विकासन्युज

कामना सेवाबाट एशियन लाईफको बीमा सेवा पाइने

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स लिमिटेडबीच संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदान प्रदान गर्ने गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र एशियन लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा एशियन लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने बैंकले जनाएको छ ।

मृगौला पिडीतलाई औद्योगिक शान्ति नेपालको १ लाख २० हजार सहयोग

काठमाडौँ । औद्योगिक शान्ति नेपाल संस्थाले दुइटै मृगौला खराब भएर पीडित भई आर्थिक समस्याका कारण उपचार गर्न नसकिरहेका दीपकबहादुर धामी (दिपेन्द्र)लाई रु १ लाख २० हजार सहयोग गरेको छ । “नयाँ बर्ष नया सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली नयाँ बर्षको पूर्व सन्ध्याबाट भक्तपुरमा पाँचौ भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७५/७६ चैत २१ गते देखि बैशाख ४ गते सम्म भक्तपुरको सल्लाघारीमा सम्पन्न भएको थियो । उक्त भक्तपुरमा आयोजना भएको व्यापार मेलाबाट प्राप्त मुनाफाबाट सामाजिक सेवा गर्ने उद्देश्यले मृगौला पिडीतलाई सहयोग गरेको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी गराए । संस्थाले एक कार्यक्रमको आयोजना गरि धामीलाई संस्थाका अध्यक्ष महत, मध्यपुर व्याइज व्याण्डका अध्यक्ष सुनिल बज्राचार्य र मेला आयोजक समितिका संयोजक दीपक थापाले सहयोग रकम हस्तान्तरण गरेका थिए । बझाङ्ग जिल्ला दुर्गाथली गाउँपालिका–६ का २५ बर्षिय धामीको २०७३ फागुनमा दुवै मृगौला फेल भई सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा डाइलासिस गराइराखेका उनको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग प्रदान गरेको संस्थाका अध्यक्ष महतले जानकारी दिए ।

‘बालुवाटारको जग्गा बिक्रि हुनु र खुलामञ्च कब्जा हुनु राम्रो संकेत हैन’

काठमाडौं । राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालले वर्षौदेखि भोगचलनमा रहेका जग्गा भोगकर्तालाई थाहै नहुने गरि अरुको नाममा दर्ता भएकोबारे छानबिन गरी अवैध जग्गा दर्ता खारेजीको माग गरेको छ । मञ्चले बुधबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो माग गरेको हो । मञ्चका निवर्तमान अध्यक्ष ल्यामबहादुर दर्जीले भने,‘भोगकर्तालाई थाहै नहुनेगरि अरुको नाममा दर्ता भएका छन् । जसले उठीवासको अवस्था सिर्जना गरेको छ । यसको छानबिन गरि अबैध रुपमा भएका जग्गा दर्ता खारेज गरिनुपर्छ । भोगकर्ताको नाममा त्यसको स्वामित्व दिनुपर्छ ।’ दर्जीले सबै खालका भूमि समस्या समाधान हुने गरी तीनवटै तहमा स्वतन्त्र र अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने र समूदायले बुझ्ने भाषामा नीति र योजना बनाई कार्यान्वयन गर्नुपर्ने माग राखे । मञ्चकी अध्यक्ष सरस्वती सुब्बाले भूमिमाथिको बेथिति सिर्जना गर्ने जोकोहीलाई पनि राज्यले कारवाहीको दायरामा ल्याई न्याय, सुशासन र समृद्धिको अभियान शुरु गर्नुपर्ने माग राखिन् । उनले भनिन्,‘देशैभरि भुमाफियाहरुको विरोधमा हामी जुटेका छौं । अहिलेपनि वर्षौदेखि खेतीपाती गर्नेहरुको स्वामित्वमा जमिन छैन् ।’ उनले आफूहरुले अहिले देशका ५९ वटा जिल्लामा सक्रियताका साथ काम गरिरहेको पनि जानकारी गराईन् । उनका अनुसार मञ्चले विभिन्न माग राखेर देशका ३२ वटा जिल्लाका विभिन्न मालपोत कार्यालयहरुमा आजमात्रै विरोध प्रदर्शन गरेको छ । मोही, बिर्ता, गुठीजस्ता समस्या समाधान हुनेगरि व्यवहारिक नीति र संरचना निर्माण गरिनुपर्ने, आवासबाहेकको जग्गा उपभोगको योजना अनुसार उपलब्ध गराउने नीति लिनु पर्ने पनि मञ्चको माग छ । मञ्चले बालुवाटारको जग्गा बिक्रि हुनु, राजधानीको खुलामञ्च कब्जा हुनु र यसमा उच्च तहको जिम्मेवार व्यक्ति र जनप्रतिनिधिको नै संलग्नता जोडिनु जटिल स्थितिको संकेत भनेको छ ।

