विकासन्युज

घोराही सिमेन्टको कार्यक्रममा ७१ जनाले गरे रक्तदान

काठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्रीले रेडक्रससँगको सहकार्यमा, थापाथली स्थित ट्रेड टावरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । साउन १४ गते सम्पन्न कार्यक्रममा एक ७१ जनाले रक्तदान गरेका थिए । घोराही सिमेन्ट र ट्रेड टावरमा भएको विभिन्न कम्पनीमा कार्यरत कर्मचारीहरुले रक्तलानमा सहभागिता जनाएका थिए ।

हुण्डाई एक्सचेन्ज योजना विहिबारबाट शुरु

काठमाडौँ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विहिबारदेखि हुण्डाई एक्सचेञ्ज योजना ल्याएको छ । यो योजना साउन २३ गते साँझ ६ बजेसम्म जारी रहने कम्पनीले जनाएको छ । यो जोजनामा एक्सचेञ्जका साथै स्पोट एक्सचेञ्ज एण्ड भ्यालुएशन, इजी फाइनान्स एण्ड इन्स्योरेन्स, एट्रयाक्ट्रिभ क्यास डिस्काउण्ट, लोयल्टी बोनस रु. १५००० र एक्सचेञ्ज बोनस १ लाख ५० हजारसम्म दिइने छ । साथै ४ वर्षको फ्रि सर्भिस र ३ वर्षको वारेन्टी रहने जनाइएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रवन्धक रुपेश शर्मा भट्ट भन्छन्–‘ग्राहकहरुलाई सधै उत्कृष्ट स्ुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ ।’

साउन १५ गतेदेखि मेडिसिटीमा घुँडा सम्बन्धि निःशुुल्क परामर्श

काठमाडौं । आगामी साउन १५ गतेदेखि नेपाल मेडिसिटी अस्पतालमा घुँडा सम्बन्धि समस्या भएका तथा जोर्नी प्रत्यारोपणको आवश्यकता भएका व्यक्तिहरुका लागि निःशुल्क परामर्श गरिने भएको छ । अस्पतालको ओपिडीमा हाडजोर्नी विशेषज्ञसँग निःशुल्क परामर्श गर्न पाइने यो अवसरमा सहभागि हुन अग्रीम नाम दर्ता गर्नुपर्ने छ । खासगरि घुँडा तथा जोर्नी सम्बन्धि समस्या भइजोर्नी प्रत्यारोपण आवश्यक रहेकाहरुका लागि यो योजना विशेष लाभकर रहने अपेक्षा राखेको अस्पतालका महाप्रबन्ध कविजय रिमालले जानकारी दिएका छन् । विशेष गरी ६० वर्ष उमेर माथीका ज्येष्ठ नागरिक महिलामा सामान्य रहेको घुँडा खिइने समस्यालाई लक्षित गरी यो योजना लागुु हुन लागेको हो । घुँडा दुख्ने, घुँडा बांगिएको, उमेरको कारणले घुँडा खिइएको, बाथ रोगको कारणले घुँडाको समस्या भएका, जोर्नी खिइएका तथा नशा च्यातिएको समस्या र खेलकुदको कारणले घुँडामा चोटपटक भएका व्यक्तिहरुलाई जोर्नी प्रत्यारोपण आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

नेपाल बङ्गलादेश बैँक र तातोपानी सुख्खा वन्दरगाहाबीच सरकारी कारोवार सञ्चालन

काठमाडौं । नेपाल बङ्गलादेश बैँक र तातोपानी सुख्खा वन्दरगाहा भन्सार कार्यालय , सिन्धुपाल्चोक बिच सरकारी कारोबार संचालन सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना तथा भन्सार कार्यालयको तर्फबाट महानिर्देशक रामेश्वर डङ्गालले हस्ताक्षर गरेका हुन् । यस सम्झौतामा बैकको बाह्रबिसे शाखा अन्तर्गत एक्सटेन्सन काउन्टर खोली सरकारी कारोबार अन्तर्गत सो कार्यालयको राजस्व संकलन गरी जम्मा गर्न सरकारी कारोबार संचालन गर्ने अनुमती प्रदान गर्ने निर्णय भएको बैकले जानकारी गराएको छ ।

