विकासन्युज

संसदमा अर्थमन्त्रीको जवाफ-‘अर्को आर्थिक वर्षको बजेटमा सबैलाई खुशी बनाउँछु’

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट पारेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्री डा युवराज खतिवडाले संविधानले प्रदत्त गरेको मूल्यमान्यतालाई बजेटले सम्बोधन गरेको बताउँदै वित्तीय सङ्घीयता कार्यान्वयनको काम जारी रहेकाले केही विषयमा कमजोरी भएको देखिन सक्ने स्वीकार गरे । राष्ट्रिय पुनःनिर्माण, राष्ट्रिय गौरवका आयोजना, विगतमा बहुवर्षीय ठेक्कामा बन्दोबस्त भएका आयोजनामा रु आठ खर्ब बराबरको बजेट सङ्घको अनिवार्य दायित्व हो भन्दै उनले ती दायित्वलाई बजेटमा आत्मसात् गरिएको बताए । सबै चालु खर्च ‘चालु खर्च’ होइन भन्दै उनले ती पूँजीगत खर्च नै भएको स्पष्ट पारे । उनले उदाहरण दिँदै भने “कृषि विकासका लागि दिइने अनुदान, रासायनिक मल खरीदका लागि दिइएको अनुदान, प्राविधिक अनुदानजस्ता विषय पनि ‘चालु खर्च’ भएकाले सोही आधारमा हेर्नुपर्छ ।” अल्पसङ्ख्यक जाति, वर्ग र समुदायलाई सम्बोधन गर्ने बजेट २०५१ सालको बजेटदेखि नै शुरु भएको र त्यसपछि हराएका ती क्षेत्रलाई आगामी आवको बजेटमा सम्बोधन गरिएको स्पष्ट पार्दै अर्थमन्त्रीले भने “म त्यही विरासत बोकेको पार्टीको अर्थमन्त्री भएकाले अल्पसङ्ख्यक समुदायलाई बजेटले सम्बोधन गर्ने प्रयास गरेको छु ।” तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले अल्पसङ्ख्यक समुदायलाई सम्बोधन गर्न नीति तथा कार्यक्रम र बजेटमा ‘नौ स’ को कार्यक्रम प्रस्तुत गरिएको थियो । अर्थमन्त्रीले भने, “सामाजिक सुरक्षा भत्ताको पैसाले हजुरबा हजुरआमाले आफ्ना नातिनातिनीलाई कापीकलम किनिदिनुभएको छ । बिरामी पर्दा औषधोपचार गर्नुभएको छ । त्यो के गलत भयो र ? औसत आयुअनुसार ज्येष्ठ नागरिक भत्ता सामाजिक सुरक्षा भत्ताका विषयमा अनावश्यक बहस गरिएको छ भन्दै अर्थमन्त्रीले नेपालीको औसत आयुलाई ध्यानमा राखेर ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गरिएको बताए । राज्यले सोझै गर्न नसक्ने काम ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ताको रकमबाट भएको उदाहरण दिँदै अर्थमन्त्रीले भने, “हजुरबा हजुरआमाले आफ्ना नातिनातिनीलाई कापीकलम किनिदिनुभएको छ । बिरामी पर्दा औषधोपचार गर्नुभएको छ । त्यो के गलत भयो र ? राज्यले गर्ने काम जेष्ठ नागरिकले आफ्नो परिवारमा गर्नुभएको छ । यो नराम्रो भयो र ?” राज्यको प्रमुख चुनौती भनेकै शहरी व्यवस्थापन होे भन्दै अर्थमन्त्रीले गाउँ पनि हाम्रो आधुनिक जीवनको आधार भएकाले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने कार्यक्रमलाई सम्बोधन गरिएको स्पष्ट पारे । पूँजीगत खर्च बढाउनेतर्फ विशेष ध्यान दिनैपर्ने उल्लेख गर्दै उहाँले स्थानीय अवरोध र निर्माण व्यवसायीले काम नगर्दा पनि विकास निर्माणमा समस्या परेकाले ९० प्रतिशत बढी खर्च गर्न सके त्यो उपलब्धिमूलक हुने बताए । बढीभन्दा बढी विकास बजेट खर्च गर्नेतर्फ सरकार लागिपरेको र केही वर्षपछि त्यो समस्या धेरै हदसम्म सम्बोधन हुने अर्थमन्त्रीको जिकिर थियो । स्टिलको खम्बा राखिने काम मङ्सिर, पुस र माघमा भएपनि भुक्तानी जेठअसारमा भएकाले असारे विकास जस्तो देखिएको अर्थमन्त्रीको प्रष्टोक्ति थियो । शुरु भएका आयोजनालाई सञ्चालनमा ल्याउन र निर्माण सम्पन्न गराउन सरकार प्रतिबद्ध छ भन्दै उनले काठे खम्बालाई विस्थापन गरेर स्टिलको खम्बा राख्ने कार्यक्रमलाई बजेटले सम्बोधन गरेको बताए । आगामी आवमा तोकिएको ८.५ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य व्यावहारिक छ भन्दै उनले सङ्घ, प्रदेश र स्थानीय तहले गर्ने खर्चले अपेक्षित लक्ष्य हासिल हुने बताए । ठूला भौतिक पूर्वाधारको विकासको गति बढ्दा त्यसले श्रम बजारमा समेत प्रभाव पार्ने उनको भनाइ थियो । नेपाल भ्रमण वर्षको कार्यक्रम अगाडि बढाउँदा सेवाको निर्यातबाट व्यापार घाटा घटाउन सकिने अर्थमन्त्रीको जोड थियो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा अगाडि बढाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । आगामी आवदेखि विद्युत् आयात गर्नु नपर्ने भएकाले व्यापार घाटा न्यूनीकरण गर्न सहयोग पुग्नेछ । आगामी आवदेखि विद्युत् आयात गर्नु नपर्ने भएकाले व्यापार घाटा न्यूनीकरण गर्न सहयोग पुग्नेछ भन्दै उनले आगामी आवमा नै व्यापार घाटा सन्तुलनमा भने नजाने प्रष्ट पारे । आगामी आवमा राष्ट्रिय प्रसारणमा एक हजार मेगावाट विद्युत् थप हुनेछ । उक्त परिमाणको विद्युत् थप भएपछि भारतबाट आयात भइरहेको विद्युत्को मात्रामा कटौती हुनेछ । दक्षिण एशियामा सबैभन्दा सहज ऋणको अवस्था नेपालमा छ भन्दै उहाँले अनुत्पादक ढङ्गले ऋण लिनेतर्फ सरकार नलाग्ने बरु कूल गार्हस्थ उत्पादनले धान्ने गरी नै ऋण लिइने अर्थमन्त्रीको कथन थियो । उनले मूल्यवृद्धिलाई नियन्त्रण गर्ने गरी सरकारले आफ्ना नीति तथा कार्यक्रम तय गरेको जिकिर गरे । स्वदेशी कामदारलाई नै काम दिने योजनामा सरकार छ भन्दै उहाँले श्रम बजारको संरचनालाई अध्ययन गरेर मात्रै बेरोजगार र रोजगारीको अवस्था पत्ता लाग्ने बताए । आगामी आवको बजेटले धेरैलाई खुशी पारेको र कमैलाई मात्रै बेखुशी बनाएको छ भन्दै अर्को आर्थिक वर्षको बजेटमा सबैलाई खुशी तुल्याउने गरी बजेट आउने विश्वास दिलाए ।

