विकासन्युज

सुन प्रतितोला ६३ हजारमा कारोबार, आजको मूल्य महिना कै उच्च

काठमाडौं । बिहीबार महिना भरिकै उच्च मूल्यमा सुनकाे मूल्य  निर्धारण भएकाे छ । बिहीबार प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा विक्री वितरण भएको छापावाल सुन शुक्रबार ६ सय रुपैयाँ बृद्धि भई ६३ हजारमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन बिहीबारको तुलनामा ६ सय रुपैयाँ बढेर ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जेष्ठको १ गते प्रतितोला ६० हजार ६ सयमा कारोबार भएको छापावाल सुन जेष्ठ ६ गते सबैभन्दा कम मूल्य ५९ हजार ५ सयमा काराेबार भएकाे थियाे । त्यस्तै  ३१ गते शुक्रबार ६३ हजारमा विक्री वितरण भई महिना कै उच्चतम विन्दुमा पुगेको महासंघले जानकारी दिएको छ ।

पप्पुलाई कारवाही गर्न समितिको निर्देशन, तीनकुने पुलमा लापरवाही गरेको ठहर

काठमाडौँ । राजधानीको तीनकुने र मीनभवन जोड्ने गरी बागमती नदीमाथि निर्माण भइरहेको पुल गुणस्तरहीन भएको निश्कर्ष सहित काम रोक्न दिइएको निर्देशन पालना नगर्ने पप्पु कस्ट्रक्सनलाई कारवाही गर्न शिफारिस गरिएको छ । प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिमा शुक्रबार पुलको स्थलगत भ्रमणको प्रतिवेदन पेश गर्दै पप्पुलाई कारवाहीको शिफारिस गरिएको हो । समितिले तिनकुने पुलमा देखिएको प्राबिधिक समस्या तत्काल समाधान गरी निर्माण कार्य अघि बढाउने सुनिश्चतता गर्न पनि आयोजना सम्वद्ध अधिकारीलाई निर्देशन दिएको छ । फाइल तश्वीर ‘काम अघि नबढाउन निर्देशन दिँदा दिँदैपनि अटेर गरी निर्माण अघि बढाउने व्यवसायीलाई कारवाही गर्नु पर्छ’-समिति सभापति खड्काले बताइन् । २१ करोड ३३ हजारमा तीनकुनेका २ वटा पुलको निर्माण गर्ने ठेक्का पाएको पप्पुले कमसल निर्माण गरेको भन्दै सडक विभागले काम रोक्न पत्र काटेको थियो । सडक विभागको पत्रलाई अटेरी गर्दै पप्पुले पुल निर्माण अघि बढाएपछि उसको भुक्तानी समेत रोकिएको छ । पुल निर्माणमा भएको लापरवाहीबारे सांंसदहरुले कुरा उठाएपछि समितिका सभापति कल्याणी खड्का नेतृत्वको टोलीले जेठ २ गते पुल निर्माणको स्थलगत अध्ययन गरेको थियो । सो टोलीमा राष्ट्रिय सतर्कता केन्द्रका प्राविधिक समेत सहभागी थिए । यो पनि पढ्नुहोस्:  तीनकुने पुलमा पप्पुलाई सांसदको र्‍याखर्‍याख्ती टेकु र वाग्मती पुलको विकास समितिले अनुगमन गर्ने, ‘निर्माण गुणस्तरहीन’ वाग्मती पुलको निर्माण सुस्त, ठेक्काको अवधि सकियो, भौतिक प्रगति ३० प्रतिशत मात्रै  

२५ लाखको चिठ्ठा पर्यो भन्दै १ लाख २० हजार ठगी गर्ने २ जना पक्राउ

काठमाडौँ । चिठ्ठामा रु २५ लाख परेको भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले विहीबार पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ बस्ने २३ वर्षीय निरज मरिक र मोरङ धनपालथान गाउँपालिका–६ बस्ने ३६ वर्षीय श्रवण मलहाले इलाम जिल्ला इलाममाई नगरपालिका–८ बस्ने पासाङ शेर्पालाई ‘इमो’ मार्फत चिठ्ठा परेको छ भन्दै सन्देश पठाई रु एक लाख २० हजार ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । निजहरुले चिठ्ठा परेको भन्दै शेर्पालाई दस्तुर (कर) वापत पटक–पटक गरी मरिकको नाममा रु ४५ हजार र रु ७५ हजार गरी रु एक लाख २० हजार विराटनगरको एक बैंकको खातामा रकम पठाएपछि मरिक सम्पर्कविहीन भएका थिए । पक्राउ परेका मलाहा यसअघि विसं २०७५ पुस २६ गते यसरी नै ठगीमा पक्राउ परी जिल्ला अदालत मोरङबाट रु दुई लाख धरौटीमा छुटेका थिए । निजहरुलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगीसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान तथा कारवाही पक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । रासस

