विकासन्युज

अमेरिकाले गर्याे डाइभर्सिटी र गैरआप्रवासी भिसा अप्वइन्टमेन्ट रद्द

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा र गैर आप्रवासी भिसा अप्वइन्टमेन्ट रद्द गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएसँगै दूतावासले मंगलबारबाट भिसा रद्द गर्ने निर्णय गरेको हो । दूतावासका अनुसार यस अघि बुझाएको एमआरभी शुल्क मान्यता रहेको भन्दै एक वर्षभित्र जहाँ खरिद गरिएको हो, सोही मुलुकको भिसा आवेदनका लागि प्रयोग हुने जानकारी दिए । आगामी दिनमा केहि समस्या पर्दा तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालिन अप्वइन्टमेन्ट लागि प्रक्रिया अघि बढाउन दूतावासले जनाएको छ ।

सतुंगलबाट ८ लाख ४९ हजार माक्ससहित दुई व्यापारी पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई पक्राउ गरेको छ । सोमबार बिहान महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीको टोलीले आरडी सप्लायर्सका सञ्चालक सुरज गोयल र उनका साझेदार सुवास महेश्वरीलाई पक्राउ गरेको हो । गोयलले आफ्नो गोदाममा लुकाएर राखेको ठूलो परिमाणको मास्क बरामद गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । गोयल र महेश्वरीविरुद्ध कालोबजारी विरुद्धको ऐन २०३२ अनुसार अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पछिल्लो समय कालोबजारी गर्ने व्यापारी पक्राउ परेका छन् । विश्वव्यापी रुपमा कोरोना कोभिड–१९० भाइरसको संक्रमण फैलिइरहेका बेला सहयोग र सद्भाव दर्शाउनुको सट्टा बजारमा कालोबजारी फैलाउनेविरुद्ध सरकार कडा रुपमा उत्रिन थालेको छ । कोरोना भाइरसको त्रासका बेला मौका छोपेर व्यवसायमा कालोबजारी नगर्न गरिएको पटक–पटकको आग्रहलाई व्यापारीहरुले बेवास्ता गर्दै कालोबजारीलाई निरन्तरता दिइरहेको पाइएपछि सरकार कडा रुपमा उत्रिएको हो ।  

रुकुमपूर्वमा लघुजल विद्युत् गृहकाे भएन मर्मत

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका– ८ मा रहेको जमाखोला लघुजल विद्युत् गृह एक वर्षदेखि मर्मत भएको छैन । गत वर्ष असोज ३० गते आएको पहिरोले सो गृहलाई क्षति पुर्याएको थियो । क्षति भएको लामो समयसम्म मर्मत हुन नसकेको उपभोक्ताले गुनासो गरेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु दुई करोड १३ लाख र स्थानीयको श्रमदान गरी झण्डै रु चार करोडको लगानीमा सो गृहको २०७२ माघ २६ गते निर्माण सम्पन्न भएको थियो । उपभोक्ताले तीन वर्ष मात्र विद्युत् बाल्न पाएका थिए । ९० किलोवाट क्षमता रहेको सो आयोजनाबाट सिस्ने गाउँपालिका वडा नम्बर ७, ८ र रुकुम (पश्चिम) मुसिकोट नगरपालिका–छिङका गरी करिब ९२६ घरधुरी लाभान्वित भएका थिए । ठूलो लगानीमा निर्माण गरिएको विद्युत् आयोजना डेढ वर्षदेखि बन्द हुँदासम्म मर्मततर्फ उपभोक्ता समिति तथा स्थानीय सरकार कसैको ध्यान जान सकेको छैन । अहिले उक्त क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको विद्युत् जडान गरिए पनि धेरै विद्युत् भार कटौती हुने गरेको स्थानीयको गुनासो छ । जामाखोला लघुजल विद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष बिर्खबहादुर बुढाले पर्याप्त बजेटको अभावमा मर्मत गर्न नसकिएको र स्थानीय सरकारका साथै अन्य कुनै निकायले वास्ता नगरेको बताएका छन् । आयोजनामा प्रयोग भएका समान अहिले काम नलाग्ने अवस्थामा पुगेका छन् । सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष खर्कसिंह थापाले मर्मत गर्न बोलपत्र आह्वान भएको जानकारी दिएका छन् । रासस  