‘स्थानीय जनताको स्वस्थता, नगर सरकारको प्रतिबद्धता’भन्ने नाराका साथ अभियान सुरु

काठमाडौं । कैलालीको टीकापुर नगरपालिकाले ‘म स्वस्थ, मेरो नगर स्वस्थ’ अभियान शुरु गरेको छ । नगरपालिकाले ‘स्थानीय जनताको स्वस्थता, नगर सरकारको प्रतिबद्धता’ भन्ने नाराका साथ नगर स्वस्थ अभियान शुरु गरेको हो । अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, शिक्षक, राजनीतिक दलका प्रतिनिधिलाई सामाजिकरुपमा प्रतिबद्ध गराउन थालेको छ । यसरी नगरपालिकाले सार्वजनिक कार्यक्रममा सामूहिक प्रतिबद्धता गर्न लगाएर सामाजिक सञ्जालमा हाल्न थालेको छ । जसले स्वास्थ्यप्रति सचेत रहन सहयोग गर्छ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । सङ्घ र प्रदेश सरकारले पनि स्वास्थ्यप्रति नागरिकलाई जिम्मेवार बनाउन मेरो वर्ष अभियान शुरु गरेका छन् । उक्त नगरपालिकाले भने केन्द्र कार्यालय र वडा कार्यालयमा जनप्रतिनिधिका फोटोसहितका प्रतिबद्धता टासेर अभियान थालेको छ । दश बुँदामा रहेको प्रतिबद्धतामा म स्वस्थ र पोषिलो खाना खान्छु, म रक्सी चुरोट र सुर्तीजन्य पदार्थबाट टाढै रहन्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु, म नियमित व्यायाम गर्छु, म तनावरहित जीवनशैलीलाई आत्मसात् गर्छु, म प्रदूषण नियन्त्रणमा सजग रहँदै आफ्नो घर र समुदाय सफा राख्छु भनी उल्लेख गरिएको छ । त्यसैगरी, प्रतिबद्धतामा म टाफिक नियम पालना गर्छु, म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु, म स्वास्थ्यलाई प्रतिकूल हुने खालका बालविवाह, छाउपडी प्रथाजस्ता सामाजिक कुरीति र कु संस्कारको अन्त्य गर्दै प्रतिबद्ध रहनेछु, म हिंसा र भेदभाव गर्ने छैन र कसैले हिंसा र भेदभाव गरेको थाहा पाए त्यसको प्रतिकार गर्छु भनी उल्लेख गरिएको छ । यी १० बुँदे प्रतिबद्धता कार्यान्वयन गरेमा नगर सुन्दर र नगरवासी स्वस्थ रहन मद्दत पुग्ने नगरप्रमुख तपेन्द्र रावलले बताएका छन् । “स्वास्थ्य नै धन हो । त्यसैले नगरपालिकाले स्वास्थ्यमा बढी लगानी गरेको छ”, प्रमुख रावलले भने, “यो अभियानले धेरैलाई जिम्मेवार बनाउने छ ।” यसै क्रममा स्वास्थ्य उपशाखा संयोजक बलबहादुर रावलले यो अभियान अब विद्यालयमा लैजाने बताउँदै भने । “जिम्मेबार व्यक्तिले मदिरा सेवनजस्ता कार्य गर्दा समाज बिग्रिएको छ”,त् संयोजक रावलले भने, “कुलतजस्ता गलत बाटोमा लागेकालाई जिम्मेवार बनाउन र स्वास्थ्यप्रति सचेत गराउन अभियानले सहयोग गर्छ ।” नेपाली काङ्ग्रेसका नगर सचिव मोतिराम भण्डारीले अभियानसँगै नगरपालिकाले मदिरा नियन्त्रण, दुव्र्यसनी नियन्त्रण जस्ता कार्यमा पनि कडाइ गर्नुपर्ने धारणा राखेका छन् । रासस

अनलाइन इन्ट्री प्रणालीका नाममा भारतीय सीमामा रोकिए ट्याङ्कर, पेट्रोलियम पदार्थको हाहाकार

