विकासन्युज

दैनिक २० हजार बोरा सिमेण्ट उत्पादन गर्दै ऋद्धिसिद्धि, केही महिनाभित्रै ६० हजार उत्पादन गर्ने

हेटौँडा । हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ताबाट स्थापित ऋद्धिसिद्धि सिमेण्ट उद्योगले उत्पादन शुरु गरेको छ । रु १० अर्ब ५० लाखको लागतमा स्थापना गरिएको सो उद्योगले प्रथम चरणमा अहिले दैनिक २० हजार बोरा सिमेण्ट उत्पादन गर्दै आएकोे छ । उक्त उद्योगले आगामी केही महिनाभित्रै कूल क्षमताअनुसार दैनिक ६० हजार बोरा सिमेण्ट उत्पादन गर्ने जनाएको छ । उद्योगलाई दैनिक आवश्यक पर्ने १० हजार मेट्रिक टन कच्चापदार्थ (चुनढुङ्गा) मकवानपुरको कैलाश गाउँपालिकाको राक्सिराङ्ग, भीमफेदी गाउँपालिकाको निबुवाटार, चितवनको शक्तिखोर र उदयपुरको चुनढुङ्गा खानीबाट ल्याएर भण्डारण गरिएको सो उद्योगले जनाएको छ । ऋद्धिसिद्धि ब्राण्डको सो सिमेण्ट अहिले काठमाडौँ, विराटनगर, झापा, जनकपुर, पोखरा र हेटौँडामा सुपथ मूल्यमा वितरण भइरहेको उद्योगका क्षेत्रीय बिक्री प्रबन्धक विक्रम खतिवडाले राससलाई जानकारी दिए । उनका अनुसार सिमेण्ट उद्योग व्यवस्थापनले युरोपेली प्रविधि र रोबोटको माध्यमबाट गुणस्तरीय सिमेण्ट उत्पादन गरिरहेको छ । हाल सो उद्योगको प्रशासन, प्रयोगशाला, भण्डारण, प्रविधि र श्रम क्षेत्रमा करीब ३०० ले काम गरिरहेका छन् । हेटौँडामा यसअघि हेटौँडा सिमेण्ट र शिवम् उद्योगका सिमेण्ट उत्पादन हुँदै आएको थियो । रासस

जोमसोम विमानस्थल १५ दिन बन्द, धावनमार्गको तह मिलाउने

बाग्लुङ । मुस्ताङको जोमसोम विमानस्थल शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । “असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ”, कार्यालयप्रमुख भानु कोइरालाले भने, “त्यतिञ्जेल धावनमार्ग सुधारको काम सकिन्छ ।” जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नु परेको उनको भनाइ छ । विमानस्थल स्तरोन्नति योजनाअनुसार धावनमार्गको तह मिलाउने (ग्रेड सुधार), कालोपत्र थपलगायत मर्मतको काम भइरहेको छ । तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो । २० वर्षअघि गरिएको कालोपत्रको म्याद गुज्रन लागेको थियो । विमानस्थल स्तरोन्नतिका लागि नागरिक उड्डयन प्राधिकरणले एपेक्स निर्माण कम्पनीलाई जिम्मा दिएको छ । गत असोजमा रु नौ करोडमा सम्झौता भई माघदेखि निर्माण कम्पनीले काम शुरु भएको थियो । हिमपातका कारण मर्मतको काममा केही ढिलाइ भएको थियो । असारभित्र सबै काम सकिने कम्पनीका इञ्जिनीयर लालध्वज लामाले बताए । धावनमार्ग सुधारसँगै विमानस्थलमा कालीगण्डकी नदीको कटान नियन्त्रण र घेराबारको काम पनि भइरहेको छ । पोखरा–जोमसोम हवाई मार्गमा तारा, यती, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ उडान भर्दै आएका छन् । मुस्ताङ घुम्ने पर्यटकको चापले वैशाख–जेठमा विमानस्थल बढी व्यस्त हुन्छ । पोखरादेखि १७ मिनेटको उडानमा जोमसोम पुगिन्छ । रासस

प्रदेश ३ का मुख्य न्यायाधिवक्ता न्यौपानेले दिए राजीनामा, ‘मुख्यमन्त्री पौडेलसँग खटपट’

