विकासन्युज

नेप्से सामान्य अंकले घट्दा ५० करोडको कारोबार, एचडीएलको सेयर मूल्यले नाघ्यो १८००

काठमाडौं । बुधबारको नेप्से सामान्य अंकले ओरालो लागेको छ । मंगलबार सामान्य अंकले बढेर १३०० अंक नाघेको परिसूचक बुधबार ३.६८ अंकले घटेर १२९७.६० अंकमा झरेको हो । बजारमा परिसूचक सँगै कारोबार रकम लगायत क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्समा गिरावट देखिएको छ । बजारमा कूल १७५ कम्पनीको ५० करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.१७ अंकले घटेर २७८ अंकमा झरेको छ । कूल कारोबार मध्ये सबैभन्दा बढी सिभिल बैंकको बढी सेयर किनबेच भएको छ । बैंकको एकैदिन ५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएका छन् । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १५२ रुपैयाँ रहेको छ । त्यस्तै, मेगा बैंक र शिवम् सिमेन्टको क्रमशः ४ करोड ९६ लाख र ४ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार मेगा बैंकको सेयर मूल्य प्रतिकित्ता १९५ र शिवमको प्रतिकित्ता ३९० रुपैयाँ रहेको छ । सो दिन कारोबारमा आएका विभिन्न समूह मध्ये ३ समूहको सूचक हरिया देखिएका छन भने बाँकी समूह राताम्मे छन् । सबैभन्दा बढी होटल समूह ३२ अंकले घटेको छ । उत्पादनमूलक, अन्य र ट्रेडिङ समूह भने क्रमशः ६९, ३ र २ अंकले उकालो लागेका हुन् । सोमबार सबैभन्दा बढी हिमालयन डिष्टीलरी लिमिटेड (एचडीएल)का लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य १६५ रुपैयाँले बढेर प्रतिकित्ता १८१५ रुपैयाँ पुगेको छ । कमाउने मध्ये बाँकी कम्पनीहरुले भने ५ प्रतिशतभन्दा कम कमाएका छन् । उता मल्टी प्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९.५५ प्रतिशत गुमाएका छन् ।

सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन, विद्युत् राष्ट्रिय प्रसारणमा ल्याउन सहज हुने

