३८ लाखले बढ्यो निक्षेप खाता, ऋण खाता भने १३ लाखमात्रै
काठमाडौं । एक वर्षमा ३७ लाख ९० हजार निक्षेप खाता बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७४ अन्त्यसम्म एक करोड ९७ लाख ५४ हजार रहेको उक्त खाता गत आवमा आइपुग्दा २ करोड ३५ लाख ४४ हजार पुगेको हो । यो अवधिमा ऋण खाता बढेर १३ लाख पुगेको छ । अघिल्लो आवको अन्त्यसम्म यस्तो खाता १२ लाख १६ हजार थियो । तथ्यांकले निक्षेप खाता र कर्जा खाताको अन्तर धेरै देखाएको छ । पछिल्लो समय आम जनसंख्यामा बढ्दै गएको वित्तीय पहुँच, बढ्दो आर्थिक गतिविधिले पनि खाता संचालन गर्नेको संख्या बढेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । निक्षेप खाताको तुलनामा कर्जा खाता कम हुनुमा सबै नेपाली उद्यमी बन्न नसक्नु तथा कर्जा लिएर उद्यम व्यवसायमा अग्रसर नहुनु भन्ने हो । चार हजार तीन सय ३४ जनसंख्याको पहुँचमा एउटा बैंक शाखा परेको छ । एक वर्षको अवधिमा सात सय ४९ वटा वाणिज्य बैंकहरूको शाखा विस्तार भएर कुल तीन हजार २३ वटा शाखा पुगेका छन् । विकास बैंकको शाखा नौ सय ९३ शाखा पुगेको छ भने वित्त कम्पनीहरूले गत असार मसान्तसम्म एक सय ८६ शाखा विस्तार गरेका छन् । देशमा संचालित बैंक तथा वित्तीय संस्थाहरूले एक हजार दुई सय ८५ वटा शाखारहित बैकिङ केन्द्रबाट सेवा लिइरहेका छन् । मोबाइल बैकिङ प्रयोगकर्ताको संख्या एक वर्षमा २४ लाख १६ हजारले बढेर ५० लाख ८६ हजार पुगेको छ । इन्टरनेट बैकिङ सेवा प्रयोगकर्ताको संख्या बढेर ८ लाख ३४ हजार पुगेको छ । डेविड कार्डको संख्या ५५ लाख ४४ हजार नाघेको छ भने क्रेडिट कार्डको संख्या एक लाख नाघेको छ ।
पूँजीगत लाभकरको विषयमा सहमति जुटेसँगै ६ अंकले बढ्यो नेप्से
काठमाडौ । पूँजीगत लाभकरको विषयमा सहमति जुटेसँगै नेपाल स्टक एक्सचेञ्ज(नेप्से)परिसूचक ६.२० अंकले बढेको छ । ०.४९ प्रतिशतले बढ्दा नेप्से परिसूचक १२६५.५७ बिन्दुमा पुगेको हो । बुधबार सेयर बजारमा १ सय ६९ कम्पनीले कारोबार गरे । १२ लाख ६१ हजार ५ सय ९० कित्ता सेयर किनबेच हुँदा ३५ करोड ७८ लाख ३६ हजार १ सय ८५ रुपैयाँको कारोबार भएको छ । नेप्सेको १ सूचक रातो रहँदा अन्य सबै हरियो रहेका छन् । विकास बैक समूह ०.८४ अंकले घटेको हो । बैंक समूह २.०३, ट्रेडिङ् समूह ३.२२, होटल समूह ५.७३, जलविद्युत समूह ०.१७ वित्तीय समूह २.२२, निर्जीवन बीमा समूह ५३.९६, उत्पादनमूलक समूह १३.३२, अन्य २.२८, माईक्रोफाईनान्स ५२.४५, जीवन बीमा समूह ४६.५ र म्यूचुअल फण्ड समूह ०.०८ अंकले बढेका छन् । आज सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने यूनियन हाइड्रो पावर लिमिटेडका लगानीकर्ताले ४.१० प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
वैदेशिक रोजगार कसुरमा फरार पूजा नेपाली पक्राउ, केन्द्रीय कारागार लगियो
काठमाडौँ । वैदेशिक रोजगार कसुर मुद्दामा फरार प्रतिवादी पूजा नेपाली पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले मंगलबार सितापाइलाबाट उनलाई पक्राउ गरेको हो । वैदेशिक रोजगार न्यायाधिकरणले २०६९ असार ३ गते वैदेशिक रोजगारमा मानिस पठाउने इजाजत पत्र बिना नै शान्तकुमार तामाङसँग साइप्रस पठाई दिन भन्दै २०६६ असार २१ गते १० लाख ५० हजार ठगी गरेको ठहर गर्दै नेपालीलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । फैसला कार्यान्वयनको लागि नेपालीलाई बुधबार जिल्ला अदालत पेश गरी कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारामा पठाएको जनाइएको छ ।
वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स समस्याग्रस्त सूचीबाट हट्यो
काठमााडौं । वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेड समस्याग्रस्त सूचीबाट हटेको छ । नेपाल राष्ट्र बैंकको साउन सात गतेको बैठकले उक्त संस्थालाई समस्याग्रस्त अवस्थाबाट सशर्त फुकुवा गरिएको हो । वल्र्ड मर्चेन्टलाई २०७० वैशाख १३ मा समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरिएको थियो । राष्ट्र बैंकले २०७० वैशाख ५ गते नेपाल राष्ट्र बैंक ऐन २०५८ को लफा ८६ ‘ख’ बमोजिम निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने जमानत प्रदान गर्नेलगायतका कारोबार गर्न नपाउने गरी समस्या ग्रस्त घोषणा गरिएको हो ।
सिद्धार्थ बैंकको १६०औँ शाखा धापासीमा
काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना शाखाहरु विस्तार गर्ने क्रममा यही बुधबारदेखि काठमाडाैंको धापासीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हालै सञ्चालनमा आएको शाखा सहित यस बैंकले देशभर १६० वटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १७३ एटिएम र १,३०० भन्दा बढी पिओएस मेसिन मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
काठमाडौँका सडकमा अब शौचालय खोज्दै भौतारिनु नपर्ने
काठमाडौं । काठमाडौँको सडकमा हिँड्दा शौच लाग्दा शौचालय नभेटेर भौंतारिनुभएको त छैन ? अथवा शौचालय खोज्ने क्रममा हतारमै पनि बाध्य भएर चिया/खाजा खाने निहुँमा होटल रेष्टुराँ पस्नुभएको त छैन ? यदि त्यसो हो भने अब त्यसको समाधान ल्याएको छ काठमाडौँ महानगरपालिकाले । कामपाको योजनानुसार महानगरभित्रका ५० होटल, रेष्टुराँ र क्याफेसँगको सहकार्यमा ती स्थानमा अब शौचकै लागि खाजा नखाई नै शौचालय प्रयोग गर्न पाउनेछन् । ती होटल/रेष्टुराँसँगको सहकार्यमा कामपाले चालू आवभित्रै यो योजना शुरु गर्न लागेको हो । आगामी दिनमा अरु होटलमा समेत विस्तार गर्दै जाने कामपाको योजना छ । महानगरभित्रका ५० वटा होटलसँग सम्झौता भइसकेको कामपाको शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए । उनका अनुसार यी होटलमा महानगरवासीले कुनै पनि खानेकुरा नखाँदा पनि पैसा तिरेर शौचालय प्रयोग गर्न पाउनेछन् । शौचालय प्रयोग गरेबापत तिनुपर्ने शुल्कलगायतका विषयमा भने टुङ्गो लगाउन बाँकी रहेको उनले बताए । उनले भने, “सबै कुराको टुङ्गो लागेपछि नै ती शौचालय सञ्चालनमा आउने छन् ।” आयोगले केही समय पहिले प्रतिष्पर्धाबाट नै महानगरका लागि नयाँ योजनाको छनोट गर्दा शौचालयमा होटल÷रेष्टुराँसँग सहकार्य गर्ने अवधारणा प्रथम भएको थियो । उक्त अवधारणानुसार नै होटल÷रेष्टुराँसँग कुराकानी गरिएको उनले बताए । देशको सबैभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने महानगरपालिकामा सार्वजनिक शौचालयको अवस्था दयनीय छ । एकातिर शौचालय आवश्यकताभन्दा कम छन् भने अर्कातिर भएका शौचालयको पनि व्यवस्थापन नराम्रो छ । महानगरभित्र शौचालयको सङ्ख्या बढाउनुपर्ने र भएका सफासुग्घर गरेर सञ्चालन गर्नुपर्ने महानगरवासीले माग गरेपछि कामपाले यस्तो योजना बनाएको उपाध्यक्ष बस्नेतले बताएका छन् । कामपाले विभिन्न स्थानमा शौचालय निर्माण गर्ने र भएकाको स्तरोन्नतिको समेत योजना बनाएको बताउँदै भने, “बढी आवश्यकता भएका ठाउँमा शौचालय निर्माणका लागि पनि डिजाइन गरिसकेका छौँ ।” महानगरमा अहिले सञ्चालनमा रहेका ५७ वटा सार्वजनिक शौचालयमध्ये अधिकांशको अवस्था राम्रो नभएको बस्नेतले बताए । महानगरले गरेको अनुगमनका आधारमा ती शौचालयलाई स्तरोन्नतिको योजना बनाइएको छ । सार्वजनिक शौचालय बनाइएका ठाउँसँगै विभिन्न पसल सञ्चालनमा छन् । उनले भने, “जसले निर्माण ग¥यो र पैसा उठाइरहेको छ उसले पनि शौचालयको व्यवस्थापनका चासो देखाएको पाइएन ।” काठमाडौँ उपत्यकामा सार्वजनिक शौचालयका विषयमा अनुसन्धानकर्ता प्रकाश अमात्यले अनुसन्धान गरेका थिए । काठमाडौँ उपत्यकाका सबै सार्वजनिक शौचालयको अवस्थाका बारेमा स्थलगत अध्ययन गरेका अमात्यले एक महिना पहिले मात्रै अध्ययन पूरा गरेका थिए । अध्ययनका क्रममा शौचालयको सङ्ख्या कम रहेको र भएका पनि अवस्था खराब रहेको पाइएको बताए । सार्वजनिक शौचालयको जिम्मेवारी स्थानीय तहको भए पनि तीनले व्यवस्थापनमा वास्ता नगरेको र शौचालयमा पैसा उठाउँदै आएकाले पनि व्यवस्थापनमा चासो नदेखाएको उनको आरोप छ । सार्वजनिक शौचालय कामपाको कुन शाखाले हेर्ने भन्ने टुङ्गो नहुँदा पनि सधैँ दूरावस्था भइरहेको उनले बताए । उनले भने, “सार्वजनिक शौचालय राम्रो र सफा गरेर सञ्चालन गर्नेलाई पुरस्कार र फोहर गर्नेलाई दण्डको पनि व्यवस्था हुनुपर्छ ।” कामपाले यस वर्षको बजेटमा शौचालय निर्माणका लागि रु एक करोड ५० लाख छुट्टाएको थियो । यो रकमबाट ४० शौचालय निर्माण गर्ने कामपाको योजना छ । शौचालय निर्माणमा कतिपय व्यावसायिक प्रतिष्ठान, सरकारी र गैरसरकारी संस्थाले पनि चासो देखाएका छन् । ती संस्थालाई पनि समेटेर जाने कामपाको योजना छ । निजी–सार्वजनिक साझेदारीमा निर्माण हुँदा त्यसबाट बचेको रकम अर्को कुनै परियोजनामा खर्च गर्न सकिने कामपाले जनाएको छ । आयोगले गत छ महिनामा इञ्जिनीयरिङ अध्ययनरत ३२ विद्यार्थी सहभागी गराएर ४० आयोजनाको डिजाइन गरेकामा सार्वजनिक शौचालय पनि एक हो । रासस
