विकासन्युज

५ रोडा ढुंगा उद्योगले कर तिरेनन्, राजश्वले सञ्चालकको घरजग्गा रोक्का गर्ने

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय कलंकी काठमाडौँले धादिङ जिल्लाका ५ वटा रोडा ढुंगा उद्योगलाई मूल्य अभिबृद्धि कर(भ्याट) बुझाउन ताकेता गरेको छ । लामो समयसम्म बुझाउनु पर्ने बक्यौता नबुझाएको कार्यालयले जनाएको छ । अबको ७ दिनभित्र बक्यौता नबुझाए मूल्य अभिबृद्धि कर ऐन २०५२ को दफा २१ बमोजिम व्यवसायिक कारोबार रोक्का, बैंक खाता रोक्का र घरजग्गा रोक्का गर्ने जनाएको छ । धादिङ जिल्लाको थाक्रे १० मा रहेको माछापुछ्रे रोडा ढुंगा उद्योग, सोही स्थानमा रहेको शिलादेवी रोडा ढुंगा उद्योग, थाक्रे ४ को गोरखकाली स्टोन एण्ड स्याण्ड इण्डष्ट्रिज प्रालि, थाक्रे २ को मनकामना रोडा ढुंगा उद्योग र थाक्रे ७ को थाक्रे कालीका रोडा ढुंगा उद्योग प्रालिले लामो समयसम्म कर नतिरेका हुन् । ती उद्योगका सञ्चालकहरु क्रमशः इन्द्रबहादुर न्यौपाने, रामबहादुर राई, दिलबहादुर श्रेष्ठ, सुब्बा रेग्मी÷बलराम रेग्मी र सरिता कार्कीलाई कर बुझाउन नआए ७ दिनपछि नै कारवाहीको प्रक्रिया थाल्ने राजश्व कार्यालयले जनाएको छ ।

हावाहुरीका कारण दुईको मृत्यु, एक सयभन्दा बढी घाइते

धनगढी । भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । कैलालीको गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा टिपरसँग से२१प ५८२१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सोही ठाउँका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी टिकापुर नगरपालिका–२ स्थित पोल्टीफार्म भत्किँदा त्यसमा च्यापिएर ४७ वर्षीय लहानु डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश डाँगीले बताए । हावाहुरीको समयमा घरका जस्तापाता लागेर, रुख तथा बिजुलीका खम्बा लागेर कैलालीका विभिन्न ठाउँमा ७६ जना घाइते भएका उनले जानकारी दिए । घाइतेमध्ये गोदावरी नगरपालिकाका जनक मल्ल, गौतम मल्ल, धनगढीका सरिता जोशी र सिक्नटा चौधरी गम्भीर घाइते भएका छन् । घाइते जनक र गौतमको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने जोशी र चौधरीलाई थप उपचारका लागि भारत सिफारिश गरिएको छ । अन्य ७२ जना घाइतेको सेती अञ्चल अस्पतालका साथै निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । हावाहुरीका कारण भएको धनजनको क्षति विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । बिजुली खम्बा भाँचिएको, ठाउँ ठाउँमा रुढ ढलेका कारण विद्युत् सेवा ठप्प छ भने कतिपय क्षेत्रका सडकमा आवागमन अबरुद्ध भएको छ । हावाहुरीमा फसेका र घाइतेको उद्धारमा तत्काल नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली परिचालित भएको थियो । यसैगरी कञ्चनपुरको बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा गरी हावाहुरीका कारण २३ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ । तीमध्ये एक जना सख्त घाइते छन् । अन्य १५ जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए । ठाउँ ठाउँमा बिजुलीका पोल ढलेका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लाको दक्षिण क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडकका ठाउँठाउँमा रुख ढलेका कारण यातायात अवरुद्ध छ । त्यसैगरी डडेल्धुराको जोगबुडा जोड्ने दैजी–जोगबुढा सडक पनि अवरुद्ध छ । जस्तापाता, टायल र खरका छाना भएका घरका छाना उडाएका कारण ठूलो क्षतिभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीका कारण जिल्ला कारागार शाखा महिला युनिटको भान्साको छाना उडाएको छ भने जिल्ला अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ । रासस

चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा रोकिएका छन् । रासस

कर्मचारीका नेता भन्छन्ः घुस लिन लगाउने हाकिमको पोल खोल्छौं

काठमाडौं । कर्मचारीका नेताहरुले घुस लिन लगाउने हाकिमहरुको पोल खोल्ने चेतावनी दिएका छन् । संकलित घुसको ठुलो हिस्सा माथिल्लो तहका हाकिमले लिने गरेको तर तल्लो तहका कार्मचारी मात्रै बदनाम भैरहेकाले घुस संकलन गर्न लगाउने हाकिमहरुको पोल खोल्ने समय आईसकेको नेताहरुले बताएका हुन् । ‘अब कस्को आदेशले खुस संकलन गरिएको हो, तिनको पोल खोल्ने समय आएको छ, तपाईहरु त्यसै गर्नुस’, नेपाल राष्ट्रिय कर्मचारी संगठन–निजामतिका अध्यक्ष हरि रावलले भने । उनले घुस काण्डमा हालसम्म अधिकृत भन्दा माथीका कर्मचारी विरलै फस्ने गरेको पनि बताए । ‘साना कर्मचारीले मात्रै खुस खाएका छन् र ? के ठुला कर्मचारीले घुसै खाँदैनन्, अब वास्तविकता बाहिर ल्याउने समय भएको छ’, रावलले भने । तल्लो तहका कर्मचारी मार्फत घुस संकलन गरेर माथिल्लो तहका कर्मचारीले ठुलो हिस्सा लिने गरेको बताए । ‘तल्लो तहका कर्मचारी मार्फत घुस संकलन गरेर ठुलो हिस्सा माथिल्लो तहकाले खान्छन्, बदनाम हुने र जेल जानुपर्ने चाँही तल्लो तहका कर्मचारी मात्रै भए’, अध्यक्ष रावलले भने । आधिकारिक ट्रेड युनियनका नेताहरुले पनि साना कर्मचारीहरु घुस काण्डमा धेरै फसिरहेकोमा दुःख व्यक्त गरे । आफ्नो तेश्रो राष्ट्रिय भेलाबाट उनीहरुले घुस खुवाउने सेवाग्राहीलाई पनि कारवाही गर्नुपर्ने माग अघि सारेका हुन् । ‘हामी घुस खाने कर्मचारीलाई मात्रै होइन, अब घुस खुवाउने सेवाग्राहीलाई पनि कारवाही गर्नुपर्छ, ति राष्ट्रघाती हुन’, आधिकारीक ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलले भने । उनले न्युनतम वेतनमा काम गर्ने कर्मचारीहरुलाई घुस दिएर बदनाम गराउनेहरु राष्ट्र घाति भएको आरोप पनि लगाए । आधिकारीक ट्रेड युनियनका अध्यक्ष पुण्य प्रसाद ढकालले पनि साना कर्मचारीहरुको अधिकारका लागि थप संघर्ष आवश्यक रहेको बताए । ‘साना कर्मचारीहरु घुस काण्डमा फसिरहेका छन्, पैसा चाँही ठुलाले खान्छन्, फस्ने चाँही साना मात्रै अब बोल्नुस’, अध्यक्ष ढकालले भने । कर्मचारी युनियनले ४० बुँदे माग पत्र समेत अघि सारेको छ । करारमा नियुक्त गरिएका कर्मचारीहरुलाई एक मुष्ठ स्थायी गरेर नयाँ करार बन्द गर्नुपर्ने उनीहरुको माग छ । त्यस्तै, सरकारले करारमा कर्मचारी नियुक्त गर्ने कानुनी व्यवस्था अघि सार्न लागेको भन्दै बिरोध समेत गरेका छन् । उनीहरुले प्रदेश र स्थानीय तहमा समायोजन गरिएका कर्मचारीहरुलाई संघमा आउने बाटो खुल्ला गरिनुपर्ने माग पनि अघि सारेका छन् ।

प्रदेश समन्वय परिषद्को बैठक सर्यो, जेठ २८ र २९ गते हुने

हेटौंडा । ३ नम्बर प्रदेशको प्रदेश समन्वय परिषद्को बैठक सरेको छ । प्रदेश सरकारले हेटौंडामा गर्न लागेको प्रदेश समन्वय परीषद् बैठक पाँच दिन पछि सारिएको हो । प्राबिधिक कारणबस बैठक स्थगित गरिएको समन्वय परिषद् बैठक पाँच दिन पछी सञ्चालन गरिने प्रदेश नम्बर ३ का प्रमुख सचिब आनन्दराज ढकालले जानकारी दिए । सरकारले यही जेठ २४ र २५ गते हेटौंडामा बैठक सञ्चालन गर्ने जानकारी दिएको थियो । बैठक अब यहि जेठ २९ र ३० गते हेटौंडाको क्लब हेटौंडाको हलमा विहान ७ बजेटबाट हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदकोे कार्यालयले जनाएको छ । बैठकका लागि सबै तयारी पूरा भएपनि कारणबस सार्नुपरेको प्रमुख सचिब ढकालले जानकारी दिए । समन्वय परिषद बैठकमा प्रदेशका १३ वटा जिल्लाका जिल्ला समन्वय समिति तथा स्थानीय निकायका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुने छन् ।

