विकासन्युज

ठमेल पर्यटन विकास परिषदको महासचिवमा अधिकारीको उम्मेदवारी

काठमाडौं । ठमेल पर्यटन विकास परिषदको महासचिव पदमा ध्रुव अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । आगामी २ वर्षे कार्यकालका हुने शनिबार हुने निर्वाचनमा अधिकारीले महासचिव पदमा उम्मेदारी घोषणा गरेका हुन् । विगत २ दशक भन्दा बढी समयदेखि ठमेलको पर्यटन विकासमा सक्रिय अधिकारीले सुन्दर र व्यवस्थित ठमेल निर्माणका लागि आफु उम्मेदवार बनेका बताए । ‘ठमेललाई स्वदेशी तथा विदेशी पर्यटकहरुको निर्विकल्प गन्तव्यका रुपमा स्थापित गराउन मैले परिषदको चुनावमा महासचिवमा उम्मेदवारी दिएको हुँ’, अधिकारीले भने । उनले ठमेलसँग आफ्नो नङ र मासुको जस्तै सम्बन्ध रहेको पनि बताए । ठमेलमा भिआईप पब सहित अधिकारीले स्पा,लगायतका आधा दर्जन भन्दा बढी क्षेत्रमा लगानी गरेका छन् । उनले ठमेलको गरिमा बढाउन आफुलाई मतादन गर्न आग्रह पनि गरे । शनिबार हुने निर्वाचनमा ठमेल क्षेत्रका करिब ८ सय व्यवसायीले मतदान गर्नेछन् । नयाँ नेतृत्वका लागि ३ वटा प्यानल चुनावी मैदानमा खडा भएको छ ।

महालक्ष्मी पेन्सनसहितको ‘जीवन हेरचाह बीमा योजना’ सञ्चालन गर्दै, ‘बजारमा नौलो’

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले जेठ २६ गतेदेखि चौथो योजनाको रुपमा ‘जीवन हेरचाह बीमा योजना’ सञ्चालन गर्ने भएको छ । एउटै बीमा योजनामा टर्म इन्स्योरेन्स, एन्यूटी (पेन्सन) इन्स्योरेन्स र इण्डोमेन्ट इन्स्योरेन्सको समिश्रण रहेको यो योजना नेपालको बीमा बजारमा नौलो भएको कम्पनीले जनाएको छ । केटाकेटी र सन्तानको सुरक्षित भविश्यलाई लक्षित गरी ल्याइएको यो बीमा योजनामा प्रस्तावक (अभिभावक)को मृत्यू भएमा इच्छाईएको व्यक्तिलाई विमाङक रकम एकमुष्ट तुरुन्त भुक्तानी गरिनेछ । बिमाङ्क रकम भुक्तानीपछि पनि बीमाले निरन्तरता पाउँदै अवधि समाप्ती नभएसम्म प्रत्येक तीन–तीन महिनामा विमाङ्क रकमको २.५प्रतिशत बाँकी जीवन निर्वाह भत्ता (पेन्सन)को रुपमा पाईरहने, बाँकी अवधिको लागि बीमा शुल्क तिर्नु नपर्ने र भुक्तानी अवधि समाप्ती पछि पुनः विमाङ्क रकम र आर्जित वोनस एकमुष्ट भुक्तानी पाउने व्यवस्था गरिएको छ । साथै प्रस्तावक दुर्घटनामा स्थायी अपाङ्ग वा असक्त भएमा बाँकी अवधिको बीमा शुल्क छुट हुने र १२ वर्ष सम्म त्रैमासिक रुपमा विमाङ्क रकमको २.५ प्रतिशत जीवन निर्वाह भत्ता उपलब्ध हुने व्यवस्था समेत गरिएको छ । नेपालको बीमा बजारमा केटाकेटी बीमामा बच्चाको मृत्यू पछि बीमा योजना रद्द हुने व्यवस्था रहेको छ । तर, महालक्ष्मी लाईफले ल्याएको योजनामा इच्छाइएको वा बच्चाको मृत्यू पछिपनि बीमाले निरन्तरता पाईरहने र सो बीमा परिवारको इच्छाईएको व्यक्ति वा दोस्रो सन्तानमा हक हस्तान्तरण हुने एकदमै नौलो व्यवस्था गरिएको छ । प्रस्तावक जिवितै रहेको अवस्थामा भुक्तानी अवधि समाप्तीपछि विमाङ्क र आर्जीत बोनस एकमुष्ट पाउने व्यवस्था रहेको छ ।