इन्जिनियरिङ्ग कलेज चाँंगुनारायणका विद्यार्थीले गरे गोजीमा राख्ने ईसीजीको विकास

काठमाडौं । नेपाल इन्जिनियरिङ्ग कलेज चाँंगुनारायणका विद्यार्थीले गोजीमा राख्ने ईसीजीको विकास गरेका छन् । कलेजका ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन संकाय दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीले अत्यन्तै कम लागतमा यति सस्तोमा यो उपकरण बनाउन सफल भएका छन् । सहप्राध्यापक सचिन श्रेष्ठको निरीक्षणमा चूडामणि भट्टराई, सिद्धार्थकुमार यादव र सुवास कोइरालाले चौथो सेमेस्टरको मिनि प्रोजेक्ट अन्तर्गत बनाउँदै गरेको उक्त उपकरणको आकार एउटा सानो सलाईको बट्टा जत्रो हुने जनाइएको छ । जसको लागत नेपाली दुईदेखि तीनहजार रूपैयाँसम्म पर्ने उनीहरुले बताएका छन् । यो उपकरणमा अहिलेलाई मुटुको इसीजी प्रत्यक्ष रुपमा कम्प्युटरमा देखाउन र प्रिन्टरमा प्रिन्ट गर्न मिल्ने जनाइएको छ । साथै, यसले मुटुको धड्कनको गति देखाउने आदि सुबिधा पनि यसमा छन् । तर छिट्टै त्यसमा आवश्यक सुधार गर्दै ब्लुतूथ तथा वाईफाईका माध्यमले अन्य बिद्धुतीय साधनसँग जोडिने विद्यार्थीले बताएका छन् । यसले मुटुका बिरामीको यथास्थितिकाबारेमा डाक्टरसमक्ष प्रत्यक्ष जानकारी पठाउन सकिने उनीहरुले बताए । विद्यार्थी चूडामणि भटराईले यो साधन ब्याट्रीबाट एक साता भन्दा बढी चल्ने हुँदा यसलाई जसले पनि सजिलै गोजिमा बोकेर हिड्न सक्ने जनाए । विशेष गरी उक्त उपकरणलाई गाऊँगाऊँका स्वास्थ्य संस्थामा बिरामीजाँच गर्न र मुटुका बिरामीले चौवीसै घण्टा आफ्नो मुटुको सजिलै निरीक्षण गर्न सक्ने उनले जनाए । यसको सफल परीक्षणपछि ईएमजी, ईईजी जस्ता उपकरणमा पनि आफ्नो चासो रहेको जानकारी अर्का विद्यार्थी सिद्धार्थकुमार यादवले बताए । उनले चिकित्सा उपकरणलाई कसरी सर्वसुलव तथा सजिलै मर्मतसंभार गर्न सकिने खालका बनाउने भन्नेमा आफूहरुको अध्ययन केन्द्रित रहनेछ । टोलीका अर्का विद्यार्थी सुवास कोइरालाले युरोपबाट सोही विषयमा अनुसन्धान गरी फर्किएका आफ्ना सहप्राध्यापक सचिन श्रेष्ठको सहयोगका लागि विशेष आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि सबैको साथ र सहयोग भए नेपालमै थुप्रै उपकरणहरु बनाउन सकिने बताए । बेलाबेलामा हुने ईनजिनीयरिङ्ग प्रदर्शनीको खाँचो औँल्याउँदै उनले नेपाल इन्जिनियरिङ्ग कलेजले हालै आयोजना गरेको ‘नेक ईन्जेनियम २०१९’ आफूहरुका लागि एउटा सुवर्ण अवसर सावित भएको बताए । गएको साउन ५ गते आइतबार नेपाल इन्जिनियरिङ्ग कलेजले आयोजना गरेको प्रदर्शनीका मुख्य आकर्षणहरुमध्ये सो उपकरण पनि एउटा रहेको थियो । करिब दुईसय बढी सहभागीहरुले उक्त उपकरण प्रयोग गरी ईसीजी परीक्षण गरेको दावी उनीहरुको रहेको छ ।

