नेपाल विद्युत प्राधिकरण तार काट्ने तयारीमा, ‘इन्टरनेट तथा टिभी सेवा बन्द हुँदै’
काठमाडौँ । इन्टरनेट तथा टिभी सेवा प्रदायक समन्वय समितिले इन्टरनेट र टिभी सेवा बन्द हुने चेतावनी दिएका छन् । नेपाल विद्युत प्राधिकरणले पोल तथा अप्टिकल फाइबरको भाडा बृद्धि गरेकोमा आपत्ति जनाउँदै समितिले इन्टरनेट र टिभी सेवा बन्द हुने जनाएको छ । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमसँग सम्झौता गरी ती संस्थाहरुको पोल प्रयोग गरी आफ्नो सेवा प्रवाह गर्दै आएकोमा २०७५ साउन १ गतेदेखि भाडा बृद्धि गरेपछि सेवा प्रदायकहरुले भाडा तिरेका छैनन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समन्वय समितिका संयोजक दिनेश सुवेदीले नेपाल विद्युत प्राधिकरणले तोकेको नयाँ दररेट अनुसार पोल भाडा तिरेमा इन्टरनेट र केबल टिभी सेवा महङ्गो हुन जाने बताए । उनले भने-‘हामीले बार्षिक ९० करोड कमाई गर्दै आएको छौँ, प्राधिकरणलाई मात्र ७५ करोड बुझाउँदा हामी कसरी चल्न सक्छौँ ? त्यसकारण इन्टरनेट र टिभी सेवा बन्द गर्न बाध्य हुन्छौँ ।’ विद्युत प्राधिकरणले नयाँ पोल भाडा दररेट अनुसार भुक्तानी नगरेमा तारहरु काटिदिने निर्णय र पत्राचार गरेपछि व्यवसायीहरु आतंकित भएको उनले बताए । तारहरु काटिए इन्टरनेटमा आधारित सेवाहरु र केबल टिभीहरु ठप्प हुनेछन् । बैंक, एटीएम, एयरलाइन्सहरु, बिमानस्थलका सम्पूर्ण सेवाहरु, सञ्चार माध्यमहरु र मोवाइल टाबरका सेवाहरु ठप्प हुने अध्यक्ष सुवेदीले चेतावनी दिए । इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले यसबारेमा आफूहरु वार्तामा बस्न तयार भएपनि आफूहरुलाई बेवास्ता गरिएको बताए । उनले भने-कसैले पनि हाम्रो कुरा सुन्न चाहेको छैन । २०७५ साउन १ गतेदेनि सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत टेलिकम सर्भिस चार्ज लगाएको छ, यसप्रतिपनि व्यवसायीहरुले आपत्ति जनाएका छन् । त्यसैगरी विदेशी च्यानलहरु क्लिन फिड हुनु पर्ने प्रावधानले समेत अप्ठ्यारोमा पारेको संघका अध्यक्ष भट्टले बताए । इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समिति, नेपाल केबल टिभी महासंघ, इन्टरनेट सेवा प्रदायक एशोसियशन र डिश मिडिया नेटवर्क लिमिटेडले प्राधिकरणलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेका छन् ।
सिभिल बैंकको १४ प्रतिशत लाभांश पारित, संचालकमा ६ जना निर्विरोध निर्वाचित
काठमाडौँ । सिभिल बैंक लिमिटेडको प्रस्तावित १४.३ प्रतिशत लाभांश पारित भएकाे छ । शुक्रबार सम्पन्न बैंककाे सातौं र आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई १०.२५ प्रतिशत बोनस र ४.०५ प्रतिशत नगद गरी साे मात्राकाे लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेकाे हाे । आर्थिक वर्ष २०७३/०७४ को नाफाबाट बैंकको चुक्ता पूँजीको १०.२५ प्रतिशतका दरले हुन आउने ७४ करोड ४० लाख रूपैयाँ बराबरको बोनस वितरण गर्ने छ । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ रहेको छ । १०.२५ प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी बढेर ८ अर्ब रुपैयाँ नाघ्ने छ । त्यस्तै, कम्पनीले कर प्रयोजनको लागि ०.५४ प्रतिशतका दरले हुन आउने ३ करोड ९१ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । साथै, साधारण सभाले बैंकको संस्थापक शेयरधनीहरुको तर्फबाट इच्छाराज तामाङ्ग, अम्बीर बोगटी, प्रतापजङ्ग पाण्डे तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भुप्रसाद पन्त र युगेशबहादुर मल्ललाई आगामी चार वर्षको लागि निर्विरोध निर्वाचित गरेको छ ।
‘बैंकिङः आज र भोलि’ विषयक सम्मेलन सम्पन्न
काठमाडौं । नेशनल बैंकिङ ईन्ष्च्यिुटले ‘बैंकिङः आज र भोलि’ विषयमा शुक्रबार पोखरामा पहिलो पटक सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा बिभिन्न बैकिङ्ग प्रतिष्ठानका करिब १०० जना प्रतिनिधिहरुको सहभागिता भएको थियो । उक्त सम्मेलन नेपाल राष्ट्र बैंक, पोखरा प्रमुख डा. दिल्लीराम पोखरेल र नेशनल बैकिङ्ग ईन्ष्च्यिुटबाट सन्जीव सुब्बाले उद्घाटन गरेका हुन् । उक्त सम्मेलनमा पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण थापा र बंंैकिङ विशेषज्ञ अनलराज भट्टराइको पनि सहभागिता रहेको थियो । कार्यक्रममा पूर्व गभर्नर क्षेत्रीले बैंकिङ क्षेत्रमा नैतिकता र मार्गदर्शक सिद्धान्तहरुमा जोड दिएका थिए । त्यसैगरी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले वित्तीय प्रणाली र अर्थव्यवस्थामा बैंकहरुको भूमिकाबारे बोलेका थिए । त्यसैगरी बैंकिङ विशेषज्ञ अनलराज भट्टराईले एसएमई लोन, समस्या र सम्भावनाहरु बारे प्रस्तुति दिएका थिए ।
गायक रमेश श्रेष्ठ मेलोडीको ‘सुपरग्लु’ सार्वजनिक (भिडियो सहित)
काठमाडौँ । स्टेज किङको उपाधि पाएका चर्चित गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत ‘सुपरग्लु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको ‘सुपरग्लु’भर्खरै मात्र युट्युब मार्फत सार्वजनिक भएको हो । चर्चित गीतकार अम्बिका गुरुङको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतकमा नब र्यापर प्रतिक अधिकारी आजतले र्याप गरेका छन् । म्युजिक भिडियोलाई बासु न्यौपानेले छायांकन गरेका छन् भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् । म्युजिक भिडियोमा चर्चित नायिका निता ढुंगाना नबिन राइ तथा बिशाल लामाको नृत्य तथा अभिनय देख्न सकिन्छ । https://www.youtube.com/watch?v=NBhh-f2vSk4
बुटवलको राम मन्दिर लाइनमा सनराइज बैंकको शाखा विस्तार
काठमाडौं । सनराइज बैंकले बुटवलस्थित राम मन्दिर लाइनमा यस बैंकले आफ्नो १०५ औं शाखा संचालनमा ल्याएको छ । शुक्रबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरे । सो कार्यक्रममा बैंकका नायव महाप्रबन्धक अपछकुमार यादव, बुटवल उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष उज्जवल कसजु लगायत बैंकका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।