गभर्नर नियुक्तिमा कानुन पालना गर्न सकेन सरकारले, शिवाकोटी कामु जिम्मेवारीमा

काठमाडौं । कानुनी व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सरकार असफल भएको छ । राष्ट्र बैंक ऐनअनुसार गभर्नर पद रिक्त हुने एक महिना अगाडि नै गभर्नर नियुक्त गरिसकेर त्यससको सूचना सार्वजनिक गर्नुपर्नेमा सरकारले नियुक्ति प्रक्रिया नै सुरु गरेको छैन । गभर्नर डा. चिरञ्जीबी नेपालको कार्यकाल ५ चैत (आजको २ दिनपछि) देखि सकिदैछ । नयाँ गभर्नर नियुक्तिको लागि गर्नुपर्ने कानुनी र प्रक्रियागत काम सरकारले सुरु गरेकै छैन । नेपाल राष्ट्र बैंक ऐन २०५८ (दोस्रो संशोधन २०७३) मा बहादलवाला गभर्नरको कार्यकाल सकिन १ महिना बाँकी हुदै गभर्नर नियुक्त गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । ‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नर पदमा यस ऐन बमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रुपमा प्रकाशन प्रसारण गर्नेछ,’ ऐनको दफा २५ मा उल्लेख गरिएको छ । गभर्नर नियुक्तिको लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेर गभर्नरको सिफारिस गर्नुपर्ने हुन्छ । समितिमा पूर्वगभर्नरमध्येबाट एक जना र अर्काे एक जना आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट नेपाल सरकारले तोकेको एक जना सदस्य हुने कानुनी व्यवस्था छ । तर, सरकारले समिति गठन नै गरेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताको कारण गत सोमबार मन्त्रिपरिषद बैठक नै बसेन । मन्त्रिपरिषद बैठक नबसेपछि समिति गठन पनि भएन । प्रधानमन्त्री गत शुक्रबार अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । तर, प्रधानमन्त्री डिस्चार्ज भएपनि मन्त्रिपरिषद बैठक बस्न सकेको छैन । सरकारले नयाँ गभर्नर नियुक्त गर्न नसकेपनि ५ चैतदेखि सो पद रिक्त हुँदैछ । गभर्नर पद रिक्त भएपछि सरकारले बरिष्ठ डेपुटी डेपुटी गभर्नरलाई कायममुकायम गभर्नरको जिम्मेवारी दिनुपर्ने कानुनी व्यवस्था छ । अहिले बरिष्ठ डेपुटी गभर्नरको जिम्मेवारीमा चिन्तामणि शिवाकोटी छन् । त्यसैकारण कायममुकायम डेपुटी गभर्नरको जिम्मेवारी शिवाकोटीले पाउने भएका छन् ।

सुन मूल्य बढ्याे, प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा कारोबार

काठमाडौं । सोमबार सुन प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साताको पहिलो दिन ७७ हजार रुपैयाँमा कारोबार भएको सुन सोमबार तोलामा ५ सय रुपैयाँ बढेर ७७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आइतबार ७६ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन सोमबार ७७ हजार २ सय रुपैयाँमा बिक्री भइरहेको छ । भने चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सेन्हाइजर इलेक्ट्रोनिक्सको नयाँ वितरकमा नियोटेरिक नेपाल

काठमाडौं । सेन्हाइजर इलेक्ट्रोनिक्स एशिया पिटिइएलटिडीले आफ्नो उत्पादनको वितरकमा नियोटेरिक नेपाललाई नियुक्त गरेको छ । नेपालमा सेन्हाईजरका वितरण विस्तार गर्नको लागि विशेष वितरकको रुपमा नियोटेरिक नेपाललाई नियुक्त गरिएको हो । नेपालमा आईसिइटी (इन्फरमेशन, कम्यूनिकेसन एण्ड इन्टरटेनमेन्ट टेक्नोलोजि) वितरणमा संलग्न नियोटेरिक नेपालकै एक कम्पनी हो । उपभोक्तादेखि थोक विक्रेतासम्म सम्बन्ध भएको नियोटेरिक सेन्हाइजर एशियाको हेडफोन र होम अडियो स्पिकर विक्री वितरण गर्दै आएको सेन्हाइजरले जानकारी दिएको छ । नियोटेरिकसँगको सहकार्यले सेन्हाइजरको एशियाली क्षेत्रमा व्यापार विस्तार कार्यमा थप सहयोग पुग्ने विश्वास लिइएको छ । सेन्हाईजर हेडफोन, लाउडस्पिकर, माईक्रोफोन र वायरलेस ट्रान्समिशन प्रणालीको निर्माता कम्पनी हो । यस्तै, नियोटेरिक नेपाल भने आइसिइटी (इन्फर्मेसन कम्युनिकेसन एण्ड इन्टरटेनमेन्ट टेक्नोलोजि) मा एउटा महत्वपुर्ण स्थान बनाएको कम्पनी हो ।