भूकम्पबाट पूर्ण क्षति भएका ७० वटा सरकारी भवनको पुनर्निर्माण सम्पन्न

काठमाडौं । वि.स.२०७२ साल वैशाख १२ को भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनहरुमध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । त्यसमा सरकारको स्रोतका ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगका छन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार सरकारको स्रोतबाट पुनर्निर्माण भइरहेका बाँकी २१ वटा चालु आर्थिक वर्षभित्र र एडिबीको ऋण सहयोगमा पुनर्निर्माण भइरहेका बाँकी २९ वटा भवनहरुको पुनर्निर्माण २०७६ साल पुससम्ममा सम्पन्न गरिनेछ । पुनर्निर्माण तथा प्रवलीकरण गर्न बाँकी रहेका संरचनाहरु बनाउनका लागि प्रक्रिया थालिएको छ । साझा प्रकाशन, गोरखापत्र संस्थान, रेडियो नेपालको भवनको सम्झौता सम्पन्न भएको छ भने सिंहदरबार पश्चिम गेटको दुवैतर्फका भवनहरुको टेण्डर आह्वान गरिएको छ । भारतीय ऋण (एक्जिम बैंकमार्फत्) सहयोगमा पुनर्निर्माण हुने ललितपुरस्थित एकीकृत प्रशासनिक भवनको सार्वजनिक खरिदको सूचना प्रकाशन भएको छ । सोही ऋण सहयोगमा बन्ने गोरखा, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, ओखलढुंगा तथा सोलुखुम्बुका कारागारहरुको प्रक्रिया बढाउनका लागि गृहकार्य जारी छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारी भवनसहित भूकम्पबाट क्षति भइ बनाउन बाँकी संरचनाहरु समयमा पुनर्निर्माण गर्नका लागि योजना बनाएर अघि बढेको बताए । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का अनुसार ठूला सरकारी तथा सार्वजनिक भवनहरुको प्रवलीकरणतर्फ पनि कार्य अघि बढेका छन् । सार्क सचिवालयको प्रवलीकरण सम्पन्न भइसकेको छ । सिंहदरबारको पश्चिमबाहेक तीनवटै खण्डको प्रवलीकरण जारी छ भने पश्चिम भागको बोलपत्र प्रकाशित भएको छ । त्यसैगरी, बाल मन्दिर, केशरमहल तथा केन्द्रीय कानून पुस्तकालय भवनहरुको प्रवलीकरणको पनि बोलपत्र प्रकाशित भएको छ । राष्ट्रपति कार्यालय (शीतल निवास), यसअघि उपराष्ट्रपतिको कार्यालय रहेको बहादुर भवन एवं घण्टाघरसँग जोडिएको त्रिचन्द्र कलेजको भवनहरु प्रवलीकरणको डिजाइन चरणमा छन् । नेपाल राष्ट्र बैंककै लगानीमा बालुवाटार र थापाथली बन्ने भवनहरुको निर्माण कार्य जारी छ । राजधानीमा आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार भूकम्पबाट आंशिक क्षति भएका मर्मतयोग्य २५३ संरचनाहरुको मर्मत सम्पन्न भइसकेको छ । सरकारी भवनहरुतर्फ हालसम्म ८ अर्ब २८ करोड रुपैयाँ खर्च भइसकेको छ ।

बैंकास्योरेन्सबाट २ अर्ब १५ करोड बीमा शुल्क आर्जन

काठमाडौ । गत आर्थिक वर्षमा बैंकास्योरेन्सबाट बैंकहरूले दुई अर्ब १५ करोड बीमा शुल्क आर्जन गरेका छन् । समग्र बीमा बजारको पहुँच १७ प्रतिशत पुग्दै गर्दा बैंकास्योरेन्समार्फत बीमा गराउनेको हिस्सा ३ प्रतिशत पुगेको हो । चालु आर्थिक बर्षमा बीमा कम्पनीहरुले ७१ अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार प्रथम बीमा शुल्कबाट ३० अर्ब ४१ करोड रुपैयाँ आर्जन भएको छ । नवीकरण बीमा शुल्क भने ३९ अर्ब २६ करोड रुपैयाँ रहेको बीमा समितिको तथ्याङ्ले देखाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने ‘नेपाल राष्ट्र बैकले बैंकहरुलाई बीमामा सहभागी हुने अवसर दिएको थियो, त्यसमा हामी सकारात्मक नै थियौ ।’ यस आवको मौद्रिक नीतिले केही कडाइ गरेको छ ।’ बीमा बजारमा ३ प्रतिशत पहुँच वृद्धिमा बैकको सहयोग सहयोग रहेको छ । यस्तो अवस्थामा हामीले बीमा कम्पनीकै अभिकर्ता मार्फत ७ प्रदेशमै बीमा सेवा दिने लक्ष्य राखेका छौँ । पौडेलले अहिलेको समयमा बैक र बीमा एक सिक्काको दुई पाटा भएकोले दुबै महत्व उत्तिकै रहेको बताए । आर्थिक वर्ष २०७६\७७ को मौद्रिक नीतिमा बैक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयम्ले छनोट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने र कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था उल्लेख गरिएको छ । सो व्यवस्थाले बैकले बीमा नै नगर्ने चाहि भनेको होइन बीमा समितिका एक अधिकारी बताए । बीमा समितिले नियामक भएको नाताले नेपाल राष्ट्र बैकलाई नीति ल्याउने अधिकार हुने र सो कुरालाई आफूहरुले सकारात्मक रुपमा हेरेको बताएको छ । बैकहरुले समेत बीमाको महत्वलाई बुझेर आत्मसाथ गर्न चाहेको बीमा समितिको बुझाइ रहेको छ ।

सिन्धुपाल्चोकमा तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन हुने

काठमाडौँ । गत वर्ष झैं यस वर्षपनि सिन्धुपाल्चोकमा तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन २०१९ को आयोजना हुने भएको छ । ‘साहसिक खेलकुद हाम्रो अभियान,धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको पहिचान’ भन्ने विषयलाई आत्मसात गर्दै खेलकूद विकास समिति सिन्धुपाल्चोकले साउन ३० गते तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन २०१९ को आयोजना गर्ने भएको हो । खेलकुद विकास समिति र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजनाको बारेमा जानकारी गरेको हो । पोखरीको उचाईको हिसावले विश्वको नवौं स्थानमा पर्ने पाँचपोखरी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न,धार्मिक साँस्कृतिक रुपले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन र नेपाल भ्रमण वर्ष २०२० लाई साथ दिन कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । समितिका अध्यक्ष टासी शेर्पाले कार्यक्रको आयोजनाले पाँचपोखरी क्षेत्रको पर्यटन प्रवद्र्धनमा सुधार र त्यस क्षेत्रलाई सबैले चिन्न र बुझ्न पाउने बताए । उनले कार्यक्रमको आयोजनाका लागि करिब १४-१५ लाख रुपैयाँ खर्च हुन सक्ने अनुमान गरेको बताए । प्रदेश नम्बर तीनका प्रदेशसभा सदस्य निमा लामाले पाँचपोखरी क्षेत्र धार्मिक एवमं साँस्कृतिक रुपले महत्वपूर्ण भएको बताउँदै यसको प्रचार प्रसार र संरक्षणले राज्यलाई धेरै नाफा पुगने बताए । उपत्यकाबाट सबैभन्दा नजिकको पर्यटकिय स्थल पाँचपोखरी र हेलम्बु भएको बताउँदै उनले यसको प्रवद्र्धनका लागि प्रदेश सरकारबाट हुन सक्ने सहयोग गर्न तयार रहेको बताए । यस्तै पूर्व कानुनमन्त्री तथा प्रतिनिधी सभा सदस्य शेर बहादुर तामाङले यस कार्यक्रमले पर्यटक बढाउन र मुलुकको सम्बृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै पाँचपोखरी साँच्चीकै स्वर्गिय ठाउँ भएको उल्लेख गरे । तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन २०१९ को प्रतियोगितामा १ सय ५५ जनाले भागलिन सक्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगितामा प्रथम धावकलाई पचास हजार, दोस्रोलाई तीस हजार, तेस्रोलाई बीस हजार, चौथोलाई दश हजार र पाँचौ हुने धावकलाई पाँच हजार पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिता पाँचपोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २१ किमीको रहेको जनाएको छ । प्रतियोगितामा विभिन्न संघ सस्थाले सहकार्यको भूमिका खेल्ने भएका छन् ।