विकासन्युज

बौद्ध समाज स्वयम्भुद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग, ऊर्जा मन्त्रीले बुझे चेक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर प्रभावित भएका नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनाको लागि सप्तरंगी इन्द्रेणी बौद्ध समाज स्वयम्भुले आर्थिक सहयोग गरेको छ ।  समाजका पदाधिकारीले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री राहत कोषमा दुई लाख १ हजार १०१ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।  सप्तरंगी इन्द्रेणी बौद्ध समाजका अध्यक्ष मनिक लामाले ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए ।   मन्त्री श्रेष्ठले देश संकटमा परेका बेला सहयोगका लागि हातेमालो गरेकामा धन्यवाद दिएका थिए । सरकार र सरोकारवाला सबै नागरिकको प्रयासले देश चाँडै संकटबाट निस्किने विश्वास उनले दिलाए ।

१४ वर्ष कैद सजाय पाएका फरार कैदी कास्कीबाट पक्राउ

काठमाडौं । हाडनाता जबरजस्ती करणी मुद्दामा १४ वर्ष कैद सजाय पाएका र जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कास्कीको रुपा गाउँपालिका–७ धारापानीबाट ३४ वर्षीय हर्कबहादुर गुरुङलाई पक्राउ गरेको हो । सीआईबीका अनुसार गुरुङ कास्कीको पोखरा महानगरपालिका–३० का बासिन्दा हुन् । उनी २०८१ साउन १४ गतेदेखि कारागार कार्यालय कास्कीमा कैद सजाय भुक्तान गरिरहेका थिए । तर २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए । फरार हुँदा उनको ११ वर्ष ९ महिना २६ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । फरार भएपछि उनी कास्कीका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा सीआईबीको टोलीले उनलाई पक्राउ गरी पुनः कारागार कार्यालय कास्कीमा बुझाएको छ ।

बाढीपीडितको राहतका लागि सिद्धार्थ क्यापिटलको ११ लाख सहयोग

काठमाडौं । बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनामा सहयोग पु‍र्याउने उद्देश्यले सिद्धार्थ क्यापिटल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ । विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासलाई थप प्रभावकारी बनाउन कम्पनीले उक्त सहयोग गरेको हो । सिद्धार्थ क्यापिटलका अनुसार विपद्बाट प्रभावित समुदायलाई आवश्यक मानवीय सहायता उपलब्ध गराउन तथा उनीहरूको पुनःस्थापनामा सहयोग पु‍र्याउने उद्देश्यले रकम प्रदान गरिएको हो । कम्पनीले विपद्को समयमा निजी क्षेत्रको भूमिका आर्थिक गतिविधिमा मात्र सीमित नरही समाज र समुदायप्रतिको उत्तरदायित्व निर्वाह गर्नेतर्फ पनि केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।  सोही प्रतिबद्धताअनुरूप प्रभावित नागरिकको कठिन परिस्थितिमा साथ र सहयोग प्रदान गरिएको सिद्धार्थ क्यापिटलले जनाएको छ । सिद्धार्थ क्यापिटलले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अग्रसर सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय, संघ–संस्था, निजी क्षेत्र र सरोकारवालाप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।

‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’, मनोनयन सूची सार्वजनिक

काठमाडौं । नेपालमै पहिलो पटक कन्टेन्ट क्रिएटरहरूका लागि लक्षित गर्दै आयोजना हुन लागेको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ को मनोनयन सूची सार्वजनिक भएको छ ।   स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिले आगामी असोज १२ गते सोमवार ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना गर्न लागेको यो अवार्डका लागि विभिन्न दश विधामा मनोनयन सूची सार्वजनिक गरिएको हो । आयोजक संस्थाका निर्देशक सुरज गराचका अनुसार नेपालको डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना गर्न लागिएको हो । नेपालमै पहिलोपटक कन्टेन्ट क्रिएटरहरूलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यो अवार्ड कार्यक्रम आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सको प्रस्तुतिमा आयोजना हुन लागेको हो ।  क्रिएट, इन्स्फायर, इम्प्याक्ट भन्ने नारासहित आयोजना हुन लागेको यो अवार्डका लागि करिब तीन महिनाको अवधि राखेर आवेदन आह्वान गरिएको थियो । अवार्ड समारोहका क्रिएटिभ हेड विक्रमादित्य शाहका अनुसार देशभरीबाट करिव २२ सय भन्दा बढी कन्टेन्ट क्रिएटरहरूले यो प्रतियोगितामा सहभागिता जनाउन आफ्ना कन्टेन्टहरु उपलब्ध गराएका थिए । ती मध्ये आयोजक संस्थाले १ सय २२ वटा उत्कृष्ट कन्टेन्टहरु निर्णायकसमक्ष प्रस्तुत गरेको थियो । निर्णायकहरुको मूल्यांकनपछि मनोनयन सूचि तयार पारिएको हो ।  अवार्ड समारोहमा १० विधामा अवार्ड वितरण गरिने आयोजक संस्थाका पब्लिक रिलेशन अफिसर राजु जंग बस्नेतले जानकारी दिएका छन् ।  प्रतियोगिताको मूल्याङ्कनका लागि विभिन्न क्षेत्रका अनुभवी चार जना निर्णायक  रहेका छन् । निर्णायकहरूमा कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, आइएमई ग्रुपका बद्री कटवाल, मिस यूनिभर्स नेपाल २०२२ सोफिया भुजेल तथा पत्रकार टेक नारायण भट्टराई रहेका छन् । आयोजक संस्थाले जनाए अनुसार यो कार्यक्रमले नेपालमा डिजिटल कन्टेन्ट क्रिएटरहरूको सिर्जनात्मक क्षमता, प्रभाव र योगदानलाई राष्ट्रिय स्तरमा सम्मानित गर्दै नयाँ प्रतिभाहरूलाई अघि बढ्ने अवसर प्रदान गर्ने विश्वास लिएको छ । सामाजिक सञ्जालको प्रभाव तीव्र रूपमा बढिरहेका बेला कन्टेन्ट क्रिएटरहरूको मेहनतलाई औपचारिक रूपमा सम्मान गर्ने उद्देश्यले ल्याइएको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ नेपालकै पहिलो प्रकारको अवार्ड कार्यक्रमका रूपमा रहेको आयोजकको दावी छ । आयोजक संस्थाका निर्देशक सुरज गराजका अनुसार मनोनयनमा पर्न सफल दश वटै इन्फ्ल्न्सरहरुले अब आफ्नो विधा अनुसार भिडियो बनाउनु पर्नेछ । त्यसपछि ती भिडियोको निर्णायकहरुद्वारा गरिने मूल्यांकन तथा पब्लिक भोटका आधारमा हरेक विधाबाट एक जना विजयी बन्ने छन् ।  यसैबीच, देशमा आएको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित परिवारहरूप्रति ऐक्यवद्धता जनाउँदै ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ को आयोजक संस्था स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । ‘रकम ठूलो नहोला, तर विपद्को समयमा गरिएको हरेक सानो सहयोगले पनि ठूलो अर्थ राख्छ भन्ने हाम्रो विश्वास छ, संस्थाका निर्देशक सुरज गराचले भनेका छन् । खल्ती इन्फ्ल्यून्सर अवार्डको अवसर पारेर सुरज गराच यसराज, विक्रमादित्य शाह तथा राजु जंग बस्नेतले संयुक्त रूपमा उक्त सहयोग गरेका हुन् । 

जलवायु विपत्तिको मुद्दा उठाउन प्रधानमन्त्री शाह असोज ६ गते अमेरिका जाँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन् । प्रधानमन्त्री शाहले महासभालाई असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका तय भएको प्रधानमन्त्रीको सविचालयले जनाएको छ । महासभामा उनले नेपालले पछिल्लो समय भोग्दै आएको जलवायुजन्य विपत्ति र त्यसबाट परेको मानवीय तथा भौतिक क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । प्रधानमन्त्री शाह असोज ९ गते नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ । उनी केही दिनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् । यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई महासभामा पठाउने तयारी थियो ।  तर रसुवालगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि प्रधानमन्त्री स्वयं महासभामा सहभागी भएर नेपालको पछिल्लो अवस्था अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नु उपयुक्त हुने भन्दै सरकारभित्र छलफल अघि बढाइएको थियो । प्रधानमन्त्री शाहको नेतृत्वमा जाने प्रतिनिधिमण्डलमा उनका सचिवालयका चार सदस्य, परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्रसचिव अमृतबहादुर राईसहितका अधिकारी सहभागी हुने बताइएको छ । महासभामा प्रधानमन्त्री शाहले नेपालजस्ता हिमाली तथा जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेका समस्या, प्राकृतिक विपत्तिबाट भइरहेको क्षति तथा जलवायु परिवर्तनका कारण बढ्दो जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकताबारे धारणा राख्ने तयारी गरेका छन् ।

