बीमा समितिका अध्यक्ष चापागाईं भन्छन्ः सरकारी संरचना बीमाको पहुँचमा आएनन्, सिँहदरबारबाटै बीमा गर्न सुुरु गरौं
काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले नेपाल सरकारले सिँहदरबारबाट नै बीमा सुरु गर्न आवश्यक रहेको बताएका छन् । बीमा कम्पनीहरुसँग जति पनि जोखिम बहन गर्ने क्षमता रहेको भन्दै उनले बीमाको पहुँच बढाउन सिँहदरवारबाटै बीमा गर्न आवश्यक रहेको बताएका हुन् । अध्यक्ष चापागाईंले नेपाली बीमा कम्पनीहरुमा राष्ट्रिय गौरवका आयोजनादेखि राजमार्ग सम्मको बीमा गर्ने क्षमता रहेको बताउँदै अब सिँहदरवारको पनि बीमा गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘नेपाल सरकारले बीमाको सुरुवात सिँहदरबारका भवनहरुबाट गर्न जरुरी छ, सरकारले आवश्यक ठाउँमा बीमाको पहल गरेमा बीमा कम्पनीहरु जोखिम बहन गर्न सक्षम छन्,’ उनले भने । सिँहदरबारदेखि राजमार्गका बीमामा सबैभन्दा पहिले बीमाकोलागि माग आउन आवश्यक रहेको बीमा समितिको दाबी छ । हालसम्म कुनै किसीमका माग नआएका कारण सरकारी संरचना बीमाको पहुँचमा नसमेटीएको उनको भनाइ छ । यो समय बीमाको भएकोले यस्तो बेलामा गरिएका परिवर्तनले इतिहास रच्छन् र बीमाको दायरामा वृद्धी हुने उनको भनाइ छ । स्थानिय तहदेखि राष्ट्रिय स्तरमा बीमा बुझ्नेहरु बढ्दै गएको उनले बताए । यस्तै, चापागाईंले विगतमा कहिँकतैबाट बीमा क्षेत्रमा केही समस्या भएको भएपनि आगामी दिनमा त्यस्ता कुरालाई भुलेर अघि बढ्नु पर्ने बताए । जुनसुकै क्षेत्रको पनि बीमा गर्न बीमा कम्पनीहरु सक्षम रहेको उनको भनाइ छ । बीमा कम्पनीहरुले आफूले सक्ने किसिमका जोखिम धारण गर्छन् । तर, आफूले नसक्ने जोखिम पुनर्बीमा कम्पनीमा पठाउने हुँदा सबै बीमा कम्पनीहरु जोखिम धारण गर्न सक्षम हुन्छन् । ‘बीमा कम्पनीलाई पुनर्बीमा कम्पनीले बलियो बनाउन मद्धत गर्छ’, उनले भने । कुनैपनि बीमा योजना संचालनमा आउनु अघि बीमा कम्पनीलाई समितिले स्वीकृति दिनुपर्छ । समितिको स्वीकृती पश्चात बीमा कम्पनीहरुले बीमा योजना सार्वजनिक गर्छन् । उक्त बेलामा बीमा लेखमा उल्लेख गरिएको शर्त अनुसार बिमित र बीमक बिच सहकार्य हुन्छ । बीमा विश्वासको व्यवसाय भएकाले शर्त अनुसार बीमा लागू हुने गर्छ । बीमा शुल्क बुझाएपनि बीमालेखमा उल्लेख नभएको जोखिम बीमाले बहन नगर्ने कुरा बिमितले थाहा पाउनु आवश्यक हुन्छ ।
एनआईसी एशिया बैंकका ग्राहकलाई हायात होटलमा १५प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । उक्त छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी भएको छ । समझदारीपत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलका महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरेका हुन् । यस योजना एक वर्षको लागि लागू हुने छ । समझदारी अनुसार यस बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५ प्रतिशत सम्म छुट पाउने छन् । साथै, यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । यसैगरी ग्राहक महानुभावहरूले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
ट्रस्टएमल र जनसचेतन सहकारीबीच सम्झौता