काठमाडौँ । पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ । गत शनिबारदेखि परीक्षण गरिएको सो प्रसारण लाइन मङ्गलबार साँझदेखि व्यावसायिक रुपमा नै सञ्चालनमा आएको छ । कूल १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन आयोजनाको दोस्रो खण्ड सञ्चालनमा आएपछि सो करिडोरमा निर्माणाधिन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा ल्याउन सहज हुने भएको छ । इलामको गोदकदेखि पाँचथरेको फिदिम खण्डको प्रसारण लाइन मङ्गलबार साँझ ५२० बजेबाट सञ्चालनमा आएको आयोजना प्रमुख दीपेन्द्रराज द्धिवेदीले जानकारी दिए । “शनिबारदेखि हामीले परीक्षण प्रसारण शुरु गरेका थियौं, गोदक–फिदिम खण्ड मङ्गलबार साँझ ५.२० मा र दमक–लखनपुर, झापा–फिदिम खण्ड साँझ ६.१० बजे चार्ज गर्न सफल भएका छौं”, उनले भने । इलामको सोयाकबाट एउटा लाइन गोदक र अर्को लाइन लखनपुरतर्फ लगिएको छ । सोयाकबाट दुवै लाइन पाँचथरको फिदिमस्थिति थापाटार सवस्टेसनमा जोडिएको । कूल ४२.८८ किलोमिटर लम्बाइ भएको प्रसारण लाइनको दोस्रो खण्डमा १२६ टावर रहेका छन् । फिदिम–अमरपुर (पाँचथर) तेस्रो खण्डको निर्माण अगामी असारभित्रमा सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइने उनको भनाइ छ । पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि काबेली करिडोर निर्माण गरिएको हो । सो प्रसारण लाइन सञ्चालनमा आएपछि निजी क्षेत्रका ऊर्जा उद्यमीलाई त्यसले सबैभन्दा बढी फाइदा पुग्नेछ । झापाको लखनपुरबाट शुरु भएको कूल ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो । आयोजनाले निर्माण गर्नुपर्ने कूल २६१ वटा टावरमध्ये तेस्रो खण्डको एउटा टावर मात्रै काम बाँकी छ । सो टावरको कामसमेत एकाध दिनभित्रै सम्पन्न हुने आयोजनाले जानकारी दिएको छ । लखनपुर-गोदक पहिलो खण्डको ३५ किलोमिटर प्रसारणलाइन २०७२ को असोजदेखि सञ्चालनमा आइसकेको छ । सोही खण्डमा सानीमा माई जस्ता आयोजनाबाट उत्पादित विद्युत् जोडिएको छ । आयोजनाले यसअघि नै दमक, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२/३३/११ केभी सवस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । प्रसारण लाइनको बाटोमापर्ने जग्गाको सतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने, मार्ग परिवर्तन गर्नुलगायतका माग राखी इलामको मङ्गलबारे, चमैता, सिद्धिथुम्का पाँचथरको फिदिम जोरसाल क्षेत्रका स्थानीयवासीले प्रसारणलाइन निर्माणमा अवरोध गरेका थिए । समस्या समाधानका लागि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ गतवर्ष आफैं आयोजनास्थलमा गई स्थानीयसँग छलफल गर्नुभएको थियो । कार्यकारी निर्देशक घिसिङले स्थानीयवासीसँग छलफल गरेपछि समस्या समाधान गर्न तयार भए । अवरोध समेत हट्यो । काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४.९ मेगावाटको हेवाखोला ‘ए’ र २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिने छन् । हेवाखोला ‘ए’ अहिले सञ्चालनमा छ भने तल्लो हेवाखोला निर्माणको अन्तिम चरणमा छ । हेवाखोला ‘ए’को विद्युत् अहिले अस्थायी रुपमा ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । दुवै आयोजनाबाट उत्पादित विद्युत् थापाटार सवस्टेसनमा जोडिने छन् । काबेली करिडोर प्रसारणलाइन निर्माण करीब १० वर्षअघि शुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले आयोजनाको काम ढिलाइ भएको थियो । कूल तीन करोड १० लाख अमेरिकी डलर लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ९इपान०ले प्रसारणलाइन सम्पन्न हुनु आफूहरुका लागि पनि खुशीको विषय भएको बताएको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँ काबेली करिडोर जस्तै अन्य करिडोरको प्रसारणलाइन समेत समयमै सम्पन्न गर्ने गरी कार्ययोजना बनाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण लाग्नुपर्ने बताए । रासस

विश्व रेडक्रस दिवस मनाइयो, ‘मानवीय सेवा अभियान १९० देशमा’

काठमाडौं । आज विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस । रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको १९१ औं जन्म दिवस । यसै अवसरमा विश्व स्तरमा मनाइदै आएको विश्व रेडक्रस दिवस, मई ८ नेपालमा पनि मानविय सन्देश फैलाउन र प्रेममय भावना विकास गर्न ‘माया’ भन्ने नाराका साथ देशभरि विविध कार्यक्रम आयोजना गरी मनाईंदैछ । यस अवसरमा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रसका अध्यक्ष सञ्जीव थापा, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल अफिस प्रमुख जुजा किम र रेडक्रसको अन्तर्राष्ट्रिय समितिका समन्वय प्रमुख प्रमेश पौडेलले संयुक्त रुपमा रेडक्रस झण्डाको झण्डोत्तोलन गरी कार्यक्रम सुभारम्भ गरेका हुन् । “नेपालका दुर दराजका दुर्गम गाउँदेखि आधुनिक समुदायसम्म नेपाल रेडक्रसका स्वयं सेवकहरुले सेवा दिँदै आएका छन्” नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले भने–‘हामी स्थानीय आवश्यकताका आधारमा सेवा दिन्छौं र स्थानीय परिवेशका आधारमा दिइने सेवाका कारण पनि रेडक्रस विश्वमा परिचित छ ।’ नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले नेपाल रेडक्रस सोसाइटी विपद्का बेला तत्कालीन उद्धार र राहत, रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, प्राथमिक उपचारलगायत अत्यावश्यकीय सेवाका साथै जीवन रक्षा, स्वास्थ्य प्रवर्धन, संरक्षण, लैङ्गिक समानता तथा समावेशीकरणजस्ता क्षेत्रमा सञ्चालित सेवा र विकासमूलक गतिविधिहरू मार्फत हरेक वर्ष करिव २५ लाख मानिस समक्ष पुगिरहेको जानकारी दिए । कार्यक्रममा रेडक्रसका सात आधारभूत सिद्धान्तहरुको पाठ आइसीआरसीका समन्वय प्रमुख प्रमेश पौडेलले गरे । साझेदार राष्ट्रिय सोसाइटीका तर्फबाट जापान रेडक्रस सोसाइटीका प्रतिनिधि काजियोले सुभेच्छा प्रकट गरे । रेडक्रसका अन्तर्राष्ट्रिय महासंघ नेपाल प्रमुख जुजा किमले नेपालमा रेडक्रसको काम राम्रोसँग अघि वढाउन सधैँ सहयोग गर्ने बताए । रेडक्रस अभियानले हरेक वर्ष विश्वभरि सशस्त्र संघर्ष, प्राकृतिक प्रकोप र अन्य आकस्मिक परिस्थितिमा दशौं लाख प्रभावित जनतालाई सेवा पुर्याइरहेको छ । १९० देशका राष्ट्रिय सोसाइटीमा आवद्ध विविध प्रकारका स्वयंसेवकहरु, रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी), रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) ले जीवन रक्षार्थ प्रदान गर्ने सेवा पनि विविध छन् ।