काठमाडौँ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग खटपट भएपछि मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उनले राजीनामा दिएका हुन् । न्यौपानेले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् । पदमा रहँदा स्वतन्त्रपूर्वक काम गर्ने आफ्नो आदतअनुसार काम गर्न नपाएकाले र बाँधिएर काम गर्नुपर्ने बाध्यताका कारण पदबाट राजीनामा दिएको उनको भनाइ छ । मुख्य न्यायाधिवक्ताको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्ने कानूनी व्यवस्था छ । वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले मुख्य न्यायाधिवक्ताको जिम्मेवारी र भूमिका राजनीतिक नियुक्ति र मर्यादा जस्तो नभई एउटा सामान्य कर्मचारी जस्तो भएकै कारण आफूले राजीनामा दिएको बताए । कार्य सम्पादन गर्ने क्रममा बेलाबेलामा मुख्यमन्त्री पौडेल र मुख्य न्यायाधिवक्ता न्यौपानेबीच विवाद हुँदै आएको श्रोतले जनाएको छ ।

माछापुछ्रेले गर्यो विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

काठमाडौं । कास्की जिल्लाको माछापुछ्रे गाउँपालिकाले विपन्न तथा गरिब घरपरिवार छनोट गरी उनीहरुको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले चालू आवमा वडा नं १ देखि ६ सम्मका १४२ घरधुरी छनोट गरी उनीहरुको स्वास्थ्य बीमा गरेको हो । आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट गाउँपालिकाभित्रका कोही पनि नागरिक वञ्चित हुन नपरोस् भनेर गरिब परिवार यकिन गरी यही जेठ महिनादेखि लागू हुने गरी उनीहरुका सदस्यको स्वास्थ्य बीमामा आबद्ध हुँदा लाग्ने योगदान रकम पालिकाले नै भुक्तानी गरेको गाउँपालिका प्रमुख कर्ण गुरुङले बताएका छन् । गाउँपालिका स्वास्थ्य शाखाप्रमुख हरिलाल आचार्यका अनुसार उनीहरुको बीमाका लागि गाउँपालिकाले तीन लाख ७७ हजार ९५० रुपैयाँ योगदान गरेको छ । गाउँपालिकाका नौ वटै वडाबाट स्वास्थ्य बीमामा सहभागी हुन नसकेका विपन्न र अति गरिब परिवारको बीमा गर्ने योजनानुसार चालू आवकोे नीति तथा कार्यक्रममा उल्लेख गरेर बीमाका लागि लाख रुपैयाँ बजेट छुट्याइएको थियो । बाँकी तीन वडालाई पनि आगामी साउनदेखि बीमा सहभागी गराउने तयारी गरिएको जनाइएको छ । प्रत्येक वडा कार्यालयले वडाअन्तर्गतका गरिब घरपरिवारको पहिचान गरी उनीहरुबाट आवेदन दर्ता गरेर त्यस्ता परिवारको आम्दानी, रोजगारीको अवस्था, ज्याला, विप्रेषण (रेमिट्यान्स) तथा ऋण उपभोगका आधारमा त्यस्ता परिवार छनोट गरिएको आचार्यले बताएका छन् । सङ्घीय तथा प्रदेश सरकारबाट अनुदान रकम प्राप्त गरेका लाभग्राही भने यस कार्यक्रममा सहभागी नगरिएको र गरिब, विपन्न तथा अन्य लक्षित वर्गका परिवारले बीमा कार्यक्रमको योगदान रकममा अनुदान माग गर्दा परिवारका सदस्य, उनीहरुको नाममा रहेको घरजग्गाको विवरण, गरगहना र बैंक तथा वित्तीय संस्थामा ऋण लिए नलिएको लगायतका विवरणका आधारमा परिवार छनोट गरिएको गाउँपालिकाले जनाएको छ ।यसरी, कास्कीमा स्वास्थ्य बीमा गरेका नागरिकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट उपचारको सेवा लिने गरेका छन् । रासस