सरकारी वकिल कार्यालयको भवन छ महिना अघि नै सम्पन्न

कैलाली । भवन निर्माण तोकिएका समयभन्दा ढिलो गरी सम्पन्न भइरहेको अवस्थामा कैलालीको जिल्ला सरकारी वकिल कार्यालयको भवन छ महिना अघि नै सम्पन्न भएको छ । रोयल प्रशंसा जेभी निर्माण कम्पनीले समयावधिभन्दा अघि भवन निर्माण सम्पन्न गरेको हो । भवन निर्माणको समय २०७७ सालको भदौ ५ गतेसम्म रहेकोमा फागुन मसान्तमै दुई तले नयाँ भवन तयार गरिएको कम्पनीका सञ्चालक दीर्घ जोशीले जानकारी दिए । उनले भने, “निर्माण सामग्री पर्याप्त मात्रामा पाउन मुस्किल हुँदाहुँदै पनि त्यसको व्यवस्थापन गर्दै भवनका निर्माण सम्पन्न गरिएको हो ।” रु चार करोड ४२ लाखमा भवन निर्माणको ठेक्का पाएको सो कम्पनीले २०७५ भदौ ५ गते सम्झौता गर्दै दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । निर्माण कम्पनीले समायावधि सकिनुभन्दा छ महिना पहिले नै भवन निर्माणको काम पूरा गरेको जिल्ला न्यायाधिवक्ता विष्णु पौडेलले बताए । अगामी वैशाखको पहिलो सातादेखि नयाँ भवनबाट सेवा दिने तयारीसमेत गरिएको उनले जानकारी दिए । इञ्जिनीयर मोहन अवस्थीले निर्माणको अवधि बाँकी रहँदा पनि निर्माण कार्य सम्पन्न भइसकेको र छिट्टै भवन हस्तान्तरण गरिने बताएका छन् । रासस

अब शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवे अस्पतालबाट

मुग्लिन । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना–५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले उपलब्ध गराउने भएको छ । सूचना प्रविधिका माध्यमबाट शिक्षण अस्पतालको सेवा गैरमुनाफामुखी च्यारिटी अस्पतालका रुपमा सञ्चालित सो हाइवे अस्पतालले प्रदान गर्ने छ । संस्थानका डीन प्राडा जगदिशप्रसाद अग्रवाल र हाइवे अस्पतालका अध्यक्ष रामबहादुर लामाले आइतबार काठमाडौमा सेवा आदान प्रदान गर्ने सम्बन्धी संम्झौतामा हस्ताक्षर गरे । सम्झौतासँगै अब मुग्लिन हाइवे अस्पतालमा सूचना प्रविधिको मार्फत त्रिवि, शिक्षण अस्पताल तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका विशेषज्ञ चिकित्सकको नियमित सेवा तथा सुविधा उपलब्ध हुने अस्पतालका अध्यक्ष लामाले जानकारी दिएका छन् । यसका साथै नियमित घुम्ती विशेषज्ञ स्वास्थ्य शिविर, शैक्षिक तथा प्राज्ञिक तालीम, टेलिमेडिसिन प्लेटफर्मको अनुसन्धान तथा विकास, उपचाररत बिरामीको नियमित फलोअप र रुटिन चेकअपको सुविधा उपलब्ध गराइने पनि उहाँले बताए । “पहिलो चरणमा बिरामी भर्नाको समेत सुविधा सञ्चालन गर्ने गरी कार्याक्रम लागू गरिनेछ”, अध्यक्ष लामा भने । दुई वर्ष समयावधि रहने सम्झौताको दोस्रो चरणमा शिक्षण अस्पतालको विस्तारित अस्पतालको रुपमा मुग्लिन हाइवे अस्पताललाई विकसित गरिने भएकोे छ । सो अवसरमा त्रिवि, चिकित्साशास्त्र अध्यन संस्थानका सहायक डीन प्राडा राजेन्द्र गुरागाई, त्रिवि, टिचिङ हस्पिटलका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गा, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठकाे सहभागी थियाे । , त्यसैगरी, चिकित्साशास्त्र अध्यन संस्थान सूचना प्रविधि विभागका निर्देशक प्राडा प्रदीप वैद्य, मेडिडिन डिपार्टमेन्टका प्रमुख प्राडा प्रदीप श्रेष्ठको उपस्थिति रहेको थियो । यसैगरी मुग्लिङ हाइवे अस्पताल सञ्चालक कुमार श्रेष्ठ, मुक्ति कुमार श्रेष्ठ, मणिरत्न शाक्य, विष्णु कुँवर, कल्याण गुभाजू, विनोद श्रेष्ठ, राजेन्द्र लामा, सुदीप पाठक, सल्लाहकार कृष्णराज अर्यालको उपस्थिति रहेको थियो । रासस