विकासन्युज

मापसे कारबाहीमा परेका ४३९ चालकको लाइसेन्स निलम्बन

काठमाडौं । यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो । विसं २०६८ मङ्सिर १७ देखि महाशाखाले मापसे जाँचलाई कडाइ गर्दै आएको छ । हालसम्म उपत्यकामा मापसे सेवन गरेर सवारी साधन चलाउने एक लाख ९० हजार ६९० चालकलाई कारवाही गरेको छ । महाशाखाले २०६८ सालदेखि मापसे जाँच गरे पनि लाइसेन्समा प्वाल पार्ने काम भने २०६९ मङ्सिरदेखि गर्दै आएको हो । पहिलोपटक मापसे सेवन गर्ने एक लाख ४९ हजार २१६, दोस्रोपटक २७ हजार ४७७, तेस्रोपटक नौ हजार ९९, चौथोपटक तीन हजार २८४ र पाँचौँ पटक एक हजार १७५ चालकलाई कारवाही गरिएको थियो । यसरी, महाशाखाले मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्दै आएको छ ।महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पछिल्लो समय उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको सङ्ख्यामा कमी आएको बताएका छन् । “ पछिल्ला वर्षमा मापसे कारवाहीमा पर्नेको सङ्ख्यामा कमी आएको छ”, उनले भने । महाशाखाका अनुसार आव २०७४/०७५ मा २२ हजार २२६ चालक मापसेमा कारवाही परेकामा आव २०७५/०७६ मा २१ हजार ९७३ चालक कारवाहीमा परेका थिए । महाशाखाले मापसे कारवाहीमा परेका चालकसँग रु एक हजार जरिवाना लिनाका साथै उनीहरूका लागि कक्षा सञ्चालन गर्दै आएको छ । उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाएपछि दुर्घटना हुने र धेरै मानिसको मृत्यु हुने गरेपछि ट्राफिक महाशाखाले २०६९ देखि मापसे जाँच तथा कारवाही गर्दै आएको हो । रासस

