दर्ता भएका केसमा २० जना ज्वरोका, १२ जना ज्वरोसहित खोकीका र एक जना झाडापखाला (एक्युट ग्यास्ट्रोएन्टेराइटिस) का बिरामी रहेका छन् । प्रभावित स्थानीय तहबाट बिरामीको उचित व्यवस्थापन भइरहेको र थप अनुसन्धान जारी रहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई प्राथमिकता बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरी सेवा प्रदान गर्ने क्रम पनि जारी छ । नुवाकोटको विदुर–३ मा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट २०० जनाले सेवा लिएका छन् । सेवा लिनेमा १०१ जना ज्येष्ठ नागरिक रहेका छन् । बाढीका कारण नियमित औषधि गुमाएका मधुमेह, उच्च रक्तचापलगायत दीर्घरोगीलाई विशेषज्ञ परामर्श तथा आवश्यक औषधि उपलब्ध गराइएको छ । त्यस्तै, किस्पाङ गाउँपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालय होल्डिङ सेन्टरमा सञ्चालित स्वास्थ्य शिविरबाट ४५ बालबालिकासहित १३५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । रसुवाको उत्तरगया स्वास्थ्य चौकीमा विद्युत् आपूर्ति सहज बनाउन जेनेरेटरको व्यवस्था गरिएको छ । साथै, ५० जनाका लागि पुग्ने फेमिली किट, कपडा, खाना तथा हाइजिन किट उपलब्ध गराएर आधारभूत स्वास्थ्य सेवा सुचारु गरिएको मन्त्रालयले जनाएको छ । ७ हजारभन्दा बढीको स्थलगत पहुँच बाढीबाट प्रभावित नागरिकमा देखिएको त्रास, तनाव तथा अन्य मानसिक स्वास्थ्यसम्बन्धी समस्या सम्बोधन गर्न १५५ जना स्थलगत र १९ जना हेल्पलाइन जनशक्ति परिचालन गरिएको छ । नुवाकोट, रसुवा, काठमाडौं र धादिङका होल्डिङ सेन्टर तथा समुदायमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग र मनोवैज्ञानिक प्राथमिक उपचार  सेवा सञ्चालन भइरहेको छ । मन्त्रालयका अनुसार हालसम्म ७ हजार ४३० जनासम्म स्थलगत पहुँच पुगेको छ भने ४ हजार ८४४ जनाले मनोसामाजिक परामर्श लिएका छन् । यसैबीच, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले बाढी प्रभावित क्षेत्रमा रहेका ७०७ जना एआरटी सेवाग्राहीमध्ये ५६१ जनासँग सम्पर्क स्थापित गरी नियमित औषधि सेवनको निरन्तरता सुनिश्चित गरेको जनाएको छ । मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा खानपिन तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ । साथै, दीर्घरोगीलाई नियमित औषधि सेवनमा समस्या भए सम्बन्धित प्रदेश जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

डल्ले खुर्सानीमा भेटियो विषादी

काठमाडौं । कालीमाटी फलफुल तथा तरकारी बजारमा बिक्रिका लागि राखिएको डल्ले खुर्सानीमा विषादी भेटिएको छ ।  मकवानपुरको इन्द सरोवरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको डल्ले खुर्सानीमा ४०.५९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । सोमबार केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले १० थरीका तरकारीमा विषादी परीक्षण गरेको थियो । यसमध्ये डल्ले खुर्सानीमा विषादीको मात्रा रहेको फेला परेकाले केही राखेर पर्खनुपर्ने बताएको छ । अर्गानोफस्फेट’ विषादी स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ । यसले मष्तिष्क, स्नायु प्रणाली र पेटसम्बन्धी गम्भीर समस्या निम्त्याउन सक्छ ।