आनको २९ औं वार्षिकोत्सव मनाइयो, २२ जनाले गरे रक्तदान

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले बिहीबार आफ्नो २९औँ वार्षिकोत्सव मनाएको छ । आनले आफ्नो वार्षिकोत्सव नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा कार्यालय भवन परिसर शान्तिनगरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सो अबसरमा निःशुल्क स्वास्थ्य शिविरबाट ८० जना व्यक्तिहरू लाभान्वित भए भने रक्तदानबाट २२ पिन्ट रगत संकलन गरिएको थियो । काठमाडौँ महानगरपालिका वडा नं ३१ का अध्यक्ष नारायणप्रसाद भण्डारीको स्वास्थ्य परीक्षण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । उनले आनले यस्ता कार्यक्रमहरुको आयोजना गरी आफ्नो सामाजिक दायित्व पूरा गरेको बताउँदै आनले समग्र वडाको विकासमा पुर्याएको योगदानको पनि प्रशंशा गरेका थिए । यसका साथै मेडिसिटि अस्पतालका महाप्रबन्धक विजय रिमाल र योगिक समाज नेपालका अध्यक्ष पुरुषोत्तम अधिकारीले पनि आनले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत सामाजिक काममा खेलेको भूमिका प्रति प्रशंसा गरेका थिए । आनका अध्यक्ष रबिन्द्रकुमार रिजाल ‘शशी’ले जनहितका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । कार्यक्रममा आनका वर्तमान तथा पूर्व पदाधिकारी तथा विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति थियो ।

भक्तपुरको जगातीमा आइसर ट्रक र बसको सर्भिस-स्पेयर्सको सुबिधा

काठमाडौँ । भक्तपुरको जगातीमा आइसर ट्रक र बसको टुएस अर्थात सर्भिस र स्पेयर्स सुविधा उपलब्ध हुने भएको छ । आइसरको नेपालका लागि आधिकारिक वितरक इस्टर्न म्यानेजमेन्ट प्रालिको सहकार्यमा आइसरका ग्राहकलाई सहयोग गर्नका लागि सो विश्व स्तरीय सुविधाको सुरुवात गरिएको हो । जगाती चेकपोष्ट नजिक रहेको सो सर्भिस सेन्टर बाबा डोलेश्वर महादेव मन्दिर जाने बाटोसँगै जोडिएको छ । आइसरका हेभी ड्युटी, लाइट र मिडियम ड्युटी ट्रक र बसलाई बिक्री पछिको सेवा उपलब्ध गराउनका लागि सो सर्भिस सेन्टर निर्माण गरिएको हो । यसबाट आइसरका ग्राहक र कम्पनीका बीचको सम्बन्ध थप सुमधुर हुने कम्पनीको अपेक्षा भएको बताइएको छ । सांसद महेश बस्नेत, मेयर बासु थापा र आइसर गाडीको उत्पादक भीई कमर्सियल भेइकल्स इन्डियाका भाइस प्रेसिडेन्ट तथा इन्टरनेसनल बिजनेस हेड एसएस गिलले संयुक्त रुपमा सो सर्भिस सेन्टरको उद्घाटन गरेका हुन् । सो अवसरमा प्रशस्तै संख्यामा ग्राहक, लगानीकर्ता र अन्य सर्वसाधारणको उपस्थिति थियो । यससँगै आइसरको नेपालभर १५ वटा थ्रीएस अर्थात सेल्स, सर्भिस र स्पेयर्स आउटलेट पुगेको छ । यसका साथै १ सय ३० रिटेल आउटलेट समेत भएको कम्पनीले बताएको छ ।

कुमारी बैंककाे नयाँ नेतृत्वलाई चुनौती : आक्रामक बजार विस्तार र ब्राण्ड इमेज सुधार

