विकासन्युज

अर्थमन्त्री र बाबुराम भट्टराईको ‘पपुलारिजम’ जुहारी, सुरेन्द्र पाण्डेको प्रश्नः आकाश र पाताल कस्को ?

काठमाडौं । ‘अर्थमन्त्रीले अनपपुलर हुने आँट गर्नुस, नीति तथा कार्यक्रममा राजनीति हावी भयो, एक बर्ष सरकारको आलोचना भयो भनेर नीति तथा कार्यक्रम पपुलिष्ट खालको आयो’, यो भनाई हो पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको । डा. भट्टराईले बजेटमा सुझाव दिन गठित उप समितिको प्रतिवेदन माथी सुझाव दिँदै बजेटमा राजनीति र अर्थतन्त्रलाई मिलाउन कठिन हुने, तर अर्थमन्त्रीले त्यस्तो साहस गर्नु पर्ने बताए । ‘राजनीतिक रुपमा ठिक देखिएका कार्यक्रम आर्थिक रुपमा बेठिक हुन सक्छन्, अर्थमन्त्रीले त्यस्तो कुरा मिलाउन साहस गर्नुपर्छ’, डा. भट्टराईले भने । उनले सार्वजनिक खरिद ऐनमा आँटिलो निर्णय गरेर संसोधन गर्नु पर्नेमा पनि जोड दिए । जवाफमा अर्थमन्त्री डा. युवराजखतिवडाले भने ‘बजेट भनेको पोलिटिकल पपुलरिजम र इकानोमिक रियालिजमको सन्तुलन हो, बजेट भनेको राजनीतिक अर्थशास्त्र त हो, त्यो भन्दा बढी अर्थ राजनीति हो ।’ डा. खतिवडाले राजनीतिक एजेण्डालाई आर्थिक श्रोतले भ्याउने हदसम्म पपुलिष्ट हुने बताए । उनले भने-‘राजनीतिक एजेण्डालाई अर्थतन्त्रले भ्याउने हदसम्म पपुलिष्ट हुने हो ।’ बैठकमा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आकाश र पाताल कस्को भनि प्रश्न गरे । ‘आकाश कस्को, जमिन मुनी कति तलसम्म व्यक्तिको हक लाग्ने हो ? सुरुङ बनाउन दिन्न भन्न व्यक्तिले पाउने की नाई ?’, पाण्डेले प्रश्न गरे । उनले सिंगापुरमा जमिनको ४० मिटर तलको भागमा व्यक्तिको हक नलाग्ने कानुन रहेको जानकारी समेत गराएकाथिए । अर्थमन्त्री डा. खतिवडाले संबिधानले आकाश र पातालको बिषयमा नबोलेको बताए । ‘संबिधान मै आकाशको स्वामित्वका बिषयमा मैले लेख्नुपर्छ भनेको थिएँ, अब चाँही हामीले त्यता पनि सोच्नुपर्छ, जमिन मुनीको स्वामित्वबारे पनि स्पष्ट हुनुपर्छ’, डा. खतिवडाले भने ।

बुधबार सुनको मूल्य दुई सयले बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । मंगबार ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै मंगलबार प्रतितोला ५९ हजार २ सयमा कारोबार भएको तेजावी सुन बुधबार प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी मंगलबारको तुलनामा ५ रुपैयाँ बढेर ७२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

राष्ट्र बैंकले बुधबार १५ अर्बको रिपो बिक्री गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत बुधबार उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ । सातदिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा ‘क’, ‘ख’ वर्गका बैंक तथा ‘ग’ वर्गको वित्त कम्पनीले भाग लिन पाउने छन् । बैंकले पछिल्ला दिनमा निरन्तररुपमा रिपो र टे«जरी बिल बिक्री गर्दै आएको छ । रासस

कृषि तथा वन विज्ञान विश्वविद्यालय एक महिनादेखि ठप्प

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरमा एक महिनादेखि पठनपाठन ठप्प भएको छ । गत चैत २१ गते विश्वविद्यालयको कृषि सङ्कायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले कालोमोसो दली अभद्र व्यवहार गरेपछि विश्वविद्यालय ठप्प भएको हो । विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिका अनुसार ओझालाई कालोमोसो दल्ने विद्यार्थीलाई कडा कारवाहीको माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक सङ्घले आन्दोलन जारी राखेको छ । प्राध्यापकहरुले मुख्य कार्यालयमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयले त्यही अध्ययनरत छ विद्यार्थीलाई कालोमोसो दलेको भन्दै दुई महिनाका लागि निष्काशन गरेको छ । त्यसलगत्तै अनेरास्ववियुले विश्वविद्यालयमा तालाबन्दी गरेको थियो । कोलाक्षपतिका अनुसार अनेरास्ववियुले तालाबन्दी दुई दिनअघि खोलेको भए पनि प्राध्यापक सङ्घले कारवाही कमजोर भएको भन्दै आन्दोलन जारी राखेपछि पठनपाठनसहित विश्वविद्यालयको काम कारवाही ठप्प भएको छ । राजनीतिक दल र प्राध्यापक सङ्घसँग नियमित छलफल भइरहेको भए पनि निकास निस्कन नसकेको उनले बताए । विश्वविद्यालयमा विगत एक वर्षदेखि विभिन्न आन्दोलनका कारण पठनपाठन र काम प्रभावित हुँदै आएको छ । गएको असार २० गते निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन जारी राख्दा विश्वविद्यालय प्रभावित बनेको छ । यसै क्रममा कालोमोसो प्रकरण थपिएपछि विश्वविद्यालय अस्तव्यस्त बनेको हो । विगत एक वर्षमा आधा समय पनि विश्वविद्यालय नखुलेको जनाइएको छ । रासस

जमिनमुनीबाट ग्यास निस्कियो, आगो लागेपछि हेर्नेको भीड

पाल्पा । माथागढी गाउँपालिका-२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ । स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको पाइप जमीनमुनि गाड्ने क्रममा ग्यास बाहिर निस्किरहेको स्थानीय बासिन्दा राजकुमार पन्थीले बताए । जमीनमुनि गाडेको पाइपबाट गन्ध आएपछि आगो ल्याएर बाल्दा बलेको छ । पाल्पामा पहिलोपटक जमीनमुनिबाट ग्यास निस्किेको हो । जमीनमुनिबाट निस्केको ग्यासमा आगो बलेपछि त्यस क्षेत्रमा अहिले भीड लागेको छ । स्थानीय बासिन्दाले जमीनमुनि गाडेको पाइप ढाकेर राखेका छन् । ढाकेको वस्तु हटाएपछि पाइपबाट आगो निस्केको देखिएको छ । आगो बोलेको हेर्नका लागि आसपासका क्षेत्रबाट सोलेमा पुगेको स्थानीय बासिन्दा रेखीराम रानाले बताए यस ग्यासका बारेमा विस्तृृत अध्ययन अनुसन्धान गरी वैज्ञानिक रुपमा प्रयोग गर्नुपर्ने पन्थीको भनाइ छ । पाल्पाका समथल माडीफाँट अन्न उत्पादनका हिसाबले महत्वपूर्ण क्षेत्रका रूपमा लिइन्छ । पाल्पामा फलाम खानी, कोइला, चुनढुङ्गा खानी प्रशस्त रहे पनि त्यसको लाभ लिन सकेको छैन । रासस

प्रदेश ३ सँग साइनो गाँस्न चीनको उच्चस्तरीय टोली नेपाल आउँदै

काठमाडौं । छिमेकी मुलुक चीनको गान्सु प्रान्तले नेपालको प्रदेश नं ३ सँग भगिनी साइनो गास्ने भएको छ। गान्सु प्रान्तको लान्झाउ महानगर र काठमाडौं महानगरपालिका (कामपा)बीच द्विपक्षीय सहयोगसम्बन्धी सम्झौता हुँदैछ। नेपालसँग गान्सु र लान्झाउ नगरको आर्थिक र व्यापारिक सम्बन्ध बढाउन गान्सु प्रान्तका प्रान्तपाल ताङ रेन्जजियान नेतृत्वको टोली आगामी साता नेपाल आउँदै छ। यही अवसरमा प्रदेशसँग भगिनी सम्बन्ध गासिने र लान्झाउ–काठमाडौं महानगरबीच विविध सम्झौता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। चीनको उत्तरपश्चिम भेगमा अवस्थित गान्सुको राजधानी लान्झाउ हो। आगामी सोमबार काठमाडौंमा नेपाल–चीन–गान्सुको आर्थिक तथा व्यापार प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया तय भएको छ। सोही कार्यक्रममा प्रदेशसँग भगिनी सम्बन्ध स्थापना सम्बन्धमा औपचारिकरूपमा हस्ताक्षर हुने बताइएको छ। कार्यक्रममा सहभागी हुन ताङको नेतृत्वमा लान्झाउ नगरका उपमेयरसहित करिब दुई दर्जन चिनियाँ अधिकारी आइतबार अपरान्ह काठमाडौं आउँदै छन्। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