यार्सा सङ्कलन गर्न बझाङवासी लेकतिर, विद्यालय तीन महिनाका लागि बन्द
बझाङ । विगत वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले तीन महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न जान थालेका छन् । तीन महिना यार्सा सङ्कलन गरेर झण्डै एक वर्ष खान पुग्ने भएपछि स्थानीयवासी सपरिवारसहित यार्सा सङ्कलन गर्न लेकतिर जाने गरेको स्थानीय उमेश बोहराले बताए । यहाँका धेरैजसो स्थानीयवासीले यार्सा सङ्कलनबाटै सदरमुकाम चैनपुर, धनगढी (कैलाली) महेन्द्रनगर (कञ्चनपुर) काठमाडौँसम्म घर तथा जग्गा खरीद गरिसकेका छन् । अहिले लेकमा हिउँ भएको भए पनि तल्लो भेगतिर यार्सा पाइन थालेपछि लेकतिर जान थालेका हुन् । वैशाखको पहिलो साताबाट लेकतिर जाने गरेका यहाँका स्थानीयवासी असारको अन्तिमतिर मात्र घर फर्किन थाल्छन् । सुर्मा, साइपाल गाउँपालिकाका स्थानीयवासी अहिलेको ‘सिजन’मा घरमा ताला लगाएर यार्सा सङ्कलन गर्न जाने गरेको गाउँपालिकाका प्रेमबहादुर बोहराले बताए । यहाँ पाखो जमीन भएका कारण उब्जनी नहुने र तीन महीना यार्सा सङ्कलन गरेर वर्षभरिका लागि परिवारको लालनपालन गर्ने गरेको उनले बताए । सुत्केरी महिला, हिँडडुल गर्न नसक्ने वृद्धवृद्धा र ससाना हिँडडुल गर्न नसक्ने बालबालिकाबाहेक सबै अहिलेको सिजनमा यार्सा सङ्कलनका लागि लेकतिर लागेको स्थानीय कलकबहादुर बोहराले बताए । गाउँ नै शून्य बनाएर अहिले यहाँका स्थानीय यार्सा सङ्कलनका लागि लेकतिर गएको बोहराले बताए । विगतका वर्षहरुभन्दा क्रमिकरूपमा यार्साको उत्पादन घट्दै गएको उनको भनाइ छ । विद्यालय बन्द सरकारले कुनै पनि पढ्ने उमेरका बालबालिका आधारभूत शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर देशव्यापी भर्ना अभियान चलाइरहेकै बेला बझाङ जिल्लाका धेरैजसो सरकारी विद्यालय तीन महिनाका लागि बन्द भएका छन् । विद्यालयमा पढ्ने उमेरका सबै विद्यार्थी र अभिभावकसमेत यार्सागुम्बा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्तसम्मका लागि बन्द भएका हुन् । जिल्लाका साइपाल, सुर्मा गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन् भने तल्कोट गाउँपालिका, बुङ्गल नगरपालिकाका केही विद्यालयसमेत बन्द भएका छन् । अझै केही विद्यालय यसै महीनाको अन्तसम्ममा बन्द हुनसक्ने साइपाल गाउँपालिकाका स्थानीयवासी वसन्त बोहराले बताए । चैतको वार्षिक परीक्षा सकिएदेखि नै विद्यालय बन्द भएको उनले बताए । यस क्षेत्रका बासिन्दाको आयस्रोतको प्रमुख माध्यम यार्सागुम्बा रहेकाले पनि यस मौसममा सात÷आठ वर्षका बालकदेखि ७० वर्षका वृद्ध पनि यार्सागुम्बा टिप्न लेकतिर चढ्ने गरेका छन् । विद्यालय बन्द भएपछि विद्यार्थीसँगै केही शिक्षक शिक्षिका पनि यार्सागुम्बा टिप्नका लागि पाटनतिरै