 अध्यक्ष पदका लागि अभिनेता रबिन्द्र खड्काको उम्मेदवारी

काठमाडौँ । वरिष्ठ अभिनेता रबिन्द्र खड्काले चलचित्र कलाकार संघको अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् । संघमा एक कार्यकाल अध्यक्ष रही सकेका भूतपुर्व अध्यक्ष खड्काले यस पटक पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । यसैक्रममा विगत तीन दशकभन्दा बढी कलाकारितामा सक्रिय भूमिका निर्वाह गरिसकेका खड्काले चलचित्रकर्मीहरुको भविष्य सुनिश्चित गर्न, कलाको माध्यमबाट राष्टमा योगदान दिने वरिष्ठ  कलाकर्मीहरुको बाँकी जीवनका लागि उच्च सम्मान सहित व्यवस्थापन गर्ने योजना बनाएका छन् । साथै, पूर्व अध्यक्ष नायक स्वर्गीय रामकेशर बोगटी लगायत चलचित्र संघको सपना संघको आफ्नै भवन निर्माणका लागि यथाशीघ्र अगाडि बढ्ने लगायतका थुप्रै थुप्रै सुकार्यको लागि सदा झैँ अगाडि बढ्ने प्रण गर्दै उनले उम्मेदवारी दर्ता गराएका हुन् ।  

पूँजीगत लाभकरको बम्पर उपहारले तानेन लगानीकर्तालाई, किन फर्किएन कन्फिडेण्ट ?

काठमाडौ । बजेटले सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर २.५ प्रतिशतले घटायो । यस अघि ७.५ प्रतिशत रहेको करको दर अहिले जम्मा ५ प्रतिशतमा सिमित छ । सेयर बजार प्रति अनुदार मानिएको अर्थमन्त्रीले गरेको यो व्यवस्थालाई ‘बम्पर उपहार’ मानिएको थियो । तर बजेट आएपछि पनि सेयर बजार ओरालो लाग्ने क्रम भने रोकिएको छैन । बजार प्रति लगानीकर्तामा अझै पनि कन्फिडेन्ट बढ्न नसकेको स्पष्टै देखिन्छ । बजेट पछिको ६ दिने कारोबारमा एकदिन बाहेक सेयर बजार हरेक दिन घटेको छ । सो ६ कारोबार दिनमा बजार २९.२९ अंकले घटेको हो । बजेट भाषणका दिन नेप्से परिसूचक १३ सय १३ दशमलव ८८ बिन्दुमा रहेको थियो । बजेट आएको भोलिपल्ट अर्थात जेठ १६ गते बजारमा सामान्य वृद्धि भई बिहीबार १३ सय १९ दशमलब ४७ बिन्दुमा पुग्यो । त्यसपछि बजारमा निरन्तर गिरावट आईरहेको छ । जेठ १९ आईतबार बजार १३ सय ५ दशमलव ६८ बिन्दुमा झर्यो । सोही क्रमलाई निरन्तरता दिँदै नेप्से परिसूचक सोमबार २० गते १२ सय ९२.८४ बिन्दु कायम भयो । मंगलबार २१ गते १२ सय ८९.२८ बिन्दुमा झर्यो । सेयर कारोबार हुने साताको अन्तिम दिन जेठ २३ गते बिहिबार नेप्से परिसूचक १२ सय ८४.५९ बिन्दुमा आई पुगेको छ । किन बढेन कन्फिडेण्ट ? अनामनगरस्थित आर्यतारा सेक्यूरिटीजमा भेटिएका लगानीकर्ता अमृत बञ्जाडे भन्छन् –‘अहिले सेयर बजार बढ्न नसक्नुमा लगानीकर्तालाई इन्ट्रेस्ट रेटले समस्यामा पारेको छ ।’ बञ्जाडेले बजारमा नयाँ लगानीकर्ता प्रवेश नभएका कारण पनि बजार बढ्न नसकेको बताए । उनले प्रशस्त पूँजी भएका लगानीकर्ताले त्यसको प्रयोग नगरेकाले बजारमा असर परिरहेको जोड दिएका छन् । साथै, उनले बजारमा सेयरका लागि लगानीकर्ताको डिमान्डमा कमी रहेकोमा प्रकाश पारे । वित्तीय संस्थाहरुको नाफा वृद्धि भएमा त्यसको प्रभाव प्रत्यक्ष रुपमा सेयर बजारमा पर्ने उनको तर्क छ । कालिका सेक्यूरिटीजमा भेटिएका लगानीकर्ता निर्मल न्यौपाने भन्छन्-‘बजेटले बिग मर्जरको बाटो खोलेको भएपनि अब हामीले मौद्रिक नीतिले त्यसलाई कसरी लैजान्छ भन्ने कुरा महत्वपूर्ण हुने बताएका छन् ।’ उनले बजेटले नै सेयर बजारलाई प्रभाव पारेको कुरा केही हदसम्म मात्र मिल्ने तर्क दिएका छन् । क्रिष्टल कञ्चनजंगामा भेटिएका लगानीकर्ता ऋषिराम खनालका अनुसार करको बारेमा लगानीकर्ता ठूलो दुविधामा रहेका कारण बजार बढ्न सकेको छैन । खनालले भने-‘साढे सात बाट ५ प्रतिशतमा कायम गरिएको कर अन्तिम कर हो भन्ने कुरामा लगानीकर्तालाई ठूलो दुविधा रहेको छ ।’ खनालले आगामी दिनमा सरकारले अर्को किसिमको कर थप्न सक्ने हो की भन्ने अन्योलमा लगानीकर्ता गुज्रीरहेको बताए । उनले बजेट आउँने बेलाका उत्साहहरु त्यसको कार्यान्वयनका पक्षले निराशामा बदल्ने गरेको बताए । यस्तै, बजारमा लिक्वीडिटीको फ्लो हुन आवश्यक रहेको बताएका छन् । हाल सेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताले समेत नपाई रहेको अवस्था छ । सो सन्दर्भ भने बैंक र पैसासँग जोडिने लगानीकर्ताले बताएका छन् । बम्परले पनि हटाएन त्रास बजेटले पुँजीगत लाभकर घटाएको भएपनि त्यसलाई नै अन्तिम करका रुपमा गणना गर्ने सुनिश्तिता नहुँदासम्म लगानीकर्तामा त्रास कायमै छ । सरकारले वर्षभरीको सेयर कारोबारबाट आर्जित नाफामा आयकर लगाउने वा नलगाउने भन्नेबारे अझै निर्णय गरिसकेको छैन् । हरेक कारोबारमा ५ प्रतिशत पुँजीगत लाभकर तिरेपछि बार्षिक रुपमा आर्जित नाफामा पुनः आयकर तिर्नु नपरोस् भन्ने लगानीकर्ताको माग छ । तर सरकारले अहिलेसम्म त्यस्तो कर लिने वा नलिने कुनै निर्णय नगरेकाले जुनसुकै दिन आयकरको लफडामा फसिने डरले लगानीकर्तालाई सताईरहेको छ ।

