विकासन्युज

सरकारले लोकसेवाको विज्ञापन नरोक्ने, अझै २५ हजार पद खाली

काठमाडौं । सरकारले स्थानीय तहका लागि कर्मचारी भर्ना सम्बन्धी लोकसेवा आयोगको विज्ञापन नरोक्ने संकेत देखाएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री गोकुल बास्कोटाले लोकसेवाको विज्ञापन नरोक्ने संकेत गर्दै भने–प्रदेश लोकसेवा र स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धी कानुनी व्यवस्था नहुँदासम्म लोकसेवा आयेगले नै काम गर्ने भन्ने कानुनी व्यवस्था छ, निर्देशन दिने माननीयहरुले कानुन पढ्नु भएकै होला, त्यस्तो निर्देशन आउनुपर्ने थियो जस्तो चैँ लाग्दैन’, मन्त्री बास्कोटाले भने । उनले सरकारलाई असफल बनाउने योजनासहित स्थानीय तहमा कर्मचारी भर्ना गर्ने प्रक्रियाको बिरोध सुरु भएको आरोप पनि लगाए । उनले लोकसेवाबाट कर्मचारी भर्ना सम्बन्धी प्रक्रिया रोकेर करारमा नियुक्त गर्ने कुराले साला साली र भाई भतिजा भर्ने हुने सम्भावनालाई पनि हेरिनुपर्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि सरकारले कर्मचारी भर्ना सम्बन्धी प्रक्रियाबारे औपचारिक निर्णय गर्ने पनि उनले जानकारी दिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले ६०४ वटा स्थानीय तहका प्रमुख र कार्यकारी अधिकृतले पत्र लेख्दै कर्मचारी मागेपछि मन्त्रालयले लोकसेवा आयोगलाई प्रक्रिया अघि बढाउन भनेको जानकारी दिए । ‘६०४ वटा स्थानीय तहका प्रमुख र कार्यकारी अधिकृतले १५ हजार कर्मचारीका चाहियो नयाँ भर्ना गरिदिनु पर्यो भनेर पत्र पठाएपछि मन्त्रालयले लोकसेवालाई प्रक्रिया अघि बढाउन भनेको हो’, प्रवक्ता बरालले भने । उनले स्थानीय तहका लागि आवश्यक पर्ने ६७ हजार कर्मचारीमध्ये समायोजन मार्फत ४२ हजार कर्मचारीलाई पठाएको र बाँकी २५ हजार दरबन्दी रिक्त रहेको जानकारी पनि दिए । सोही रिक्त दरबन्दी बमोजिम ६०४ स्थानीय तहले माग गरेको १५ हजारमध्ये ९ हजार १ सय ६१ कर्मचारी भर्ना प्रक्रिया अघि बढेको पनि उनले जानकारी दिए । कर्मचारी समायोजन ऐनको दफा १२ मा रहेको व्यवस्था अनुसार लोकसेवा आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको पनि उनले स्पष्ट पारे । समावेशी सिद्धान्तका बारेमा भने लोकसेवा आयोगसँग नै जिज्ञासा राख्नुपर्ने उनको भनाई छ ।

झापामा एकै दिन कामना सेवाका दुई शाखाबाट कारोबार शुरु

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं. १ को झापा जिल्लाको कमल गाउँपालिका ५, पाडाजुङ्गी र बुद्धशान्ति गाउँपालिका १, बुधवारेमा विहीबार ८८औं र ८९औ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुरु गरिएको हो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरी प्रदेश नं. १ मा ९ शाखा पुगेको र थप शाखाहरुपनि शीघ्र सञ्चालनमा आउने बताए ।

सामन्तवाद ढाल्न गुठी बिधेयक ल्यायौंः सरकार

काठमाडौं । सरकारले सामन्तवाद ढाल्नका लागि गुठी विधेयक ल्याएको बताएको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोँकुल बास्कोटाले गुठीहरुमा सामन्तवादको अवशेष रहेकाले त्यसको समुल अन्त्य गर्नका लागि विधेयक ल्याएको स्पष्ट पारेका हुन् । ‘गुठीहरुमा सामन्तवादी उत्पादन प्रणाली र समाजिक सम्बन्धहरु कायमै छन्, त्यसलाई ढाल्न नयाँ विधेयक ल्याएका हौं’, मन्त्री बास्कोटाले भने । उनले गुठी विधेयकमा सांस्कृतिक परम्पराहरुको निरन्तरताको सवाल उठाउँदा हजारौं किसानहरुको मुद्धालाई बिर्सन नहुने पनि बताए । यद्यपी उनले उपत्यकाका गुठी र उपत्यका बाहिरका गुठीबारे भने छुट्टा छुट्टै व्यवस्था गर्न सकिने जानकारी पनि गराए । ‘धार्मिक र सांस्कृतिक परम्परासँग जोडिएका उपत्यकाका गुठीहरुका लागि छुट्टै व्यवस्था गर्न सकिन्छ, यसरी संसार उल्टियो भनेर बिरोध गर्नु आवश्यक छैन’, मन्त्री बास्कोटाले भने ।

