ग्लोबल आईएमईको कमायो १८७ करोड, एक वर्षमा आश्चर्यजनक प्रगति
काठमाडौं । कस्ट अफ फण्डसँगै आधार ब्याजदरमा आश्चर्य सुधार गर्दै ग्लोबल आईएमई बैंकले ९ महिनामा १८७ करोड रुपैंया खुद मुनाफा कमाएको छ । माघदेखि चैत महिनामा ६४ करोड २७ लाख रुपैंया नाफा कमाउँदा चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ग्लोबल आईएमईले कुल १ अर्ब ८७ करोड २१ लाख रुपैंया पुगेको हो । एक वर्षको अवधिमा बैंकले कस्ट अफ फण्डलाई ८.२२ प्रतिशतबाट घटाएर ६.९७ प्रतिशतमा झारेको छ । कस्ट अफ फण्डसँगै बैंकको बेसरेट ११.६८ प्रतिशतबाट २.०८ प्रतिशत भन्दा पनि कममा आएर ९.६० प्रतिशतमा आईपुगेको छ । बेसरेटमा आएको सुधारसँगै बैंकले आफ्नो स्प्रेडदरको आकार २.९८ प्रतिशतबाट ४.६३ प्रतिशत पुर्याउन सफल भएको छ, यो दर नेपाल राष्ट्र बैंकले तोकेको ७.७५ को सीमाभित्रको हो । बैंकले १ खर्ब १७ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ । बैंकको रिजर्भको आकार भने अघिल्लो वर्षको भन्दा घटेको छ । अघिल्लो वर्ष चैतमा ३ खर्ब २२ अर्ब भएको सो आकार यो चैत मसान्तमा २ खर्ब ३९ अर्बमा झरेको छ ।
लघुवित्तलाई फोर्स मर्जरमा पठाउँदै राष्ट्र बैंक, ४० वटामा झार्ने योजना
काठमाडौं । नेपाल राष्ट्र बैैंकले लघुवित्त कम्पनीहरुलाई फोर्स मर्जरमा पठाउने तयारी गरेको छ । एकिकृत निर्देशिका मार्फत चुक्ता पुँजी तोकेको राष्ट्र बैंकले सो अनुसार पुँजी कायम गराउन नसक्ने संस्थाहरुलाई फोर्स मर्जरमा पठाउने तयारी गरेको हो । राष्ट्र बैंकले एकिकृत निर्देशिका अनुसार पुँजी पुर्याउन नसक्ने लघुवित्त कम्पनीहरुलाई हकप्रद सेयर जारी र बोनस वितरणमा रोक लगाएको छ । ‘एकिकृत निर्देशिका अनुसार पुँजी पुर्याउन नसक्ने कम्पनीहरुलाई बोनस वितरण र हकप्रद सेयर निष्कासनमा रोक लगाएका छौं, त्यस्ता कम्पनीहरुका सवालमा नयाँ ढंगले सोच्नु पर्ने भएको छ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले विकासन्युजसँग भने । उनले लघुवित्त कम्पनीहरुलाई बलियो र दिगो बनाउनका लागि पुँजी संरचना तोकिएको र त्यो पुरा गर्न नसक्ने कम्पनीलाई हकप्रद र बोनसमा रोक लगाएको स्पष्ट पारे । नेपालमा लघुवित्त कम्पनीहरुको संस्था थेरै भएको टिप्पणी हुँदै आएको छ । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा छिमेक लघु वित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीले पनि लघुवित्त कम्पनीहरुलाई हकप्रद र बोनस सेयर वितरणमा रोक लगाईएको बताए । ‘नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई मर्जमा जान प्रेरित गर्ने उदेश्यले हकप्रद सेयर जारी नगर्नु भनेको छ । हामीले पनि त्यसमा सहमति नै दिएका छौं’, अध्यक्ष जोशीले भने । थोरै पुँजीका धेरै संस्था सञ्चालनमा रहेकाले ठुलो पुँजीका थोरै संस्था मार्फत लघुवित्त कम्पनीलाई अघि बढाउन फोर्स मर्जरको नीति अनुसार केन्द्रिय बैंकले त्यस्तो गरेको दावी पनि गरे । उनले नेपाल जस्तो देशमा एक सय वटा लघुवित्त कम्पनीहरु आवश्यक नरहेको पनि स्पष्ट पारे । ‘संख्या तोक्न त मुस्किल नै होला । तै पनि अर्थतन्त्रको आकार र विकासक्रम हेर्दा ३०/४० वटा संस्था भयो भने पुग्छ सायद । त्यति संख्याका लागि भने बजारमा पर्याप्त अवसर छ ।’, जोशीले भने । फोर्स मर्जरका विषयमा नेपाल राष्ट्र बैंकसँग निरन्तर सम्वाद भैरहेको र संख्या घटाउनेबारे आफुहरु सकारात्मक नै रहेको उनले बताए । ‘साना पुँजीका संस्था धेरै भए भनेर नै केन्द्रिय बैंकले मर्ज गरेर जाने भन्ने नीति लिएको देखिन्छ । हामी पनि त्यसमा सहमत छौं । मर्ज गरेर जाँदा पुँजी पनि बढ्छ र संस्थाहरु पनि बलियो हुन्छन् ।’ जोशीले भने । उनले नयाँ कम्पनीलाई लाइसेन्स दिने अनि पुराना कम्पनीलाई मर्जरमा पठाउने कुरा केहि अस्वभाविक जस्तै देखिएको टिप्पणी भने गरे । ‘हामीले पनि केन्द्रिय बैंकसँग आफ्नो धारणा राखिरहेका छौं । उहाँहरुका पनि आफ्नै बाध्यताहरु होलान् । त्यसैले आवेदन दिएकाहरुलाई मात्रै लाइसेन्स दिन्छौं भनिरहनु भएको छ । अहिले ९९ वटा सस्था छन् । अब १५ वटा थपिएर ११४ वटा पुग्छन् ।’, जोशीले असन्तुष्ठि पोखे । नेपाल राष्ट्र बैंकको लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभाग प्रमुख जनक बहादुर अधिकारीले केहि लघुवित्त कम्पनीहरुलाई हकप्रद सेयर निष्काशन र बोनस सेयर वितरणमा रोक लगाएको स्विकार गरे । तर फोर्स मर्जरबारे पनि ठोस प्रक्रिया अघि नबढेको दावी अधिकारीको छ । तर राष्ट्र बैंक श्रोतले भने केहि लघुवित्त कम्पनीहरुलाई फोर्स मर्जरमा पठाउनका लागि फाइल समेत मगाएर अध्ययन थालिसकिएको जनाएको छ । ‘केहि लघुवित्त कम्पनीहरुको फाइल समेत मगाएर अध्ययन अघि बढिसकेको छ, फोर्स मर्जरको तयारी अन्तिम चरणमा पुगेको संकेत पाएका छौं ।’, राष्ट्र बैंक उच्च श्रोतले भन्यो ।
नेपाली सेनाले पाए एक हजार ४५३ घर बनाउने जिम्मा, ८५ कराेड रूपैयाँ अनुदान दिने निर्णय
विरगञ्ज । पर्सा र बारा जिल्लामा हावाहुरीका कारण पूर्णरुपमा क्षति भएको एक हजार ४५३ वटा घर नेपाली सेनाले पुनर्निर्माण गर्ने भएको छ । गत चैत १७ गते साँझ आएको हावाहुरीका कारण बारा जिल्लाको उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका गरी आठ वटा इलाकामा ठूलो सङ्ख्यामा मानवीय तथा जनधनको क्षति गरेको थियो । हावाहुरीका कारण जिल्लाको ठेटा, तेलकुवा, त्रसैनी, भलुवाही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायत ठाउँमा घरहरु भत्कँदा २९ जनाको मृत्यु हुनाका साथै ६०० भन्दा बढी घाइतेको थियो । हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न सोमबार यहाँ अाएका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आगामी साउनभित्र निर्माण सम्पन्न गर्ने गरी नेपाली सेनाले जिम्मेवारी पाएको र त्यसमा जनप्रतिनिधि, स्थानीय सङ्घसंस्था तथा व्यक्तिहरुबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गरे । एक हजार ४५३ वटा घर निर्माणका लागि सरकारले रु ८४ करोड ६८ लाख ७६ हजार १४० विनियोजन गरिएको उनले जानकारी दिए।छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नका लागि सबैको सहयोग रहने विश्वास व्यक्त गर्दै मन्त्री पोखरेलले समयमा निर्माण सम्पन्न गरेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिनेसमेत जानकारी दिए । नेपाली सेनाका ७५० भन्दा बढी इञ्जिनीयर, प्राविधिकले यही वैशाख २१ गतेबाट औपचारिक रुपमा काम थालिने जानकारी दिँदै मन्त्री पोखरेलले जहाँ जस्तो अवस्थामा पनि तत्काल जनतालाई राहत दिने हिसाबले निर्माण कार्य हुने बताए । निरीक्षणका क्रममा सहभागी प्रधानसेनापति पूर्णचन्द्र थापाले यहाँ बनाइने घरको डिजाइन मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको बताउँदै एउटा घरमा दुई वटा बस्ने कोठा, एक भान्छा कोठा र एक शौचालय रहने जानकारी दिए । पुनर्निर्माण कार्यका लागि विभिन्न १२ ठाउँबाट १२ समूह बनाई काम थालिने र त्यसमा दुई हजार ६०० भन्दा बढी नेपाली सेना संलग्न भएर काम सम्पन्न गर्ने लक्ष्य रहेको पनि उनले बताए ।
जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
बेझाड । पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल भिरपानीबाट जन्ती लिएर वडा नं ७ जयमिरेतर्फ जाँदै गरेको लु१ज १९४१ नं को जीप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक बुद्धिवल सोती, निस्दी गाउँपालिका–७ का खड्कबहादुर सोमै, देवलाल खन्गाहा, लालबहादुर सारु र सन्तबहादुर सारु रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिंह रानाले जानकारी दिए । निस्दी गाउँपालिका– ६ र ७ को सिमानामा जन्ती बोकेको जीप दुर्घटनामा परेको हो । अहिले प्रहरी निरीक्षक रानाको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको छ । रासस
श्रीलङ्काका प्रहरी प्रमुख निलम्बित, नयाँ सुरक्षा प्रमुख नियुक्त
कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी प्रमुखलाई सोमबार निलम्बन गरेको श्रीलङ्काको राष्ट्रपतिको कार्यालयले सोमबार जनाएको छ । एक हप्ता अगाडि भएको विस्फोटनका घटनामा परी साढे दुई सय भन्दा बढीको मृत्यु भएको घटनालाई लिएर उनले प्रहरी प्रमुख पुजिथ जयासुन्दरालाई निलम्वन गरेका हुन् । इस्लामिक स्टेट (आईएस)का लडाकूहरुले आक्रमण गर्ने चेतावनी दिएको भएपनि सुरक्षा निकायको नेतृत्वले वेवास्ता गरेको आरोप उनीमाथि लाग्दै आएको छ । राष्ट्रपति सिरिसेनाले यसअघि सुरक्षा सचिवलाई पनि बर्खास्त गरेका थिए । उनले त्यस ठाउँमा सोमबार नै नयाँ सचिव नियुक्त गरेका छन् । अघिल्लो आइतबार चर्च र होटलहरुमा भएका विस्फोटनमा परी कम्तीमा २५३ जनाको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका छन् । प्रहरी प्रमुख जयासुन्दरालाई निलम्बन गरेपछि बरिष्ठ प्रहरी उपमहानिरिक्षक चन्दन विक्रमासिङघेलाई कार्यबाहक प्रहरी प्रमुख बनाइएको छ । उनले सोमबार नै सेनाका पुर्व प्रमुख शान्ता कोट्टेगोडालाई देशको सुरक्षा प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तत्कालिन राष्ट्रपति महिन्दा राजापाक्षेले सन् २००५ मा सेना प्रमुख रहनु भएका ६९ बर्षीय कोट्टाटेगोडालाई आक्रमणको जिम्मेवारी लिँदै राजिनामा दिन दवाव दिनुभएको बताइएको छ । रासस/एएफपी
