४ अर्बको अलैँची निर्यात, भारत जान्छ ९५ प्रतिशतभन्दा बढी
भद्रपुर । नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा रु चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट रु चार अर्ब बराबरको विदेशी मुद्रा आएको महासङ्घका अध्यक्ष राजु कार्कीले जानकारी दिए । अधिकांश अलैँची नेपालको पूर्वी पहाडमा उत्पादन हुन्छ र काँकडभिट्टा, विराटनगरलगायत देशभरका नाकाबाट भारत तथा तेस्रोमुलु्क निर्यात हुने गरेको छ । प्रति मन (४० केजी)को हाल बजार मूल्य रु २८ हजार रहेको महासङ्घका महासचिव सुभाष भट्टराई बताउँछन् । केही वर्षयता अलैँचीको भाउमा लगातार गिरावट आइरहेको छ । ९५ प्रतिशतभन्दा बढी नेपाली अलैँची भारत निर्यात हुने गरेको र भारतले अन्य कृषि वस्तुमा ‘जीएसटी’ छुट गरे तापनि नेपाली अलैँचीमा कर असुल्ने कार्य गरिरहेको महासचिव भट्टराईले बताए ।
१ किलो सुनसहित पेम्बा ढुण्डुप तामाङ पक्राउ
काठमाडौँ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले १ किलो सुन सहित १ जनालाई पक्राउ गरेको छ । रसुवाबाट काठमाडौँ आउँदै गरेको बा ९० प २७३६ नं को एनएक्स मोटरसाइकल जाँच गर्दा सुनसहित रसुवा गोसाइँकुण्ड–५ का पेम्बा ढुण्डुप तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले तामाङलाई पक्राउ गरिएको जानकारी दिए । “नक्कली वा सक्कली सुन हो भन्नेबारेमा परीक्षणबाट मात्र थाहा हुन्छ”, उनले भने । सुन केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको प्रारम्भिक अनुसन्धानले बताए पनि तामाङसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२ सय विधार्थीलाई देवः विकास बैंकले बाँड्यो स्कूल ब्याग
काठमाडौँ । देवः विकास बैक लि.ले बाँके जिल्लाको खजुरा गाउँपालिका, धिया स्थित पशुपति माध्यामिक विद्यालय तथा चमकदरपुर स्थित मदरसा नुरगाजि रजाउलुलुममा अध्ययनरत विभिन्न समुदायका २०० जना विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको छ । स्थानीय वडाका जनप्रतिनिधिहरु, स्थानीय संघसंस्थाका प्रतिनिधि, अविभावक, विद्यालयका कर्मचारीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशाराम थारु तथा बैंकका खजुरा शाखाका शाखा प्रबन्धक मुकेशराज जोशीले व्याग वितरण गरेका हुन् । यो सहयोगबाट उक्त विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक सामाग्री सुरक्षित भई अध्ययनमा सहज हुने एवम् सवल नागरिक निर्माणमा सहयोग पुग्नेमा बैंकले जनाएको छ ।
राजश्व अनुसन्धान विभागले काठमाडौँ भ्यूटावरका सञ्चालकसहित ४ जना बिरुद्ध दर्ता गर्यो मुद्दा
काठमाडौँ । राजश्व अनुसन्धान विभागले बुधबार हुन्डी कारोबार गरेको अभियोगमा चार जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले ४ करोड ६० लाख ४२ हजार ८ सय रुपैयाँ विगो दावी गर्दै मुद्दा दर्ता गरेको हो । विगोको तीन गुणा सजाय र तीन बर्ष कैदको माग गरिएको छ । निशा गुरुङ र काठमाडौं भ्युटावर निर्माण गर्ने जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवालसमेत चार जना बिरुद्ध मुद्दा दर्ता गरेको विभागले जनाएको छ । विभागद्वारा प्रकाशित विज्ञप्तीमा गुरुङले सिङ्गापुरका आफन्त तथा साथीभाइसँग भ्युटावर निर्माण गर्न भनेर पैसा उठाएको उल्लेख छ । ‘गुरुङले बैंकिङ प्रणालीभन्दा बाहिरबाट पैसा राजकुमार बिष्ट र उनका भाइ शिव बिष्टको सहयोगमा भ्युटावरका सञ्चालक भेटवालसँग मिलेर अन्य ब्यक्तिलाई वितरण गरेको भेटिएको छ’–विभागले जनाएको छ ।