ठेकेदारलाई अन्तिम मौका दिएका हौं, लबिङले पछि हटेका होइनौं: सरकार

काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावलीको सातौ संसोधन मार्फत निर्माण व्यवसायीलाई अन्तिम मौका दिएको बताएको छ । मन्त्रिपरिषद बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री गोँकुल बास्कोटाले भने–‘यो सुध्रिनका लागि दिएको अन्तिम मौका हो, सदुपयोग भएन भने पुरानै बाटोमा फर्कन्छौं’, मन्त्री बास्कोटाले भने । उनले छैठौं संसोधनपछि सातौं संसोधन तुरुन्तै हुनुका पछाडी निर्माण व्यवसायीको लबिङले काम नगरेको पनि दावी पनि गरे । ‘समाजमा धेरै पक्षहरु हुन्छन्, सबैले आफ्नो हित अनुकुल दबाव सृजना गर्छन, सरकार अघि बढ्न खोज्यो भने पछाडी तान्नेहरु पनि छन्, यसलाई अन्यथा नलिएर समाजको चरित्रका रुपमा लिनुपर्छ ।’, बास्कोटाले भने । सरकाले जेठ १ गतेबाट लागु गरेका सार्वजनिक खरिद नियमावलीको छैठौं संसोधनलाई जेठ २३ गते पुनः संसोधन गरेको थियो । सातौं संसोधनले ठेक्का बेचेरै करोडौं कमाउने सुबिधा पुनः दिएको भन्दै सरकारको आलोचना भैरहेको छ । सातौं संसोधनका लागि निर्माण व्यवसायीहरुले प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण लगायतलाई भेटेर दबाव दिएका थिए । सो दबावपछि मन्त्रिपरिषदले सातौं संसोधन मार्फत सबै ठेक्काहरुको अधिकतम एक बर्ष म्याद थप्ने व्यवस्था गरेको छ । साथमा ठेक्का बेच्न पाउने सुबिधा पनि थपिदिएको छ ।

१० औं भारतिय शिक्षा मेला जेठ ३२ देखी सुरु हुँदै, एकेडेमिक एक्सिलेन्सको आधारमा छात्रवृत्ति

काठमाडौं। १० औं भारतिय शिक्षा मेला हुने भएको छ। उच्च शिक्षाको लागि सही गन्तव्य भारत पनि हुनसक्ने भन्ने अभिप्रायको साथ यह्ही जुन १५ र १६ गते मेला हुन लागेको हो। मेलामा भारतको ५० भन्दा बढी कलेज र युनिभरसिटीको सहभागिता रहनेछ। भारतीय शिक्षालाई प्रबर्दन गर्ने उदेश्यको साथ आयोजना गरिएको मेलामा भारतिय शिक्षाको बारेमा अभिभावक र विद्यार्थीलाई व्रिस्तित जानकारी दिईने कार्यक्रमका मुख्य प्रायोजक रहेको विजय कर्नाटका प्रतिनिधिले जानकारी दिए। विद्यार्थी र अभिभावकले उच्च शिक्षाको लागी भारत किन उपयुक्त छ भनेर मेलामा आएर जानकारी लिन सक्नेछन्। मेलामा विद्यार्थीलाई करिअर काउन्सिलिङको लागि शिक्षण संस्थाका डाईरेकटर, प्रिन्सिपल र प्रोफेसर उपस्थित हुनेछन्। मेलामा उपस्थित सबै कलेज तथा युनिभर्सिटीहरु भारत सरकारबाट मान्यता प्राप्त शिक्षण संस्था रहेका छन्। मेलामा ईन्जिनियरिङ्ग, म्यानेज्मेन्ट, मेडिसिन, फार्मेसी, होटल म्यानेज्मेन्ट, फेसन टेक्नोलिजी, बायो टेक्नोलोजी, मेरिन लगायतका बिषय अन्तर्गतका १ सय भन्दा बढी कोर्समा विद्यार्थीए जानकारी पाउनेछन्। मेलामा विद्यार्थीको एकेडेमिक एक्सिलेन्सको आधारमा शैक्षिक संस्थाहरुले दर्जनौं बिषयमा छात्रवृत्ति प्रदान गरिने द नलेक नेटवर्कका फाउन्डर सिईओ राम मेरिनले बताए।

