नवलपुरको कावासोतीमा महालक्ष्मीले खोल्यो नयाँ शाखा
काठमाडौँ । महालक्ष्मी विकास बैंकले नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं ८ मा कावासोतीमा शाखा बिस्तार गरेको छ । बिहीबार उक्त शाखाको कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनले उद्घाटन गरिन् । उक्त अवसरमा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताए । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९६ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको र ग्राहक संख्या ४ लाख ५० हजार भन्दाबढी रहेको बैंकले जनाएको छ ।
बुटवलमा १४ औँ सामसङ्ग डिजिटल प्लाजा आरम्भ
काठमाडौँ । सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्स प्रालिको सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा बिहीबारदेखि आरम्भ भएको छ । सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरीय उत्पादनहरु टिभि, मोवाइल लगायतका सामसङ्गका सामानहरु प्रदर्शन तथा बिक्री वितरण गर्नेछ । बजारमा उच्च स्तरीय सामसङ्गका सामानहरुको बढ्दो मागले गर्दा बुटवलमा नयाँ शो-रुम खोल्न हिम इलेक्ट्रोनिक्सले भगवती मल्टि सप्लायर्ससँग सहकार्य गरेको हो । नयाँ शोरुम उद्घाटनको अवसरमा भगवती मल्टि सप्लायर्सका प्रोप्राइटर शिखर थापा र सपन पाण्डेयले भने, ‘हामी विश्वकै अग्रणी ग्लोवल ब्राण्डसँग जोडिन पाएकोमा र यहाँ सुरुवातमै ग्राहकहरुले दिनुभएको प्रतिक्रियाले हामी हर्षित भएका छौँ ।’ उनीहरुले बुटवलकोे व्यस्त बजारमा खुलेको नयाँ शो-रुमबाट ग्राहक महानुभावहरुले नयाँ अनुभव गर्ने र आफुहरुले राम्रो ग्राहक सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।
हुम्ला स्वाथ्यचौकीमा ३६ प्रकारका औषधि सहयोग
काठमाडाैं । सधैँ औषधी अभाव हुने हिमाली जिल्ला हुम्लाको ठेहे स्वास्थ्य चौकीमा विकासका लागि साझा मञ्च (सिएफडी) नेपाल नामक संस्थाले औषधि सहयोग गरेको छ । सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिनका लागि ३६ प्रकारका औषधि सहयोग गरेको मञ्चका जिल्ला कार्यक्रम संयोजक शौरभ लामाले जानकारी दिएका छन् । वडा २ मा रहेको ठेहे स्वास्थ्य चौकीमा साविक वडा १ देखि ६ सम्मका करिब पाँच सय घरधुरीले उपचार गर्ने भएकाले औषधि सहयोग गरेको जिल्ला संयोजक लामाले जानकारी दिए । सदरमुकाम सिमकोटबाट सात कोष टाढा पर्ने उक्त ठेहे स्वास्थ्य चौकीमा औषधि अभावका कारण बिरामीलाई समस्या हुन नदिनका लागि औषधी सहयोग गरिएको मञ्च नेपालका जिल्ला कार्यक्रम संयोजक लामाले बताएका छन् । ठेहे स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष तथा वडा सदस्य बाँचपुरी भण्डारी, ठेहे स्वास्थ्य चौकी इञ्चार्ज रमेशकुमार सापकोटालाई विकासका लागि साझा मञ्च नेपालका जिल्ला संयोजक शौरभ लामाले ३६ प्रकारका औषधि हस्तान्तरण गरेका हुन् । विकासका लागि साझा मञ्च नेपाल नामक संस्थाले साविक सिमकोट, ठेहे, डाडाफयाँ, खार्पुनाथ गाविसमा स्वास्थ्य, शिक्षा, कृषि, पशु क्षेत्रमा २०६५ सालदेखि काम गर्दै आएको लामाले जानकारी दिए । औषधि खरिददेखि सिमकोट ल्याउन भाडादर गरेर पाँच लाख बराबरको औषधि हस्तान्तरण गरिएको हो । गाउँघरमा यतिबेला सामान्य रुघाखोकीदेखि पखालाका बिरामीहरु हुने सिजन भएकाले ठेहे स्वास्थ्य चौकीमा बिरामीको चाप बढ्न थालेको स्वास्थ्य चौकीप्रमुख रमेशकुमार सापकोटाले जानकारी दिएका हुन् । गाउँघरमा उनीहरूको उपचारमा निरन्तर औषधि आवश्यक भएकाेले सिएचडी नामक संस्थाले उक्त ठेहे स्वास्थ्य चौकीमा ३६ प्रकारका औषधि सहयोग गरेको हाे ।
स्वीजरल्याण्डमा चन्द्र ढकालको आग्रह- ‘नेपालमा लगानीको वातावरण बनेको छ, कुनै समस्या छैन’
काठमाडौं । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विहीबार स्वीजरल्याण्डको जेनेभामा सम्वोधन गरेका छन् । आइएलओ सम्मेलन यही जेठ २७ गतेदेखि संचालन भैरहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन स्थापनाको सय वर्ष पुगेको अवसरमा श्रम सम्मेलनलाई सम्वोधन गर्ने अवसर प्राप्त भएकोमा प्रसत्रता व्यक्त गर्दै सभापति ढकालले अन्तर्राष्ट्रिय श्रम संगठनले श्रम क्षेत्रको विकासका लागि निरन्तर काम गर्दै आएकोमा बधाई ज्ञापन गरे । प्रविधिको विकास, जलवायू परिवर्तन तथा भूमण्डलीकरणले आर्थिक रूपान्तरण तथा श्रम बजारमा भइरहेको परिवर्तनबाट आउने चुनौतिको सामना गर्न मानव संसाधनको विकासमा जोड दिनुपर्ने विषयमा ग्लोवल कमिशनद्वारा प्रस्तुत कामको भविष्य सम्बन्धि प्रतिवेदनले जोड दिएको प्रशंग उल्लेख गर्दै बढ्दो असमानता घटाउन र सामाजिक न्यायको प्रवद्र्धनको लागि सबैपक्ष एकजुट भएर काम गर्नुपर्ने धारण व्यक्त गरे । नेपालको निजी क्षेत्रले संवाद र सहकार्यको माध्यमबाट दीगो र समावेशी आर्थिक विकासको प्रवद्र्धन गरी बढीभन्दा बढी सम्मानजनक रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने धारणा व्यक्त गर्दै सामाजिक संवादको माध्यमबाट श्रम कानूनको सुधार र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न सफल भएको उदाहरण उल्लेख गरे । कामको भविष्य, व्यवसायको भविष्यस“ग गांसिएको उल्लेख गर्दै तथ्यलाई ध्यानमा राखी गरिने प्रयास, व्यवसायिक नीति नियममा गरिने सुधार महत्वपूर्ण हुने उनले बताए । नेपालमा अहिले बहुमत प्राप्त सरकारको गठनस“गै मुलुकमा जारी रहेको कानून र नीतिगत सुधारबाट नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्दै पर्यटन, पूर्वाधार विकास, कृषि र उत्पादनशील क्षेत्रमा लगानीका लागि व्यवसायीहरूलाई आग्रह गरे । नेपाल, भारत र चीन प्रतिफलका दृष्टिले अत्यन्तै ठूलो सम्भावना भएका क्षेत्र भएको उल्लेख गर्दै सभापति ढकालले नेपालमा लगानी गर्न विश्वका लगानीकर्ताहरूलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले उद्घोष गरेको समृद्ध नेपाल सुखी नेपालीको स्मरण गर्दै दीगो व्यवसायको माध्यमबाट प्राप्त प्रतिफललाई सबै तह र तप्कामा पुर्याउने सकियो भने उहांले अपेक्षा गर्नु भएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त गर्न सम्भव हुने सभापति ढकालले बताए । सम्मेलनमा सरकार, रोजगारदाता र ट्रेड यूनियनको सहभागिता रहेको छ । सम्मेलन असार ६ गतेसम्म चल्नेछ ।
सर्वनाम कप एस इइ बास्केटबल टुर्नामेन्ट सुरु, ६० टिमको सहभागिता