कर्मचारीका माग सुनुवाइ नहुँदा तालाबन्दी, तल्लो मोदीखोला जलविद्युत् ठप्प

काठमाडौंं । परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कार्यरत कामदार र कर्मचारीले तालाबन्दी गरेका छन् ।उक्त निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुश्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गर्नुका साथै विद्युत हेडबक्स र सुरुङमा भइरहेको निर्माणकार्य समेत तीन दिनदेखि बन्द गराएका छन् । जुन आयोजनाले असार पहिलो साता परीक्षण उत्पादन थाल्ने भनी तयारी गरेको थियो । निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनामा कार्यरत कामदारले स्वतः स्थायी गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई नै स्थायी रोजगारीको व्यवस्था हुनुपर्ने र विद्युत्गृहलगायतका संरचना निर्माणमा पछिल्लो समय राखिएका कर्मचारी र कामदारलाई स्थायी गर्न नपाउने आयोजनासँग माग राखेका छन् । आयोजनामा कार्यरत ४० कर्मचारीले यही जेठ २० देखि काम बन्द गराएपछि निर्माणकार्य प्रभावित भएको हो । “हामी शुरुदेखि निर्माणकार्यमा कार्यरत कर्मचारीलाई थाहै नदिइ बाहिरबाट कर्मचारी राख्ने काम भएको छ”, कर्मचारी सौरभ पौडेलले भने, “हामीलाई स्थायी गर्ने कुरा पटक–पटक झुटो आश्वासन दिएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको हो ।” कर्मचारीले यसअघि यही जेठको ८ देखि १२ गतेसम्म पनि तालाबन्दी र काम ठप्प पारेका थिए । तर, तालाबन्दीपछि २० गते समस्या समाधान गर्ने सहमति गरे पनि कार्यान्वयन नहुने स्थिति देखिएपछि पुनः तालाबन्दी गरेको उनले बताएका छन् । उक्त आयोजनाले भने कुनै पनि कर्मचारीलाई स्थायी नगरिएको र विद्युत् उत्पादन थालिएपछि प्रक्रिया पूरा गरेर मात्रै स्थायी गर्ने योजना रहेको जनाएको छ । आयोजना प्रमुख पवनकुमार यादवका अनुसार अहिले परीक्षण उत्पादनको तयारीमा रहेका बेला केही दक्ष कर्मचारीलाई सहयोगीका रुपमा राखेर काम गराइएको तर स्थायी गरिएको छैन । “हामीले कसैलाई पनि स्थायी गरेका छैनौं”, आयोजना प्रमुख यादवले भने, “विद्युत् उत्पादनपछि नयाँ विज्ञापन गरेर स्थायी गर्ने प्रक्रिया शुरु गर्छौँ ।” अहिले कार्यरत कर्मचारीलाई नै प्रक्रियामा पनि प्राथमिकता दिने आयोजनाको उद्देश्य रहेको यादवको भनाइ छ । निजी क्षेत्रको मोर्दी इनर्जी लिमिटेडले टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण वैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाएको र धेरै ठाउँबाट चुहिएपछि मर्मतको काम गरिरहेको छ ।त्यसैगरी, कुश्मा नगरपालिका–७ चुवाको परादीस्थित पावरहाउसदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको चार हजार २०० मिटर लामो टनेलको बीचबीचमा कमजोर भू–भाग समेत भेटिएको थियो । तालाबन्दीका कारण मर्मतको काम रोकिएको छ । हेडबक्समा ढोका मर्मत गर्ने र परीक्षण गर्ने काम चलेको थियो भने विद्युत्गृहमा जेनेरेटरलगायतका सामग्री जडान र परीक्षणकै क्रममा थिए । कर्मचारीको आन्दोलनका कारण परीक्षण उत्पादन झन् ढिलाइ भएको आयोजना प्रमुख यादवले बताए । यसरी, विसं २०६९ साउनमा निर्माण शुरु गरिएको उक्त आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । तर आयोजनाले प्राकृतिक, मानवीयलगायतका कारण देखाउँदै यसअघि पनि धेरैपटक उत्पादन मिति सारेको छ।अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो। रासस

अमेरिकी आर्थिक वृद्धिदरमा सामान्य सुधार, ‘सन् २०२० मा भने घट्ने’