कुमारी बैंक कार्बन उत्सर्जन मापन गर्ने विश्वव्यापी पहलमा आबद्ध

काठमाडौं । कुमारी बैंक लिमिटेड वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा व्यवस्थापन गर्ने विश्वव्यापी पहलमा आबद्ध भएको छ । बैंक वित्तीय कार्बन लेखांकनका लागि साझेदारी (पीसीएएफ) मा आबद्ध भएको हो । यससँगै बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन गरी सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ । पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो । यसले बैंक तथा वित्तीय संस्थालाई ऋण र लगानीबाट हुने कार्बन उत्सर्जन मापन तथा सार्वजनिक गर्न साझा मापदण्ड उपलब्ध गराउँदै आएको छ । कुमारी बैंकले पीसीएएफको सदस्य बनेसँगै आफ्ना ऋण तथा लगानीको वातावरणीय प्रभावबारे थप जानकारी प्राप्त गर्ने जनाएको छ । प्राप्त जानकारीलाई आगामी दिनमा वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी योजनामा प्रयोग गरिने बैंकले जनाएको छ । बैंकका अनुसार यस पहलले जलवायु परिवर्तनसँग सम्बन्धित जोखिम पहिचान गर्न र त्यसको व्यवस्थापन गर्न सहयोग पुग्नेछ । साथै, बैंकको वित्तीय गतिविधिमा वातावरणीय पक्षलाई थप प्राथमिकता दिनसमेत मद्दत पुग्नेछ । कुमारी बैंकका दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले पीसीएएफमा आबद्ध हुनु बैंकको दिगोपन यात्राको महत्वपूर्ण कदम भएको बताए । उनले वित्तीय गतिविधिबाट हुने उत्सर्जनबारे स्पष्ट जानकारी प्राप्त हुँदा जलवायु रणनीति बलियो बनाउन र पारदर्शिता बढाउन सहयोग पुग्ने बताए । कुमारी बैंकले दिगो वित्तका अवसर विस्तार गर्दै आफ्ना बैंकिङ गतिविधिमा वातावरणीय तथा जलवायु सम्बन्धी विषयलाई थप समेट्ने जनाएको छ । साथै, नेपालका दीर्घकालीन जलवायु तथा विकासका लक्ष्यमा योगदान पुर्‍याउन विभिन्न सरोकारवालासँग सहकार्य गर्ने बैंकले जनाएको छ । कुमारी बैंकका देशभर २७९ शाखा, २९६ एटीएम, ४१ विस्तारित काउन्टर, ४० शाखारहित बैंकिङ एकाइ र १ हजार २३३ विद्युतीय भुक्तानी केन्द्र रहेका छन् । बैंकले डिजिटल तथा मोबाइल बैंकिङ सेवासमेत सञ्चालन गर्दै आएको छ । वित्तीय कार्बन लेखांकनका लागि साझेदारी सन् २०१९ मा स्थापना भएको विश्वव्यापी पहल हो । हाल ७०० भन्दा बढी वित्तीय संस्था यसमा आबद्ध भइसकेका छन् । सहभागी संस्थाहरूले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन र सार्वजनिक गर्दै आएका छन्।

सिटिजन्स बैंकले बाढीपीडितका लागि २ करोड २२ लाख रुपैयाँ सहयोग गर्‍यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी बाढीपीडितको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो । भदौ १० गते बागमती प्रदेशको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि बैंकले रकम प्रदान गरेको जनाएको छ । अर्थ मन्त्रालय, सिंहदरबारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको पनि उपस्थिति थियो । बैंकले बाढीमा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको जनाएको छ । बाढीका कारण सिटिजन्स बैंकको नुवाकोटस्थित देवीघाट शाखा कार्यालयसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बैंकले प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउन विदुर नगरपालिका–५, देवीघाटमा खाद्यान्न सामग्री पनि वितरण गरेको छ । बैंकले चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु र चाउचाउलगायतका सामग्री सहयोग गरेको जनाएको छ । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, सामुदायिक विद्यालय, वृद्धाश्रम र अनाथालयलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि सामाजिक सेवा तथा राहतका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । सिटिजन्स बैंकले देशका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको छ । बैंकका अनुसार करिब २० लाख ६० हजार ग्राहकले बैंकिङ सेवा लिइरहेका छन् ।

रवि लामिछानेलाई अमेरिकी विदेशमन्त्री रुबियोको फोन, नेपाललाई थप सहयोग गर्न अमेरिका तयार