जापान एयरलाइन्सको नाफा ३२ प्रतिशत घट्यो, अमेरिका-चीनबीचको व्यापार युद्धको असर
टोकियो । जापानको राष्ट्रिय ध्वजाबाहक जापान एयरलाइन्सको पहिलो त्रैमासिकको खूद नाफा करिब ३२ प्रतिशतले घटेको छ । इन्धनको मूल्य वृद्धि र अमेरिका-चीनबीचको व्यापार युद्धपछि कार्गो ढुवानीमा आएको मन्दीका कारण नाफा घटेको जापान एयरलाइन्सले जनाएको छ । अप्रिल-जुन महिनाको अवधिमा जापान एयरलाइन्सको नाफामा कमी आई १२ अर्ब येन (जापानी मुद्रा) भएको छ । अघिल्लो वर्ष करिब १८ अर्ब खूद नाफा थियो । तर बिक्रीमा भने ४ प्रतिशत सुधार आएर तीन खर्ब ५५ अर्ब येन भएको छ । अमेरिका र इरानबीचको बढ्दो तनाबले इन्धनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ, एयरलाइन्सले जारी गरेको विवरणमा उल्लेख छ । विज्ञप्तिमा कम्पनीको नाफा निरन्तर खस्किएको र तत्काल सुधार हुने सम्भावना कमै रहेको जनाइएको छ । अन्तर्राष्ट्रिय कार्गो व्यवसायको आयमा पनि ३।३ प्रतिशतले कमी आएको छ । खासगरी अमेरिका–चीन बीचको व्यापार अवरोधले कार्गो व्यवसायमा अन्यौल बढेको हो । रासस÷एएफपी
उपभोक्तालाई ठग्ने १६१ व्यावसायिक फर्ममाथि कारवाही, ४३ लाख जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७५/०७६ मा उपभोक्तामाथि ठगी गर्ने १६१ व्यावसायिक फर्ममाथि कारवाही गरेको छ । उपभोक्ता अधिकार उल्लङ्घन गर्ने ती व्यवसायीमाथि कारवाही गरी विभागले रु ४३ लाख २१ हजार जरिवाना गरेको छ । विभागले आर्थिक वर्ष २०७५/०७६ मा एक हजार ६६१ व्यावसायिक फर्मको अनुगमन गरेको थियो । सरकारले गत असोज महीनामा उपभोक्ता संरक्षण ऐन जारी गरेपछि विभागले अनुगमनलाई कडाइ गरेको थियो । विभागले खाद्यान्न, लत्ताकपडा, पेट्रोलपम्पलगायत उपभोक्ताको दैनिक जनजीवनमा प्रभावित हुने क्षेत्रको अनुगमनलाई तीव्रता दिएको थियो । उपभोक्तामैत्री ऐन जारी भएसँगै बजारलाई व्यवस्थित, मर्यादित र सन्तुलित बनाउन अनुगमनलाई तीव्रता दिइएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । विभागले सो आवमा ५२ हजार ३३१ वटा आयत इजाजत जारी गरेको छ । आयात इजाजतबाट मात्रै रु छ करोड ८० लाख ४७ हजार २४८ राजस्व उठाएको थियो । त्यसैगरी सो अवधिमा ६६ हजार ६५८ वटा फर्मको दर्ता, नवीकरण गरिएको विभागले जनाएको छ । फर्म दर्ता तथा नवीकरणबाट रु ४२ करोड ७८ लाख ११ हजार १४५ राजस्व असुल भएको छ । पछिल्ला समय विभागले सुशासन र सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन सुधारात्मक कार्यक्रम सञ्चालन गरेको छ । महानिर्देशक गौचनले सेवाग्राहीलाई सहजै सेवा प्रवाह गर्ने गरी सुधारको थालनी गरिएको बताए । विभागले अहिले