कालिका लघुवित्तको केन्द्र प्रमुखको कार्यशाला गोष्ठी
काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले स्याङ्जाको मालुङ्गा शाखा कार्यालय अन्तर्गतका केन्द्र प्रमुख उप प्रमुखहरुको वार्षिक कार्यशाला गोष्ठी कार्यक्रम गल्याङ नगरपालिकाको होटल रुफटपमा सोमबार सम्पन्न गरेको छ । मालुङ्गा शाखाको केन्द्र नं. १० लगनशिल कालिका महिला विकास केन्द्रका केन्द्र प्रमुख रुकमणी न्यौपानेको अध्यक्षता तथा सञ्चालक समितिका अध्यक्ष कृष्ण खाँणको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४६ वटा केन्द्रका केन्द्र प्रमुख एवं उप प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मालुङ्गा शाखाका शाखा प्रबन्धक श्रृष्टी लुईंटेलले सहभागि एवं अतिथिहरुलाई स्वागत गर्दै संस्थाको हालको अवस्था विश्लेषण गरेका थिए । संस्थाका कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले संस्थाको नयाँ सेवा सुविधाहरु एवं कर्जा तथा बचतका प्रकारहरुको बारेमा जानकारी दिनुका साथै सहभागिहरुको अन्तरक्रिया एवं छलफलमा सहजिकरण गरेका थिए । प्रमुख अतिथि एवं अध्यक्ष खाँणले सदस्यहरुको शसक्तिकरण मात्र हैन सामाजिक र आर्थिक सवलिकरणको लागि संस्थाले काम गर्दै जाने बताए । संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले कार्यक्रममा बजारमा लघुवित्त वित्तीय संस्थाहरु धेरै भएको अवस्थामा रोजेर छानेर र होसियार भएर मात्र सदस्य बन्न एवं बनाउनको लागि अनुरोध गरेका थिए ।
कर्मचारीको तलब ३० प्रतिशत बढाउनु पर्छ, यस्ता छन् १६ कारण
भीम प्रसाद उपाध्याय, पूर्व सचिव काठमाडौं । त्यत्रो समय र लगानी खर्च गरेर देश विदेशमा बर्षौं लगाएर घुंडा धसेर १६।१६ वर्ष पढेर, तालिम लिएर, गॉउगॉउ कुना कन्दरामा बसेर, घर परिवार त्यागेर , अध्ययन सक्याए पछि लोकसेवा लड्दै पास गरेर सुरु गरेको सरकारी जागीरमा के छन् त सुबिधाहरु ? न बस्नलाई राम्रो डेरा छ । न बालबच्चा पढाउनलाइ राम्रो स्कूल छ । न खेल्ने मनोरंजन गर्ने कुनै साधन छ । न कुनै पुस्तकालय छ । न पत्रिका छ । न टेलिफोन ईन्टरनेट छ । न टिभी छ । न हेलिकप्टर सेवा छ, न नियमित हवाईजहाज छ । न मोटर चल्ने सडक छ । न गाडी छ, न अस्पताल डाक्टर छ । ईमर्जेन्सी परेर रोगले च्याप्यो भने राम भरोसे हुनुपर्छ । सधैं परिवारसंग अलग्गिएर, सरकारी जागिर आजसम्म खाएकाहरू अझ अलिकति दुर्गम ठाउमा नियुक्ति पाएका अधिकॉश कर्मचारीले यस्तै जागिरे जीवन व्यतित गरेका हुनुपर्छ । मैले ईन्जिनियरको जागिर ०४३ सालमा सुरू गर्दा एक हजार तीन सय रुपैँया मेरो तलब थियो । त्यतिबेला करिव