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई टेलिफोन गरी भोटेकोशी बाढीबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । टेलिफोन संवादका क्रममा विदेशमन्त्री रुबियोले बाढीबाट भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै विपद्को यस कठिन घडीमा नेपालका जनता र सरकारप्रति अमेरिकी ऐक्यबद्धता रहेको बताएको लामिछानेको सचिवालयले जनाएको छ । टेलिफोन वार्ताका क्रममा लामिछानेले भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका लागि अमेरिकी सरकारले उपलब्ध सम्पूर्ण स्रोत–साधन परिचालन गरिरहेको जानकारी गराएका थिए । उनले नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार उत्तिकै प्रतिबद्ध रहेको भन्दै विदेशमन्त्री रुबियोलाई आश्वस्त पारेको सचिवालयले जानकारी दिएको छ । लामिछानेले विपद्को समयमा अमेरिकी सरकारबाट प्राप्त सहयोगप्रति धन्यवादसमेत व्यक्त गरेका थिए । जवाफमा विदेशमन्त्री रुबियोले नेपाललाई आवश्यक थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन् । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपालले खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएको छ । बाढी प्रभावित क्षेत्रमा स्वदेशी तथा विदेशी नागरिकको उद्धार र राहत व्यवस्थापनका लागि विभिन्न निकाय परिचालित छन् ।

इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२६ सम्पन्न, विभिन्न क्षेत्रका ७० व्यक्ति सम्मानित

काठमाडौं । राजधानीको राष्ट्रिय नाचघरमा इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२६ तथा नेपाल एण्ड इन्टरनेशनल समिट २०२६ सम्पन्न भएको छ ।  पूर्वउपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।  सो अवसरमा प्रमुख अतिथि यादवले समाज रूपान्तरण र राष्ट्रिय एकतामा कलाकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।  उनले भने, ‘राजनीति र कला एकअर्काका पूरक हुन् । जहाँ राजनीतिज्ञहरू पछाडि पर्छन्, त्यहाँ कलाकारहरूले आफ्नो कलाको माध्यमबाट समाजलाई चेतना दिने र अगाडि बढाउने काम गर्छन् । ’ नेपाल जस्तो विविधतापूर्ण मुलुकलाई कला र संस्कृतिले नै भावनात्मक रूपमा एकताबद्ध बनाउने उनको तर्क थियो ।  कार्यक्रममा आयोजक करणबहादुर चन्द र अनमोल भगतले नेपाल र भारतबीचको सांस्कृतिक र ऐतिहासिक सम्बन्धबारे चर्चा गरे ।  उनले त्रेतायुगदेखिको राम-सीताको सम्बन्धलाई स्मरण गर्दै कला र प्रतिभाको माध्यमबाट दुई देशको मित्रतालाई अझ प्रगाढ बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल, भारत र बंगलादेशका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।  अवार्ड समारोहमा विभिन्न क्षेत्रमा योगदान पुरÞ्याउने ७० जनालाई सम्मानित गरिएको थियो । यसैगरी, कार्यक्रममा रसुवा बाढीमा ज्यान गुमाउनेहरूप्रति १ मिनेट मौनधारण समेत गरिएको थियो । 

ग्यासका लागि घण्टौँ लाइन, सिलिण्डरमै बसेर कुर्दै नागरिक (फोटो फिचर)