वासिङ्टन । अमेरिकी आर्थिक वृद्धिमा गत अप्रिलमा गरिएको प्रक्षेपणको तुलनामा सामान्य सुधार देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोषले बिहीबार जनाएको छ । यधपी यो चीन-अमेरिका व्यापार विवादका कारण अमेरिकी अर्थतनत्रमा पर्नसक्ने समग्र प्रभाव तथा ‘निर्माण सामग्री’ को अभावका कारण छायाँमा पर्नसक्ने मुद्रा कोषले बताएको छ । मुद्रा कोषले सन् २०१९ का लागि अमेरिकाको कुल ग्राहस्थ उत्पादनका लागि गरेको प्रक्षेपणमा केही सुधार देखिएको र २.६ प्रतिशत पुग्ने बताइएको छ । अर्थात् अप्रिलमा गरिएको अनुमानको तुलनामा तीन दशांश वृद्धि भएको छ । तर मुद्रा कोषले अमेरिकी अर्थतन्त्रको बार्षिक मुल्याङ्कन गर्दै आगामी सन् २०२० का लागि अमेरिकी आर्थिक वृद्धिमा सामान्य गिरावट आई दुई प्रतिशतमा झर्नसक्ने अनुमान गरेको छ । मुद्रा कोषका अनुसार अमेरिकी ऋणको अनुपात बढ्दो रहने र वृद्धिदरमा असमानता देखिने चेतावनी दिएको छ । मुद्रा कोषले अमेरिका लगायत विश्व अर्थतन्त्रमा देखिएको प्रभावलाई मध्यनजर गर्दै चीन–अमेरिका व्यापार विवादलाई समयमै समाधान गर्नसमेत भनेको छ । रासस/एएफपी

भारी कर छुटसँगै हाइब्रिड कारकाे मूल्य १० लाख रुपैयाँ घट्ने, अर्थमन्त्रालयको निर्णय शंकास्पद