भद्रपुर । पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् । नेपालले आयात गर्दै आएको पेट्रोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङमा एक हप्तादेखि पेट्रोलियम पदार्थको हाहाकार भएको हो । झापाको चारआलीस्थित नेपाल आयल निगमको डिपोले भारतको सिलिगुढीबाट पेट्रोलियम पदार्थको आयात गर्दै आएको थियो । तर, पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयले अनलाइन प्रणालीमा गडबडी भएको भन्दै तेलका ट्याङ्कर हप्तौँसम्म रोक्न थालेको छ ।इन्धन जस्तो संवेदनशील वस्तुको हाहाकार भएपछि सर्वसाधारणमा परेको समस्यालाई तत्काल हटाउन नेपाल आयल निगमको चारआली शाखा कार्यालयले विराटनगरस्थित निगमको प्रादेशिक कार्यालयबाट पेट्रोलियम पदार्थ ल्याउन निगमका बिक्रेता एवम् व्यवसायीलाई आग्रह गरेको छ । शाखाका प्रमुख सनम कार्कीले बुधबार विज्ञप्ति नै जारी गरेर नियमित आपूर्ति चाँडै गराउन निगम प्रयत्नशील रहेको जानकारी गराउँदै ताप्लेजुङ, पाँचथर, इलाम र झापास्थित निगमका बिक्रेतालाई आवश्यक पेट्रोलियम पदार्थ निगमको प्रदेश नं १ को प्रादेशिक कार्यालय विराटनगरबाट उपलब्ध गराइने उल्लेख गरे । पेट्रोलियम व्यवसायीलाई उनले चाहिएजति इन्धनको मूल्य भुक्तानीको बैंक भौचर शाखा कार्यालयमा बुझाएपछि मागबमोजिमको पेट्रोलियम पदार्थ उपलब्ध गराइने उल्लेख गरे । साविक मेची अञ्चलका चार जिल्लामा दैनिक १ लाख लिटर पेट्रोल र ३ लाख लिटर डिजेल खपत हुने गरेको छ । भारतबाट तेल नआएपछि यी जिल्लाका पेट्रोलपम्प स्वतः बन्द भएका छन् । मेची पेट्रोलियम व्यवसायी एसोसिएसनका अध्यक्ष मार्स प्रसाईंले प्रादेशिक कार्यालय विराटनगरबाट पेट्रोलियम पदार्थ लिन सकिने जानकारीसहितको पत्र बुधबार पठाएको र त्यो प्रक्रियाबाट इन्धन ढुवानी गर्दा महङ्गो पर्ने बताए । अध्यक्ष प्रसाईँले विराटनगरबाट लकिङ गरेका ट्याङ्कर नआउने हुँदा क्वालिटी र क्वान्टीटी दुवैमा ग्यारेन्टी नहुने दाबी गरे । निगमले पेट्रोलियम व्यवसायीलाई १५ किलोमिटरसम्म एक हजार लिटरको रु ३१६ भाडाको मापदण्ड बनाएको बताउँदै उनले विराटनगरबाट ल्याउँदा रु एक हजार ९९ लाग्ने बताए । उनले निगम आफैँले नै प्रादेशिक कार्यालयबाट लकसहितका ट्याङ्कर ल्याएर चारआली डिपोमार्फत व्यवसायीलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने माग गरे । रासस

बाँदरमुढेमा १२ करोडको लागतमा स्मृति उद्यान बनाइने

रत्ननगर । चितवन माडीको बाँदरमुढे घटनाका मृतकको सम्झनामा स्मृति उद्यान बनाइने भएको छ । घटना भएको ठाउँदेखि ५०० मिटर पश्चिमपट्टिको विद्यालयको तीन बिघा क्षेत्रफलमा उद्यान बनाउन लागिएको हो । माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बाँदरमुढे घटना भएको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न उद्यान बनाउन लागिएको बताए । उद्यान निर्माण गर्न रु १२ करोडको डिपिआर निर्माण भएको उनले जानकारी दिए । उद्यान निर्माण गर्न डिपिआर सम्पन्न भई अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ । “बहुवर्षीय योजनाका लागि शहरी विकास मन्त्रालयमा पेश गरेका छौँ”, उनले भने, “आगामी आर्थिक वर्षबाट काम शुरु हुन्छ, यो नेपालकै लागि ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा रहन्छ ।” प्रमुख ढकालका अनुसार यो उद्यानमा पर्यटकीय पूर्वाधार निर्माण हुनेछ । उद्यानमा फन पार्क, मृतक सबैका शीर कुँदिएका स्मारक बनाउने, माडीको संस्कृति, वेषभूषा झल्कने सङ्ग्रहालय बनाउने र सबैले पूजा गर्न मिल्ने गरी मन्दिर बनाउने योजना नगरपालिकाको छ । “मृतकका पीडितले बनाएको पुरानो स्मारक पनि यथावत रहन्छ”, उनले भने, “उद्यानले शान्ति प्रक्रियामा आइसकेपछि सो घटनालाई कसरी हेरिएको छ भन्ने सन्देश प्रवाह गर्छ । जसले गर्दा उद्यानमा ऐतिहासिक महत्व झल्किन्छ ।” राष्ट्रिय आधारभूत विद्यालय बाँदरमुढे र दिवाकर स्मृति विद्यालयसँग मर्ज हुन लागेकाले उद्यानलाई चाहिने जग्गा सहजरूपमा प्राप्त भएको उहाँको भनाइ छ । विस २०६२ जेठ २३ गते यात्रुबाहक बसमा शक्तिशाली एम्बुस पडकिएर ४२ ले ज्यान गुमाएका थिए । रासस