बर्षा शुरु भएसँगै घरवासमा पर्यटक ह्वात्तै घटे, व्यवसायी चिन्तित

लमजुङ । पर्यटकको ‘हब’ जिल्ला बन्दै गरेको लमजुङमा सञ्चालित विभिन्न घरवास (होमस्टे) मा पर्यटक ह्वात्तै घट्दै गएको छ । वर्षायाममा बाटो अवरुद्व, यात्रामा कठिन, दृश्य राम्रो नदेखिने लगायतका कारण असार महिना लागेदेखि यता यहाँका घरवासमा पर्यटकको सङ्ख्यामा कमी आएपछि पर्यटन व्यवसायी चिन्तित बनेका छन् । नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ बन्दै गरेको दक्षिण एशियाकै नमूना ग्रामीण पर्यटकीय क्ब्होलासोथर गाउँपालिका–३ मा अवस्थित घलेगाउँ घरवासमा दैनिक ३०० भन्दा बढी पर्यटक आउने गर्दथे । बर्खायाम शुरु भएसँगै पर्यटकको सङ्ख्यामा निकै कमी आएको घलेगाउँ घरवासका व्यवस्थापक समितिका सचिव उमलबहादुर विकले बताएका छन् । असारको मसान्तसम्म दैनिक १०/१२ जना पर्यटक आए पनि साउनदेखि त मुस्किलले एक/दुई जना मात्रै आएको उनले बताए । समितिका अनुसार घरवासमा पर्यटक नअट्ने गरी आउने घलेगाउँ घरवासमा बर्खायाममा भने पर्यटकहरु निकै न्यून भएपछि घरवास सञ्चालकहरु फुर्सदमा छन् । घरवास कार्यक्रममै फुर्सद नहुने घलेगाउँ घरवासका सञ्चालक यतिबेला पर्यटक नआएपछि धानको बीउ रोपिसकेर बारीमा तरकारी तथा फलफूल लगाउने लगायतका काममा व्यस्त भएका छन् । शहरदेखि घरवाससम्म आउने सडक गुणस्तरीय नहुँदा, बर्खायाममा बढी वर्षा हुने, यात्रा कठिन हुने साथै विभिन्न समस्या पर्यटकलाई हुने भएकाले पर्यटकहरु बर्खा लागेसँगै घट्दै गएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तथा क्ब्होलासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए । यहाँका घरवासमा अब आगामी असोज महिनाबाट मात्रै पर्यटकको आगमन हुन थाल्ने उनको भनाइ छ । नेपालकै दोस्रो तथा जिल्लाकै पहिलो घलेगाउँ घरवास कार्यक्रम (घरवास) विसं २०५७ बाट शुरु भयो । समुद्री सतहबाट दुई हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण आदिवासी जनजातिमध्ये तमु (गुरुङ)हरुको उद्गमस्थल तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ हो घलेगाउँ । यहाँ ३२ दलित र ९३ घर गुरुङको गरी १२५ घरधुरीका स्थानीयको बसोबास रहेको घले (गुरुङ) दलित समुदायले घरवास सञ्चालनमा ल्याएका छन् । दुई घरवास दलितको र ३२ गुरुङ समुदायले सञ्चालन गरेको गरी ३४ घरवास रहेको छ । लमजुङ दरबार नजिकै रहेको बेँसीशहर नगरपालिका–३ काउलेपानी घरवासमा समेत पर्यटक आगमनमा निकै कम भएको छ । दैनिक १०० देखि ३०० सम्म पर्यटक आउने गरेता पनि वर्षायामसँगै कमी आएको ग्रामीण काउलेपानी घरवास व्यवस्थापन समितिले जनाएको छ । यतिबेला कहिलेकाहीँ चार÷पाँच जना पर्यटक आउने गरेको उक्त समितिका अध्यक्ष देवबहादुर गुरुङले बताएका छन् । उहाँ भन्नुहुन्छ, “वर्षायाममा काउलेपानीसम्म आउने बाटो व्यवस्थित हुन नसक्दा पर्यटकको सङ्ख्या घट्नु मुख्य कारण भएको हो । नेवार, गुरुङ, भुजेललगायत विभिन्न समुदायको बसोबास रहेको काउलेपानीमा २५ घरधुरी रहेको छ । सो घरधुरीमध्ये १५ घरमा घरवास सञ्चालन गरिएको छ । समुद्री सतहबाट एक हजार ६०० मिटर उचाइमा रहेको काउलेपानी सन् २०११ बाट घरवास शुरु भएको हो । उक्त काउलेपानी घरवासलाई सन् २०१४ मा सरकारले नेपालकै उत्कृष्ट घरवास घोषणा गरेको थियो । पर्यटन मन्त्रालयले काउलेपानी घरवासलाई सन् २०१६ मा नेपालको उत्कृष्ट घरवासमध्ये एक उत्कृष्ट काउलेपानी घरवासको रुपमा छनोट गरेको थियो । सन् २०१६ मै काउलेपानीलाई खाद्य तथा गुण नियन्त्रण विभागले स्वच्छ र अग्र्यानिक भएको भन्दै नगद रु १० हजारसहित पुरस्कार प्रदान गरेको थियो । सोही वर्ष नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या वातावरण मन्त्रालयले काउलेपानीको अध्ययन गरी नेपालकै पहिलो वातावरणमैत्री घरवास घोषणासमेत गरिसकेको छ । यहाँबाट शाहवंशले राज गरेको लमजुङ दरबार, विभिन्न हिमाललगायतका रमणीय स्थलहरु देख्न सकिन्छ । त्यस्तै, सुन्दरबजार नगरपालिका–११ स्थित तुर्लुङकोट घरवासमा असार लागेसँगै हालसम्म एक जना पनि पर्यटक नआएको घरवास सञ्चालक सिजन दुरा बताउँछन् । जिल्लामा राइनास घरवास, सिउरुङ घरवास, नरुवाल मगरगाउँ घरवास, भुस्मे तामाङ घरवासलगायत दर्जनौं घरवास सञ्चालित छन् । बर्खायाम शुरु भएदेखि नै घरवास एवं घरवासमा आउने बाह्य तथा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै घटेपछि पर्यटनलाई आर्थिक उपार्जनको माध्यम बनाएका परिवारलाई भने समस्या भएको छ । वर्षायामका तीन महिना पर्यटकको गतिविधि शून्यप्रायः रहने भएकाले कतिपयले वैकल्पिक पेशा अङ्गाल्न थालेका छन् । रासस