यूनाइटेड फाइनान्सबाट महालक्ष्मीको बीमा सेवा पाइने

काठमाडौँ । यूनाइटेड फाइनान्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा यूनाइटेड फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार यूनाइटेड फाइनान्स लिमिटेडले देशभर रहेका आफ्ना १६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।

४ सय ३३ स्थानीय तहमा १० हजार कर्मचारी अभाव, ३२० तहले विवरण बुझाएनन्

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ४३३ स्थानीय तहले मात्र रिक्त पदपूर्तिका लागि माग बमोजिम विवरण बुझाएका छन् । मन्त्रालयले गत वैशाख २० गतेसम्म ७५३ स्थानीय तहलाई रिक्त दरबन्दी सङ्ख्यासहितको विवरण पठाउने भने तापनि अहिलेसम्म ४३३ स्थानीय तहले मात्र विवरण पठाएको मन्त्रालयका सहसचिव भुपराज बरालले जानकारी दिए । अझै ३२० स्थानीय तहले रिक्त दरबन्दीको विवरण बुझाएका छैनन् । उनले दरबन्दी विवरण नबुझाउने स्थानीय तहलाई ताकेता गरिएको जानकारी गराए । उनका अनुसार ती स्थानीय तहले करीब १० हजार कर्मचारीको रिक्त दरबन्दी विवरण पठाएका छन् । मन्त्रालयले रिक्त दरबन्दीको पदपूर्तिका लागि स्थानीय तहबाट विवरण माग गरेको हो । स्थानीय तहले पठाएको विवरणको अद्यावधिक गर्ने कार्य भइरहेको उनले जानकारी दिए । स्थानीय तहबाट सङ्कलन गरिएको विवरणलाई मन्त्रालयले विज्ञापन गर्न लोकसेवा आयोगलाई पठाउने सहसचिव बरालले बताए । स्थानीय तहमा ६६ हजार ९०८ दरबन्दीमध्ये ५० हजार ७९० कर्मचारी समायोजन गरे पनि अझै १६ हजार ११८ कर्मचारी अपुग छन् । जनताको प्रत्यक्ष सेवा जोडिएको स्थानीय तहमा कर्मचारी अभाव हुन नदिन सरकारले यसै आर्थिक वर्षभित्र स्थानीय तहमा रिक्त रहेको पदपूर्ति गर्न दरबन्दी माग गरेको हो । मन्त्रालयले गत चैत १४ गते सङ्घ, प्रदेश र स्थानीय तहमा एक लाख ३१ कर्मचारी समायोजन गरेको थियो । स्थानीय तहमा निजामतीबाट ३१ हजार ४३, साविक स्थानीय निकायका १० हजार ५४०, साविक जिल्ला विकास समितिबाट एक हजार २४१ र अन्य सेवाबाट ३१६ तथा स्थानीय सरकार सञ्चालन ऐनअनुसार सात हजार ६५० कर्मचारी समायोजन गरिएको थियो । मन्त्रालयले सङ्घमा ४८ हजार ४०९ को दरबन्दीमा ४० हजार ७६९ र प्रदेशमा २२ हजार २९७ मध्ये १४ हजार ६५९ समायोजन गरेको थियो । सङ्घमा सात हजार ६४० र प्रदेशमा सात हजार ६३८ कर्मचारी अझै अपुग छन् । रासस