काठमाडौँ र बुटवलमा सिद्धार्थ इन्स्योरेन्सको शाखा बिस्तार

काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्स लि.ले काठमाण्डौको स्वयम्भु तथा बुटवलको ट्राफिक चोकमा शाखा बिस्तार गरेको छ । स्वयम्भु शाखा कम्पनीको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, उप प्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ एवम् नायव महाप्रबन्धक मुरारी रेग्मीले संयुक्त रुपमा उद्घाटन गरे । यस्तै प्रमुख कार्यकारी अधिकृत बैदवार क्षेत्रीले ट्राफिक चोक बुटवल शाखाको उद्घाटन गरे । सो अवसरमा प्रमुख कार्यकारी बैदवार क्षेत्रीले अहिलेसम्म ७४ वटा शाखा सञ्जालमार्फत बीमा सेवा प्रदान गर्दै आएको बताउँदै भबिष्यमा अझ प्रभावकारी रुपमा बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

काठमाडौँवासीलाई लुम्बिनी भ्रमणको निम्तो, ‘नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग’

काठमाडौँ । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले ‘लुम्बिनी भ्रमण वर्ष-२०७६’ को अभियानको टोलीले काठमाडौँवासीलाई निम्तो दिएको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्षको पूर्व सन्ध्यामा प्रचार–प्रसार गर्दै टोली काठमाडौँ आएर भ्रमणको निम्तो दिएको हो । लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसरमा जानकारी दिन बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी क्षेत्र सास्कृतिक रुपमा विकास भएपनि पर्यटकीय हिसाबमा अझैपनि अघि बढ्न नसकेको बताए । अझैपनि कतिपयलाई बुद्ध भारतमा जन्मिएको भन्ने भ्रम छ, मुख्यमन्त्री पोखरेलले भने–‘बुद्ध नेपालमा जन्मिएका हुन्, कपिलवस्तु मै जन्मिएका हुन्, यसमा द्विविधा नराख्दा हुन्छ ।’ लुम्बिनीलाई पर्यटकीय क्षेत्रका रुपमा थप विकास गर्न पनि लुम्बिनी भ्रमण्ण वर्ष कार्यक्रम गर्न लागिएको बताए । लुम्बिनीलाई पर्यटकीय हिसाबमा अघि बढाउन र प्रदेश नम्बर ५ को समृद्धिका लागि प्रदेश सरकारले ध्यान केन्द्रित गरेको बताए । लुम्बिनी घुम्न आउने पर्यटकलाई हरेक किसिममा सुविधा उपलब्ध गराउन प्रदेश सरकार तयार छ–उनले भने । लुम्बिनी आउने पर्यटकलाई कुनै किसिमको असुबिधा हुन दिन्नौँ, त्यसका लागि प्रदेश सरकारले काम गरिरहेको छ । लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन प्रदेश सरकारले ४ करोड बजेट बिनियोजना गरेको समेत मुख्यमन्त्री पोखरेलले बताए । जेठ ४ गते लुम्बिनी भ्रमण वर्षको घोषणा आगामी जेठ ४ गते परेको २५६३ औँ बुद्ध जयन्तीका अवसरमा घोषणा हुन गइरहेको लुम्बिनी भ्रमण वर्षलाई सफल पार्न प्रचार अभियान शुरु गरिएको प्रचार प्रसरा समितिका संयोजक भरत केसीले बताए । लुम्बिनीको भैरहवाबाट शुरु गरिएको प्रचार अभियान, रुपन्देहीको बुटवल, पाल्पाको तानसेन, स्याङ्जाको पुतलीबजार, कास्कीको पोखरा, तनहुँको दमौली हुँदै काठमाडौँ आएर सडक प्रदर्शन गरी लुम्बिनी भ्रमण गर्न आग्रह गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्छ दरबारमार्गस्थित नारायणहिटी सङ्ग्रहालय अगाडि भएको प्रचार प्रसार कार्यक्रममा प्रतिनिधिसभाका सांसद घनश्याम भुसालले लुम्बिनीबाट बुद्धको सन्देश बोकेर काठमाडौँ आएको टोलीलाई स्वागत गर्दै राष्ट्रिय अभियानलाई सफल पार्न सबैको साथ चाहिने खाचो औँल्याए । यो अभियानले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको अभियान २०२० लाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले बुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमण वर्षको आयोजना गरिनु नेपाल भ्रमण वर्षलाई सफल बनाउने एक महत्वपूर्ण आधार भएको र यसलाई राष्ट्रिय अभियानका रुपमा सफल पार्नु सबैको दायित्व भएकाले सफल पार्न केन्द्र सरकार र सांसदलगायतको पूर्ण साथ सहयोग रहने बताए । प्रदेश नं ५ का प्रदेशसभा सांसद विष्णु पन्थीले नेपाल भ्रमण वर्षलाई सफल बनाउन लुम्बिनीमा धेरै सङ्ख्यामा पर्यटक भित्र्याउने लक्ष्यका साथ अभियान चलाइएको बताए । पूर्वमन्त्री दीपक बोहोराले लुम्बिनी भ्रमणलाई सफल बनाउन व्यवसायीको सक्रियतामा चलाइएको अभियानले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राखे । अभियानको दोस्रो चरणको कार्यक्रम नारायणघाट, हेटौँडा, वीरगञ्ज, जनकपुर, इटहरी हुँदै पूर्वमेचीसम्म लुम्बिनी भ्रमण वर्षको प्रचारार्थ सडक प्रदर्शनी हुनेछ भने तेस्रो चरणमा दाङ, नेपालगञ्ज, महेन्द्रनगर र सुर्खेतमा गरिनेछ । त्यस्तै, चौथो चरणमा भारतको कुशिनगर, वनारस र सारनाथमा सडक प्रदर्शनी गरिने लुम्बिनी भ्रमण वर्ष मूल आयोजक समितिले जनाएको छ ।

