अर्काको पासपोर्ट बोक्नेलाई विगो र ५० प्रतिशत जरिवाना सहित ३ वर्ष कैद
काठमाडौं । वैदेशिक रोजगार व्यवसायमा एजेन्ट राख्न नपाउने भएका छन् । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७४ लाई संशोधन गरी वैदेशिक रोजगार कम्पनीले आफ्नो कर्मचारी वाहेक अन्य एजेन्ट राख्न नपाउने नयाँ व्यवस्था लागू गरेको हो । ‘ऐन संशोधन गरेर यस व्यवसायमा एजेन्ट राख्न नपाउने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्मराज भुषालले जानकारी दिए । ऐन संशोधन भएसँगै व्यवसाय कम्पनीले यससँग सम्बन्धित काम एजेन्टमार्फत गराउन नपाउने भएका हुन् । केही नेपाल ऐन संसोधन गर्न बनेको ऐन २०७५ सरकारबाट २०७५ फागुन ११ प्रमाणीकरण भई वैदेशिक रोजगार ऐन २०६४ संसोधन भएसँगै म्यानपावर कम्पनीहरुले एजेन्ट राख्न पाउने प्रावधान खारेज भएको हो। ‘अब वैदेशिक रोजगारसँग सम्बन्धित पासपार्ट संकलन गर्ने सेवा शुल्क लिने काम म्यानपावर कम्पनीबाट तलव पाउने कर्मचारीले मात्रै गर्न पाउने छन्, अन्यले गर्न पाउँदैनन्,’ उनले भने । अन्य व्यक्तिले सो कार्य गरेका उनीहरूलाई ठगी र वैदेशिक रोजगारको कसुर बमोजिम कारवाही गरिने उनले बताए । ‘ठगीको कारवाही जिल्ला प्रशासन कार्यालयले गर्छ,’ उनले भने ‘वैदेशिक रोजगारसँग सम्बन्धित कसुरमा भने त्यसरी संकलन गरेको रकम तिराएर त्यसको ५० प्रतिशत जरिवाना सहित कसुरको मात्रा हेरी ३ वर्षसम्म कैदको व्यवस्था भएको भुषाल जानकारी दिए । स्वयम म्यानपावर व्यवसायी नै आफ्नो व्यवसायको नाममा ठगी गरेको उजुरी लिएर विभागमा आएपछि यस्तो कामकारवहीलाई निरुत्साहित गर्न ऐन संशोधन गरिएको उनले बताए । नेपालमा एक हजार चार सय म्यानपावर व्यवसाय रहेका छन् । विभागमा उनीहरूको एक सय ८३ जना एजेन्ट दर्ता भएका छन् । झापा, मोरङ र कास्कीमा बढी एजेन्ट दर्ता भएका छन् । यस वाहेक देशभरि छरिएर रहेका एजेन्टको त कुनै गणना नै नभएको भुषालले बताए ।
सनराइज बैंक लिमिटेडले मुलपानीमा खोल्यो नयाँ शाखा
काठमाडौँ । सनराइज बैंकले काठमाडौं स्थित मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे । सो कार्यक्रममा सनराइज बैंकका नायव महाप्रबन्धक अपछकुमार यादव लगायत बैंकका पदाधिकारीहरmको उपस्थिति रहेको थियो । यो समेत गरी शाखा संख्या १०७ वटा पुगेको बैंकले जनाएको छ ।
शैक्षिक प्रमाणपत्र लिएर ऋण माग्न कोही आएनन् : अर्थमन्त्री
काठमाडौं। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिन कसैले पनि चाँसो नदिएको बताएका छन्। शैक्षिक प्रमाणपत्र राखेर सहुलियत ब्याजमा ऋण प्रभावकारी नभएको भन्ने सांसदहरुको प्रश्नको जवाफ दिदै अर्थमन्त्री खतिवडाले सरकार तयार भएको तर त्यसप्रति युवाहरुले चाँसो नदिएको बताएका हुन्। मन्त्री खतिवडाले अहिलेसम्म शैक्षिक ऋण पाईन भनेर कतैबाट पनि गुनासो नआएको पनि जनाए। सरकारले चालु आर्थिक बर्षको बजेटमा उच्च शिक्षा हाँसिल गरेका युवाहरुलाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याज अनुदानमा सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको हो। तर बजेट कार्यान्वयनको नौ महिनामा जम्मा ६ जना युवाहरुले मात्रै यस्तो ऋण पाएका छन् ।
ठमेलमा कामना सेवाको ८७ औं शाखा बिस्तार
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवाविस्तारको क्रममा ठमेलमा विहीबार ८७औं शाखा कार्यालय बिस्तार गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्य तथा प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शाखा कार्यालय उद्घाटन तथा कारोबार शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथा संचालक चतुराखर अधिकारीले बैंकले द्रुतगतिमा शाखा तथा कारोबार विस्तार गरेको बताए । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको हाल सम्मको संक्षिप्त जानकारी दिँदै भावी योजनाहरुको बारेमा प्रकाश पारेका थिए ।