हुण्डी कारोबार गर्ने दुई पक्राउ, दुई लाख ९९ हजार बरामद

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । बुधबार पर्सा वीरगञ्ज महानगरपालिका वडा नं १६ रजतजयन्ती चोकस्थित सडकमा विभिन्न सवारी साधन तथा पैदल यात्रीसमेतको जाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारत रक्सौलबाट वीरगञ्ज आउँदै गरेका जिल्ला बारा सिमरा उपमहानगरपालिका वडा नं ७ पहाडीटोल बस्ने वर्ष २२ को रोशन साह र भारत विहार जिल्ला मोतिहारीको सुगौली वडा नं १० कवलपुरटोल बस्ने वर्ष २२ को सौरभ कुमारका साथबाट स्रोत खुलाउन नसकेको नेपाली रुपैयाँ दुई लाख ९९ हजार ५०० र मोबाइल दुई थानसमेत फेला परेकाले सो नगदसहित रोशन र सौरभलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सडक विस्तार अन्यौलपूर्ण, आवासको जग्गा हटाउने प्रयास

काठमाडौं । विसं २०३३ र २०४५ को मापदण्डअनुसारका मूल सडक विस्तार हुन नसकेका बेला गोकर्णेश्वर नगरपालिका–१ मा भित्री सडक विस्तार गर्ने नाममा वर्षौँदेखि बस्दै आएका मानिसको बास उठाउन खोजिएको छ ।नगरपालिकाको चालू आर्थिक वर्षको योजनामा वडा नं १ को कारखानाबाट रामेश्वर खड्काको घरसम्म सडक स्तरोन्नति गर्ने कार्यक्रम राखिएको छ । पाँच लाख रुपैयाँ छुट्याइएको सो योजनामा सडकको मूलविन्दु कहाँ हो र कतिसम्म विस्तार गर्ने भन्ने सूचना दायाँबायाँका स्थानीयवासीलाई नदिई बास उठ्ने गरी विस्तार गरिएको हो । उक्त नगरपालिका क्षेत्रमा पर्ने बौद्ध पिपलबोटबाट सुन्दरीजलसम्मको मूल सडक यही नगरपालिकामा पर्छ । यसैगरी जोरपाटीबाट दक्षिणढोकाको सडक पनि गोकर्णेश्वर नगरपालिकामै पर्छ । वर्षौदेखि ठेक्का लागेर पनि विस्तार हुन नसक्दा यी सडक अलपत्र छन् । सोका कारण वषौँदेखि यात्रु हिउँदमा धुलो र वर्षामा हिलोले पीडित छन् । यी सडक विस्तार गरेर कालोपत्र गर्न नगरपालिकाले कुनै पहल गरेको छैन । यसरी विस्तार गर्न लागिएको सडक कतै गर्ने र कतै नगर्ने गरिएको स्थानीयवासीको गुनासो छ । एक दशकअघि आफ्नो घरमा कोही नभएको मौका छोपी सडक सीमा सारेको समूहले सारिएको स्थानमा धारा हालेको थियो । धारा भत्काएपछि सडक विस्तारका नाममा आवासको हकबाट बञ्चित गर्न खोजिएको स्थानीय लालकृष्ण मिश्रले गुनासो गरेका छन् । सडकको मुख र अन्त्यमा विस्तार नगरी बीचबीचमा मात्र विस्तार गरिएको छ । केही व्यक्तिको जग्गा सिधा पार्न नगरपालिकाले काम गर्न गठन गरेको उपभोक्ता समिति प्रयोग भएको छ । नगरपालिकाका योजना शाखा प्रमुख मीनराज कोइरालाले सडक दायाँबायाँका जग्गाधनीको सहमतिविना एउटा इँटा पनि सार्न नसकिने बताए ।यसैक्रममा,नगरपालिकाका उपप्रमुख शान्ति नेपालले सडक विस्तार गर्ने योजना भए पनि कुनै पनि व्यक्तिको घरलाई असर पुग्ने गरी विस्तार नगरिने जानकारी समेत दिएका छन् । रासस  