काठमाडौं । वार्षिक साधारणसभा भएको ठीक ३५ दिनमा कुमारी बैंकको विशेष साधारणसभा आज हुँदैछ । वार्षिक साधारणसभामै उल्लिखित एजेन्डालाई पूरा गर्न कानूनी झन्झट देखिएपछि अपुरो अवस्थामै टुङ्गिएको कुमारी बैंकको १८ औं वार्षिक साधारणसभालाई पूर्णता दिन यो सभा केन्द्रित रहनेछ । खासगरी एकजना महिलाले बोर्डमा समानुपातिक प्रतिनिधित्वको माग गर्दै अदालतबाट सञ्चालक समितिका रिक्त सदस्यको चुनाव रोक्ने स्टेअर्डर ल्याएपछि बैंकको सो चुनावी प्रक्रिया रोकिएको थियो  । प्रबन्ध पत्र तथा नियमावलीमा भएकाे संशाेधन, नयाँ सञ्चालक समितिमा भएकाे सर्बसहमतिसँगै अब कानुनी विवाद सकिएकाे छ । बैंकका सञ्चालकहरुका लागि अमिरप्रताप राणा, कृष्णप्रसाद ज्ञवाली, महेश पोखरेल, अनुराधा चौधरी र गणेशकुमार पाठक गरी ५ जना रहने निश्चित भएको छ । निर्वाचित सञ्चालकहरुबाट अमिरप्रताप राणालाई अध्यक्ष चुनिने पक्का भएको स्रोतले बतायो । जटिलता छिचाेल्दै विशेष साधारणसभामा कुमारी बैंकको यो विशेष साधारणसभालाई यसअघिको १८ औं वार्षिक साधारणसभाकै निरन्तरताको रुपमा जानकारहरु लिन्छन् । १७ औं र १८ औं साधारणसभा एकैपटक गरेको बैंकले यो सभालाई समेत जोडेर हेर्दा एउटा संक्रमणकालीन चरणलाई पूरा गरेको छ । नेपाल राष्ट्र बैंकको न्यूनतम चुक्तापुँजी पुर्याउने अधिकतम सीमामा पुँजी पुर्याउन असफल रहेका तीन बैंकमध्ये एक रहेको सो बैंकले पुँजी नपुर्याएकै कारण नियामकबाट निरन्तर दबाब खेप्नुपर्ने अवस्था थियो भने व्यवस्थापकीय क्षमता विस्तार गर्न समेत बैंकलाई बन्देज थियो । एनसीसी बैंकसहित ६ ओटा विकास बैंकसँग ‘मेगा मर्जर’को तयारीमा रहँदारहँदै पुँजी वृद्धिको समय गुज्रेपछि बैंक तोकिएको पुँजी पुर्याउन असफल भएको थियो, त्यसो त यही बैंकसँग मर्जरको तयारीमा रहेको एनसीसी बैंकले पनि सोही कारण पुँजी पुर्याउने लक्षित समय गुजारेको थियो । एनसीसी बैंकसँग मर्जर असफल भएपनि बैंकले तात्कालिन अवस्थामा राम्रो कार्यसम्पादन रहेको काष्ठमन्डप डेभलपमेन्ट बैंकसहित महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई आफूमा गाभेको थियो । २०७४ असारमा ती संस्थाहरुसँग एकिकृत कारोबार भएपछि पहिलोपटक सम्पन्न साधारणसभामा रिक्त नेतृत्व सहमतिमै चुनिनुले कुमारी बैंकको अर्को उज्जवल भविष्यको मार्गदर्शन गर्छ । चुस्त सञ्चालक समिति नयाँ सञ्चालक समिति सानाे छ र चुस्त छ । २८ वटा वाणिज्य बैंक मध्ये विज्ञसहित ५ जना मात्र सञ्चालक चुनिएकाे याे पहिलाे पटक हाे । अमिरप्रताव राणासँग बैंकिङ र औद्याेगिक क्षेत्रमा नेतृत्व गरेकाे अनुभव छ । राणा नेपालको सबैभन्दा ठूलो फुटवेयर इन्डष्ट्रिज गोल्ड स्टारका प्रबन्ध निर्देशक हुन् । उनले औषधि, एलपीजी ग्यास लगायत उद्योगहरु पनि सम्हालिरहेका छन् । उनको बुबा नूरप्रताव राणा कुमारी बैंकको संस्थापक अध्यक्ष हुन्, जसले लामो समय यस बैंकको नेतृत्व लिएका थिए । अमिर पनि अघिल्लो बोर्डमा सञ्चालक थिए । कृष्णप्रसाद ज्ञवाली मनाङ एयरका प्रबन्ध निर्देशक हुन् । उनी ट्राभल एजेन्सी, होटल, रेमिट्यान्स लगायत व्यवसायमा संलग्न छन् । महेश पोखरेलसँग सिद्धार्थ बैंकमा १२ वर्ष सञ्चालक समितिमा रहेर काम गरेको अनुभव छ । पाेखरेल २० वर्ष अघिदेखि शेयर बजार सक्रिय छन् । बैकिङ र मार्केटिङ दुई विषयमा स्नातकोत्तर अनुराधा चौधरी हाल कलेजमा अध्यापनरत छिन्। उनी कुमारी बैंकका पूर्वसञ्चालक जगदीश चौधरीको छोरी हुन् । विज्ञ सञ्चालक गणेशकुमार पाठक यसअघि पनि साेही बैंककाे सञ्चालक थिए । इन्स्टिच्युसनल मेमाेरीमा उनले पुलकाे काम गर्न सक्छन् । व्यवस्थापनमा क्षमतावान नेतृत्व कुमारी बैंकको अर्को ‘स्ट्रेन्थ’ भनेको उच्च क्षमता र सम्भावना युक्त व्यवस्थापन टीम हो । कुमारी बैंकको व्यवस्थापन टीममा त्यस्ता सम्भावनायुक्त व्यक्तिहरु छन् जो यसअघि वित्तीय संस्थाहरुकै कार्यकारी भूमिकाबाट उच्च क्षमतायुक्त सावित भइसकेका छन् । यसअघि सिद्धार्थ बैंकमा दुई