काठमाडौं । ट्रस्टएमल र जनसचेतन सहकारीबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा डेटम सिस्टमस प्राइभेटका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहाल र जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हेमन्त चौलागाईले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार ट्रस्टएमलबाट सो संस्थाले वित्तीय जानकारी इकाईमा पठाउनु पर्ने शंकास्पद कारोबार र अन्य सबै प्रतिवेदन इलेक्ट्रोनिक माध्यमबाट पठाउन सक्नेछ। वित्तीय लगानी निवारणका लागि गर्नुपर्ने ग्राहकको पहिचान, अभिलेख राख्न र ग्राहकको पहिचान गर्दा प्राप्त विवरणको आधारमामा जोखिम निर्धारण गर्न डेटम सिस्टमबाट निर्मित ट्रस्टएमल खरिद गरि प्रयोग गर्न समझदारी गरेको छ । यसबाट संस्थाले गर्नुपर्ने ग्राहकको पेशा, स्थान, व्यवशायको प्रकृति, सहकारीबाट प्रदान गरिएको सेवा र डेलिभरि च्यानेल समेतको आधारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारणका जोखिम निर्धारण गरि न्युनिकरण गर्न सरल हुनेछ। ट्रस्टएमलबाट सो संस्थाले वित्तीय जानकारी इकाईमा पठाउनु पर्ने शंकास्पद कारोबार र अन्य सबै प्रतिवेदन इलेक्ट्रोनिक माध्यमवाट पठाउन सक्नेछ। संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले ट्रस्टएमल प्रयोग गरि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी जोखिम कम गर्न संस्थाले सम्पूर्ण सहकारी संस्थाहरु मध्येबाट अग्रता लिने बताएका छन् ।
कोरोनाको आशंका वैदेशिक रोजगारबाट फर्किएका युवक अस्पतालमा भर्ना
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको आशंकामा वैदेशिक रोजगारीबाट फर्किएका एक युवालाई अस्पताल भर्ना गरिएको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका रमदैयाका एक युवालाई जानकी मेडिकल शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । वैदेशिक रोजगारीको क्रममा मलेसियाबाट फर्किएका युवकमा अत्याधिक ज्वरो तथा रुघाखोकी लागेसँगै कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको हो । नाम नखुलाइएका ति युवक केही समयअघि त्रिभुवन विमानस्थल हुँदै आएको थिए ।
आमा-बुबाको हत्या गर्ने छोरा पक्राउ
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा भएको भण्डारी दम्पत्ती हत्या प्रकरणमा संलग्न छोरालाई कञ्चनपुर प्रहरीले सोमबार सार्वजनिक गरेको छ। गत फागुन १५ गते घरभित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न २६ वर्षीय छोरा भरत भण्डारीलाई प्रहरीले डडेल्धुराबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार भण्डारीले बुवा र कान्छी आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।डडेल्धुराबाट १३ गते मोटरसाइकलको ट्रायल दिन महेन्द्रनगर पुगेका भण्डारीले डडेल्धुरास्थित घर फर्किनका लागि हिडेका थिए। मध्य रातमा हत्या गरी फर्केका भण्डारीले रगताम्य लुगा र हत्यामा प्रयोग भएको हतियार भासुभीरमा फोलेको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ । तर, कैलालीको गोदावरी पुगेर उनी मादक पर्दाथ सेवन गरी कलुवार फर्किएका थिए । सोही राती कान्छी आमासँग विवाद भएपछि हत्या भएको प्रहरीले जनाएको छ।