लोकतन्त्रको रक्षा गर्ने र समुचित ढङ्गले अघि बढाउनेमा वर्तमान सरकार दृढ छः प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गरेका छन् । प्रधानमन्त्री कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सो आह्वान गरेका हुन् । प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचार अन्त्य गर्न र सदाचारलाई अवलम्बन गर्नका लागि सूत्र नै बनाऊँ, मातहतको नजरमा नगिरौँ । मातहतको नजरबाट गिर्नबाट जोगियो भने मान्छेले राम्रो काम गर्न सक्छ ।” यसरी, प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई कामलाई तीव्रता दिन र जेठ १५ मा बजेट ल्याउनुको उद्देश्य आत्मसात् गर्न पनि आग्रह गरे । “हामीले जेठ १५ मा बजेट ल्याएर असारभित्र पारित गर्ने परिपाटी किन शुरु गर्यौँ भने साउनको शुरुबाटै काम गर्न सकिन्छ भन्ने सोचले हो”, उनले भने, “तर पहिले जस्तो फागुनतिर बल्ल ठेक्का सदर हुने गर्यो भने फेरि ठेक्का लाग्दा नलाग्दै पानी पर्ने बेला हुन्छ । अब त्यस्तो हुनु हुँदैन । समय खेर फाल्नु भएन ।” प्रधानमन्त्री ओलीले आफू र मन्त्रीहरुबीच कार्ययोजना कार्यान्वयन सम्झौता भएकाले अब कामले तीव्रता पाउने विश्वास व्यक्त गरेका छन् । “मेरो र मन्त्रीजीहरुको बीचमा सम्झौतामा हस्ताक्षर भएको छ । अब मन्त्रीजी र सचिवहरुबीच पनि सम्झौता भएर कामको गतिले तीव्रता लिने विश्वास लिएको छु”, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचारीहरुका विरुद्धमा अभूतपूर्व ढङ्गले अघि बढेको बताउँदै भने “भ्रष्टाचारीहरुलाई मुद्दा चलाइएको छ । कारवाही दृढताका साथ अघि बढाइएको छ ।” कतिपय बेला संसद्मा प्रतिपक्षीहरुले अनावश्यक रूपमा व्यवधान खडा गर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “हामीलाई रोक्ने र असफल बनाउने कुरा मञ्जुर छैन, लोकतन्त्रको रक्षा गर्ने र समुचित ढङ्गले अघि बढाउनेमा वर्तमान सरकार दृढ छ ।” जनताले स्थिरताका लागि बहुमत दिएकाले वर्तमान सरकार जनताप्रति उत्तरदायी भएर काम गर्ने उनको भनाइ थियो । आजको बैठकमा राजधानीमा उपलब्ध सबै मन्त्रीहरुले प्रधानमन्त्रीसँग प्रतिबद्दता व्यक्त गर्दै कार्ययोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरे भने यस्तै सम्झौता सचिवहरुले पनि मन्त्रीहरुसँग गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । सम्झौताको परिपाटी नेपालको इतिहासमै पहिलोपटक शुरु गरिएको बताउँदै उनले यसबाट विकास निर्माणका कामको गति बढ्ने विश्वास लिइएको पनि बताएका छन् । रासस
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्रीमा योगेश भट्टराई नियुक्त
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्रीमा नेकपाका युवा नेता योगेश भट्टराई नियुक्त भएका छन् । तत्कालीन पर्यटन मन्त्री रबीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो मन्त्रालय प्रधानमन्त्री केपी ओलीले नै सम्हाल्दै आएका थिए । नव नियुक्त पर्यटन मन्त्रीले अहिले ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहण कार्यक्रमको तयारी गरिएको छ । नव नियुक्त पर्यटन मन्त्री तत्कालीन नेकपा(एमाले)का सचिव हुन् । उनी स्पष्टवक्ता र युवाहरु माझ लोकप्रिय छन् । प्रतिनिधि सभामा ताप्लेजुङ जिल्लाबाट उनी निर्वाचित सांसद हुन् ।