कार्यकालसम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेर सो बैंकलाई गुणात्मक रुपमा बलियो र विश्वसनीय बनाउन सफल भएका सुरेन्द्र भण्डारी बैंकका प्रमुख कार्यकारी अधिकृत छन् । २ वर्षअघि कुमारी बैंकमा आएका उनलाई कुमारी बैंकमा बढीमा ६ वर्षसम्म रहनसक्ने सुविधा छ । ‘लो प्रोफाइल’मा रहेर काम गर्ने उनको स्वभावकै कारण व्यवस्थापकीय टिम परिचालनमा उनी सबल रहेको बताइन्छ । यसअघि सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका अनुज तिमिल्सिना बैंक ब्यवस्थापनमा सेकेन्डम्यानको रुपमा छन् । बैंकिङ क्षेत्रका विश्लेषकहरु भन्छन्, ‘सेञ्चुरी बैंकमा रहँदा उनले जति गरे राम्रो गरे ।’ ‘बर्षौंदेखि सञ्चालनमा रहेको र वित्तीय रुपमा सबल बैंकहरुको सामुन्ने नयाँ आएको बैंकले उहाँको नेतृत्वमा गरेको कार्यसम्पादनलाई नराम्रो भन्न मिल्दैन’ एक विश्लेषकले भने । कुमारी बैंकमै यसअघि २ वर्षसम्म कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका राजीव गिरीले पनि सो अवधिमा कुमारी बैंकमा राम्रो नेतृत्व प्रदान गरेका थिए । तात्कालिन प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्यायको राजीनामासँगै बैंकले उनलाई कार्यवाहकको जिम्मेवारी दिइए थियो । तात्कालिन काष्ठमण्डप डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका उमेशसिंह भण्डारीले पनि सो बैंकमा रहँदा उच्च क्षमता प्रदर्शन गरेका थिए । माैका पाए वाणिज्य बैंककाे प्रमुख कार्यकारी अधिकृत बन्ने क्षमता उनीसँग छ । याे लेभलकाे उच्च व्यवस्थापन टिम कुमारी बैंकसँग छ । शाखा सञ्जालमा क्षेत्रीय सन्तुलन सुदूरपश्चिमको महाकाली विकास बैंक, मध्यपश्चिमको काँक्रेविहार बैंक, पश्चिमाञ्चलको पश्चिमाञ्चल फाइनान्स र आफुसहित मध्यमाञ्चलको काष्ठमण्डप डेभलमेन्ट बैंकलाई आफुमा समाहित गरेको कुमारी बैंकसँग हाल काठमाडौं उपत्यकामा २४ सहित देशभर ९३ शाखा, ३ एक्सटेन्सन काउन्टर र ८४ ओटा एटिएम काउन्टरहरु छन् । मर्जर तथा प्राप्तिमा क्षेत्रीय सन्तुलन मिलाएकोले बैंक शाखाको हिसाबले पनि सन्तुलित छ । तर प्रादेशिक रुपमा थप सन्तुलित बनाउने र प्रत्येक शाखाको प्रभावकारिता बढाउँदै अघि बढ्नुपर्ने चुनौती बैंकलाई छ । त्यसो त छोटो समयमै धेरैपटक कर्पोरेट कार्यालय परिवर्तन गर्नुपर्ने बाध्यतामा रहेको कुमारी बैंकलाई सुविधासम्पन्न र अत्याधुनिक कर्पोरेट कार्यालय निर्माण गर्ने कार्यमा नयाँ सञ्चालक समितिको सहयोग आवश्यक पर्नसक्छ । बैंककाे वासलात मध्यमस्तरकाे छ । बलिया वाणिज्य बैंककाे वासलात २५० अर्ब नजिक पुगेकाे छ भने कमजाेर वाणिज्य बैंककाे वासलात ६० अर्बकाे हाराहारीमा छ । कुमारी बैंककाे वासलात ९२ अर्बकाे छ, याे निम्न मध्यमस्तरकाे वासलात हाे । आक्रामक व्यापार विस्तार गर्नु याे बैंककाे लागि मुख्य चुनाैती हाे । बैंककाे ब्राण्ड इमेज सुधारसँगै सेवा स्तर राम्राे बनाउनु बैंककाे अर्काे चुनाैती हाे । नेपाली मात्रैको लगानीका पहिलो पटक स्थापित कुमारी बैंकले दुई दशक पार गर्दा यसले आफ्नाे संस्थागत छवि उच्चस्तरकाे बनाउन सकेकाे छैन । गुगलमा सर्च गर्दा समेत नभेटिने बैंक बनेकाे छ । बैंककाे मुख्य कार्यालय समेत कहिले पुतलीसडक, कहिले दरबारमार्ग हुँदै अहिले टंगाल पुगेकाे छ । बैंककाे एउटा राम्राे फाेटाे पनि गुगलमा पाइँदैन । लाेगाे, कलर, बैंकका बाेर्डमा चमक छैन । बैंक सञ्चालक समितिभित्र र प्रमाेटरबीच हुने विवादले याे बैंककाे छवि धमिलाे बनाएकै हाे । धेरै सवल पक्ष हुँदाहुँदै केही कमजाेर पक्ष पन्छाउन नसक्दा बैंक पछाडि परेकाे हाे । कुमारी बैंककै कार्यक्रममा गभर्नर डा. चिरञ्जीवी नेपालले सन्ताेष लामालाइ लक्षित गर्दै ‘औंठाछाप सञ्चालक र अध्यक्षले अबकाे बैंक चलाउन सक्दैनन्’ भन्दा कुमारी बैंकका शेयरधनी र कर्मचारीकाे शिर नुहेकाे पनि धेरैले देखेकै हुन् । नयाँ सञ्चालककाे आगमनसँगै त्यस्ता दिन सकिएकाे शेयरधनी तथा कर्मचारीकाे अनुभूति हुने विश्वास छ ।