नयाँ ट्याक्सीमा २० वर्ष पुराना नम्बर, दर्ता नखुल्दा ११ लाखसम्ममा बिक्री

काठमाडौँ । सरकारले गत चैत्रबाट २० वर्षे सवारी साधन विस्थापित गर्ने निर्णयलाई कार्यान्वयनमा ल्यायो । २० वर्षे सवारी साधनहरुलाई खारेज गर्ने निर्णय कार्यान्वयनमा आएपछि ती पुराना सवारी साधनको नम्बर किनबेच फस्टाएको छ । पुराना नम्बर बारेमा भने सरकारले केही निर्णय नगर्दा किनबेचमा कालोबजारी भएको छ । बिचौलियाहरुले फाइदा लिइरहेका छन् । काठमाडौँ उपत्यकामा २० वर्षे सवारी साधनहरु हट्दै गएपनि २० वर्ष पुराना ट्याक्सीहरुका नम्बर खरिद बिक्रीमा भने कालोबजारी र सिण्डिकेट मौलाएको छ । सरकारले स्पष्ट मापदण्ड नल्याउँदा, नयाँ ट्याक्सी दर्ता नखोलिदिँदा र उचित नियमन नगरिँदा बिचौलियाहरुले अबैध धन्दा गरिरहेका छन् । २० वर्ष नाघेका ट्याक्सीको नम्बर प्लेटको १०-११ लाख रुपैयाँमा खरिद विक्री हुने गरेको पाइएको छ । सरकारले ट्याक्सीको संख्या उल्लेख्य रहेको भन्दै नयाँ ट्याक्सी दर्ता गर्ने काम रोकेको छ, तर ट्याक्सी चलाउन इच्छुकहरुले भने १०÷११ लाख रुपैयाँको पुरानो नम्बर प्लेट खरिद गरेर नयाँ ट्याक्सी चलाइरहेका छन् । सार्वजनिक सवारी साधन सुधार अभियन्ता रामबहादुर थापाले ट्याक्सीमा कालो बजारी र सिण्डिकेट मौलाएको गुनासो गरे । ‘पुराना नम्बर प्लेटलाई नयाँ सवारी साधनमा दर्ता गराउनु सरकारको गल्ति हो’ उनले भने–‘सरकारले नयाँ ट्याक्सी दर्ता खोल्यो भने व्यक्तिले २०÷२१ लाखमा नयाँ ट्याक्सी किनेर व्यवसाय गर्न पाउँछ, उसले त्यहि अनुसारको भाडा निर्धारण गर्छ, राज्यको राजश्व पनि थपिन्छ, मान्छेले रोजगारी पनि पाउँछ ।’ ‘अहिले सरकारले नयाँ ट्याक्सी दर्ता नखोलिदिँदा उनीहरुले नम्बर प्लेट किनेकोसहित जोडेर भाडा निर्धारण गरेको हुन्छ, त्यो महँगो भाडाले जनता मारमा पर्छन’-उनले भने । नेपाल मिटर ट्याक्सी सेवा प्रालिका अध्यक्ष हरिकृष्ण बस्नेतले राज्यले मनपरि ढंगले जे मन लाग्यो त्यही गरेको गुनासो गरे । उनले ट्याक्सीको संख्या बढी भएकोलेपनि नयाँ दर्ता नखोलेको हुन सक्ने प्रतिक्रिया दिए । यस्तै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य तेजप्रसाद गौतम पनि उपत्यकामा उल्लेख्य मात्रामा ट्याक्सीहरु भएको र त्यसको पनि व्यवस्थापन हुन नसकेको बताउँछन् । उनले सरकारको २० वर्षे गाडीलाई विस्थापन गर्ने नीलिाई साथ दिन पुराना गाडी विस्थापन र सोको सट्टामा नयाँ गाडी ल्याइराखेका बताए । यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने पुराना ट्याक्सीको नम्बर प्लेट नयाँ ट्याक्सीमा राख्ने काम उचित नरहेको बताए । विभागले अनलिमिटेड ट्याक्सी दर्ता गराउनु पर्छ, ट्याक्सीमा कोटा सिस्टम लगाउनु हुँदैन भन्ने लगायतका मापदण्डहरुको पक्षमा आफु रहेपनि त्यसको सुनुवाई भने मन्त्रालयबाट हुन नसकेको बताए । नेपाल सरकारले २०५७ सालमा बाग्मती अञ्चलमा ट्याक्सी दर्ता बन्द गरेको थियो । त्यतिखेर ट्याक्सीको संख्या ७ हजार ५ सय रहेको थियो । त्यो संख्या घटेर अहिले ५ हजार ६ सय ५० रहेको छ । त्यसपछि पुनः सरकारले विसं. २०७२ सालमा ३३ सय ५० नयाँ ट्याक्सी दर्ता खोल्यो ।