काठमाडौं । सर्वनाम कलेजको आयोजनामा ‘सर्वनाम कप एस इ इ बास्केटबल टुर्नामेन्ट २०७६ सुरु भएको छ । जोरपाटी स्थित आफ्नै विद्यालयको प्राङणमा सुरु भएको टुर्नामेन्टमा थ्री बाइ थ्री अन्तर्गत ६० टिमको सहभागिता रहेको छ । टुर्नामेन्टको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सर्वनाम कलेजका प्राचार्य दुर्गानाथ सिवाकोटीले खेल स्वास्थको लागि खेलाडी राष्ट्रकोको लागि भन्ने राष्ट्रिय नारालाई आत्मासाथ गर्दै खेलको आयोजना गरिएको बताए । उनले भने ‘आजका बालबालिका नै भोलीको राष्ट्र निमार्णको आधार हुन आज खेल खेल्ने वातावरण निर्माण गरेर भोलिका लागि राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको छौ साथै कलेजका विद्यार्थीहरुलाइ लक्षित गरेर आगमी दिनमा यस्ता थुप्रै खेलकुद कार्यक्रमको आयोजना गर्ने छौं।’ उनले सर्वनाम कप एस इ इ बास्केटबलको आगामी सस्करण थप परिस्कृत, परिमार्जित गर्न र खेलाडीहरुको स्तर माथी उकास्न लागि पर्ने बताए । प्रमुख अतिथि राष्ट्रिय बास्केटबल खेलाडी रविन खत्री (मेट्रो) को प्रमुख अतिथ्यतामा भएको उद्घाटन समारोहमा विभिन्न स्कुलका प्रीन्सिपल,विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । उक्त टुर्नामेन्ट्को फाइनल गेम ३१ गते समापन हुने छ ।
काँग्रेस जागरण अभियान: एक महिनामा दुई हजारभन्दा बढी कार्यक्रम,आगामी योजना के के छन् ?
काठमाडाैं । नेपाली काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत प्रथम चरणको कार्यक्रममा मुलुकभर दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरेको छ । एक महिनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगरस्तरीय कार्यक्रमसँगै अन्य विषयगत भेला र कार्यक्रम तथा वडा स्तरमा बैठक, भेला, आन्तरिक सभा, खुला सभा, र्याली, विचार–बहसलगायत कार्यक्रम सम्पन्न भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । जागरणको प्रथम चरण गत वैशाख २५ गते प्रारम्भ भएर यही जेठ २५ गते सम्पन्न भएको थियो । प्रथम चरण र आगामी कार्यक्रमबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कार्यक्रमहरुमा पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी लगायतको सहभागिता रहेको बताए । अभियानलाई व्यवस्थित बनाउन पार्टीले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो । प्रथम चरणको जागरण अभियानलाई पछिल्लो समय कुनै पनि राजनीतिक दलद्वारा जनस्तरमा प्याकेजमा अघि सारिएको बृहत् र नवीन एक मात्र कार्यक्रमका रुपमा काँग्रेसले व्याख्या गरेको छ । अभियानका क्रममा स्थानीय तहसम्म बृहत स्तरमा संवाद, विषय सम्प्रेषण र सुझाव सङ्कलन हुनाका साथै गणतन्त्र, सङ्घीयता, सुशासन र समृद्धि जस्ता आम सरोकारका विषयहरुमा बौद्धिक छलफल भएको थियो । कार्यक्रममा विभिन्न पार्टीका ३१ हजार ६४२ काँग्रेसमा प्रवेश गरेकाे प्रवक्ता शर्माले भने, “काँग्रेसले आफूलाई नवीन ढङ्गले अघि बढाएर संविधान, सङ्घीयता र लोकतन्त्रको रक्षा एवं संवर्धनको भूमिका निर्वाह गर्नुपर्ने आम अपेक्षा देखिएको छ ।” सोही आशा र विश्वासको भावनाका साथ काँग्रेसमा समाहित हुन चाहने आकाङ्क्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको सो पार्टीले जनाएको छ । अभियानका क्रममा सत्तारूढ पार्टी एवं अन्य विभिन्न पार्टीबाट देशभरिका कार्यक्रममार्फत ३१ हजार ६४२ काँग्रेसमा प्रवेश गरेकाे र प्रवेश गर्नेमा साधारण सदस्यतादेखि जिल्ला र गाउँनगरमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका अन्य पार्टीका नेता कार्यकर्तासमेत रहेको उनले जानकारी दिए । उनीहरुलाई पार्टीले आवश्यक प्रशिक्षणपश्चात् उपयुक्त जिम्मेवारी प्रदान गर्नेछ । अभियानका क्रममा पार्टीलाई घरेलु जीवन र राष्ट्रिय राजनीतिको भूमिकाका सन्दर्भमा महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् । काँग्रेसलाई सुदृढ र नवीन बढाउँदै अघि बढ्न जागरण अभियान क्रममा औँल्याइएका कमजोरी आत्मसात् गर्दै, तिनलाई क्रमशः निराकरण गर्दै काँग्रेस अघि बढ्ने जनाइएको छ । उक्त अभियानसँगै जिल्ला सम्पर्क समितिहरुको संयोजनमा काठमाडौँमा मासिक रुपमा नियमित रक्तदान कार्यक्रम प्रारम्भ भएको छ । यही जेठ २३ मा भएको प्रथम रक्तदानमा ७३ व्यक्तिले रक्तदान गरेर ‘काठमाडौँका अस्पतालहरुमा रगतको अभाव हुन नदिने’ घोषणा गरिएको छ । असारको अन्तिम शनिबार दोस्रो रक्तदान आयोजित हुनेछ । असार तेस्रो साता केन्द्रीय समितिको बैठक जागरण अभियानको दोस्रो चरण आगामी भदौ २४ गते (विपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्नेछ । प्रथम चरणका खटिनुभएका केन्द्रीय प्रतिनिधिले आगामी असार १४ गतेभित्र आफ्नो लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने निर्देशन गरिएको छ । पार्टी नेतृत्व र केन्द्रीय प्रतिनिधिबीच विशेष विर्मश गरी जागरण अभियानको प्रथम चरणको समीक्षा, अन्य आवश्यक सन्दर्भ र समसामयिक मुद्दामा केन्द्रित रहेर काँग्रेस केन्द्रीय समितिको बैठक असार तेस्रो सातामा बस्नेछ । जागरण अभियानको दोस्रो चरण प्रवेशपूर्व नै नेपालको संविधान र काँग्रेसको संशोधित विधानबमोजिमको सम्पूर्ण संरचनाहरु निर्माण गरिने प्रवक्ता शर्माले जानकारी दिएका छन् । नेपाल विद्यार्थी सङ्घलगायतका भ्रातृ संस्थाहरुबारे पनि आवश्यक निर्णय यथाशीघ्र लिइने शर्माले बताए । अभियानको दोस्रो चरण पूर्व काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्वमा विभिन्न तहमा प्रशिक्षणका कार्यक्रम गरिनेछन् । काँग्रेसको उम्मेदवार भएर विजयी देशभरिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुका लागि ‘सेवा, सङ्गठन र समृद्धि’ केन्द्रित प्रशिक्षण आगामी साउनको प्रथम साता काठमाडौँमा आयोजना गरिने पार्टी कार्यालयले जनाएको छ । गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग सात प्रदेशका जिल्लालाई १४ फरक समूह बनाई १४ स्थानमा प्रशिक्षण आयोजना गर्ने प्रतिष्ठानको पूर्व निर्णयबमोजिम साउन प्रथम साता नै प्रदेश १ को धनकुटा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण आयोजना गरिने प्रवक्ता शर्माले जानकारी दिए । त्यस्तै नेपाली जनसम्पर्क समितिका लागि यही जुन महिनाको २१–२३ तारिखमा डेनमार्कमा आयोजना गरिने प्रशिक्षणमा ३३ देशका नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहने काँग्रेसले जनाएको छ । आन्तरिक सङ्गठनात्मक विषयवस्तुहरुमाथि प्रशिक्षणका अलावा विश्वस्तरीय सो