यो एकसय डलर बराबर हुन्थ्यो । त्यो पैसाले आधा तोला सुन आउथ्यो । झन्डै तीस वर्षपछि विशिष्ट श्रेणीको सचिव भएर जागिर छाड्दा रू ५१ हजार तलब बुझें, यो ५०० डलर बराबर र १२ आना सुन किन्नसम्म पुग्छ । जागिर सुरू गर्दा एक्लो थिए, जागिरको अन्तिमतिर हुर्केका परिवार चार जनाको भयो । नेपालको विकट भूगोल र असुविधामा न्यून तलबको सरकारी जागिर खानु दुस्साहस सरह नै लाग्छ मलाई अहिले सम्झदा । जाजरकोट, डोटी, बैतडी, गुल्मी त्यो वेलाको । तर अचम्म लाग्छ, म कसरी टिकेछु जागिरमा, यही मुलुकमा, आजसम्म पनि कसरी टिक्न सकें ? फर्केर हेर्दा आफैलाई अचम्म लाग्छ घरिघरी । अलिकति नयाँ पुस्ताको नजर बाट नेपाल सरकारको तलवमानलाई हेर्ने हो भने नयाँ पुस्ताले गर्ने साधारण पकेट खर्च जस्तो देखिन्छ यहॉको सरकारी तलव । मेरा दौंतरी ब्रिलियन्ट साथीहरू अधिकांस विदेश पलायन भए । मलाई पनि उकास्थे विदेश आउन तर के भयो के, गईन, यही लडन्तभिडन्त गरियो । के गरियो, गर्न सकियो वा सकिएन वा गरिएन । अहिले मतलब पनि छैन। सन्तुष्ट नै छु आजका दिनमा । मेरो नजरमा जे कुरा राष्ट्रसेवा थियो त्यो मैले गरें । देश सेवालाई पारिश्रमिकसंग तुलना गरिएन अथवा थोरै पारिश्रमिकमा पनि कर्तव्यबोधको कारणले गर्दा चित्त बुझाइयो, अथवा यस्तै केही भयो । तर दुःख लाग्छ आफ्नै बालबच्चा नेपाल बस्न योग्य हुन छाडेको छ, नयाँ पुस्ता सरकारी जागिरमा आकर्षण देख्दैनन् । विदेशमा मनग्यै अवसर देख्छन् किनभने नेपाल बस्नु पेशा हैन, त्याग मानिन्छ। जीवनभरि ईमान्दार बनेर अन्तिममा भीखमंगा सरह हुनुपर्छ, न आफ्नो न परिवारको भरणपोषण गर्न सकिन्छ, न अवकाश पछिको जिन्दगीलाई सुरक्षित नै पार्न सकिन्छ । जागिरे भनेको कुनै सामाजिक ईज्जत नभएको सन्यासी र जोगी जस्ता निरीह देखिदै गईरहेका छन् नयाँ पुस्ताका नजरमा । तर अहिलेका पुस्ताको सोच छ, त्याग गर्न नपरेसम्म किन त्याग गर्ने ? के कालागि गर्ने ? भन्ने भनाई पनि सही नै हो । नयाँ सोचले नयाँ पुस्ताको जीवनस्तर पनि नयाँ खाले नै बनाएको छ । उनीहरु छातीमा ठुलो देशप्रेम बोकेर बिदेशिएका छन् । देशको सम्झना गर्दै स्तरीय कमाइ गरेका छन् । केही युवाहरु पछुताएका पनि होलान् , देश भित्रै केही गर्न सकिएन भनेर । तर जति पलायान भएका छन् ती व्यक्तिहरु प्रायः सन्तुष्ट छन् । युवालाई नेपालमै आकर्षित गर्न कर्मचारीको तलव किन बढाउने ? १) सार्क क्षेत्रमा नेपालको तलब सबैभन्दा थोरै छ त्यसैले । २) नेपालको जीडीपी विगत दश/पन्ध्र वर्षमा दुगुणा भएर एक हजार डलर पुगेको छ त्यसैले । ३) बजारभाउ बार्षिक ६ प्रतिशतले बढेको छ भने मुद्रा अवमूल्यन १० प्रतिशत भैरहेको छ । ४) आगामी ५ वर्षमा जीडीपी दुगुणा गर्ने र कृषि उत्पादन पनि दुगुना गर्ने सरकारको लक्ष छ । ५) बौद्धिकवर्गलाई नेपालमा नै रोजगार दिने स्तरको तलब नहुदा विदेश पलायन हुने भय रहन्छ । ६) तलब कम हुदा प्रतिभावान र सहरिया सक्षम युवा जागिरमा आकर्षित नभई दिदा