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्र परिसरमा सोमवार मध्याह्न पुग्दा जो–कोहीको पनि मन अमिलो हुन्थ्यो । चर्को गर्मी र तातो घामले सडकको कालोपत्रे तातेर राप उडिरहेको थियो, तर त्यही सडकमा सयौँ मिटर लामो लाममा उभिएका थिए– हातमा रित्तो रातो सिलिण्डर बोकेका आम नागरिकहरू । न अनुहारमा छाँटकाँट थियो, न शरीरमा आराम । थियो त केवल एउटै चिन्ता– ‘आज साँझ घरको चुल्हो बल्छ कि बल्दैन ?’ बालाजु औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वार अगाडि आन्तरिक राजस्व कार्यालय र बैंकका एटीएम बुथहरू रहेको साँघुरो सडक सोमवार मानिस र ग्यास सिलिण्डरको विशाल संगम बनेको थियो । लामबद्ध उभिएका मानिसहरूको हातमा नेपाल ग्यास, एसटीीलगायत कम्पनीका रित्तो रातो सिलिण्डरहरू थिए । घाम चर्किंदै जाँदा उभिन नसकेर थकित नागरिकहरू आफ्नै रित्तो सिलिण्डरमाथि नै बसेर पालो कुरिरहेका देखिन्थे । कतिपयले नीलो, कालो र बुट्टेदार छाता ओढेर चर्को घामको राप छल्ने निष्फल प्रयास गरिरहेका थिए भने कतिपय रूखको थोरै छहारी वा पर्खालको ओझेलमा पसिना पुछ्दै पर्खिरहेका थिए । लाइनमा उभिएका एक युवाले गहभरि आँसु पार्दै भने, ‘बिहानै आएर बसेको हुँ । अफिसमा बिदा लिएँ, तलब काटिन्छ । तर घरमा तीन दिनदेखि ग्यास सकिएर चाउचाउ र बिस्कुटको भरमा छौँ । यस्तो चर्को घाममा भोकै–तिर्खै लाइन बस्नुबाहेक हामी गरिब जनतासँग अर्को के विकल्प छ र ?’ तातो सडकमा घण्टौँ कुर्नु नागरिकको रहर होइन, भोकले सुकेको चुल्हो बाल्ने एकमात्र विवशता हो । ग्यास वितरण केन्द्रमा भीड यति अनियन्त्रित थियो कि सुरक्षाकर्मीहरू लाम मिलाउन र गेट बन्द गरेर व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको थियो । मानिसहरू टोकन र रसिद देखाउन गेटमा झुम्मिएका थिए । जहाँ सयौँ एलपी ग्यासका सिलिण्डरहरू चर्को घाममा एकै ठाउँमा थुप्रिएका थिए । कम्पनीका प्रतिनिधिहरू कापी र कलम लिएर नाम दर्ता गर्दै टोकन बाँड्दै थिए । तर ग्यास बोकेको ट्रकको क्षमता सीमित थियो र पालो पर्खनेहरूको लाम अनन्तजस्तै देखिन्थ्यो । ‘ट्रकको ग्यास सकिएला कि’ भन्ने डरले नागरिकहरूको अनुहारमा बेचैनी प्रस्ट झल्कन्थ्यो । घण्टौँको मानसिक र शारीरिक सास्तीपछि जब कसैको हातमा भरिएको नयाँ सिलिण्डर पर्दथ्यो, त्यो दृश्य हेर्नलायक हुन्थ्यो । त्यो केवल १४.२ किलो ग्यास र १५ किलो फलामको सिलिण्डर मात्र थिएन, त्यो त आफ्ना भोका सन्तानलाई तातो भात खुवाउन पाउने खुसी थियो । संघीय राजधानीकै सडकमा एक सिलिण्डर ग्यासका लागि नागरिकले दिनभर पसिना बगाउनुपर्ने यो दृश्यले राज्य सञ्चालकहरूको संवेदनहीनतालाई नङ्ग्याइदिएको छ । बालाजुको सडकमा देखिएको यो कारुणिक दृश्य कुनै नौलो भने होइन । जब–जब आपूर्ति प्रणालीमा गडबडी हुन्छ वा कालोबजारी मौलाउँछ, त्यसको प्रत्यक्ष मारमा यस्तै निर्दोष, श्रमजीवी र आम नागरिक पर्ने गर्छन् । नागरिकले कर तिरेका छन्, सिलिण्डरको पूरा मूल्य तिरेका छन् । तर बदलामा उनीहरूले पाइरहेका छन्, चर्को घामको राप, सुरक्षाकर्मीको लाठीको त्रास, र सडकमा अपमानित भएर घण्टौँ बस्नुपर्ने विवशता । सम्बन्धित निकाय र नेपाल आयल निगमले तुरुन्तै ग्यास आपूर्तिलाई पारदर्शी र टोल–टोलमा सहज बनाउनुपर्छ । नागरिकको चुल्हो बल्नबाट रोक्ने यो चरम लापरवाहीको जवाफदेहिता कसले लिने ?