सार्वजनिक यातायातको भाडा बढ्यो, अब प्रति ४ किमि १६ रुपैयाँ

काठमाडौं । असार १ गतेदेखि सार्वजनिक यातायातको भाडा बढ्ने भएको छ । १२ प्रतिशतसम्म भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । सूचना अधिकारी खनालका अनुसार प्राविधिक समितिको सिफारिसमा यात्रु बोक्ने र मालसामान बोक्ने दुबै यातायातका साधनको भाडा बृद्धि गर्ने निर्णय भएको हो । विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गर्ने निर्णय भएको हो । महानिर्देशक दाहालका अनुसार अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ, यसअघि १४ रुपैयाँ तिर्नु पथ्र्यो ।

गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जाबाट १० मेघावाट विद्युत, एडीबीले सहयोग गर्ने

लुम्बिनी । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार एशियाली विकास बैंक (एडिबी) को अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई प्रदूषणरहित विमानस्थलको रुपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनीका लागि छलफल अगाडि बढाएको प्रमुख अधिकारीले बताए । एशियाली विकास बैंकका अधिकृत नरेश प्रधानका अनुसार सौर्य ऊर्जा जडानका लागि एडिबीले रु एक अर्ब अनुदान रकम दिने गरी छलफल चलाएको हो । प्रधानले भने, “१० मेघावाट सौर्य ऊर्जा निकाल्न करीब एक अर्ब लगानी लाग्ने अनुमान छ । उक्त रकम अनुदानमा प्राप्त हुनेछ । सोहीअनुसार विद्युत्, एडिबी र नागरिक उड्डयन प्राधिकरणबीच छलफल भइसकेको छ ।” छिमेकी मुलुक भारतको कोच्चिन अन्तर्राष्ट्रिय विमानस्थल पनि सौर्य ऊर्जाबाट सञ्चालित छ । चीनको नर्थवेस्ट सिभिल एयरपोर्टमा कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएर काम गरिरहेको विमानस्थल आगमी पुस मसान्तभित्र फुल फेजमा सञ्चालनमा आउने बताइएको छ । विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यमा एडिबीले ५८ दशमलव ५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट ३० दशमलब ५ प्रतिशत र नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ११ प्रतिशत लागत बेहोेर्ने गरी निर्माण कार्य शुरु भएता पनि अहिले एडिबीले ६२ दशमलब ६ प्रतिशत र क्यानको ३७ दशमलब ४ प्रतिशत लागत बेहोरिरहेका छन् । नेपाल सरकारले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि तीन अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । रासस

भुवन चैत्य वसुन्धरा फाउण्डेशनद्धारा चलचित्रकर्मी कल्याणकारी कोषलाई सहयोग

काठमाडौं । चलचित्रकर्मी कल्याणकारी कोषलाई भुवन चैत्य वसुन्धरा फाउण्डेशनले सहयोग प्रदान गरेको छ । पहिलो वार्षिकोत्सवको अवसरमा चलचित्र क्षेत्रमा लागेका व्यक्तिहरुको हकहितका एवंम सेवा सुविधाका लागि भनि १ लाख ५३ हजार सो फाउण्डेशनले कोषमा जम्मा गरेको फाउण्डेशनको अध्यक्ष बसुन्धरा भुसालले बताईन् । उनले यसपालिको पुरस्कार कुनै व्यक्तिलाई प्रदान नगरि कोषमा जम्मा गर्ने उद्देश्य सहित प्रदान गरिएको फाउण्डेशनको अध्यक्ष भुसालले जनकारी दिईन । फाउण्डेशनको कार्यकारी समितिमा अध्यक्ष बसुन्धरा भुसाल, उपाध्यक्ष भुवन थापा चन्द्र, चैत्यदेवी सिंह, सचिव मोहन निरौला, सहसचिव चेतनारायण भुसाल, कोषाध्यक्ष माइकल डी चन्द्र ठकुरी, सदस्य प्रेम बम्जन, अञ्जु रञ्जितकार, राजुप्रसाद धिमाल तथा संरक्षकमा शैलेश भुसाल, शिला चन्द्र र सृजना पाठक रहेका छन् । चलचित्र विकास बोर्डको हलमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि यादव खरेल र विशेष अतिथिमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टाराई रहेका थिए भने अतिथिमा चेतन कार्की, मिरा शाह, निकिता पौडेल, मदनकृष्ण श्रेष्ठको उपस्थिति रहेका थिए ।