यसकारण स्थगित भयो नेकपाको सचिवालय बैठक
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकका लागि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका शीर्ष नेता पुगेपनि एकछिन बसेर बैठक स्थगन गरियो । ‘‘दुवै अध्यक्षद्वयले केन्द्रीय सदस्यको कार्यविभाजन तथा जिल्ला कमिटीका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेबारे अझै गृहकार्य पुगेन भन्नुभयो’’, श्रेष्ठले भने, ‘‘ त्यसैले आज सबै सचिवालयका सदस्य जम्मा भएपनि एकछिन बसेर बैठक स्थगन गरियो ।’’ अर्को बैठक युरोप भ्रमणपछि उनका अनुसार प्रधानमन्त्री ओलीको युरोप भ्रमण सकेर आएपछि मात्र सचिवालय बैठक बस्नेछ । प्रधानमन्त्री शनिबारदेखि युरोपको साताव्यापी भ्रमणमा जाने बताइएको छ । पार्टीको आज बस्ने सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्य विभाजन तथा जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने तयारी गरेको थियो । केन्द्रीय सदस्यको कार्य विभाजन र जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्ने विषयमा मङ्गलबारदेखि नियमित बैठक बस्दै आएको थियो । कार्यविभाजन सकाएपछि बाँकी रहेका साङ्गठनिक एकीकरणका अन्य काम र थप कार्यविभाजनका विषयमा समेत प्रवेश गर्ने पार्टीको तयारी थियो ।
विद्यालयको शुल्क निर्धारणमा केन्द्र सरकारको ध्यान जानुपर्यो
काठमाडौं । नेपाल सरकारले विद्यार्थी भर्ना अभियान २०७६ को आदर्श वाक्य ‘सबै बालबालिकाहरुलाई विद्यालय पठाऔँ, नेपाललाई शिक्षित देश बनाऔँ’ तय गरे तापनि ललितपुरभित्रका ६ वटा पालिकाको कुनै पनि संस्थागत विद्यालयमा हालसम्म निश्चित शुल्क निर्धारण हुन सकेको छैन । केन्द्र सरकारले शिक्षा ऐन निर्माणको काममा ढिलाइ गरेसँगै प्रदेश हुँदै सङ्घ र स्थानीय निकायमा आउनुपर्ने भएकाले पुनः एक पटक बनेको नियम नदोहोरियोस् भन्ने चाहनाका साथ ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाका साथै वाग्मती, कोञ्ज्योसोम र महाङ्काल गाउँपालिकाको शिक्षा शाखाले यहाँका विद्यालयमा शुल्क निर्धारण गर्न नसकेको बाध्यता सुनाएका छन् । महानगरपालिकाभित्र १८२ वटा संस्थागत विद्यालय छन् । आउँदो आर्थिक वर्ष २०७६/७७ भरिमा यी विद्यालयहरुलाई चार श्रेणी ‘क’देखि ‘घ’ सम्म वर्गीकरण गरी त्यसै अनुरुपको शुल्क निर्धारण गर्ने योजना अघि सारेको ललितपुर महानगरपालिका शिक्षा शाखाप्रमुख महेन्द्रबहादुर क्षेत्रीले जानकारी दिएका छन् । “ललितपुरको शहरी क्षेत्रका बढीजसो बालबालिका संस्थागत विद्यालयमा अध्ययन गर्छन्”, क्षेत्रीले भने, “विगतमा भएको नियम अनुसार ‘क’ क्षेणीमा परेका संस्थागत विद्यालयले १८ प्रतिशत रकम सामुदायिक विद्यालयलाई सहयोग गर्ने गरेका थिए ।” रातो बङ्गला विद्यालयले गएका वर्षहरुमा सामुदायिक विद्यालयलाई रकम सहयोग गर्ने गरेको बताइएको छ । गोदावरीका संस्थागत विद्यालयले शुल्क लिने गरेका छन् । आगामी दिनमा भर्ना हुन आउने नयाँ विद्यार्थीलाई असर नपरोस् भनी ‘क’ देखि ‘ग’ सम्मको तीन श्रेणीमा विभाजन गर्ने योजना अघि सारिएको गोदावरी नगरपालिका शिक्षा शाखाप्रमुख नारायणकाजी काशी छवाले बताएका छन् । “गोदावरीभित्र ३६ वटा संस्थागत विद्यालय छन्”, छवाले भने, “हामीले विद्यालय शुल्क मात्र नभई गुणस्तरीय शिक्षामा थप जोड दिनेछौँ ।” महालक्ष्मी नगरपालिकाभित्रको संस्थागत विद्यालयमा शुल्क निर्धारणको कुरा बैठकमा अघि बढाएको नगरपालिका शिक्षा शाखाप्रमुख रामवन्दु सुवेदीले बताए । “यहाँ ४२ वटा संस्थागत विद्यालय रहेका छन्”, सुवेदीले भने, “यी विद्यालयको वर्गीकरण भएपछि विद्यार्थी शुल्क निधारण गर्नेछौँ ।” यसैगरी दक्षिण ललितपुरभित्र अन्य दुई वटा वाग्मती र कोञ्ज्योसोम गाउँपालिकामा भने हालसम्म एउटा पनि संस्थागत विद्यालय स्थापना भएका छैनन् । रासस