काठमाडौं । बजेट मार्फत सरकारले हाइब्रिड गाडीमा उच्च दरमा कर छुट दिएको छ । हाइब्रिड गाडी आयातमा ५० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तशुल्क छुट दिने व्यवस्था आर्थिक ऐन २०७६ मा गरिएको छ । भन्सार र अन्तशुल्कमा गरिएको छुटका आधारमा हाइब्रिड गाडीको मूल्य प्रतिकार १० लाखसम्म सस्तो हुने व्यवसायीको अनुमान छ । ‘एउटा कारको मूल्य १० लाख रुपैयाँसम्म घट्न सक्छ’ एक व्यवसायीले विकासन्युजसँग भने । हाल नेपालमा हाइब्रिड गाडी नगन्य मात्रामा छन् । सरकारले करमा धेरै छुट दिएपछि यस्तो गाडीको आयात बढ्ने यातायात व्यवस्था विभागका उपनिर्देशक इञ्जिनियर प्रेमकुमार सिंहले बताए । सरकारले विद्युतीय तथा हाईब्रिड कार खरिद गर्न ८० प्रतिशतसम्म कर्जा लगानी गर्न सक्ने व्यवस्था पनि गरेको छ । यस्तो व्यवस्थाले कम बचत भएका व्यक्तिलाई पनि कार किन्न सजिलो हुन्छ । विगतमा किन्दा ४५ लाख मूल्य पर्ने हाइब्रिड गाडी अब ३५ लाखमा पाइन्छ । ७ लाख रुपैयाँ बचत हुनेले ८० प्रतिशतसम्म फाइनान्सको सुविधा लिएर यस्तो गाडी किन्न सक्छ । पेट्रोल तथा डिजेलबाट चल्ने गाडी किन्न ५० प्रतिशत मात्र कर्जा लिने पाउने राष्ट्र बैंकको नियमका कारण ४५ लाख पर्ने गाडी किन्न चाहानेसँग कम्तिमा २२ लाख ५० लाख रुपैयाँ बचत हुनुपर्छ । कस्तो हुन्छ हाइब्रिड गाडी हाइब्रिड गाडीमा एउटा डिजेज, पेट्रोल वा ग्यासबाट चल्ने इन्जिन हुन्छ भने अर्को विद्युतीय पावरबाट चल्ने मोटर हुन्छ । हाइब्रिड कारपनि दुई प्रकारका हुन्छन्, (१) हाइब्रिड, (२) प्लग इन हाइब्रिड । ‘प्लग इन हाइब्रिड’ गाडीमा शक्तिशाली व्याट्रीको प्रयोग हुन्छ । यो व्याट्रीमा विद्युतको प्लग जोडेर रिचार्ज गरिन्छ । यस्तो गाडी स्टार्ट गर्नदेखि ३०/४० किलोमिटर गुुडाउन पनि विद्युतीय उर्जाको प्रयोग हुन्छ । व्याट्रीको चार्ज सकिएपछि पेट्रोल वा डिजेल इन्जिनबाट गाडी गुड्छ । ‘सहरी क्षेत्रमा दैनिक छोटो दूरीमात्र गाडी चलाउनेहरुको लागि यस्तो गाडीमा पेट्रोलियम पदार्थको प्रयोग नगर्न पनि सकिन्छ । लामो दूरीको यात्रा गर्दा मात्र पेट्रोलियम पदार्थको प्रयोग हुन्छ । यस्ता गाडीले वातावरणीय प्रदुषणमा पनि कम असर गर्छ । यस्ता गाडीमा भने सरकारले भन्सार तथा अन्तशुल्क छुट दिनु सहि भएको व्यवसायीहरुको भनाई छ । टाेयटाकाे हाइब्रिड कार तर, अर्को प्रकारको हाइब्रिड गाडीका लागि आवश्यक उर्जाको ९० प्रतिशत पेट्रोलियम पदार्थ हो । गाडी स्टार्ट गर्नेदेखि गुडाउने क्रममा आवश्यक उर्जाको लागि पेट्रोलियम पदार्थको प्रयोग हुन्छ । गाडी जाममा परेको तथा ट्राफिक लाइटमा रोकेको अवस्थामा गाडीको इन्जिन चालु राख्न र उच्च गतिमा गाडी गुड्दा कम उर्जा भए पुग्ने अवस्थामा व्याट्रीमा आधारित मोटर चल्छ । काठमाडौंमा सवारी चापका कारण उच्च गतिमा गाडी गुडाउन नसक्ने, राजधानी बाहिर उकालो, घुम्ती, खाल्टाखुल्टी सडकका कारण उच्च गतिमा गाडी गुडाउन गाह्रो हुने भएकोले यस्ता गाडीमा व्याट्री मोटरले कम काम गर्ने बताइएको छ । यस्तो गाडीमा रिचार्जएवल व्याट्री जडान गरिएको हुन्छ, तर व्याट्री चार्ज गर्नको लागि विद्युत वा अन्य वाह्य उर्जा प्रयोग हुँदैन । गाडी गुडेको अवस्थामा व्याट्री चार्ज हुन्छ । व्याट्रीबाट प्रवाह हुने उर्जाको हिस्सा बढीमा १० प्रतिशत मात्र हुन्छ । यस्तो सवारीमा पेट्रोलियम पदार्थको प्रयोग अधिक हुन्छ भने वातावरणीय प्रदुषण पनि परम्परागत सवारीको हाराहारीमा नै गर्छ । विकसित देशहरुमा यस्तो सवारीलाई सरकारले कम प्राथमिकतामा राखेको छ । तर नेपाल सरकारले भने यस्ता सवारीमा पनि ५० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तशुल्क छुट दिएर आयातलाई प्रोत्साहित गरेको छ । ‘यस्तो सवारी आयातलाई सरकारले प्रोत्साहित गर्नु हुन्न थियो । जिम्मेवार अधिकारीहरुले विषय नबुझि निर्णय लिएको जस्तो देखिन्छ’ एक जना अनुभवी अटो व्यवसायीले भने । शंकास्पद निर्णय बजेटको पूर्व तयारीको क्रममा गाडी बिक्रेताहरुको संगठन नाडा अटोमोवाईल्स एशोसिएशनले हाइब्रिड गाडीमा ५० प्रतिशत भन्सार छुट दिन माग गरेको थियो । ‘हाल इलेक्ट्रीकलका साधनहरु अझै प्रशस्त मात्रामा उत्पादन नभई रहेको बर्तमान अवस्थामा हाइब्रिड जस्ता सवारी साधनहरुमा लाग्ने भन्सार महशुलमा २५ प्रतिशत छुटको व्यवस्था भई आएकोमा सो लाई बृद्धिगरी ५० प्रतिशत भन्सार महशुल छुटको व्यवस्था हुनु पर्ने’ नाडाको सुझाव पत्रकाे बुँदा नम्बर १२.१ मा लेखिएको छ । सरकारले व्यवसायीले भने झै ५० प्रतिशत भन्सार मात्र छुट दिएन, अन्तशुल्कमा पनि ५० प्रतिशत छुट दिएको छ । व्यवसायीले मागेभन्दा बढी कर छुट दिने गरी सरकारले गरेको निर्णय शंकास्पद भएको र यसभित्र नीतिगत भ्रष्टाचार भएको समेत हुन सक्ने आशंका गरिएको छ । सरकारले विद्युतीय सवारीमा १० प्रतिशत मात्र भन्सार लगाउने नीतिकाे व्यवसायीहरूले स्वागत गरेका छन् । तर, नविकरणीय उर्जा नगन्य मात्रामा प्रयाेग हुने, पेट्राेलियम पदार्थकाे अधिक प्रयाेग हुने र वातावरण पनि प्रदुषण गर्ने सवारीमा उच्च दरका कर छुट दिने नीति उपयुक्त नहुने जानकारहरू बताउँछन् ।

भारतका दोस्रा धनी अजिम प्रेमजीले लिए अवकाश, घट्यो विप्रो कम्पनीको सेयर

मुम्बई । भारतका ‘दोस्रो धनी व्यक्ति’ अजिम प्रेमजीले सक्रिय व्यवसायिक जीवनबाट अवकासको घोषणा गरेका छन् । घ्यू उत्पादनबाट व्यवासायिक जीवन शुरू गरी विश्वप्रख्यात सूचना प्रबिधिसम्बन्धी कम्पनीको सफल व्यवसाय विप्रो कम्पनीका अध्यक्ष रहँदै आएका प्रेमजीले बिहीबार अवकासको घोषणा गरेका हुन् । “मैले विप्रोसँग प्रत्यक्ष तथा परोक्ष सरोकार राख्ने पूर्व तथा वर्तमान सम्पूर्ण कर्मचारी, शुभचिन्तक तथा उनीहरूका परिवारप्रति धन्यवाद दिन चाहन्छु । उहाँहरूको सहयोग र प्रेरणाले नै कम्पनीलाई आजको सफलताको अवस्थामा पु¥याउन सम्भव मिलेको हो,” ७३ बर्षीय सफल व्यवसायी प्रेमजीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले भने, “यो मेरो लागी लामो सन्तुष्टिको यात्रा भएको छ । भविष्यमा मैले बाँकी जीवनलाई परोपकारका गतिविधिमा लगाउनेछु ।” प्रेमजीले विप्रोलाई सन् १९६० को दशकको अन्त्यदेखि नेतृत्व प्रदान गरेका थिए । उनको नेतृत्वमा विप्रोले एक सफल सूचना प्रबिधि क्षेत्रमा विश्वभर ख्याति प्राप्त गर्न सफल भएको छ । हाल विप्रोले विश्वका ५० मुलुकभन्दा बढीमा बार्षिक आठ अर्ब ५० करोड अमेरिकी डलर बराबरकोे कारोबार गर्दै आएको छ । प्रेमजीले विप्रोको कार्यकारी अध्यक्षबाट आगामी जुलाई ३० देखि अवकास लिनुहुनेछ भने उहाँको उत्तराधिकारीका रूपमा छोरा रिषाद प्रेमजीले कम्पनीलाई नेतृत्व प्रदान गर्नेछन् । प्रेमजीले कम्पनीको गैर–कार्यकारी निर्देशक तथा संस्थापक अध्यक्षका रूपमा भने सम्लग्नता रहनेछ । गत मार्चमा प्रेमजीले विप्रोमा रहेको आफ्नो शेयरको ३४ प्रतिशत शेयरलाई आफ्नो नाममा रहेको एक प्रतिष्ठानमार्फत परोपकारी गतिविधिका लागि योगदान गर्ने बताएको ब्लुमवर्गको समाचारमार्फत् जानकारी गराइएको थियो । विप्रोका अध्यक्षबाट प्रेमजीले राजीनामा गर्ने समाचारसँगै यस कम्पनीको शेयरमा बिहीबार एक प्रतिशतले गिरावट आएको छ । रासस/एएफपी