कार्यक्रममा नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिका, विश्वमा बढ्दो तापक्रम र नेपाल प्रभाव, विश्वको बदलिँदो राजनीति, दक्षिण एशिया र नेपाल, समाजवादको युरोप अनुभवको आलोकमा नेपाल जस्ता महत्वपूर्ण विषयहरुमा विषगत अन्तरक्रिया हुनेछ । प्रवक्ता शर्माले गुठीसम्बन्धी विधेयक सरोकारवाला पक्षसँग छलफल नगरी ल्याएको बताउँदै सो विधेयकले परम्परा, धर्म, संस्कृतिमाथिअतिक्रमण गर्नै भन्दै फिर्ता लिन सरकारसँग माग गरेका छन् । साथै उनले लोकसेवा आयोगको सार्वजनिक गरेको स्थानीय कर्मचारीआवेदनसम्बन्धी विज्ञापनमा संविधानले अङ्गीकार गरेको समावेशिता सिद्धान्त समावेश गर्नुपर्ने र करारमा कर्मचारी भर्ना गर्न नहुने धारणा समेत व्यक्त गरेका छन् । रासस
साञ्जेन र रसुवागढीमा ६०/६० लाखको सवाल, साउन पहिलो सातादेखि शेयर कारोबार
काठमाडौं । साञ्जेन र रसुवागढीको शेयर सूचीकरण साउनपछि मात्रै हुने निश्चितजस्तै भएको छ । धितोपत्र बोर्ड र नेप्सेको सूचीकरण शुल्कका कारण उक्त शेयरको सूचीकरणमा ढिलाई हुन लागेको हो । एक महिनाअघि शेयर सूचीकरण हुँदा प्रत्येक संस्थालाई ६०/६० लाख रुपैंया व्ययभार हुने भएपछि सो भार कम गर्न उक्त शेयर सूचीकरणलाई एक महिना ढिला पुर्याएको बताइएको छ । ‘हाल सर्वसाधारण, संस्थाका कर्मचारी र संस्थापक कम्पनीका कर्मचारी समेत ६/६ लाख शेयरधनीहरु छन् । नेपाल स्टक एक्चेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड लगायतका कम्पनीहरुमा नबिकरण शुल्क बापत प्रति शेयरधनी वार्षिक करिब १० रुपैंया नवीकरण शुल्क लाग्दो रहेछ । त्यसो गर्दा प्रत्येक वर्ष करिब ६० लाख शुल्क तिर्नु पर्ने भयो । अहिले सूचीकरण गर्दा फेरि साउनमा नविकरण शुल्क बुझाउनुपर्छ । यसो हुँदा एक महिनाकै लागि सो मात्रामा शुल्क तिर्नुपर्ने देखियो, नयाँ आर्थिक वर्ष सुरु भएपछि सूचीकरण भए एक वर्षको खर्च बच्ने भयो, त्यसैले ढिला भएको हो ।’ स्रोतले विकासन्यूजसँग भन्यो । साञ्जेन हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ पनि शेयर कारोबार सुरु हुन साउनको पाहिलो सातासम्म लाग्नसक्ने बताए । तर उनले निर्धारित समयभन्दा अघि शेयर बिक्री भएको र सबै प्रकारका शेयरधनीको एकैपटक शेयर सूचीकरण गर्न लागिएकोले सूचीकरण हुन समय लागेको बताए । उनले शेयर सूचीकरणको बारेमा सीडीएस एण्ड क्लियरिङ लिमिटेडसँग एक चरणको छलफल गरेको दाबी समेत गरे । ………………….. यो पनि हेर्नुहोस् : कर्मचारीको शेयरले अल्झायो साञ्जेन र रसुवागढीकाे सूचीकरण, ‘एक साताभित्रै नेप्से जान्छाैं’
कैलालीको अत्तरियामा प्रभु बैंकको शाखा बिस्तार
काठमाडौँ । प्रभु बैंक लिमिटेडले जेठ ३० गतेदेखि कैलाली जिल्ला गोदावरी नपा वडा नं.१ स्थित अत्तरियामा शाखा कार्यालय बिस्तार गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको गोदावरी नपाका नगर प्रमुख हरिसिंह साउदले उद्घाटन गरेका हुन् । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो । बिहीबारदेखि सञ्चालनमा आएको बैंकको अत्तरिया शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको सेवाउपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको जनाएको छ ।