चेक बाउन्समा १२ वर्षको कैद सजाय ६ महिनामा झारिँदै, पैसा नभएको चेक काट्नेबित्तिकै कारबाही नहुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक बाउन्ससम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन गृहकार्य अघि बढाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको खातामा पैसा नहुँदानहुँदै चेक काट्दा हुने सजायसम्बन्धी व्यवस्थालाई थप परिष्कृत गर्न हालको बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन संशोधन गर्न लागेको हो । यो ऐन राष्ट्र बैंक बोर्डबाट पारित भई अर्थ मन्त्रालयमा पठाउने तयारी गरिएको छ । प्रस्तावित ऐनअनुसार कुनै खातावालाले आफ्नो बैंक खातामा पैसा छैन भन्ने थाहा हुँदाहुँदै चेक काटी कुनै अर्को व्यक्तिलाई दियो र बैंकमा जाँदा चेकवाहकले भुक्तानी पाएन भने पनि तत्कालै सजाय हुनेछैन । यस्तो अवस्थामा बैंकले चेक वाहकले ल्याएको चेकलाई अभिलेख प्रमाणित गरि राख्ने र खातावालालाई सो चेकबमोजिमको रकम १५ दिनभित्र जम्मा गर्न सूचना जारी गर्नुपर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । सो अवधिभित्र पनि खातावालाले सो रकम जम्मा नगरेमा मात्रै उसलाई बैंकिङ कसुरसम्बन्धी मुद्दा चलाई कारबाही प्रक्रिया अघि बढाउने व्यवस्था प्रस्तावित विधेयकमा छ । हाल सो ऐनले खातामा पैसा छैन भन्ने जानीजानी कुनै चेक चेक काटिदिन नहुने र त्यसो गरे तत्कालै सजाय हुने व्यवस्था गरको छ । तर खातामा कति पैसा छ भन्ने जानकारी नहुँदा नियत खराब नहुँदा नहुँदै पनि कहिलेकाँही भुक्तानी हुन नसक्ने व्यवहारिक अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले त्यस्तो खुकुलो नीति ल्याउन लागेको हो । विद्यमान कानूनले जे भने पनि हाल बैंक तथा वित्तीय संस्थाहरुले प्रस्तावित ऐनमा रहेको व्यवस्थाबमोजिम नै त्यस्ता व्यवहारिक समस्या समाधान गर्दै आएका थिए । अब भने कानूनी रुपमा नै त्यसलाई पहिचान गर्न खोजिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । ‘अहिले व्यवहारमा लागु भएको विषयलाई नै कानूनी रुप लिइएको हो, विद्यमान् कानूनअन्तर्गत रहेको व्यवस्थालाई व्याख्या गर्ने हिसाबले मात्रै त्यस्तो व्यवस्था गरिएको हो, अहिलेको कानूनमा कुनै व्यक्तिले काटेको चेक उसले खातामा पैसा छैन भन्ने जानीजानी काटेको हो कि होइन भन्ने अन्यौलता थियो, प्रस्तावित संशोधन विधेयकले यसलाई सम्बोधन गर्नसक्छ’ राष्ट्र बैंक स्रोतले विकासन्यूजसँग भन्यो । प्रस्तावित विधेयकमा त्यस्तो सजायसम्बन्धी व्यवस्था समेत संशोधन गर्ने प्रस्ताव गरिएको छ । हाल चेक बाउन्ससम्बन्धी कसुरमा बिगो र बिगो बराबर जरिवाना बाहेक १० लाखसम्मको लागि एक वर्ष, ५० लाखका लागि २ देखि ३ वर्ष, एक करोडसम्मको बाउन्समा ३ देखि ४ वर्ष, १० करोडसम्म ४ देखि ६ वर्षसम्म, ५० करोडसम्मका लागि ६ देखि ८ वर्ष, १ अर्बसम्मका लागि ८ देखि १० अर्ब तथा सोभन्दा बढीका लागि १० देखि १२ वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था गरिएको छ । तर प्रस्तावित ऐनमा बढीमा १२ वर्षसम्मको कैद सजायको अवधिलाई बढीमा ६ महिनामा झारिएको छ जसअन्तर्गत ३ लाख रुपैंयासम्मको लागि एक महिना, १० लाखसम्मको लागि एक लाखसम्म जरिवाना र एक महिनासम्म कैद, ५० लाख रुपैंयासम्म भए ५ लाख रुपैंयासम्म जरिवाना र ३ महिनासम्म कैद र सोभन्दा बढी भए बिगोको ५० प्रतिशतसम्म जरिवाना र ६ महिनासम्म कैद सजायको प्रस्ताव गरिएको छ ।
सारा ग्रुपले भित्र्यायो १०० प्लस आइसोटनिक ड्रिंक, ३२५ एमएलको मूल्य १२५ रुपैयाँ
