विकासन्युज

स्पर्स लघुवित्तको त्रैमासिक समीक्षा, आउँदो आवको रणनीति तयार

काठमाडौँ । स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेको २० वटा शाखाहरुको आर्थिक वर्ष २०७५/०७६ को तेश्रो त्रैमासिक समीक्षा र आर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । चितवनको सौराहामा जेठ १८ देखि २० गतेसम्म भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्घाटन गरेका थिए । कार्यक्रमको पहिलो दिन वित्तीय संस्थाका सहायक प्रबन्धक सुदीप अचार्य तथा विभागीय प्रमुखहरु हरिशरण गिरी र ऋषभ सुवेदीले २० वटा शाखाको तेश्रो त्रैमासिक समीक्षा र आर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम तर्जुमा गोष्ठिको लागि सहजीकरण गरेका थिए । कार्यक्रममा शाखा प्रबन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौति, भावि रणनीतिहरु तथा आ.व. २०७६/०७७ को योजना तथा बजेट प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगती हासिल गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको दोस्रो दिन वित्तीय संस्थामा संचालित सफ्टवयेर कम्पनी सिनर्जी टेकका टेक्नोलोजी हेड सुरेश चन्दले सफ्टवयेरमा देखिएका समस्या तथा जिज्ञासाको समाधान गरेका थिए । साथै सोही दिन बैकिङ क्षेत्रमा लामो समयको अनुभव रहेका प्रकाश पोखरेलले सहभागी सम्पूर्णलाई आफ्नो जीवन र कामलाई सन्तुलन गदै कसरी लक्ष्यमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने उत्प्रेरणादाही भनाई राखेका थिए । कार्यक्रमको समापन क्रममा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले वित्तीय संस्थाले हाल भोगेको समस्या तथा अवसरहरुको बारेमा जानकारी गराएका थिए । त्यस्तै, उनले वित्तीय संस्थाको यस आवको लक्ष्य र आउँदो आवको लक्ष्य प्राप्तीका रणनीतिसँगै सफलताको शुभकामना दिएका थिए । लेखा विभाग प्रमुख विनोद पराजुलीले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु र २० वटा शाखाका शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो ।

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको साधारण सभा सम्पन्न

काठमाडौँ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको बार्षिक साधारण सभा सोमबार कम्पनीको अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारण सभाले कम्पनीको आव २०७३/७४ र २०७४/७५ को बार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र चालु आवको लागि लेखा परीक्षकको नियुक्ति गरेको छ । कम्पनीले इलाम जिल्लाको माइखोलामा १२ मेगावाट क्षमताको अप्पर माई सी जलविद्युत आयोजना र ६.१ मेगावाट क्षमताको माथिल्लो माई सी जलविद्युत आयोजना निर्माण सम्पन्न गरी उत्पादित विद्युत कम्पनीले निर्माण गरेको मावु-गोदक १३२ के.भी प्रसारण लाइनबाट नेपाल विद्युत प्राधिकरणको गोदक सबस्टेशनको राष्ट्रिय विद्युत प्रणालीमा जोडिएको छ । उक्त साधारण सभाले रिक्त रहेको संचालकमा संस्थापक शेयर धनीको तर्फबाट उदिप श्रेष्ठ र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट टिका रामनिरौलालाई निर्वाचित गरेको छ ।