भोटेकोशी बाढीबाट रसुवाका ४ स्वास्थ्य संस्था पूर्ण क्षति

काठमाडौं । भोटेकोशी बाढीका कारण विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूमा गम्भीर क्षति पुगेको छ ।  रसुवा, नुवाकोट र धादिङका केही स्वास्थ्य संस्थाहरू पूर्णरूपमा क्षति भएका छन् ।   स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, आपत्कालीन तथा विपद् व्यवस्थापन केन्द्रको विवरण अनुसार बाढीका कारण कैयौँ स्वास्थ्य चौकी तथा अस्पताल प्रभावित भएका छन् । बाढीका कारण विशेषगरी रसुवास्थित स्याफ्रुबेँसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क (रसुवागढी) र मैलुङ सामुदायिक स्वास्थ्य इकाई पूर्ण रूपमा क्षति ग्रस्त भएका छन् ।  त्यस्तै, धादिङ्गका बैरेनी अस्पताल (गल्छी), चरौँदी प्राथमिक स्वास्थ्य केन्द्र (बेनिघाट) र बैरेनी आयुर्वेद औषधालय (गल्छी) मा आंशिक क्षति पुगेको छ ।  बाढी र पहिरोका कारण सडक तथा यातायात सेवा प्रभावित हुँदा धादिङ अस्पताल र त्रिशुली अस्पतालमा बिरामीहरूको पहुँच पूर्णरूपमा अवरुद्ध भएको छ । प्रभावित क्षेत्रहरूमा तत्काल स्वास्थ्य सेवा बहाल गर्न र राहत तथा उपचार कार्यलाई तीव्र बनाउन स्वास्थ्य मन्त्रालयले प्रतिकार्य टोली परिचालन गरिसकेको छ ।

ग्यासको चरम अभाव, कुपन र सिलिण्डरका लागि उपभोक्ताको सास्ती

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । भोटेकोशी बाढी र त्यसपछिको सडक अवरोधका कारण आपूर्ति व्यवस्था सहज हुन नसक्दा उपभोक्ताहरू घण्टौँसम्म लामबद्ध हुनुपर्ने बाध्यता सिर्जना भएको हो । भोटेकोशी बाढीअघि पनि काठमाडौंमा ग्यासको अभाव थियो । सरकारले ग्यासको अभाव नरहेको दाबी गर्दै केही समयमै सहज हुने बताए पनि आम नागरिकहरू लामबद्ध भएर ग्यासका लागि बसिरहेका छन् । ग्यास वितरणलाई व्यवस्थित गर्न खुद्रा विक्रेताहरूले कुपन प्रणालीको सहारा लिएका छन् । कोटेश्वर क्षेत्रमा एलपी ग्यासको खुद्रा बिक्री गरिरहेका व्यवसायी शङ्करकुमार श्रेष्ठका अनुसार माग अत्यधिक भए पनि दैनिक करिब १ सय ५० वटा सिलिण्डर मात्र वितरण गर्न सकिएको छ । उनले भने, ‘हामीले दैनिक १५० वटा र अपाङ्गता भएका व्यक्तिहरूका लागि १० वटा गरी कुल १६० वटासम्म ग्यास सिलिण्डर वितरण गरिरहेका छौँ ।’ उनले भीड व्यवस्थापनका लागि सिलिण्डरमा नम्बरिङ गर्ने र नामसहितको कुपन बाँडेर भोलिपल्ट ग्यास दिने व्यवस्था मिलाइएको जानकारी दिए । ग्यासका लागि लाइनमा बसेका उपभोक्ताहरूले भने ठूलो सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। जडीबुटीका राकेश विष्टले दुई–तीन दिनअघि नै कुपन लिए पनि ग्यास नपाएको गुनासो गरे । सोमबार बिहान ८ बजेदेखि नै ग्यास पाउने आशामा लाइनमा बसेको उनले बताए । उनले भने, ‘काम छोडेर बिहान ८ बजेदेखि नै लाइनमा बसेको छु। चुल्हो बाल्नै पर्ने बाध्यताले गर्दा कामको क्षति सहेर पनि यहाँ आउनुपरेको छ ।’ उपभोक्ताहरूका अनुसार बजारमा ग्यासको अभाव व्यापक छ र स्थानीय डिपोहरूमा ग्यास पुग्न सकेको छैन । ‘सम्बद्ध निकायले ग्यास पठाइरहेको बताए पनि डिपोहरूमा ग्यास आइपुगेको छैन । डिपोमै ग्यास नभएपछि हामीले दुःख पाउनु स्वाभाविक हो,’ अर्का एक उपभोक्ताले आक्रोश व्यक्त गरे । रसुवामा आएको बाढीअघि नै सुरु भएको ग्यासको समस्या सडक अवरोध र यातायात सञ्चालनमा आएको कठिनाइका कारण थप जटिल बनेको हो । आपूर्ति सहज नहुँदा र मागअनुसारको सिलिण्डर उपलब्ध हुन नसक्दा सर्वसाधारणहरूले दैनिक काम छाडेर ग्यासको खोजीमा भौँतारिनुपरेको छ ।

राष्ट्र बैंकका कर्मचारीले बाढीपीडितका लागि दिए १ करोड ३८ लाख रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि १ करोड ३८ लाख ९९ हजार ४ सय २५ रुपैयाँ सहयोग गरेका छन् । राष्ट्र बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाएको छ । बैंकले सोमबार (आज) विज्ञप्ति जारी गर्दै बाढी प्रभावित व्यक्ति तथा परिवारको राहत र उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले गभर्नर, डेपुटी गभर्नर तथा करार सेवाका कर्मचारीसमेतले स्वेच्छिक रूपमा रकम संकलन गरी कोषमा हस्तान्तरण गरेको जनाएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पु‍र्याएको थियो ।  बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका काम भइरहेका छन् ।