नेप्से परिसूचक लगातार ओरालो, ४.६९ अंकले घट्दा कारोबार ५८ करोडमात्रै
काठमाडौ । नेप्से परिसूचक लगातार ओरालो लाग्ने क्रममा जारी छ । साताको अन्तिम दिन बिहीबारपनि नेप्से परिसूचक घट्ने क्रमले नै निरन्तरता पायो । आज नेप्से परिसूचक ४.६९ अंकले घटेको हो । ०.३६ प्रतिशतले घट्दा परिसूचक १२८४.५९ बिन्दुमा पुगेको हो । बिहीबार सेयर बजारमा १७२ कम्पनीले सेयर कारोबार गरेका छन् । १८ लाख ५९ हजार २ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ५८ करोड ८८ लाख २२ हजार ६सय २५ रुपैयाँको कारोबार भएको छ । होटल समूह ३.६३, विकास बंैक समूह ३.४६, वित्त समूह १८.५५ र अन्य समूह १.५४ अंकले बढेका छन् । बाँकी समूह घटेका छन् । बैंक समूह ५.६२, ट्रेडिङ समूह ५.१५, जलविद्युत समूह ३.९७, निर्जीवन बीमा समूह ११.३१, उत्पादनमूलक समूह १४, माईक्रोफाईनान्स समूह ५.०६ र जीवन बीमा समूह ८५.२ अंकले घटेका हुन् । बजार घटेको दिन कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडका लगानीकर्ताले ९.६५ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ५.१० प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
महासंघ र अमेरिकन दूतावासबीच सहकार्य, ‘शुरु भयो संघीय शुसासन सम्बन्धी तालिम’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकन राजदूतावासद्वारा संयुक्तरूपमा आयोजना गरिएको स्थानीय सरकारका पदाधिकारीहरुका लागि संघीय शुसासन सम्बन्धी ४ दिने तालीम कार्यक्रम आजदेखि काठमाडौंमा शुरु भएको छ । प्रदेश नम्वर ३ भित्रका स्थानीय सरकारका पदाधिकारीहरूका लागि यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको एक समारोहकाबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले संयुक्त रूपमा उद्घाटन गरे । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि मन्त्री पण्डितले जनता र स्थानीय सरकारबीच समन्वय र सहकार्य गर्दै स्थानीय सरकारको प्रभावकारी सञ्चालनमा यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । महासंघका अध्यक्ष राणाले स्थानीय सरकारस“ग निजी क्षेत्र समन्वयात्मक ढंगबाट अगाडी बढ्न र सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जनाइन् । विगतमा स्थानीय जनप्रतिनिधि समेत नरहेको अवस्थामा निजी क्षेत्रले आम नेपालीस“ग जोडिएर कार्य गरेको स्मरण गर्दै अध्यक्ष राणाले स्थानीय विकासमा सरकारलाई साथ दिन निजी क्षेत्र तयार रहेको बताइन् । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले स्थानीय सरकारको प्रभावकारी सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले महासंघस“गको सहकार्यमा सातै प्रदेशमा यो कार्यक्रम आयोजना गर्ने र यसको पहिलो शुरुवात प्रदेश नम्वर ३ बाट गरिएको जानकारी गराए । संघीय सुशासन सम्बन्धी यो तालीम कार्यक्रम स्थानीय सरकारका पदाधिकारीहरूका लागि दैनिक सरकार सञ्चालनमा महत्वपूर्ण र सहयोगी हुने विश्वास समेत राजदूत बेरीले प्रकट गरे । प्रदेश नम्वर ३ का स्थानीय सरकारका करिव ५० जना पदाधिकारीहरूको सहभागिता रहेको उक्त तालीमको डिजाइन अमेरिकास्थित मेरिल्याण्ड विश्व विद्यालयले गरेको हो । अमेरिकाको मेरील्याण्डका डेपुटी मेयर रोन (किरण) सिटौला, प्रेम दवाडी र राधा शर्मा आचार्यले कार्यक्रममा तालीम दिनेछन् । कार्यक्रममा महासंघको प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी, महासंघ सचिवालय र अमेरिकी राजदूतावासका वरिष्ठ कर्मचारीहरूको उपस्थिति थियो ।