कैदीबन्दीले सुरु गरे मास्क उत्पादन, बजार मूल्यभन्दा १ सय ५० प्रतिशत सस्तो
काठमाडौं । कारागारका कैदिबन्दीहरूले मेडिकेटेड सेफ्टि मास्क उत्पादन सुरु गरेका छन् । मकवानपुर जिल्लाको भीमफेदी गाउंपालिकामा रहेको क्षेत्रिय कारागारका कैदिबन्दीहरूले मास्क उत्पादन सुरु गरेका हुन । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरसबाट सजगता अपनाउन भीमफेदी कारागारमा मेडिकेटेड सेफ्टि मास्क उत्पादन गर्न थालेको हो । कारागार प्रमुख जेलर प्रकाश खनालले चार जना कैदीबन्दीले दैनिक दुई सय देखि तिनसयसम्म मास्क उत्पादन गर्दै गरेको र आबश्यकता अनुसार माग भएमा दैनिक पाँचसम्म उत्पादन गर्ने क्षमाता रहेको बताए । बजारमा ३० देखि ५० रुपैयाँमा बिक्री हुने मास्क कारागारले २० रूपैयामा नै बिक्र गर्न सक्ने खनालले बताए । कैदीले उत्पादन गरेको मास्क १ सय ५० प्रतिशत मूल्य सस्तो छ ।
माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण देखिएपछि १३ अर्ब डलरको आपतकालीन कोष स्थापना
माले । दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ । पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्थानीय संचार माध्यमका अनुसार संक्रमित तीन जनामध्ये दुई जना सफारीमा र एक जना अनातारा धिगु माल्दिभ्स रिसोर्टमा भेटिएका थिए । एचपिएले ११ जनालाई फारुकोल्हुमा अलग्याएर राखिएको जनाएको छ । यसैबीच, माल्दिभ्स सरकारले पूर्व सावधानीका लागि भन्दै १३ अर्ब अमेरिकी डलरको आपतकालीन कोष स्थापना गरेको जनाएको छ । राष्ट्रिय आपतकालीन विपद केन्द्र (नियोक) का प्रवक्ता मोहमद माब्रुक अजीजले उक्त कोषको रकम चन्दा र आर्थिक सहायता प्रदान गर्न वितरण नगरिने स्पष्ट गरे । उनले कोरोनाभाइरसको परीक्षणका लागि थप ५ हजार सामान माल्दिभ्स ल्याइएको पनि बताए । पर्यटन मन्त्री अलि वाहीदले मुलुकको पर्यटन कोषबाट आवश्यक परेमा स्वास्थ्य उपकरण र प्राविधिक विज्ञहरु झिकाइने बताए । गत साता, स्वास्थ्य मन्त्रालयले माल्दिभ्समा सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको थियो । माल्दिभ्सले कोरोनाभाइरसको परीक्षणका लागि इन्दिरा गान्धि स्मृति अस्पतालबाट सेवा लिइरहेको छ । रासस
महासंघ पूर्वअध्यक्ष श्रेष्ठको प्रस्तावः चुनाव रोकौं, कालोबजारी नियन्त्रणमा जुटौं
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठलले महासंघको आसन्न साधारणसभा रोक्न प्रस्ताव गरेका छन् । महासंघले चैत २८ र २९ गते साधारणसभा गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको कारण विश्वव्यापी सन्त्रास फैलिएको र नेपाल पनि संक्रमणको उच्च जोखिममा रहेकोले महासंघको साधारणसभा रोकेर सम्भावित संकट सामनाको तयारीमा लाग्नुपर्ने श्रेष्ठको भनाइ छ । ‘कोरोना भाइरसबाट आउन सक्ने महामारीबाट बच्च हामीले पनि गम्भीर तयारी गर्नुपर्छ, यस्तो बेलामा निजी क्षेत्रले आफ्नो सम्पूर्ण ध्यान औद्योगिक व्यावसायिक जगतले खेल्न सक्ने भूमिका के कस्तो हुन सक्छ, त्यतातिर केन्द्रीत गर्नुपर्छ, निजी क्षेत्रको दायित्व के हुने भन्ने तय गरेर रचनात्मक काममा लाग्नु उचित हुन्छ,’ उनले भने । संकटको बेलामा कालोबजारी