सरकारी संयन्त्रमा पढेलेखेका ब्रिलियन्ट प्रतिभावान युवाको कमि हुन लागिरहेको छ । ७) न्युनतलबले अनियमित आम्दानी गर्न उक्साई रहेको र घरपायक वा अतिरिक्त आम्दानी हुने जागिर जोगाउन अनावश्यक दबाब थेग्न भ्रष्ट संस्कृति रोक्न असमर्थ बनाईरहेको छ । ८) जीविकोपार्जन गर्ने प्रर्याप्त तलब दिन सक्दा मात्र ईमान्दार र सक्षम कर्मचारीले गलत तत्वसंग भिडेर सरकारी संयन्त्रलाई सफा राख्ने ऑट देखाउन सक्ने हुन्छ। अतिरिक्त पैसा कमाउन नेताको घरघरमा प्रि/पोस्ट पेमेन्ट गर्ने कुसंस्कार हट्नेछ। साथै कर्मचारीहरू मन्त्री नेताहरूसंग राष्ट्रहितमा ऑखा जुधाएर काम गर्न सक्नेछन् । ९) पर्याप्त तलब भएमा मुलुक भित्रै बस्ने, अनुकूल उत्प्रेरणा जागेर घरपरिवार बूढाबूढीहरूको हेरचाह र आफू बूढाबूढी हुदा पनि समाजको सामिप्यमा बालबच्चाको हेरचाह पाउदा समाजमा खुशी शान्त र सुखी आदर्श महसुस गर्नेछ । १०) तलबमानको भिन्नता पनि सबैभन्दा तल्लो र सबैभन्दा माथिल्लो पदबीच करिब ५ देखि १० गुणा हुनुपर्छ । करियर भनेको आर्थिक दृष्टिले परिश्रमको सम्मान पनि हो । कर्मचारी हुं भन्दा देश विदेशमा लाज मान्नुपर्ने स्केलको तलबमानले आत्म सम्मान दिदैन । ११) तलब भीख हैन, बौद्धिक परिश्रमको मूल्य हो । थोरै तलब हुनु परिश्रम गर्न नसक्ने, नालायक, उत्पादकत्व नभएको, कमजोर, अक्षम जनशक्ति हो भन्ने बुझाउछ । १२) विदेशीको अगाडी नेपालीको बुद्धि नै हुदैन भन्ने स्तरको तलबले आत्मसम्मान र स्वाभिमान गिराउछ । शीर उचा राख्न आफ्नो तलब सार्वजनिक गर्न लाज नमान्ने हुनुपर्छ । १३) जागिर पेशा हो र जुनकुनै पेशाले पनि जीवन परिपूर्ण पार्न सक्ने हुनैपर्छ । बलिदान, त्याग , जीवनभरि पिलन्धरे रूवाई, पद्दलित , टीठलाग्ने, र जसले पनि भ्रष्ट नै हो भन्ने हालको वातावरणलाई हटाईएन भने राज्य संचालनको केन्द्रविन्दू चालक रहने कर्मचारीबिना मुलुक उंभो लाग्दैन । दूध खान मन हुनेले गाईलाई हरियो घॉस र दानापानी पर्याप्त दिनुपर्छ नत्र कर्मचारी पनि दूध थोरै दिने काठे गाईलाई सरापे जस्तो हुनेछ । १४) पुग्ने तलब दिईयो भने मात्र गलत, कामचोर, भ्रष्ट कर्मचारीलाई सरकारले सजाय दिन वा हटाउन नैतिक अधिकार रहने हुन्छ । कर्मचारीलाई गलत काम गरेकोमा गालीमात्र गर्ने हैन कि सही काम गर्ने पूर्वाधार पनि बनाईदिएकै हुनुपर्छ । १५) सरकार तलबबारे यसमा केही गर्न असमर्थ छौं, सक्दिन भन्छ भने त्यो सरकारका अरू सबै लक्ष पनि हावादारी नै हुनेछ, त्यसमा पनि उसले केही गर्न सक्नेछैन । १६) चालकरूपी कर्मचारीलाई भोकभोकै राखेर हाईवेमा तीब्र गतिमा गाडी हाक भन्दै पेसेन्जरसहित गाडीलाई त्रिसुलीमा जाक्नुसरह हो, त्यही गर भनेसरह हो । त्यसैले निजामति सेवा ऐनमा प्रत्येक २ वर्षमा मुल्यवृद्धिका आधारमा कर्मचारीको तलब समायोजन गर्ने लेखिएको हो । तलब आयोगहरूले पनि यसै बमोजिम तलब पुनरावलोकन गर्नुपर्ने सिफारिस गरेका हुन । तर सरकारले कहिल्यै ऐन र तलब आयोगहरुका सिफारिस अनुसार तलब वृद्धि गरेको छैन । नेपालमा कर्मचारीको तलब निर्धारणमा यथेष्ठ बेथितीहरु छन् । तल्लो र माथिल्लो पदका कर्मचारीहरुको तलबमा खासै फरक छैन । तल्लो तहको कर्मचारी र माथिल्लो तहकाबीचमा करिब २.