उक्लिएका छन् । चैतको अन्तिम साताबाट यार्सागुम्बा सङ्कलन शुरु गरी असारमसान्तसम्म टिप्ने क्रम जारी हुनाले तीन महीना विद्यालय पूर्णरूपमा बन्द हुने गरेका साइपाल गाउँपालिकाका एक शिक्षक उज्ज्वल बोहराले बताए । उनले भने, “विद्यार्थी सबै यार्सा टिप्न जाने भएकाले अभिभावकको सहमतिमै विद्यालय बन्द गर्ने गरिएको छ ।” एकै पटक साउनमा विद्यालय खुल्ने र केही विद्यार्थीले भर्नाको काम पनि त्यतिबेला नै गर्ने गरेको उनको भनाइ छ । दुर्गम हिमाली क्षेत्रका विद्यालय वर्षामा तीन महिना यार्सा सङ्कलनको समयमा र हिउँदमा मङ्सिरदेखि फागुनसम्म जाडोका कारण बन्द हुने गरेका छन् । यसैगरी दशैँ, तिहार र अन्य विदामा समेत विद्यालय बन्द हुने हुनाले यस क्षेत्रका विद्यालयमा वर्षमा चार महिना पनि राम्रोसँग पढाइ नहुने गरेको विद्यार्थी बताउँछन् । नियमित पढाइ नहुँदा यस क्षेत्रका बालबालिकाको शैक्षिक गुणस्तर र सिकाइ उपलब्धि न्यून हुने गरेको छ । समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा पाइने यार्सागुम्बा टिप्नका लागि अहिले यस जिल्लामा छिमेकी जिल्ला बाजुरा, बैतडी, हुम्ला, दार्चुला र अछामबाट मानिस ओइरिने क्रम शुरु भइसकेको छ भने यार्सागुम्बा टिप्न र व्यापार गर्नका लागि सुर्खेत, रुकुम, रोल्पा, काठमाडौँ, भारत र चीनको तिब्बतबाट एक सिजनमा २० देखि ४० हजार मानिस यहाँ आउने गरेका छन् । धेरै उचाइमा गएर काम गर्नुपर्ने र पालमुनिको बास हुने हुनाले अधिकांश बालबालिका र वृद्धहरु चिसोका कारण बिरामी हुने गर्दछन् भने कतिपयले ज्यानैसमेत गुमाउने गरेका छन् । रासस
मोडल तथा गायक दिपेन्द्र नेपाली सिने क्षेत्रमा डेब्यु गर्दै
काठमाडौँ । मोडल तथा गायक दिपेन्द्र नेपाली सिने क्षेत्रमा डेब्यु गर्दै छन् । सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौँ कर्मथलो बनाउँदै आएका उद्यमान नव मोडल तथा गायक दिपेन्द्र सोनाम अहिले मोडलिङ तथा सांगीतिक क्षेत्रमा परिचय बनाउदै अगाडी बढेका तथा आफुलाई सिने क्षेत्रमा स्थापित गर्न सक्रिय युवाको रुपमा परिचित छन् । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ । नृत्य र अभिनयमा पोख्त दिपेन्द्र सुन्दर मुहार र मिलेको सुगठित आकर्षक शरीरको धनि पनि छन् भने बहुप्रतीभा भएका बहुआयामिक व्यक्तित्व उनको आकर्षण हो । विभिन्न म्युजिक भिडियोमा समेत कुशल अभिनय गरिसकेका गायक तथा मोडल दिपेन्द्रले चाडैनै आफ्नै आवाजमा नयाँ गीत समेत सांगीतिक बजारमा लिएर आउन लागेका छन् । देशभर हुने स्टेज कार्यक्रम, मेला महोत्सबमा हजारौ दर्शक तथा श्रोताहरुलाई आफ्नो प्रतिभाले मन्त्रमुग्ध बनाउन सफल दिपेन्द्र युवा व्यवसायी समेत हुन् । उनी भन्छन्( मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु रहेको हुँदा सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनी बताए ।
‘स्टिङ अपरेशन’ गर्न दिएको घुस रकम हराएपछि…!
बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले वैशाख २१ गते साँझ नेपालगञ्ज चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा छापा मार्यो । सो क्रममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका टाइपिस्ट सुब्बा कृष्णकुमार पाठकलाई पक्राउ गर्यो । मुद्दामा सहजीकरण गरिदिने भन्दै पाठकले सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई समातेको थियो । पाठक पक्राउपछि अख्तियारले एक विज्ञप्ति जारी गर्दै रु तीन लाख घुससहित पाठकलाई रङ्गेहात समातेको भन्यो । तर, घटना त्यसो थिएन । घुस रकम भनिएको रु तीन लाख पाठकबाट बरामद नभएको रहस्य खुल्यो । अख्तियारले भनेजस्तो रङ्गेहात घुस रकमसहित पाठक पक्राउ परेनन् । जसका कारण यतिखेर अख्तियारभित्र तनाव भएको छ । आर्थिक अनियमितता नियन्त्रणमा सक्रिय रहेको अख्तियारकै लापरवाहीले तनाव भएको हो । यसरी गायब भयो घुस रकम वैशाख २१ गते शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने कर्मचारीविरुद्ध ‘स्टिङ अपरेशन’ गर्दै भ्रष्टाचार मुद्दा चलायो । घुस माग्ने कर्मचारीलाई मुद्दा चलाउन उसले सेवाग्राहीलाई घुस रकम उपलब्ध गराउने गर्छ । जुन रकम सेवाग्राहीले कर्मचारीलाई बुझाउँछन् । ती नोटको फोटोकपी यसअघि नै अख्तियारले राखेको हुन्छ । यसप्रकार घुस माग्ने कर्मचारीलाई उजुरीकर्ताको सहयोगमा रकम दिएर गरिने कारवाही नै ‘स्टिङ अपरेशन’ हो । उच्च अदालतका कर्मचारी पाठकलाई पक्राउ गर्न पनि यही विधि अपनाएको थियो अख्तियारले । तर, अख्तियार यो पटक भने चुक्यो । सेवाग्राहीलाई उपलब्ध गराएको घुस रकम नै गायब भएको छ । अर्थात् पक्राउ परेका अभियुक्तबाट रकम फेला परेन । घुस रकम लिएर सेवाग्राही घटनास्थलतिर लागे, उनीसँगसँगै आयोग टोली रङ्गेहात समात्ने भनेर अख्तियार पछिपछि लाग्यो । तर, अख्तियारको टोलीले पाठकलाई आफ्नो नियन्त्रणमा लियो । घुस रकम भने लिन पाएन । घुस रकमसहित पाठकका छोरा फरार श्री लयर्स च्याम्बरमा घुस लेनदेन भएको पाइएको भन्दै अख्तियारले अदालतभित्र हुने भ्रष्टाचारमा वकिलको संलग्नताबारे पनि अनुसन्धान अघि बढायो । आर्थिक लेनदेन भइरहेको ल फर्ममा केही ढिला पुगेको आयोगको यही कमजोरीको भरपूर फाइदा उठाइएको छ । ल फर्ममा पाठकका छोरा विपीन पनि घुस लेनदेनका क्रममा सँगै थिए । घुस लेनदेन भइसकेपछि विपीनले तत्कालै बुबा पाठकको इशारा बुझेर तीन लाख रकम लिएर सुइँकुच्चा ठोके । आयोग कर्मचारी पुग्दा उनी त्यहाँबाट टाप कसिसकेका थिए । पाठकले चलाखीपूर्ण घुसको कारोबार गर्दै लिएको घुस रकम छोराका साथ पठाए । जब अख्तियारको टोली ल फर्म पुग्यो, विपीन ओझेल परिसकेका थिए । पाठकले अख्तियारको टोलीभन्दा एक कदम अघि बढेर चलाखी गरेका रहेछन् । जसबाट अख्तियारका अधिकारीहरु अचम्मित हुनुका साथै तनावमा पनि परेका छन् । रङ्गेहात भने पनि घुस रकम बरामद नहुँदा यो मुद्दा कमजोर बनेको छ । अनि अख्तियारले सार्वजनिकरूपमा रङ्गेहात पक्राउ भनेको कुरा पनि झुठो सावित भएको छ । घुस रकम लिएर फरार भएको भनिएका विपीन फेला नपर्दासम्म यो विषयको समाधान लाग्ने देखिँदैन । घुस रकम लिएर विपीन भारततिर लागेको बुझिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले अनुसन्धानका क्रममा रहेको भन्दै पाठकका छोराको खोजी भइरहेको बताए । रासस