गर्नेहरुलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनले बताए । निजी क्षेत्रका संघ, संस्था र व्यक्तिगत रुपमा पनि कालोबजारी नियन्त्रण गर्नतिर लाग्नुपर्ने श्रेष्ठले बताए । कालोबजारी नियन्त्रणको लागि निजी क्षेत्रले सरकारलाई सहयोग गर्नु पर्ने र कोलोबजारी गर्नेहरुको सूचना पनि सरकारलाई निजी क्षेत्रले दिन सक्नु पर्ने उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघको गत शुक्रबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको चुनाव सार्ने वा नसार्ने बारे १० दिनपछि मात्र तय हुने निर्णय गरेको थियो । महासंघ बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठ सरकारले चुनाव अहिले गर वा नगर केही पनि भनेको कारण महासंघको चुनाव सार्ने सम्बन्धि भन्न नसकिने अवस्था नभएको बताउँछन् । उनले महासंघले सरकारले भने बमोजिम गर्नु पर्ने बताउँदै सरकारको निर्देशन बमोजिम महासंघले चल्नु पर्ने धारणा राखे । उनले आफु चुनाव सार्नु पर्ने पक्षमा भएको पनि बताए । विश्वमा यति ठूलो आतंक तथा संकट सिर्जना भइरहेको बेला देशकै ठूलो निजी क्षेत्र भने खासै सक्रिय देखिएको छैन । कोरोना भाइरसका कारण संसारभरि डरलाग्दो अवस्था सिर्जना भएको छ । आम जनमानसमा यसको त्रास कायम रहेको यो अवस्थामा निजी क्षेत्रले सरकारसँग सहकार्य गरेर रोग आउन नदिने र आइहाले पनि नियन्त्रण गर्ने, जनजीवन सहज बनाउन भूमिका खेल्नुपर्ने आवाज महासंघकै प्रतिनिधिले उठाउन थालेका छन् । अहिले विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको छ । १ सय ५५ भन्दा बढी देशमा फैलिसकेको कोरोना भाइरसको नियन्त्रण तथा यसबाट बच्नका लागि विभिन्न देश र त्यसका निजी क्षेत्रहरु सर्तकता अपनाइरहेका छन् । चीनबाट सुरु भएको भनिएको यो भाइरससँग लड्न सरकार आफै र विभिन्न देशका निजी क्षेत्रहरु विविध रणनीति तथा कार्यक्रमहरु बनाइरहेका छन् । नेपालले पनि यो भाइरस नभित्रियोस भनेर सतर्कताका विभिन्न उपायहरु अवलम्बन गरिरहेको छ । तर, कोरोना भाइरसको संक्रमण नेपालमा भने अहिलेसम्म देखिएको छैन । विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारीको संज्ञा दिइसकेको छ । अमेरिकाले पनि संकटकाल घोषणा गरी आफ्ना नागरिकको स्वास्थ्य सुरक्षामा तल्लीन छ । नेपाल सरकार पनि कोरोना संक्रमण देखिएमा नियन्त्रणको तयारीमा जुटेको छ । नेपालले स्वास्थ्य सेवा विस्तारदेखि यात्रामा कडा निगरानी तथा चेकजाँच गरिरहेको छ । यसमा सरकार मात्र होइन, निजी संस्थाहरुको सहकार्य र समन्वय पनि उतिकै अपरिहार्य हुन्छ । विश्वभरका निजी क्षेत्रले कोरोनाको महामारी नियन्त्रण गर्न योगदान दिइरहेका छन् । बिलगेट्स फाउण्डेसन्, ज्याकमा फाउण्डेसन लगायतले यसको न्यूनिकरणमा ठूलो योगदान र समन्वय गरिरहेका छन् । तर, नेपालको सबैभन्दा ठूलो भनिएको निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघ भने यसप्रति त्यति गम्भीर देखिँदैन । हाल नेपालमा कोरोनाको त्रासकै कारण सर्जरी माक्स, स्यानिटाइजर लगायतका सामानहरुमा कालोबजारी मौलाएको छ । सरकारले भेला, सभा–सम्मेलन नगर्न भनेर औपचारिक रुपमै आग्रह गरिसकेको छ ।