काठमाडौं । सारा ग्रुपले मलेसियाको आइसोटनिक ड्रिंक १०० प्लस नेपालमा भित्र्याएको छ । मलेसिया र सिंगापुर लगाएत २० देशमा लोकप्रिय रहेको पेय पदार्थलाई नेपालमा सार्वजनिक गरेको हो । १०० प्लस मलेसियाको एफ एन्ड एन कम्पनीको उत्पादन हो । नेपालमा १०० प्लस आइसोटनिक ड्रिंक ३२५ एमएलको १२५ मूल्य तोकेको छ । सारा ग्रुपका म्यानेजर विनोद देबकोटाले १०० प्लस ड्रिंकमा लो सुगर भएको बताए । काम गर्ने मजदुर र खेलाडीहरुका लागि अति उत्तम रहेको र ज्वरो र पखाला लाग्दा प्रयोग गर्न सकिने बताए । उनले १०० प्लस ड्रिंकको काठमाडौंमा १४ वटा र उपत्यका बाहिर ५३ वटा डिष्ट्रिव्यटर्स रहेको देबकोटाले बताए । किरण चम्जोङ ब्रान्ड एम्बेसडर नेपालका राष्ट्रिय खेलाडी किरण चम्जोङलाई १०० प्लस नेपालको ब्रान्ड एम्बेसडर बनाएको छ । सारा ग्रुपका अध्यक्ष दिपक केसी र नेपालका राष्ट्रिय खेलाडी किरण चम्जोङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । १०० प्लस मलेसियाको एफ एण्ड एन समुहभित्रको प्रमुख ब्राण्ड हो । यसलाई एफ एण्ड एन बेभरेजेज मार्केटिङले उत्पादन र बजारिकरण गर्दछ । जुन मलेशियाको सबैभन्दा ठुलो सफ्ट ड्रिंक उत्पादक र वितरक हो ।
१ अर्ब माथिका ४६ मध्ये ५ वटा निजी कम्पनी ‘पब्लिक’ भए, कुन कुन ?
काठमाडौं । चालु आर्थिक वर्षमा १ अर्बभन्दा धेरै चुक्ता पूँजी भएका ४६ निजी कम्पनी मध्ये ५ वटा पब्लिक कम्पनीमा रुपान्तरण भएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार निजीबाट पब्लिकमा रुपान्तरित हुनेमा स्वदेशी निजी कम्पनी रहेका छन् । निजीबाट पब्लिकमा गएका ५ वटा कम्पनी मध्ये २ वटा शिक्षा क्षेत्रमा काम गर्ने कम्पनी रहेका छन् । नामी कलेज, जनज्योति एजुकेशन फाउण्डेशन, नेपाल ओएर हाउजिङग कम्पनी, सारस इन्भेष्टमेन्ट र सफा लुगा नामक कम्पनी निजीबाट पब्लिक भएका हुन् । कम्पनी रजिष्ट्रार कार्यालयको तथ्यांक अनुसार २०७५ साउनदेखि २०७६ बैशाखसम्म दर्ता भएका एक अर्बभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीको संख्या १५६ वटा छ । जसमा निजी कम्पनी ४६ वटा, पब्लिक कम्पनी १०५ वटा र विदेशी कम्पनी ४ वटा छन् । सरकारले एक अर्बभन्दा बढीको चुक्तापूँजी भएका निजी कम्पनीलाई पब्लिकमा जान सकिने प्रावधान राखेपनि निजीबाट पब्लिकमा जाने कम्पनीको संख्या बढ्न सकेको छैन ।
डर्ट बाइक रेस प्रतियोगितामा राजकुमार भए पहिलो, ३० हजार पुरस्कार पाए
काठमाडौँ । धुलिखेलमा डर्ट बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा ‘मोटो ट्रयाक २’ को विजेता राजकुमार कार्की बनेका छन् । शनिबार धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा भएको ७ सय मिटरको अफरोड ट्रयाकमा सम्पन्न उक्त प्रतियोगितामा दीपेश क्षेत्री फस्र्ट रनर अप र भीम होना सेकेन्ड रनर अप भए । मोटर स्पोर्ट्स नेपालको मूख्य आयोजनामा भएको सो प्रतियोगितामा २५० सिसी सम्मका डर्ट बाइक कुदाइएका थिए । प्रतियोगितामा २२ जना राइडरहरुको सहभागिता थियो । सो प्रतियोगितालाई नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को समेत प्राविधिक सहयोग रहेको थियो । पहिलो, दोस्रो र तेस्रो विजेताहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारका साथै हेलमेट र अन्य गिफ्ट ह्याम्पर प्राप्त गरे । मोटर स्पोर्ट्स नेपालले गत वर्षपनि मोटो ट्रयाक प्रतियोगिताको आयोजना गरेको थियो ।
८४ करोडको सेयर कारोबार, सबैभन्दा बढी सानिमा बैंकको प्रमोटर सेयर बिक्री
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ८४ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार कूल १७१ कम्पनीको २६ लाख ७० हजार १४० कित्ता सेयर किनबेच भएको हो । जसमध्ये सबैभन्दा बढी सानिमा बैंकको १६ करोड ४५ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८० रुपैयाँ रहेको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट र प्रिमियर इन्स्योरेन्स कम्पनीको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबारको नेप्से परिसूचक ३.०७ अंकले बढेर १२९५.०३ अंकमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.२४ प्रतिशत बढी हो । त्यस्तै, बजारमा ४ समूह बाहेक बाँकी समूहहरु ओरालो लागेका छन् । सबैभन्दा बढी होटल समूह १०० अंकले बढेको छ । उत्पादन मूलक ९८, निर्जीवन बीमा ७६ र फाइनान्स समूह ०.४१ अंकले उकालो लागेको हो । जीवन बीमा समूह १० अंकले घटेको छ भने बाँकी समूहहरु सामान्य अंकले ओरालो लागेका छन् । त्यसैगरी, शिवम् सिमेन्टको सेयर मूल्य ९.९८ र प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ ।