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने २८ विरुद्ध मुद्दा दायर(नामावली सहित)

काठमाडौँ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय बाँके र बर्दियाका २८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बाँकेको खासकरकाँदो–७ को दुई कित्ता र बर्दियाको नेउलापुर– ७ को पाँच कित्ता सरकारी कागजात कीर्ते गरी भ्रष्टाचार गरेको पाइएको छ । दुई जिल्लाको विभिन्न कित्ता जग्गा कौशल भन्ने खैरुल हसन अन्सारीसमेतले आफूलाई लाभ र नेपाल सरकारलाई गैरकानूनी हानि पु¥याउने लक्ष्यका साथ मालपोत कार्यालयका कर्मचारीलाई समेत अनुचित प्रभावमा पारेको पाइएको छ । आयोगले मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घबहादुर पौडेल, मालपोत अधिकृत पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोककुमार भट्टराई, नायब सुब्बा रुद्रबहादुर देवकोटा, टङ्कप्रसाद शर्मा, रामबहादुर खड्का र मानबहादुर केसी, कम्प्युटर अपरेटर यज्ञश्वर वली, सहायक कम्प्युटर अपरेटर प्रेमबहादुर चन्द ठकुरी, खरिदार सुशील रिजाल, सञ्जयकुकार ठाकुर, कुलानन्द राउत र कार्यालय सहयोगी अन्तराम चौधरीले गैरकानूनीरुपमा लाभ लिएको पाइएको छ । यस्तै बर्दियाका तत्कालीन कार्यालय प्रमुख कृष्णप्रसाद ज्ञवाली, मालपोत अधिकृत रामकुमार रोका, नायब सुब्बा कृष्णलाल शर्मा, रवीन्द्रबहादुर थापा, खरिदार भूमिराज पोखरेल, किशोरकुमार रिजाल, तुलसी रानी थारु, कम्प्युटर अपरेटर लक्ष्मी मल्ल, कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय तथा विचौलियाका रुपमा स्थानीय खैरुल हसन अन्सारी, हसरतुन निसा अन्सारी, लाली मल्ल, बृहस्पति खड्का र पप्पु धोवीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । उनीहरुमध्ये मालपोत कार्यालय बाँकेका १४ जनाविरुद्ध रु दुई करोड १६ लाख ७३ हजार ५०, मालपोत कार्यालय बर्दियाका नौ जनाविरुद्ध रु दुई करोड ३० लाख दुई हजार ५०० र स्थानीय खैरुललगायत विरुद्ध रु चार करोड ४७ लाख ४५ हजार ५५० सहितको बिगो दाबी र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

