काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका एक आधारभूत सेयरधनीले आफ्नो ३० प्रतिशत सेयर बिक्री गर्न चाहेका छन् ।
कम्पनीका अनुसार आधारभूत सेयरधनी क्लिन इनर्जी कन्सल्टेन्ट्स प्रालिले आफूसँग रहेको सेयरमध्ये ३० प्रतिशत बिक्री गर्न लागेको हो ।
कम्पनीमा क्लिन इनर्जी कन्सल्टेन्ट्सको कुल ३ लाख ४५ हजार कित्ता सेयर रहेको छ । सोही सेयरको ३० प्रतिशत बिक्री गर्ने जानकारी कम्पनीलाई गराइएको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार उक्त जानकारी सार्वजनिक गरेको जनाएको छ । ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहने आधारभूत सेयरधनीले बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।