एशियन लाइफले हकप्रद सेयर बेच्न टेण्डर खोल्यो, कहिले भर्ने ?

काठमाडौँ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र(टेण्डर) आह्वान गरेको छ । कम्पनीले २०७५ चैत २५ गतेदेखि २०७६ बैशाख २९ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । तर, माग बमोजिम आवेदन नपरेपछि उक्त परिमाणको हकप्रद सेयर टेण्डर गरी बिक्री गर्न लागेको हो । असार १ गतेदेखि असार ८ गतेसम्म शिलबन्दी बोलपत्र(टेण्डर) पेश गर्न सकिने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को निर्देशन नम्बर १५ को प्रावधानलाई आधार मानी सेयरहरु बोलकबोल बढाबढ गरी बिक्री गर्न लागिको कम्पनीले जनाएको छ । उक्त सेयरहरु खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो, गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संस्थापक समूहतर्फको २४२०.७० कित्ता र सर्वसाधारण समूहतर्फको २१८९३९.०३ कित्ता गरी २२१३५९.७३ कित्ता सेयर बोलपत्रद्वारा बिक्री गर्न लागिएको हो । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडका अनुसार एनआबीएल एस क्यापिटलका शाखाहरु, नेपाल इएन्भेष्टमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरु नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी तथा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड बाग्लुङबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने छ ।

हिमालयन ट्राभल मार्ट शुरु, ‘नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सहयोगी’