आइएलओको शतवार्षिकी समारोहमा श्रममन्त्री विष्टले भने-‘नेपाली श्रमिकलाई समान व्यवहार गर’

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रम आप्रवासनलाई व्यवस्थित बनाउन सबैको साथ र सहयोगको खाँचो औँल्याएका छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित १०८औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको पूर्णसत्रलाई बिहीबार सम्बोधन गर्दै उनले भने, “सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि सहकार्य र साझेदारीमा हामी पूर्णतःविश्वास गर्दछौँ ।” गन्तव्य मुलुकले आप्रवासी कामदारलाई समान अधिकार प्रदान गर्नुपर्नेमा जोड दिँदै मन्त्री विष्टले नेपाली श्रमिकलाई पनि अन्य कामदारसरह समान व्यवहार गर्ने गरी द्विपक्षीय छलफल र सहकार्यको थालनी गर्न आग्रह गरे । सम्मानित काम, सामाजिक सुरक्षा, असल श्रम सम्बन्ध नेपालको श्रम प्रशासनका प्रमुख विषय भएको उल्लेख गर्दै उहाँले श्रम, रोजगारी तथा सामाजिक सुरक्षालगायत नीतिगत विषयमा बहुआयामिक कानूनी सुधार गरिएको बताए । उनले भने, “नेपाल सरकारले श्रम प्रशासनको सन्दर्भमा कानूनी र नीतिगत सुधारका कार्य गरेको छ ।” नेपाल सरकारले श्रम ऐनले व्यवस्था गरेको श्रमिकका अधिकारलाई सुनिश्चित गराउन सम्पूर्ण प्रतिष्ठानमा श्रम अडिट गर्नुपर्ने व्यवस्थालाई शुरुआत गरिएको जानकारी गराउँदै मन्त्री विष्टले श्रम क्षेत्रमा भएको सुधारलाई कार्यान्वयन गराउन सबै पक्षको सहकार्यमा जोड दिइएको बताए । उनले आन्तरिक श्रम बजारमै रोजगारीको अवसर उपलब्ध गराउँदै सबै नागरिकलाई काममा आधारित सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गरेको बताए । मन्त्री विष्टले भने, “सम्मानजनक काम, श्रमिकको जीवनस्तर सुधारको लागि न्यूनतम ज्यालाको सुनिश्चितता गरी समयमै पारिश्रमिक भुक्तानीको व्यवस्था गरिएको छ ।” श्रमिकमाथि हुने हिंसा र अपहेलना अन्त्य गरी सम्मानजनक कामको खोजी गर्न नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सन् २०२५ भित्र सबै प्रकारका बालश्रम निवारण गर्न गुरुयोजना बनाएर कार्यान्वयन गरिएको बताए । मन्त्री विष्टले भने, “जुनसकै बालश्रम, बाध्यकारी श्रम, मानव तस्करी र दासताका सबै रुप गर्न नेपाल सरकार प्रतिबद्ध छ ।” उनले नेपालको श्रम प्रशासन हालसम्म आइएलओले गरेको सहयोगको प्रशंसा गर्दै भविष्यमा पनि सहकार्यको अपेक्षा गरे । मन्त्री विष्टले भने, “शान्ति, सामानता र सामाजिक न्यायका लागि आइएलओले खेलेको भूमिका महत्वपूर्ण रहेको छ ।” उहाँले ‘उज्वल भविष्यको लागि काम’ नामक मानव केन्द्रित प्रतिवेदन तयार गरेकामा उच्च तहको प्रसंशासमेत गरे । रासस