कोपा अमेरिकाबाट नेमार बाहिरिए, ब्राजिलमाथि थपियो ठूलो चुनौती

ब्रासिलिया । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएका छन् । कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेमारको घुँडामा चोट लागेको थियो । ब्राजिली फुटबल महासँघले जारी गरेको वक्तव्यमा नेमारको चोट निकै गम्भीर किसिमको भएकाले कोपा अमेरिका कपमा सहभागी हुने सम्भावना नरहेको उल्लेख छ । एक साताभित्रै शुरु हुन लागेको दक्षिण अमेरिकाको यस प्रतिष्ठित प्रतियोगितामा नेमारको अनुपस्थितिले ब्राजिलमाथि ठूलो चुनौती थपिएको छ । नेमार विश्वकै सर्वाधिक सफल एवं महङ्गा खेलाडीमध्येका एक हुन् । बुधबार राति ब्रासिलियाको मेन गारिन्चा रंगशालामा कतारसँगको खेलमा २० मिनेटभित्रै नेमार चोटग्रस्त भएका थिए । उनी हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइनबाट खेल्छन् । नौ दिनपछि नै कोपा अमेरिका कपमा ब्राजिलको पहिलो खेल बोलिभिया विरुद्ध रहेको छ । कोपा अमेरिकाको आयोजक राष्ट्र पनि ब्राजिल नै हो । सन् २००७ यता ब्राजिलले कोपा अमेरिका कप जित्न सकेको छैन । रासस/एएफपी

चीनको रु. ८३ करोडको लागतमा विद्यालय भवन निर्माण

लमजुङ । लमजुङको राइनास नगरपालिका–९ महोरियाकोटस्थित भैरव माध्यमिक विद्यालय भवनको निर्माण कार्य सम्पन्न भएको छ ।उक्त विद्यालयको सुविधासम्पन्न भवन चीन सरकारको ८३ करोड रुपैयाँको लागतमा सम्पन्न भएको हो । उक्त विद्यालय आठ रोपनी क्षेत्रफलमा चारतले विद्यालय भवनको निर्माणकार्य सम्पन्न भएको राइनास नगरपालिकाका प्रमुखसमेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर थापाले बताएका छन् । निर्माण सम्पन्न भएको उक्त विद्यालयमा ३० कक्षाकोठा, २० छात्रावास कोठा, १० शिक्षक कर्मचारी कोठा, एउटा सेमिनार हल, तीन पुस्तकालय कोठा, एउटा बैठक कोठा, खाजा कोठा, शौचायलयलगायत गरी ६८ कोठा रहेको थापाले बताए ।त्यस्तै, एउटा बास्केटबलको खेलमैदान, सवारीसाधन पार्किङस्थल विद्यालयमा निर्माण गरिएको छ । विद्यालयको विभिन्न ठाउँमा १० सौर्यबत्ती जडान गरिएको छ । कामदारदेखि सबै आवश्यक सामग्री चीनबाटै ल्याई निर्माण भएको विद्यालयले जनाएको छ । तीन वर्षभित्र सक्ने लक्ष्यका साथ उक्त विद्यालय विसं २०७४ बाट निर्माणकार्य शुरु गरी २०७६ जेठ २१ गते सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । २०१४ सालमा स्थापना भएको सो विद्यालय विसं २०७२ को भूकम्पले क्षति पु¥याएपछि टहरामा पढ्न बाध्य हुँदै आएका विद्यार्थीले सुविधायुक्त नयाँ भवनमा पढ्न पाउने भएका छन् । देशकै नमूना भवनमा पढ्न पाउने भएपछि त्यहाँका विद्यार्थी खुशी भएका छन् । सो माविमा प्राविधिक तथा व्यावसायिक शिक्षा आगामी साउनबाटै कक्षा १२ सम्म सञ्चालन गर्ने समितिका अध्यक्ष थापाले बताएका हुन् ।यसरी छिमेकी राष्ट्र चीनले नेपालमा उत्कृष्ट १० नमूना विद्यालय बनाउने घोषणाको कार्यान्वयन गर्दै हिमाली भेगमा दुई विद्यालय निर्माण गर्ने क्रममा लमजुङको उक्त विद्यालय निर्माण गरेको समितिले जनाएको छ । रासस