निगममा पाइलट नियुक्तिदेखि तालिमसम्ममा चरम अनियमितता

काठमाडौँ । नेपाल वायुसेवा निगममा चरम आर्थिक अनियमितता र अनुशासनहीनता रहेको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । खासगरी निगमले पाइलट नियुक्तिमा अनियमितता गरेको सतर्कता केन्द्रले तयार पारेको नेपाल वायुसेवा निगममा भएको अनियमिततासम्बन्धी अध्ययन प्रतिवेदन, २०७५ मा औँल्याइएको छ । पाइलटको तालिम र चालकदलको आवासमा समेत निगम पदाधिकारीले चलखेल गरेका छन् । निगमले नियमविपरीत वाई–१२ ई जहाज उडाउन निजी वायुसेवा कम्पनीमा कार्यरत पाइलट फिजोनाथ नेपाली र केबी लिम्बूलाई १३ लाख रुपैयाँसम्म मासिक तलब दिने गरी नियुक्त गरेको छ । नेपाली मकालु एयरका अध्यक्ष हुन् । १ फागुन ०७५ मा सात लाख रुपैयाँ मासिक तलब तथा अन्य सुविधा दिने गरी नेपालीसँग र १८ माघ ०७५ मा लिम्बूसँग सम्झौता गरिएको थियो । उनीहरूले ‘इन्स्ट्रक्टर पाइलट’को ‘लाइसेन्स इन्डोर्समेन्ट’ भएपछि मासिक १३ लाख रुपैयाँ पाउने सम्झौतामा उल्लेख छ । दुवैको नियुक्ति सञ्चालक समितिबाट अनुमोदन भएको छैन, तर कार्यकारी अध्यक्षले टिप्पणी सदर भने गरेका थिए । निगमको विनियमावलीमा अति आवश्यक परेको अवस्थामा तेस्रो तहसम्मको पदमा कार्यकारी प्रमुखको स्वीकृतिमा र चौथो तह वा सोभन्दा माथिको तहको पदमा सञ्चालक समितिको पूर्वस्वीकृति लिएर मात्र करारमा कर्मचारी नियुक्त गर्न सक्ने व्यवस्था छ । तर, यी दुवै पाइलटका हकमा कुनै कानुनी प्रक्रिया तथा मापदण्ड पूरा नगरी सोझै निवेदनका भरमा कार्यकारी अध्यक्षको तोकादेशअनुसार सम्झौता गरिएको सर्तकताको प्रतिवेदनमा उल्लेख छ । यस्तो नियुक्ति नियमसंगत नदेखिएको ठहर छानबिन प्रतिवेदनको छ । निगमका कर्मचारी अन्य कुनै कम्पनी स्थापना, सञ्चालन तथा व्यवसायमा संलग्न हुनुहुँदैन । यो नियमलाई पनि मिचेर निजी एयरलाइन्सका सञ्चालकलाई नै निगममा नियुक्ति दिइएको छ । सतर्कता केन्द्रले नियमविपरीत करारमा नियुक्ति गर्ने र हुनेसमेतलाई कानुनबमोजिम कारबाही गर्न तथा पाइलटलाई दिइएको रकमसमेत असुलउपर गर्न सिफारिस गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

चार अर्ब ४३ करोडको खानेतेल भारत निर्यात

वीरगन्ज । वीरगन्ज भन्सार भएर चार अर्ब ४३ करोड ४१ लाख ६ हजार रुपैयाँ बराबरको दुईथरी खानेतेल भारत निर्यात भएको छ। नेपालबाट भारततिर भटमासको तेल र पाम आयल निर्यात सुरु भएको हो। सुरुमा निर्यात गर्ने उद्देश्यले वीरगन्ज करिडोरमा स्थापित भएका घिउ–तेल उद्योग पछिल्लो समय स्वदेशी बजारमा मात्र सीमित हुँदा समस्या खेपिरहेका थिए। आधा दशकको अन्तरालपछि फेरि एकपटक देशबाहिर नेपाली तेल उद्योगको उत्पादनले बजार पाएको छ। २०७५ असोज २२ गते भारतले निर्यात अनुमति दिएपछि मंसिरदेखि फेरि तेल निकासी सुरु भएको थियो। वीरगन्ज भन्सार कार्यालयका अनुसार यो नाकाबाट २०७५ चैतसम्म ३१ हजार एक सय ७३ टन पाम आयल निर्यात भएको छ। पाम आयल निर्यातबाट नेपाली उद्योगले तीन अर्ब ४० करोड १५ लाख ९० हजार रुपैयाँ आर्जन गरेका छन्। त्यस्तै, भटमासको तेल निर्यातबाट एक अर्ब तीन करोड ३२ लाख ६ हजार रुपैयाँ भिœयाएका छन्। दुवैथरी गरेर ३९ हजार एक सय ८६ टन तेल निकासी भएको छ। यसबाट चार अर्ब ४३ करोड ४१ लाख रुपैयाँ भित्रिएको हो। आजको नागरिक दैनिकमा समाचार छ ।