तीन वडा कार्यालय भवनको निर्माण सम्पन्न, प्रतिभवन रु ८० लाख खर्च

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा तीन वडा कार्यालय भवन निर्माण गरिएका छन् । भवन निर्माणका लागि प्रतिभवन रु ८० लाख खर्च गरिएको छ । वडा नं ७, ८ र १२ मा वडा कार्यालयका पक्की सुविधासम्पन्न भवन निर्माणको कार्य पूरा भई कार्यालय सञ्चालन भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले बताएका छन् । यसरी, निर्माण भएका भवनमा बैठक कक्ष, तीन कार्यालय कक्ष, शौचालय र ‘वासरुम’सहितको व्यवस्था गरिएको छ । वडा नं १, ५ र ११ का कार्यालय भवन निर्माणाधीन अवस्थामा छन् । निर्माणाधीन भवनसमेत रु ८० लाखका दरले निर्माण भइरहेको अधिकृत थापाले बताए । चालू आवमा दुई वडा कार्यालयका भवन निर्माणका लागि रु एक करोड ६० लाख रकम नगरपालिकाको नगर परिषद्ले स्वीकृत गरेको छ । सर्वसाधारणलाई घरदैलोमै सेवा पुर्याउन वडा कार्यालय भवन निर्माण गरिएको अधिकृत थापाको भनाइ छ । भवन निर्माण नभएका वडा नं २, ३, ६ र ९ का कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएका छन् । वडा नं ४ र १० का कार्यालय नगरपालिकाका पुराना भवनमा सञ्चालन भइरहेका छन् । रासस

पोखरामा महालक्ष्मी लाइफको शाखा सम्मेलन, ‘प्रथम बीमा शुल्कको अर्ब क्लबमा पुग्ने लक्ष्य’

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रथम वार्षिक शाखा सम्मेलन साउन १२ र १३ गते पोखरामा सम्पन्न गरेको छ । स्ट्राट्रेजिक बिजनेश मिट २०१९ नाम दिइएको सम्मेलनको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) रमेशकुमार भट्टराईले गरेका थिए । सम्मेलनमा नायव प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख र देशभर रहेका ४७ वटा शाखाका प्रमुखहरू समेत ६५ जनाको सहभागिता रहेको थियो । लर्न, पर्फम, लिड नारा सहित २ दिन सञ्चालित उक्त सम्मेलनको पहिलो दिन आव २०७६/७७ को लक्ष्य, रणनीति र कार्यक्रम बारेमा बृहत छलफल भएको थियो । दोस्रो दिन सम्पस्र्ण शाखा र उपशाखा प्रमुखलाई लेखा, अण्डरराइटिङ, एजेन्सी लगायत विविध विषयमा प्रधान कार्यालयका अधिकृतहरूबाट तालिम दिइएको थियो । कार्यक्रमको अन्तमा संचालक सुरेश सापकोटाबाट लक्ष्य पूरा गर्नेलाई नगद पुरस्कार र विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सम्मान गरिएको थियो । २०७५ माघ २७ बाट कम्पनी संचालन भएता पनि विभिन्न तयारीको कारण ४ महिनाको छोटो समयावधिमा महालक्ष्मी लाइफले ५० जिल्ला भन्दा बढीमा तालिम तथा जनचेतना कार्यक्रम संचालन गरेको, ४७ वटा कार्यालय खोलेको, ५ वटा प्रोडक्ट प्रचलनमा ल्याएको तथा २५ करोड प्रिमियम संकलन गर्न सफल भएको जनाएको छ । कम्पनीले चालु आवमा थप ५० वटा शाखा र उपशाखा स्वीकृती लिई १०० भन्दा बढी कार्यालय संचालनमा ल्याउने तथा प्रथम बीमा शुल्कको अर्ब क्लबमा पुग्ने लक्ष्य लिएको सिईओ भट्टराईले बताए ।