काठमाडौँ । नेपाली पर्यटन क्षेत्रकै ठूलो मेलाका रुपमा लिइने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण विहीबारदेखि काठमाडौँमा शुरु भएको छ । नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटनको केन्द्र एवं सबल पर्यटनमैत्री गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्ने उद्देश्यका साथ सन् २०१७ देखि नेपालमा ‘मार्ट’ को आयोजना हुँदै आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एशिया ट्रावल एशोसियशन (पाटा)ले सो ‘मार्ट’ आयोजना गर्दै आएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मार्टको बिहीबार साँझ एक समारोहबीच उद्घाटन गरे । उनले हिमालयको देश नेपाल प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य भएको बताए । उनले असिमिति पर्यटकीय ‘प्रडक्ड’लाई उजागर गर्न मार्ट उर्पयुक्त माध्यम भएको बताए , प्रधानमन्त्री ओलीले नेपालको आर्थिक समृद्धिमा पर्यटनको महत्वपूर्ण योगदान रहने र सरकारले समेत पर्यटनलाई उच्च प्राथमिकतामा राखेको बताए । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न समेत सहयोगी हुने विश्वास व्यक्त गरे । पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले मार्टले सरकार पर्यटनको विकासको लागि प्रतिबद्ध रहेको बताउँदै मार्टले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए । कार्यक्रममा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले हिमालयन ट्राभल मार्ट क्रमशः ब्राण्डिङ हुँदै आइरहको बताए । उनले नेपालको पर्यटन विकासको लागि पूर्वाधार विकास, नीतिगत सुधार तथा जनशक्ति विकासमा ध्यान दिन सरकारलाई आग्रह गरे । उनले नेपालको पर्यटन विकासमा निजी क्षेत्र सधै सक्रिय रहेको बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपाल पर्यटन उनले मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ‘ट्राभल ट्रेड’ मेलाको रुपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने ‘बी–टु–बी’ कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताए । उनले मार्ट नेपालमा सार्वजनिक निजी साझेदारीको उपर्युक्त नमूना भएको बताए । पाटा इन्टरनेशनलका उपाध्यक्ष वोङ्ग सुन ह्वाले नेपालको विकासमा पर्यटन महत्वपूर्ण माध्यम भएको बताउँदै नेपालको पर्यटन विकासमा पाटा इन्टरनेशनल सधैँ साथमा रहेको बताए । मार्टमा पर्यटन क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिबाट नेपालको पर्यटनका विविध पक्षमाथि अन्तरक्रिया तथा बी टु बी मिटिङ आयोजना हुने पाटा नेपाल च्याप्टरका महासचिव विभूति चन्द ठाकुरले जानकारी दिए । सम्मेलनमा नेपालसहित ४३ देशका करीब ७०० को सहभागिता छ । यसअघि सन् २०१७ मा ५३ देशका २२५ विदेशी प्रतिनिधि र सन् २०१८ मा सम्पन्न भएको ‘मार्ट’मा ३६ देशका १७० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । राजधानीमा शुरु भएको मार्ट आइतबारसम्म चल्ने छ । रासस

मेलम्चीको पाइपलाइन बिछ्याउने जग्गाको मुआब्जा ‘१५ दिनभित्र लिनू’

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको खानेपानी ट्याङ्की निर्माण तथा पाइपलाइन बिछ्याउने कार्यको लागि भक्तपुरको सूर्यबिनायक ६(साविक कटुञ्चे गाविस) र मध्यपुर थिमी ९(साबिक निलबराही गाउँ पालिकाका) मा पर्ने १३ कित्ता जग्गाका धनी र मोहीहरुले मुआब्जा पाउने भएका छन् । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको नाममा जग्गा प्राप्त गर्नका लागि लागि मुआब्जा निर्धारण समितिको बैशाख ३१ गतेको निर्णय अनुसार मुआब्जा वितरण गर्न लागिएकाले १५ दिन भित्र सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ । साबिको कटुञ्चेका विश्वराम सुवाल, उत्तम/पुष्पलाल/उद्धव/गौतम सुजखु, विष्णुकेहरी/रविभुषण/तारा/श्रीभुषण सुजखु, बासुनारायण सुवाललाई मुआब्जा लिन आउन सूचित गरिएको छ । त्यसैगरी साबिकको निलबहारीका बाबुकाजी, रामबहादुर, कान्छीमाया राजबाहक, ललिता राजबाहक, कान्छी राजबाहक, बेदभक्त/पञ्चकृष्ण श्रेष्ठ, श्यामकुमार राजबाहक र मिश्रीमाया राजबाहकलाई जग्गाधनी/मोहीहरुले आ–आफ्नो हकदैया वा भोगचलन सम्बन्धी निस्सा प्रमाणपत्र सहित मुआब्जा बुझिलिन काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, भैसेपाटीमा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी जनाएको छ ।

कलंकी-महाराजगञ्ज सडक क्षेत्रमा पर्ने संरचना नहटाए भत्काइने

काठमाडौँ । कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ सडक क्षेत्रभित्र रहेका स्थायी वा अस्थायी संरचनाहरु १५ दिन भित्र नहाटाए भत्काइने भएको छ । सडकको केन्द्रबिन्दुबाट दायाँबाँया दुबैतर्फ ३१–३१ मिटर सम्मको सडक सीमा कायम गरिएको छ । सो क्षेत्रभित्र पर्ने घर, टहरा, घुम्ती, बिग्रिएका सवारी, हार्डवेयर पसलका सामान र अन्य प्रकृतिका पसल राख्न काठमाडौँ चक्रपथ सुधार आयोजनाले निषेध गरेको छ । त्यस्ता संरचना १५ दिनभित्र हटाएर सडक खाली नगरे सार्वजनिक सडक ऐन २०३१ को दफा १८ बमोजिम काठमाडौँ उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालयले भत्काउने जनाएको छ । त्यसरी भत्काउँदा लाग्ने खर्च समेत सम्बन्धित संरचना धनीहरुसँग असुलउपर गरिने चक्रपथ सुधार आयोजनाले जनाएको छ ।