आगामी असार ६ गते ‘चलचित्रमा नृत्य’ कार्यक्रम हुँदै

काठमाडौं । चलचित्र नृत्य सङ्घले ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यक्रम गर्ने भएको छ । नेपाली चलचित्र क्षेत्रमा नृत्य कर्मगर्नेहरुको सङ्घ नेपाल चलचित्र नृत्य सङ्घले आगामी असार ६ गते शुक्रबार ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला गर्ने प्रेस विज्ञिप्त मार्फत जानकारी गराएको हो । सङ्घद्धारा जारी प्रेश विज्ञिप्तमा नृत्यका प्रशिक्षक लिइसकेका, सहायक नृत्य निर्देशक, नृत्यलाई पेशा बनाई रहेकाहरुले सहभागी हुन पाउने जनाइएको छ । कार्यशालामा भाग लिएकाहरुलाई छायाँकन अवधिमा छिटो छरितो तवरले छायाँकन गर्न सक्ने मौलिकता, इतिहास, संस्कृति, भेषभुषा, सङ्गीत आदिको ज्ञान आर्जन गर्न सक्ने र यस्तो कार्यशालाले निर्माण पक्षलगायत देशकै संस्कृति सम्बद्र्धन र चलचित्र कर्मीहरुलाई फाईदा पुर्याउने नेपाल चलचित्र नृत्य सङ्घका अध्यक्ष बसन्त श्रेष्ठले बताएका छन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सको विशेष साधारण सभा, चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पारित

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बिशेष साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभामा सञ्चालक समितिका अध्यक्ष मनोहरदास मूलले १० शेयर बराबर २ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गरे । आब २०७४/०७५ को वित्तीय विवरणबाट बोनस शेयर वितरण गरी बीमा समितिबाट निर्धारित समयावधीमा चुक्ता पूँजी पूरा गर्ने योजना रहेपनि एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस शेयर जारी गर्ने नसकिने अबस्था आएकोले हकप्रद शेयर जारी गर्न प्रस्ताव गरिएको अध्यक्ष मूलले जानकारी गराए । सभाले कम्पनीको हालको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने र हालको चुक्ता पूँजी रु. ८८ करोडको २०% हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको कम्पनी सचिव देवेन्द्र कोइरालाले बताए ।

‘सार्वजनिक खरिद ऐन संसोधन आवश्यक, तर व्यवसायीको हितलाई ध्यान दिइयोस्’

काठमाडौँ । नेपाल निर्माण व्यवसायी संगठनले सार्वजनिक खरिद ऐन र नियमावली समयानुकुल बनाउन माग गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संगठनले संयोजक यक्षध्वज कार्कीले सार्वजनिक खरिद ऐन-२०६३ र नियामावली-२०६४ लाई संशोधन गर्नुपर्ने माग गरे । उनले उक्त ऐन तथा नियामावलीमा कर्मचारीको तजबिजीको व्यवस्थालाई खारेज गर्नु पर्ने बताए । निर्माण व्यवसाय ऐन-२०५५ र नियमावली-२०५६ हालसम्मपनि संशोधन नभएको गुनासो गर्दै कार्कीले भने,‘ती दुबै ऐन र नियामावली तत्काल संशोधन गर्नुपर्छ । निर्माण व्यवसाय विकास परिषदको पूर्नसंरचना गर्नुपर्छ । यसको संरक्षक प्रधानमन्त्री र अध्यक्ष भौतिक पूर्वाधार मन्त्री रहनु पर्ने र पर्छ । परिषदमा निजी क्षेत्रको पनि प्रतिनिधित्व हुनुपर्छ।’ सार्वजनिक खरिद ऐनमा विद्यमान लागत अनुमान अंकको १५ प्रतिशतभन्दा बढी घटेर ठेक्का कबोल गर्ने बोलपत्रदातालाई थप धरौटीको व्यवस्था अव्यवहारिक भएकोले तत्काल खारेज गर्नुपर्ने माग गरे । ऐन नियम संसोधनका नाममा निर्माण कम्पनीहरुमाथि नै कारबाही वा कालोसूचीको प्रावधान राख्न लागिएको भए निर्माण व्यवसाय धरासायी हुन गई स्वदेशी लगानीबाट स्थापित कम्पनीहरु कमजोर हुने संयोजक कार्कीले बताए । यसले प्रकारान्तरमा मुलुकको पूर्वाधार विकासमा प्रत्यक्ष असर पर्नेछ । यसतर्फ सरकार र सम्बन्धित निकायको ध्यानाकार्षण गराउँदछौं-उनले भने ।