एसएमएसमार्फत सम्बन्धित फर्म सञ्चालकलाई फर्म दर्ता सम्पन्न भएको सम्बन्धी जानकारी दिने व्यवस्था मिलाएको छ । सेवाग्रहीले कुनै झन्झट व्यहोर्नु नपरोस् र अनावश्यकरुपमा लाइनमा बस्नु नपरोस् भनेर ‘स्मार्ट क्यू सिस्टम’ लागू गरिएको उनले बताए । त्यसैगरी बजार अनुगमनको विस्तृत विवरण राख्नका लागि बेग्लै सफ्टवेयरको निर्माण गरिएको विभागका महानिर्देशक गौचनले जानकारी दिए । उपभोक्ता अधिकार संरक्षण गर्न क्रियाशील विभाग कर्मचारी अभावको समस्याबाट गुज्रिएको छ । उनले स्वीकृत दरबन्दी अनुसारको सङ्ख्यामा कर्मचारी पदपूर्ति नहुँदा विभागले सहजै सेवा प्रवाह गर्न नसकेको बताए । त्यसैगरी अन्य सरकारी निकायबाट पनि अपेक्षित सहयोग नमिलेको उनको भनाइ छ । उपभोक्ता संरक्षण नियमावली जारी नहुँदा उपत्यका बाहिर बजार अनुगमनलाई विस्तार गर्न नसकेको महानिर्देशक गौचनले बताए । रासस
सिभिल बैंकबाट मेलम्ची नगरपालिकाका कृषकले सहुलियतपूर्ण कर्जा पाउने
काठमाडौँ । सिभिल बैंक लिमिटेड, आइडिया स्टुडियो नेपाल र मेलम्ची नगरपालिकाबीच सम्झौता भएको छ । आइडिया स्टुडियो नेपालको सहकार्यमा मेलम्ची नगरपालिकाभित्र रहेका घरेलु कृषि क्षेत्रलाई आधुनिकीकरण गरी उत्पादित बस्तुको बजार प्रबद्र्घन गर्दै व्यबसायिक कृषी कर्जा लगानी गर्ने बिषयमा त्रिपक्षिय सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, आइडिया स्टुडियो नेपालका अध्यक्ष डा. छिरिङ्ग लामा र मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार आइडिया स्टुडियो नेपालले मेलम्ची नगरपालिकासँग सहकार्य गरी त्यहाँका स्थानीय कृषकहरुलाई प्राविधिक तालिम प्रदान गर्ने छ । उक्त तालिम प्राप्त कृषकहरुलाई मेलम्ची नगरपालिकाको सिफरिसमा सिभिल बैंक लिमिटेडले सहुलियतपूर्ण कृषि कर्जा प्रदान गर्नेछ । उक्त अवसरमा बोल्दै सिभिल बैंकका प्रमुखकार्यकारी अधिकृत गुरुङले यो सम्झौतालाई नमूना योजनाको रुपमा लिंदै यसलाई आगामी दिनमा देशका अन्य ग्रामीण क्षेत्रमा बिस्तार गर्दै लैजाने बताए ।
एनआईसी एशिया बैंक र ‘सेल पे’बीच सम्झौता
काठमाडौँ । एनआईसी एशिया बैंकले डिजिटल फाइनान्सियल पार्टनरहरुसँगको सहकार्यलाई अघि बढाउँदै ‘सेल पे’ सर्भिसमा ग्राहकहरुले पूर्णरुपमा सुविधा उपभोग गर्न पाउने गरी सम्झौता गरेको छ । सेल पे इलेक्ट्रोनिक पेमेन्ट गेटवे हो, जहाँ मोबाइल र वेभ एप्लिकेसनको माध्यमबाट बैंकका ग्राहकहरुले आफ्नो खाता प्रयोग गरी विभिन्न कम्पनीहरुका बिलहरु जस्तै बिजुली, खानेपानी, इन्टरनेट, टिभी साथै स्कुल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, अन्तरबैंक फण्ड ट्रान्सफर आदिको सुविधा प्राप्त गर्न सक्ने छन् । सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सेल पेको तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । यस सम्झौतासँगै सेल पे मा ग्राहकहरुले एनआईसी बैंक एकाउन्ट लिंक गरेमा वेलकम बोनसको रुपमा रु १००÷– बराबरको मोबाइल टपअप प्राप्त गर्न सक्ने छन् । लिंक गरेको खाताबाट भुक्तानी गर्दा कुनै शुल्क लाग्दैन ।