काठमाडौंका ११ वटा सरकारी अस्पताल नजिकै शुर्तिजन्य वस्तुको व्यापार निषेध
काठमाडौं। उपत्यकका ११ वटा अस्पताल नजिकै शुर्तिजन्य वस्तु खाने तथा बेचबिखन निषेध गरिएको छ। प्रहरीले काठमाडौंको सरकारी अस्पतालमा आजबाट यो नियम लागु गरेको हो। प्रहरीले काठमाडौंको विर अस्पताल, कान्ति बाल अस्पताल, किर्तिपुर अस्पताल, सिभिल अस्प्ताल, थापथली प्रसुती गृह, टिचिङ अस्पताल, आर्मी अस्पताल, प्रहरी अस्पताल, नरदेवी आयुर्वेद, गंगलाल अस्पताल र शुक्रराज ट्रपिकल अस्पताल को १०० मिटर वरपर सुर्तिजन्य वस्तुको सेवन र बेचबिखन बन्द गरेको हो। यदी कसैले नियम उल्लङघन गरेको पाईएमा पहिलो पटकमा सम्झाई बुझाई गर्ने र गल्ती दोहोरिएको पाईएमा १०० रुपैंया जरिवना तिराउने काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए। जरिवाना स्वोरुप उठाईएको उक्त रकम सरकारको राज्स्वोमा संकलन हुने बताईएको छ।
भदौ २५ देखि २९ गतेसम्म फर्निचर तथा फर्निसिङ एक्स्पो हुने
काठमाडौँ । फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स आगामी भदौको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघ आइतबार पत्रकार सम्मेलन गरी ५ दिनसम्म एक्स्पो सञ्चालन गर्ने जनाएको हो । सातौं संस्करणको एक्स्पो आगामी भदौ २५ गतेदेखि २९ गतेसम्म राजधानीमा संचालन हुने आयोजकले जानकारी दिएको हो । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीमा राखिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसैगरी, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ । मौलिकतथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष रुपेश प्रधानले बताए । प्रदर्शनीमा फर्निचरको प्रदर्शनीमात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमापनि अवलोकनकर्तालाई जानकारी गराउने मेलाका संयोजक मनिष अग्रवालले बताए । एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गर्नेे जनाइएको छ । इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले फरक शैलीमा एक्स्पोको सातौं संस्करण आयोजना हुन लागेको बताए । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी डेढ सय फर्निचर र फर्निसिङजन्य सामाग्रीका स्टल रहने आजोजकले जनाएको छ । नेपालमा वर्सेनि फर्निचर तथा फर्निसिङका उत्पादनहरुको ४० अर्ब रुपैंया बराबरको कारोबार हुने गरेको आँकलन छ ।
आशा लघुवित्तको योजना तर्जुमा तथा जोखिम व्यवस्थापन तालिम
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले आब ०७६/०७७ को बजेट योजना तर्जुमा गोष्ठी तथा शाखा प्रबन्धकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । बैशाख २२ र २३ गतेप्रदेश नं. १, २ र ३ संचालित २२ वटा शाखा कार्यालयहरुमा कार्यरत २२ जना शाखा प्रबन्धक र २०७६ बैशाख २६ र २७ गते प्रदेश नं. ४, ५, ६ र ७ नम्बर प्रदेशहरुमा संचालित २३ वटा शाखा कार्यालयहरुमा कार्यरत २३ जना गरी जम्मा ४५ जना शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले उद्घाटन गर्नुभएको कार्यक्रममा वहाले गोष्ठीको उद्देश्यबारे प्रकाश पार्दै यस प्रकारका कार्यक्रमहरुले शाखा प्रबन्धकहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु रबिन खतिवडा, दिपेन्द्र खनाल तथा कमल खत्रीले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रस्तुति गरे । कार्यक्रममा अनुगमन अधिकृतहरु सुजित खतिवडा, बिजय यादव, सुशिल पौडेल तथा हरीशंकर कुमार मिश्रले कर्जा विश्लेषण, सदुपयोगिता निरीक्षण, कर्जा जोखिम व्यवस्थापन, पहिचान तथा समाधानका उपायहरु सम्बन्धमा प्रशिक्षण दिए । साथै उक्त कार्यक्रममा उत्प्रेरणा तथा सकारात्मक सोचको बिकास सम्बन्धमा बिनिता कार्कीले तथा योगा र ध्यान सम्बन्धी श्री भुवन कुमार भट्टले प्रशिक्षण दिएका थिए ।