बाँकेकाे निर्माणाधीन कारागारको भवन अलपत्र, कन्स्ट्रक्सनबाट पेश्की रकम फिर्ता

धम्बोझी । बाँकेको निर्माणाधीन कारागारको काम सन्तोषजनक नभएको र तोकिएको समयमै काम गर्न नसक्ने देखिएपछि निर्माण कम्पनी पप्पु–रसुवा कन्स्ट्रक्सनबाट पेश्की रकम फिर्ता लिइएको छ । बाँकेकाे  बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अहिले अलपत्र परेको छ । पेश्की रकम फिर्ता लिएसँगै ठेक्का सम्झौता तोड्ने प्रक्रिया शुरु भएपछि क्षेत्रीय कारागारको निर्माण अन्योल बनेको हो । तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएकामा सम्झौता अवधि पूरा हुन लाग्दासमेत पाँच प्रतिशत मात्र निर्माणकार्य गरेर अलपत्र पारेपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना एकाइ कार्यालय नेपालगञ्जका इञ्जीनियर होमनाथ भुसालले बताए । तीन हजार कैदीबन्दी अट्ने क्षमताको निर्माणाधीन कारागारको विसं २०७३ कात्तिक ८ गते रु ३८ करोड ६८ लाख ७९ हजार २८१ मा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनी पप्पु–रसुवा कन्स्ट्रक्सनको पेश्की रकम फिर्ता लिए पनि ठेक्का सम्झौता भने तोडिएको छैन । “नयाँ आयोजना सम्पन्न गर्न सरकारले एक वर्ष थपको नीति ल्याएपछि निर्माण कम्पनीलाई १५ दिने सूचना प्रकाशित गरिसकेका छौँ ।” भुुसालले भने, “शुरुमा पप्पु र रसुवाले संयुक्तरूपमा शुरुआत गरे । अहिले रसुवाले एक्लै काम शुरुआत गर्न लिखितपत्र दिएको छ । ” तर पप्पुले काम गर्न नदिएको भुसालले बताएका छन् । भुसालका अनुसार उनीहरूबाट लिखित प्रतिबद्धता भयो भने काम शुरु गर्न पाउनेछन् । रासस धम्बेझी । बाँकेको निर्माणाधीन कारागारको काम सन्तोषजनक नभएको र तोकिएको समयमै काम गर्न नसक्ने देखिएपछि निर्माण कम्पनी पप्पु–रसुवा कन्स्ट्रक्सनबाट पेश्की रकम फिर्ता लिइएको छ । बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अहिले अलपत्र परेको छ । पेश्की रकम फिर्ता लिएसँगै ठेक्का सम्झौता तोड्ने प्रक्रिया शुरु भएपछि क्षेत्रीय कारागारको निर्माण अन्योल बनेको हो । तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएकामा सम्झौता अवधि पूरा हुन लाग्दासमेत पाँच प्रतिशत मात्र निर्माणकार्य गरेर अलपत्र पारेपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना एकाइ कार्यालय नेपालगञ्जका इञ्जीनियर होमनाथ भुसालले बताए । तीन हजार कैदीबन्दी अट्ने क्षमताको निर्माणाधीन कारागारको विसं २०७३ कात्तिक ८ गते रु ३८ करोड ६८ लाख ७९ हजार २८१ मा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनी पप्पु–रसुवा कन्स्ट्रक्सनको पेश्की रकम फिर्ता लिए पनि ठेक्का सम्झौता भने तोडिएको छैन । “नयाँ आयोजना सम्पन्न गर्न सरकारले एक वर्ष थपको नीति ल्याएपछि निर्माण कम्पनीलाई १५ दिने सूचना प्रकाशित गरिसकेका छौँ ।” भुुसालले भने, “शुरुमा पप्पु र रसुवाले संयुक्तरूपमा शुरुआत गरे । अहिले रसुवाले एक्लै काम शुरुआत गर्न लिखितपत्र दिएको छ । ” तर पप्पुले काम गर्न नदिएको भुसालले बताएका छन् । भुसालका अनुसार उनीहरूबाट लिखित प्रतिबद्धता भयो भने काम शुरु गर्न पाउनेछन् । रासस

विप्लवका कार्यकर्ताद्वारा दुई गाडीमा आगजनी

हेटौंडा । विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् । विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको हाे । उक्त घटनाकाे जानकारी  प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले  दिएका हुन् । कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उनले बताए । यसैगरी, हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । हेटौँडाको थानाभन्ज्याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ । रासस

वडा कार्यालयमा आगजनी, अध्यक्षको घरमा ढुङ्गामुढा

रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को कार्यालयमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट कार्यालयका सम्पूर्ण कागजात जलेर खरानी भएको छ । वडा अध्यक्ष रवि देवकोटाको घरमा समेत अज्ञात समूहले ढुंगामुढा गरेको छ । ढुंगामुढाबाट देवकोटाको घरको झ्यालका सिसा फुटेका छन् । वडा कार्यालय छेउमा रहेको चौतारामा बम समेत राखिएको थियो । नेपाली सेनाले डिस्पोज गरेको त्रसित स्थानीय बासिन्दाले बताए । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी कवित कटवालले घटनाको विषयमा गहन रुपमा अनुसन्धान भैरहेको र आगजनी गर्नेको खोजी कार्य समेत भइरहेको बताए । प्रतिबन्धित नेकपा(विप्लव समूह)ले आज बागमती सहितका क्षेत्रमा बन्दको आह्वान गरेको छ । बन्दको पूर्व सन्ध्यामा विप्लव समूहले नै यो सबै गरेको हुन सक्ने प्रहरीको भनार्इ रहेको छ । दुई वटा गाडीमा आगजनी यता, विप्लव नेतृत्वको समूहले मंगलबार राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् । विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उनले बताए । यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । हेटौँडाको थानाभ¥याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ ।