विकासन्युज

पञ्चकन्या माई हाइड्रोको दोश्रो र तेश्रो साधारणसभा जेठ २० गते, बुक क्लोज कहिले ?

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरको दोश्रो तथा तेश्रो वार्षिक साधारणसभा जेठ २० गते हुने भएको छ । हाइड्रोको वैशाख १५ गते बसेको संचालक समितिको बैठकले उक्त साधारणसभाको मिति तय गरेको हो । उक्त साधारण सभामा जाने प्रयोजनको लागि संस्थाले गत जेठ २ गतेदेखि जेठ २० गतेसम्म हाइड्रोको बुक क्लोज हुने भएको छ ।

सिद्धार्थ बैंकको ४ नयाँ शाखा बिस्तार

काठमाडौँ । सिद्धार्थ बैंकले सोमबार मोरङको कञ्चनबारी, रूपन्देहीको अमरपथ, झापाको राजमार्ग चोक र काठमाडौंको कपनमा ४ नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा, अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा समिरप्रसाद दाहाल नियुक्त

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृतमा समिरप्रसाद दाहाल नियुक्त भएका छन् । सिविआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्दै आएका दाहाल बैशाख २० गतेबाट लागु हुने गरी बैंककाे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । १६ वर्षअघि बैंकिङ्ग करियर थालेका चार्टर एकाउन्टेन्ट दाहाल एक अनुभवी बैंकरका रूपमा परिचित छन् । ६ वर्षअघि प्रमुख वित्त अधिकृतको रूपमा बैंकसंग आबद्ध भएका दाहाल यसअघि बैंकको भगिनी संस्था सिविआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । उनले वित्त तथा योजना तर्जुमा विभाग, आईटी, संचालन विभाग, कर्जा प्रशासन विभाग, कर्जा असुली विभाग, अन्वेषण तथा इनोवेशन जस्ता महत्वपुर्ण विभागहरुलाई नविन तवरले संचालन गर्ने विश्वास बैंकले लिएको छ । हाल त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका छन् ।

कमजोर राष्ट्र बैंक, बलियो निजी क्षेत्र

जगदीश दाहाल २०५८ देखि २०६१ सालसम्म मैले नेपाल राष्ट्र बैंकको कानुनी परामर्शदाताको रुपमा काम गर्ने मौका पाएको थिए । सरकारले नेपाल राष्ट्र बैंक ऐन २०५८ मार्फत राष्ट्र बैंकलाई जे जिम्मेवारी दिएको छ, त्यो जिम्मेवारी पूरा गर्न राष्ट्र बैंक बेलाबेलामा चुकेको देखिन्छ । राष्ट्र बैंक बेलावखत आफ्नो जिम्मेवारी वहन गर्न असक्षम भएको टिप्पणी बैंकिङ क्षेत्रका जानकारीहरुबाट सुनिन्छ । राष्ट्र बैंक कमजोर हुनुमा विभिन्न कारण छन् । पहिलो, राष्ट्र बैंकको नेतृत्व र सरकारको नेतृत्व फरक राजनीतिक धारको हुँदा दुई पक्षबीच विभिन्न विषयमा असहमति भएको सन्देश बजारमा आईरह्यो । त्यसले राष्ट्र बैंकलाई कमजोर बनायो । दोस्रो, सरकारसँग बलियो सम्बन्ध भएको ट्रेड यूनियनहरु राष्ट्र बैंक भित्र सक्रिय भए । ट्रेड यूनियनहरुको नाजायज मागहरुका सामू राष्ट्र बैंकको मूल नेतृत्वले झुक्यो । तेस्रो, नेपाल राष्ट्र बैंकभित्रको जनशक्ति भन्दा राष्ट्र बैंकबाट अनुमतिपत्र लिएर संचालन हुने संस्थाहरुको जनशक्ति दक्ष र प्रभावशाली देखिए । राष्ट्र बैंकको नेतृत्वले सरकारको मुल नेतृत्वबाट आवश्यक सहयोग र समर्थन नपाएको अवस्थमा राष्ट्र बैंकको नीति निर्देशनलाई बैंक तथा फाइनान्स कम्पनीहरुले छल्ने गरेको अहिलेको अवस्थाले बुझाउँछ । जस्तो, राष्ट्र बैंकले रेमिट कारोबारमा प्रि फण्डिङ पोलिसी ल्यायो । तर त्यो पूर्ण रुपमा लागू भएको छैन । राष्ट्र बैंकले लागू गराउन सकेन । राष्ट्र बैंकको निर्देशन रेमिट्यान्स कम्पनीहरुले समेत पूर्ण रुपले पालना गर्दैनन् भने बैंकभित्रको अवस्था कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकको नीति, निर्देशन बजारले छल्ने, नटेर्ने, नमान्ने अवस्था आउनु दुःखद कुरा हो । राष्ट्र बैंकको भूमिका यो भन्दा कमजोर हुन नदिन सरकार सचेत हुनुपर्छ, खासगरी प्रधानमन्त्री र अर्थमन्त्रीले गम्भीर ध्यान जान जरुरी छ । राष्ट्र बैंकलाई बलियो नबनाए, सरकारले राष्ट्र बैंकलाई पूरा सहयोग नगरे, सरकारले राष्ट्र बैंकलाई पूर्ण रुपमा सहयोग गरेको छ भन्ने सन्देश बजारलाई नदिए नेपाल राष्ट्र बैंकले वित्तीय बजार नियमन गर्न, नियन्त्रणमा राख्न सक्षम नहुने संकेतहरु देखिएका छन् । २०७२ सालको संविधानले सरकार निकाय तथा सरकारी लगानी भएको सार्वजनिक संस्थानहरुको लागि आवश्यक सबै कर्मचारी नियुक्तीको जिम्मेवारी लोकसेवा आयोगलाई दिएपछि राष्ट्र बैंकले आफ्नो योजनाअनुसार नयाँ कर्मचारी नियुक्ती गर्न पाएन । ५८ वर्ष उमेर वा ३० वर्ष सेवाअवधिपछि अनिवार्य अवकास पाउने नीतिका कारण पुरानो धेरै कर्मचारीले अवकाश पाए । अनुभवी कर्मचारीको अवकाश र नयाँ कर्मचारीको नियुक्ती ढिलाईले केन्द्रीय बैंकको जनशक्ति कमजोर भएको छ । आवश्यक जनशक्तिको कमीले बैंक तथा वित्तीय संस्थाको नियमन, सुपरिवेक्षण कमजोर भएको छ । पूर्व गभर्नर तिलक रावलको कार्यकालपछि राष्ट्र बैंकभित्र अस्थिरता देखियो । अल्पकालमा नै गभर्नर आउने जाने, हट्ने हटाउने, भ्रष्टाचारमा मुछिने, अख्तियारले बयान लिने, अदालतमा मुद्दा हाल्ने, निलम्बन हुने, कामु गभर्नरले नोटमा हस्ताक्षर गर्नुपर्ने पर्यो । गभर्नर दिपेन्द्र पुरुष ढकाल, दिपेन्द्रवहादुर क्षेत्र, विजयनाथ भट्टराईले पुरा कार्यकाल चलाउन पाएनन् भने कामु गभर्नर कृष्णबहादुर मानन्धरले कामु गभर्नरको हैसियतमा नोटमा हस्ताक्षेर गरेर चलाउनु पर्ने दिन पनि आयो । नेतृत्वमा भएको यस्तो खिचातानी, आरोप प्रत्यारोप, मुद्दामालिलाले पनि राष्ट्र बैंकलाई कमजोर बनायो । एकातिर यसरी राष्ट्र बैंकको नेतृत्व कमजोर हुँदै गर्दा राष्ट्र बैंकबाट इजाजतपत्र लिएको संस्थाहरु, तिनका संचालकहरु बलियो भए । बैंकका सञ्चालकहरु सांसद हुने, सञ्चालकहरुको सोझो पहुँच र प्रभाव संसददेखि मन्त्रिपरिषद्सम्म हुने, राष्ट्र बैंकले बनाएको बाफियाको मस्यौदा निजी क्षेत्रका प्रभाव र दवावमा परिमार्जन हुने अवस्था आयो । पूर्वाधार विकास बैंक खोल्न पूर्व मुख्यसचिव विमलप्रसाद कोइरालाले खेलेको भूमिका धेरै महत्वपूर्ण छ । उनी जत्तिको प्रोफेशनल मान्छेले एक कार्यकाल बैंकको नेतृत्व गरेको भए त्यसले राम्रो नतिजा दिने थियो । तर निजी क्षेत्रको प्रभावमा उनलाई अध्यक्षबाट हटाईएपछि मात्र राष्ट्र बैंकले सञ्चालन अनुमति दियो । राष्ट्र बैंकको निर्देशन छल्दै नबिल बैंकले अनिल शाहलाई प्रमुख कार्यकारी अधिकृत बनायो । राष्ट्र बैंकले कुनै भूमिका खेल्न सकेन । नेपाल राष्ट्र बैंकमा गभर्नर भएका मध्ये डा युवराज खतिवडालाई सफल गभर्नर मानिन्छ । उनले बैंक तथा वित्तीय संस्थालाई मर्ज गराएर वाणिज्य बैंक १०/१२ वटामा झार्ने लक्ष्य लिएका थिए । राष्ट्र बैंकले पुँजी वृद्धि गरी २ अर्बबाट ८ अर्ब पनि बनायो । तर आज पनि २८ वटा वाणिज्य बैंक छन् । हकप्रद सेयर निष्काशन गरी ऋण लिएर पुँजी वृद्धि गर्न पाउने राष्ट्र बैंकको नीतिका कारण आफ्नो लक्ष्य पुरा भएन । राष्ट्र बैंक आफ्नो मुल लक्ष्यमा नै फेल खायो । निजी क्षेत्रले अख्तियारमा, अदालतमा, प्रहरी अनुसन्धान समेत प्रभाव पारेर राष्ट्र बैंकका नीति निर्देशनको कार्यान्वयमा चुनौति दिएको पनि देखियो । यी सरकारी निकायको सहयोग भएन भने राष्ट्र बैंक बलियो हुन सक्दैन । आन्तरिक मामिलामा मात्र होइन, वाह्य सम्बन्ध र प्रभावमा पनि राष्ट्र बैंक चुकेको देखिन्छ । सरकारले आफ्ना नागरिक, आफ्नो देशका कम्पनी तथा बैंक फाइनान्सले अन्तराष्ट्रिय बजारमा खेप्नु परेको समस्याबाट मुक्ति दिन सक्दो सहयोग गर्नुपर्छ । भारतले १००० र ५०० का नोटबन्दी गर्दा नेपालीसँग कानुनसम्मत भएको नोट सटही सुविधा दिन सरकार र राष्ट्र बैंक चुके । राष्ट्र बैंक सरकारको एक अंग हो । मेलम्ची खानेपानी परियोजनमा चिनियाँ कम्पनीका लागि काउन्टर बैंक ग्यारेन्टी बसेका हिमालयन बैंक, बैंक अफ काठमाण्डूलाई जसरी पैसा तिराईयो, त्यसमा राष्ट्र बैंकको गल्ती थियो । अहिले मेलम्ची, अन्य जलविद्युत कम्पनीका लागि इटालिएन कम्पनीको लागि काउन्टर बैंक ग्यारेन्ट बसेको नेपाल इन्भेष्टमेन्ट बैंकमा त्यस्तै समस्या आउँदैछ भन्ने समाचार आएका छन् । त्यसमा राष्ट्र बैंक गम्भीर हुनुपर्छ । व्यापारिक मामिला भनेर निजी क्षेत्रले भोग्नु परेको समस्याबाट सरकार भाग्ने हो भने राज्यले ठूलो नोक्सानी बेहोर्छ, अर्थतन्त्र कमजोर हुन्छ । म्याक्स मनिले नेपालमा गरेको गलत कारोबारको विषयमा राष्ट्र बैंकले राम्रो भूमिका खेल्यो । राष्ट्र बैंकले यस्तो अभिभावकत्व सधैं लिनुपर्छ ।

महासंघका पूर्व अध्यक्ष ढकाल-ओमान चेम्बर अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवम् सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले ओमान भ्रमणका क्रममा ओमान चेम्बरका अध्यक्ष, ओमानका लागि नेपाली राजदूत र ओमानका उद्यमी व्यवसायीहरू समक्ष राजधानी मस्कटमा आपसी भेटवार्ता गरे । भेटवार्ताका क्रममा पूर्व अध्यक्ष ढकालले नेपाल-ओमान आर्थिक सम्बन्ध विस्तार एवम् सहकार्यका क्षेत्रका विषयमा छलफल गरे । साथै भ्रमणका क्रममा पूर्व अध्यक्ष एवम् विशिष्ट सदस्य ढकालले ओमानस्थित श्रीलंकाली राजदूतावासमा गई श्रीलंकामा हालै घटेको हिंसात्मक घटनाबाट मृत्यु हुनेहरूको सम्झनामा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै समवेदना प्रकट गरे ।

अब पत्रकारिता पढ्न कलेज जानै नपर्ने

काठमाडौं। अब पत्रकारिता पढ्न कलेज जानु नपर्ने भएको छ । पत्रकारिता बिषय अब घरमै बसेर पढ्ने सुबिधा खुला विश्वविद्यालयले ल्याउन लागेको हो । सोमबार नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्यूट आम सञ्चार अध्ययन अन्तर्गत शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न सहमत भएका हुन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा र नेपाल प्रेस इन्स्टिच्यूटका अध्यक्ष नीलकण्ठ उप्रेतीबीच उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो । दुवै संस्थाबीच असोज २०७६ भित्र स्नातक, स्नातकोत्तर तहको पहिलो सेमेष्टरको अध्ययन प्रारम्भ गर्नेसमेत सहमति भएको हो । उक्त अध्यनलाई स्नातक, स्नात्तकोत्तर हुँदै एमफिल र पिएचडीसम्म लगिने छ । विश्वविद्यालयले हाल स्नातक र स्नातकोत्तर स्तरका लागि पाठ्यक्रम विकास गर्ने काम गरिरहेको छ ।विश्वविद्यालय र इन्स्टिच्यूटबीच इन्ष्टिच्यूटको पनि प्रतिनिधित्व हुनेगरी विषय समिति निर्माण गर्ने, कोर्स डिजाइन गर्नेसमेत सहमति भएअनुसार काम थालिएको हो । नेपाल खुला विश्वविद्यालयको प्राज्ञिक ज्ञान र नेपाल प्रेस इन्ष्टिच्यूटको आमसञ्चारसम्बन्धी प्रयोगात्मक ज्ञानको संयुक्त मिश्रणबाट दक्ष जनशक्तिको उत्पादन गर्नु सहमतिको उद्देश्य रहेको खुला विश्वविद्यालयका उपकुलपति डा. लेखनाथ शर्माले बताए । विविध कारणले प्रत्यक्ष कक्षामा सरिक हुन नसक्ने, नेपाल मात्र नभई विश्वको जुनसुकै कुनामा रहेका, जुनसुकै उमेरका व्यक्तिहरुलाई उनीहरुकै अनुकूल समय र गतिमा इन्टरनेटको माध्यमद्वारा अध्ययन पूरा गर्ने-गराउने कार्यक्रमको उद्देश्य रहेको छ । पत्रकारिता तथा आमसञ्चार संकायबाट माध्यमिक शिक्षा (उच्च) पूरा गरेकाले स्नातक र सोही संकायमा स्नातक गरेकाले खुला विश्वविद्यालयमा स्नातकोत्तरमा भर्ना हुनसक्नेछ ।

बाजुरामा हिमालयन बैंकले खोल्यो नयाँ शाखा

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाजुरा जिल्लाको विकट खप्तड छेडेदह गाउँपालिका अन्तर्गत डोगाडी-५, छेडेदहमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले गरेका हुन् । बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने जनाएको छ ।

सिटिजन लाइफद्वारा मृत्यु दाबी भुक्तानी बापतको १८ लाख प्रदान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी बापत रु १८ लाख बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीले दुबईमा बसोबास गर्दै आएका गोकर्ण खत्रीको असामयिक निधन भएको कारण उनकी श्रीमतीलाई उक्त रकम भुक्तानी गरेको हो । घातक रोग अन्तर्गतको ब्रेनट्युमर भए पश्चात मृतक स्वयमलाई कम्पनीले उपचारको लागि रु५लाख प्रदान गरेको थियो ।उपचारको क्रममा निजको मृत्यु भएपछि कम्पनीले मृतकका श्रीमती जानकि दांगीलाई रु १३लाख प्रदान गरेको छ।दुबईमा घातक रोगको उपचार गराउँदै आएका खत्री थप उपचारको लागि नेपाल आएका थिए । अपरेशन कै क्रममा मृत्यु भएको खत्रीको परिवारलाई कम्पनीले मृत्यु पश्चात दाबी भुक्तानी स्वरुप रु.१३ लाख र यस अघि उपचारको लागि रु ५लाख गरी कुल १८ लाख हस्तान्तरण गरेको थियो । सिटिजन लाइफको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौड्यालले जानकी दांगीलाई सो चेक प्रदान गरेका थिए ।