गोर्खा इको प्यानलमा आगलागी, उत्पादन शुरु हुन दुई हप्ता लाग्ने

भक्तपुर । गोर्खा इको प्यानलले अबको दुई हप्ताभित्र कारखानाबाट सामान (इको प्यानल) को उत्पादन सुरु हुने जनाएको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथली हनुमानचास्थित कारखानामा सोमबार राति ठूलो आगलागीबाट कारखानामा क्षति पुगेर सामानको उत्पादन बन्द भएको छ । आगलागीपछि नष्ट मेशिनहरुको तीव्र गतिमा मर्मत सुधार गरी दुईहप्ताभित्र सामान उत्पादन सुरु गरिसक्ने गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले जनाए । ‘हामी दु्रत गतिमा कारखानामा मर्मतसुधारका काम गरिरहेका छौं, ढिलोमा दुईहप्ताभित्र सामान उत्पादन सुरु हुन्छ’, उनले भने । हाललाई आफूहरुसँंग स्टक सामानहरु रहेको पनि स्पष्ट पारे । आगोबाट नष्ट भएका नेपालमा नभएका सामानहरु चीनबाट मगाइसकेको कम्पनीले जनाएको छ । निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नाराका साथ नेपालमै पहिलो पटक उत्पादित गोर्खा इको प्यानलमा आगलागी हुनुको कारण खुल्न सकेको छैन । प्रहरीले आगलागी के कारणले भएको हो, त्यसको सोधखोज गरिरहेको जनाएको छ । तरपनि आगलागी विद्युत सर्ट भएर नभएको कम्पनीको दाबी छ । कम्पनीका इलेक्ट्रिकल इन्जिनियर मेन्सन लाखेमरुले विद्युट सर्ट हुनै नसक्ने दावी गरे । रातको समयमा मेशिन नचली विद्युत खपत नहुने बेला तार नपग्लिने भएकोले विद्युत सर्ट नहुने उनको तर्क छ । साथै आगलागी सर्किट बक्सबाट नभई बाहिरबाट सुरु भएको देखिएकोले विद्युत सर्ट नभएको उनको दावी रहेको छ ।

आइएमई जनरल र बिदुर नगरपालिकाबीच सम्झौता, पशुपन्छी तथा कृषि बीमा गरिने

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बिदुर नगारपालिका, नुवाकोटबीच बिदुर नगरपालिकाका सम्पूर्ण कृषकहरुको पशुपन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक मुनिन्द्रकुमार ठाकुर र बिदुर नगरापालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिवाकर चापागाईले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बिदुर नगरापालिकामा रहेका सम्पूर्ण कृषकहरुले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरपालिकाले आफ्ना नगरबासीहरुको पशुधन, कृषि तथा नगरबासीहरुको दुर्घटना बीमा गराई नुवाकोट जिल्लामा नै नमूना नगरापालिकाको रुपमा आफूलाई स्थापित गरेको जनाएको छ । सोही अवसरमा नगरपालिकाका मेयर सञ्जु पण्डितले आफूले नगरावासीहरुको पशुपन्छी, बालीनालीको बीमा पश्चात पशुधनको मृत्यु भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सोको क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्स लि.संग संझौता गरेको बताए ।

प्रोग्रेशिभ फाइनान्सको सिइओमा विशाल हुमागाईँ पुनः नियुक्त

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा विशाल हुमागाईँ पुनः नियुक्त भएका छन् । बैशाख २२ गते बसेको संचालक समितिको बैठकले सिइओ हुमागाईँलाई थप ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । जेठ ७ गतेदेखि हुमागाईँले दोस्रो कार्यकालको सिइओ पद सम्हाल्ने छन् ।