एकैदिन तीन सबस्टेसन संचालन, चालु आवमै थप ५ वटा निर्माण गर्ने तयारी

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युतको पहुँच बढाउन, गुणस्तरीय र विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर अभियानकै रुपमा निर्माण गरिरहेको सबस्टेसनहरुको काम धमाधम सकिन थालेको छ । प्राधिकरणले तीन सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबारबाट संचालनमा ल्याएको छ । सप्तरीको बोदेबर्साईन र गोरखाको पालुङटारमा निर्माण भएका ३३/११ केभी सबस्टेसनको परीक्षण गरी संचालन (चार्ज)मा ल्याइएको हो । सप्तरीको दक्षिण-पश्चिम र गोरखाको पश्चिम क्षेत्रको विद्युत आपूर्ति सुधार गर्न क्रमशः बोदेबर्साईन र पालुङटार सबस्टेसन निर्माण गरिएको हो । बाँकेको धामपुरमा निर्माण भएको ३३/११ केभी सबस्टेससनको निर्माण तथा परीक्षण सम्पन्न भई चार्ज हुने अवस्थामा पुगेको छ । प्राधिकरणले २०६७को जेठबाट धामपुर सबस्टेसन निर्माण सुरु गरेको थियो । सबस्टेसन संचालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति व्यवस्थित, भरपर्दो तथा प्रभावकारी हुने, प्राविधिक चुहावटमा कमी आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘ठेक्कापट्टा लगाएर ठेकेदारको कमजोर कार्यसम्पादन लगायतका समस्या झेल्दै १०/११ वर्षदेखि अलपत्र पारिएका वितरण सबस्टेसनको निर्माण सम्पन्न गरी संचालनमा ल्याएका छौं’, घिसिङले भने,‘मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छौं ।’ नेपाल सरकार, प्राधिकरणको लागनी र दातृ निकाय एसियाली विकास बैक (एडीबी)को सहुलियतपूर्ण ऋणमा वितरण सबस्टेसको निर्माण भइरहेको छ । एडीबीको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत नारायणी नदी पूर्व १३ र पश्चिम १२ गरी २५ वटा वितरण सबस्टेसनको निर्माण भइरहेको छ । यसमध्ये झापाको घैलाडुब्बा, कैलालीको हसुलिया लगायतका सबस्टेसन संचालनमा आइसकेका छन् । त्यसमध्ये चालु आर्थिक वर्षको बाँकी अवधिमा निर्माणमा कुनै अवरोध नभएमा ५ वटा सबस्टेसनको निर्माण सम्पन्न गरी संचालनमा ल्याइने आयोजना प्रमुख बोधराज ढकालले बताए । ‘सप्तरीको दक्षिण–पश्चिम क्षेत्रका उपभोक्ताले कम भोल्टेजका कारण पानी तान्ने मोटर चलाउन नपाउने, वत्ति नबल्ने लगायतका समस्या झेल्दै आएका रहेछन्, सोमबारबाट बोदेबर्साईन सबस्टेसनबाट विद्युत आपूर्ति हुन थालेपछि सबै समस्या समधान भयो, उपभोक्ताहरु खुसियाली मनाउन सबस्टेसनमै आए, यस्तै खुसियाली सबै ठाउँमा देखिएको छ’, ढकालले भने । नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण सम्पन्न भएको धामपुर सबस्टेसनबाट बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिका करिब ९५ हजार जनता लभान्वित हुने छन् । सबस्टेसनबाट ११ केभीका ४ वटा फिडर निकाली दुई गाउँपालिका सम्पूर्ण क्षेत्रमा विद्युतीकरण गरिने प्राधिकरण नेपालगंज क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंहले बताए । सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ । रासस

सनराइज बैंकका ग्राहकलाई भारतका अस्पतालमा ५० प्रतिशतसम्म छुट, हेल्थ केयर कार्ड शुभारम्भ

काठमाडौँ । उपचारको सिलसिलामा भारतको विभिन्न अस्पतालहरुमा जाने नेपाली ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै सनराइज बैकले हेल्थ केयर कार्डको शुभारम्भ गरेको छ । उक्त डेविट कार्डको प्रयोगबाट सेवाग्राहीले भारतका विभिन्न अस्पतालहरुमा पिओएसबाट भुक्तानी गर्दा सामान्य डेविट कार्डको भन्दा बढी रकमको भुक्तानिको सुबिधा प्रयोग गर्न सक्नेछन् । साथै सनराइज हेल्थ केयर कार्ड प्रयोग गरी भुक्तानी गर्दा भारतका विभिन्न अस्पतालहरुमा ५ प्रतिशत देखि ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । हेल्थ केयर कार्ड लिनको निम्ति उपचारको लागि जान चाहेको भारतको अस्पताको बिवरण र डाक्टरको सिफारिस वा अन्य जानकारीको कागजपत्र बैंकमा पेश गनु पर्नेछ । साथै सनराइज बैंकले दिँदै आएको स्वास्थ्य योजना अनुसार बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भइ स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चको बढीमा १ लाख रmपैँया वा बचत खातामा रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने छन् । बिगतका योजना अनुसार बर्षमा एक चोटी बिमा दाबी गर्न सकिन्थ्यो, तर २०७५ चैत्र १ गतेदेखि ग्राहकको सुविधालाई मध्यनजर गर्दै बर्षमा ३ पटकसम्म बीमा दाबी गर्न सक्ने योजना अगाडि ल्याएको जनाएको छ । सनराइज बैंकका बचतकर्ताहरुले ५ लाखसम्मको दुर्घटना बीमा र १०० भन्दा बढी अस्पतालहरुमा २० प्रतिशतसम्म छुट पाउँदै आएको जनाइएको छ ।

३.५६ अंकले घट्यो नेप्से, शिवम् सिमेन्टको कारोबार सबैभन्दा बढी

काठमाडौँ । सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.५६ बिन्दुले घटेर एक हजार २८९.२८ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६२ बिन्दुले घटेर २७४.८६ बिन्दुमा कायम भएको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको २२ लाख ५२ हजार ५४६ कित्ता शेयर रु ७१ करोड ५४ लाख ७८ हजार ६१२ मूल्यमा खरीद बिक्री भए । कारोबर भएका १२ उपसमूहमध्ये आज चार उपसमूहको सेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने घटेको छ । होटल ३२.६७, विकास बैंक २.४९, वित्त ०.४ र उत्पादन उपसमूह ४१.०२ बिन्दुले बढेको छ । त्यस्तै बैंकिङ २.८७, व्यापार २.५३, जलविद्युत् ७.७९, निर्जीवन बीमा ५५.०३, अन्य ५.०२, लघुवित्त १२.४०, जीवन बीमा २५.९५ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले घटेको छ । स्टकका अनुसार शिवम् सिमेन्टको सेयर सबैभन्दा बढी कारोबार भएको छ । सो कम्पनीको रु १२ करोड १३ लाख ११ हजार ८८९, प्रभु बैंक रु नौ करोड ३३ लाख ५४ हजार ४९०, नेपाल बैंक लिमिटेड रु चार करोड ८७ लाख ६२ हजार ४६६, तारागाँउ रिजेन्सी होटल रु दुई करोड ३८ लाख ५९ हजार ६९४, कन्काई विकास बैंक रु दुई करोड १६ लाख ७० हजार ७८३, कृषि विकास बैंक रु दुई करोड दुई लाख ३५ हजार २३८, माथिल्लो तामाकोशी रु एक करोड ९४ लाख ६ हजार १५९ र एनसिसी बैंकको रु एक करोड ६९ लाख ३२ हजार ७१० मा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार आज तारागाउँ रिजेन्सी होटलका शेयरधनीले ६.९८ प्रतिशतले कमाए । यस्तै गुराँस लघुवित्त वित्तीय संस्था ६.८५, कन्काई विकास बैंक ५.३८, गुह्येश्वरी मर्चेन्ट बैंक ४.७२, कैलाश विकास बैंक ३.४३ प्रतिशतले कमाए । त्यस्तै जोशी हाइड्रो पावर ६.३८, मल्टीपर्पोज फाइनान्स कम्पनी ६.०८, मितेरी डेभलपमेन्ट बैंक ५.६०, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था ५.३७, मञ्जुश्री फाइनान्स ४.७२ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ४.२० प्रतिशतले गुमाए ।

रोयल इन्फिल्डको क्लासिक-३५० सीसी गनमेटल ग्रे नेपाली बजारमा, मूल्य ५ लाख १५ हजार

काठमाडौ । रोयल इनफिल्ड मोटरसाईकल कम्पनीले ३५० सीसी भएकोे ‘क्लासिक मोडल’गनमेटल ग्रे नेपाली बजारमा भित्र्याएको छ । एमभी दुगड गु्रपको विवेक अटोमोवाइल्स प्रालिले उक्त मोटरसाइकल बजारमा ल्याएको हो । रोयल इन्फिल्ड क्लासिक–३५० सीसी मोटरसाईकलको मुल्य नेपाली बजारमा हाललाई ५ लाख १५ हजार रुपैयाँ तोकिएको छ । आगामी आर्थिक बर्षमा भने मोटर साईकलको मूल्यमा वृद्धी हुने बताइएको छ । मंगलबार आयोजित कार्यक्रममा बोल्दै एमभी दुगड गु्रपका उपाध्यक्ष विवेक दुगडले भने–‘आगामी आर्थिक बर्ष सुरु नहुन्जेल रोयल इन्फिल्ड क्लासिक–३५० मोटर साईकल खरिद गर्ने ग्राहकहरुले ५ लाख १५ हजार रुपैयाँ मात्र तिर्नुपर्छ, तर सो मूल्य सधैँकालागि भने होईन ।’ उनले उक्त मोटरसाईकलको ईञ्जिन, हेडलाईट, पेट्रोल ट्याङ्की, डबल डिस बे्रक सिस्टम लगायतका सन्दर्भमा चर्चा गरे । यस्तै, हालै थपिएको ‘रियर डिक्स ब्रेक’ का कारण दैनिक प्रयोगका लागि मोटरसाईकल थप सुरक्षित बन्ने विश्वास व्यक्त गरेका छन् । विवेक अटो मोवाईल्स प्रालिले आफ्ना १९ डिलर मार्फत सो माटरसाईकलको बिक्री–वितरण सुरु गरेको छ । मिड साइज मोटर साईकल उत्पादन गर्ने कम्पनीहरु मध्ये रोयल इन्फिल्ड विश्वको नम्बर १ कम्पनीमा पर्ने कम्पनीले दाबी गरेको छ । विवेक अटोमोवाईल्स प्रालिले रोयल ईन्फिल्डको नेपालकालागि डिस्ट्रीब्युटर भएर काम गर्न पाएकोमा गौरब महसुश गरेको बताएको छ । रोयल इन्फिल्ड क्लासिक ३५०-सीसी गनमेटल ग्रे का विषेशताहरु: अधिकांश मोटरसाइकलहरुलाई घाममा राख्दा पेट्राल उडेर जाने समस्या रहेको पाईन्छ । तर, रोयल इन्फिल्डले हालै सार्वजनिक गरेको मोडलमा भने पेट्रोल उड्दैन । यस्तै, नयाँ मोटरसाईकल ग्राहकको ईच्छा अनुसार ल्याइएकाले पहिलेको भन्दा माईलेजमा राम्रो हुने कम्पनीको तर्क छ । वर्तमान समयमा बढ्दो क्रममा रहेको वायु प्रदुषणलाई ध्यानमा राख्दै मोटरसाईकलमा आधुनिक किसिमको साईलेन्सरको जडान गरिएको छ ।

नेपालमै पहिलो पटक फोक्सोमा रहेको ट्युमरको बिना शल्यक्रिया सफल उपचार

काठमाडौं। नेपालमै पहिलो पटक नेपाल मेडिसिटी अस्पतालमा एक २० वर्षीय युवकको फोक्सोको ट्युमरलाई सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘ अर्थात बिना शल्यक्रियानै उपचार गरिएको छ । माइक्रोवेभ एब्लेसन एक यस्तो प्रविधि हो जसले कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी तथा हड्डी लगायतका स्थान ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्यूूमरको उपचार गर्न सक्छ । चिकित्सकका अनुसार यस प्रविधिमा खुला शल्यक्रिया आवश्यक पर्दैन र सुुईको प्रयोगबाट ट्युमरको निराकरण गर्न सकिन्छ । उपचारमा संलग्न चिकित्सकहरु मध्येका एक डा. ओम बिजु पन्तका अनुसार नेपालमा कही–कही यस प्रविधिद्वारा कलेजोमा रहेको ट्युमरको उपचार गरेको पाइए पनि फोक्सोमा भएको ट्युमरको लागि यो पहिलो सफलता हो । आइतबार सम्पन्न माइक्रोवेभ एबलेसन प्रक्रियामा नेपाल मेडिसिटी अस्पतालका रेडियोलोजी विभाग प्रमुख प्रा. डा. राम कुुमार घिमिरे , सोही विभागका डा. ओम बिजु पन्त तथा एनेस्थिेसेलोजीष्ट डा. अपूर्व शर्मा संलग्न थिए।। उपचार पश्चात विरामी सोमबार नै डिस्चार्ज भईसकेको अस्पतालले जानकारी दिएको छ।

गरिमा विकास बैंकबाट आइएमई लाइफको बीमा सेवा पाइने

काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेड काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र गरिमा विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् । सो बैंकास्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंककाग्राहकहरुले गरिमा विकास बैंक लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवनबीमा सम्बन्धीजानकारी प्राप्तगर्न सक्ने छन् ।