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने नापी प्रमुख सहित ५ जना विरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी कार्य गरेको आरोपमा नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख भरतसिंह ऐरसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार जग्गाको कित्ता एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा नमूना मच्छिन्द्र क्याम्पस, लगनखेलको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको जग्गा गैरकानूनी रुपमा व्यक्ति विशेषको नामको जग्गामा घुसाउने गरी श्रेस्ता कायम गरेको पाइएको छ । मन्जुतारा शाक्यको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको कित्ता नम्बर १००१ र १००२ गरी जग्गाको एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा मूल नक्सामा रहेको साविक कित्ताको आकार, प्रकार परिवर्तन गरी छुट्टै फाइल नक्सा बनाई भ्रष्टाचार गरेको पाइएको छ । गैरकानूनी रुपमा व्यक्ति विशेषको नामको जग्गाको क्षेत्रफल बढाउने कार्यमा नापी कार्यालय, ललितपुरका तत्कालीन कार्यालय प्रमुख ऐर, तत्कालीन सर्वेक्षक केशवनाथ कट्टेल, तत्कालीन नापी निरीक्षक राजेशकुमार केसी र नमूना मच्छिन्द्र क्याम्पस, लगनखेलका तत्कालीन क्याम्पस प्रमुख नारायणदास श्रेष्ठको प्रत्यक्ष संलग्नता आयोगले आरोप लगाएको छ । उनीहरु विरुद्ध आयोगले उक्त जग्गाको मूल्य रु १७ लाख ८१ हजार २५० बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।  

सनराइज बैंकको कमाण्ड निरज श्रेष्ठको काँधमा, बैंकिङ क्षेत्रमा २९ वर्षको अनुभव

काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा निरज श्रेष्ठ नियुक्त भएका छन् । असार २ गतेदेखि कार्यभार सम्हाल्ने गरि जेष्ठ २२ गते बुधबारको सञ्चालक समिति बैठकले निर्णय गरेको बैंकका  अध्यक्ष मोतिलाल दुगडले जानकारी दिए । वित्तिय क्षेत्रमा श्रेष्ठले प्राप्त गरेको अनुभव र बैंकलाई अघि बढाउने योजनाका आधारमा आगामी ४ वर्षका लागि सिइओ नियुक्त गरिएको अध्यक्ष दुगडले बताए । बैंकमा जेष्ठ १ गतेदेखि प्रमुख कार्यकारी अधिकृत पद खाली थियो । बैंकले २२ दिनभित्रै नयाँ सिइओ नियुक्त गर्न सफल भएको हो । सन् १९८९ देखि बैंकिङ करियर शुरु गरेका श्रेष्ठले बैंकिङ क्षेत्रमा २९ वर्षको अनुभव संगालिसकेका छन् । श्रेष्ठ यस अघि माछापुच्छ्रे बैंकको सीईओ रुपमा कार्यरत थिए । माछापुच्छ्रे बैंकबाटै श्रेष्ठले प्रमुख कार्यकारी अधिकृतका रुपमा डेब्यु गरेका थिए । सिइओका रुपमा डेब्यु गरेको बैंकबाट एक वर्ष कार्यकाल बाँकी छँदै बाहिरिएका उनलाई सनराइजले दोश्रो अवसर जुटाईदिएको हो । नारायणचौर, नक्साल निवासी श्रेष्ठले तत्कालीन ग्रिण्डलेज बैंक लिमिटेड (हाल स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड) मा ईस्वी सम्बत १९८९ बाट सेवा प्रारम्भ गरी करिब १३ बर्षको कार्यानुभव लिएका छन् । त्यसैगरी उनले एस फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा करिब ३ बर्ष जिम्मेवारी सम्हालेका छन् । तत्कालीन एनआईसी बैंक लिमिटेड (हालको एनआईसी एशिया बैंक लि.) मा करिब ९ बर्ष महाप्रबन्धक पदमा रही कार्य गरेका थिए । ग्लोबल आईएमई बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा र सो पश्चात माछापुच्छ्रे बैक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी सम्हालेका थिए । ‘उहाँको इनर्जीबाट बैंकले नयाँ उचाई पाउँछ भन्ने अपेक्षासहित जिम्मेवारी दिएका हौं, छनौट समिति र सञ्चालक समितिबाट एक मतले उहाँलाई छानिएको छ, बैंक अझै उचाईमा जाने आश गरेका छौं ।’, अध्यक्ष दुगडले भने । यसअघि सनराइज बैंकको सीईओको कार्यभार रत्नराज बज्राचार्यले सम्हालेका थिए । बज्राचार्यकाे चार वर्षे कार्यकाल सकिएपछि कामु सीईओको जिम्मेवारी आशा राणा अधिकारीले  सम्हालेकी थिइन् ।

राजधानीका तीन स्थानमा मनसुन मोबाइल मेगाअफर, एउटा किन्दा अर्को सित्तैंमा

काठमाडौँ । चाबहिल चुच्चेपाटी स्थित केएल मोबाइल हबमा जेठ २७ गतेदेखि असार १५ गतेसम्म मनसुन मोबाइल मेगाअफर सञ्चालन हुने भएको छ । मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ । बिग सेल अन्तरगत ६५० रुपैयाँमा मोबाइल पाइने जनाइएको छ । मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँमोबाईल साट्ने व्यवस्थापनि मोबाइल हबले मिलाएको छ । मोबाइल मेला अवलोकन गर्नेहरुलाई समेत आकर्षक गिफ्ट ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने मोबाइल हबले जनाएको छ । केएल मोबाइल हब चाबहिलका साथै दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तलामा रहेको एप्पल वल्र्ड मोबाइल, सिटिसि मल सुन्धाराको भुई तलामा रहेको सिटिसी मोबाइल हबमापनि अफर सहित मेला सञ्चालन हुने जनाइएको छ ।