५ देखि ३ गुणा मात्रै तलब स्केल बढी छ । औषतमा मुद्रास्फिति १० प्रतिशतको हाराहारीमा हुने गरेको छ । त्यस हिसाबले हेर्ने हो भने ३ बर्षमा कर्मचारीको तलब ३० प्रतिशतले बढाउनु न्यायसंगत हुन्छ । भारतमा सचिवको तलब २ लाख ७० हजार भारू छ । कार्यालय सहयोगीका तलब करिब २५ हजार छ । तर नेपालमा सचिवको तलब जम्मा ५१ हजार छ र कार्यालय सहयोगीका १८ हजार रुपैंयाँ छ । यसले त कर्मचारीलाई क्षमता अनुसार पेट पाल्न पुग्ने भत्ता मात्रै भयो । तलब बृद्धि गर्दा तलब आयोगका सिफारिस लागू गर्नुपर्छ । तलबलाई निर्वाह भत्ताका रुपमा हैन, बौद्धिक पारिश्रमिकका रुपमा लिईनुपर्छ । नेपालमा कर्मचारीको तलब नै ज्यादै कम भयो । अर्को कुरा तल्लो तह र माथिल्लो तहका कर्मचारीको स्केल पनि उपयुक्त भएन । भारतमा तल्लो तहका कर्मचारी र माथिल्लो तहका कर्मचारीको तलबमा ५ देखि १० गुणासम्मको फरक हुन्छ । मुलुकलाई सुशासन दिने अधिकृतको नेतृत्वले हो, तर नेपालमा भने अधिकृतहरुको तलब नै जोखिम लिएर काम गर्ने खालको भएन । माथिल्लो पदमा बौद्धिक परिश्रम, साहस र आर्थिक स्वतन्त्रता हुनुपर्छ, यसका लागि तलब ह्वात्तै बढाउनुपर्छ । तलबमा समाजबादी समानता काम लाग्दैन, जुन देशमा बजार भाउ केहीमा कुनै नियन्त्रण र सेवा सुविधामा कुनै विशेष सहुलियत छैन । तर माथि न्युनतम १ लाख तल २५ हजार गरेर ४ गुणा पुर्याउने र यसलाई ३ वर्षमा ६–१० गुणा पुर्याउनुपर्छ । निजामति जागिर सम्मानीत हुनुपर्छ र प्रतिभावानका लागि आकर्षक हुनैपर्छ । जीवन गुजाराका लागि हैन, बुद्धि र परिश्रमका लागि तलब हुनुपर्छ। (भीम प्रसाद उपाध्याय नेपाल सरकारका पूर्व सचिव हुन् ।)
विभिन्न स्थानमा चिन्ट उत्पादनको टेक्निकल सेमिनार
काठमाडौँ । चिन्ट इलेक्ट्रिकको आधिकारित बिक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिले डिलर र कन्ट्रयाक्टरलाई आफ्नो उत्पादनको बारेमा जानकारी दिन “टेक्निकल सेमिनार अन चिन्ट प्रोडक्ट” आयोजना गरेको छ । जेजाङ्ग चिन्ट इलेक्ट्रिक कम्पनी प्रालिको चिन्ट इलेक्ट्रिक चीनको नम्बर एक र यूरोपको दोस्रो सबैभन्दा उत्कृष्ट इलेक्ट्रिक ब्राण्ड हो । “टेक्निकल सेमिनार अन चिन्ट प्रोडक्ट” नारायणघाटमा वैशाख १० गते आयोजना गरिएको हो । त्यस्तै उक्त सेमिनार हेटौँडा र वीरगञ्जमा क्रमश वैशाख ११ गते र १३ गते आयोजना गरिएको हो । चिन्ट इलेक्ट्रिक्स इन्डियाका आलोक पाण्डेले सेमिनारमा ट्रेनिङ सेशन दिएका थिए । सेमिनारमा सहभागीहरुलाई चिन्ट इलेक्टिक उत्पादनहरु जस्तै रिले, कन्ट्रयाक्टर, आरसीसीबी, एमसीबी र एमसीसीबीका बारेमा जानकारी गराइएको थियो । चिन्टका उत्पादनहरु लो–भोल्टेज इलेक्ट्रिकल उत्पादनहरुदेखि वितरक उपकरणहरुसम्म रहेका छन् ।