विकासन्युज

काठमाडौं महानगर प्रमुखको सन्देश– ‘गाउँ नफर्किनुहोस्, समस्यामा परेकालाई सहयोग गर्छौ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले कोरोनाको महामारीमा उपत्यका रहेका अन्य जिल्लाका मानिसलाई गाँउ नफर्किन आग्रह गरेका छन् । नव वर्ष २०७७ को उपलक्ष्यमा सबैलाई शुभकामना दिँदै जस्तो समस्यामा परे पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै गाँउ नफर्किन आग्रह गरेका हुन् । कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न सबै जना आ–आफ्नै घरमा लकडाउनको अवस्थामा रहेको स्मरण गराउँदै नयाँ वर्षलाई धुमधामसँग नमनाउन पनि आग्रह गरे । यस्तो स्थितिमा नव वर्ष धुमधामपूर्वक नमनाई सरकारले लागु गरेको लकडाउनको पालन गर्दै आफ्नै घर परिवार भित्र सीमित रही मनाउनु हुन सम्पूर्ण महानगरवासीमा अपिल गरे । महानगरपालिकाले हरेक दिन विभिन्न वडाहरुमा किट्नाशक औषधी छर्कने, बु्रमर प्रयोग गरी नियमित सरसफाई गर्ने, नियमित फोहोर उठाउने कार्यलाई तिव्रता दिदैँ आइरहेका पनि उल्लेख गरे । ‘लकडाउनका कारणले हातमुख जाड्न समस्यामा परेका नगरवासीलाई वडा कार्यालयहरुबाट राहत सामग्री उपलब्ध गराइरहेका छौँ,’ उनले भने । नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेको प्रति उनले संकेत गर्दै संकटको घडीमा गाउँ नफर्किन पनि आग्रह गरे । केही नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेका समाचारहरु सुनिनमा आएका छन् । यो संकटको घडीमा उहाँहरुलाई सहर छाडेर नगइदिनुहुन र यहाँ बस्दा कुनै पनि प्रकारको समस्या आएको भए आफू बसेको सम्वन्धित वडा कार्यालय वा काठमाडौँ महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा सम्पर्क गर्नुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ,’ उनले भने, ‘साथै महानगपालिकाले महानगवासीको लागि प्रयोगमा ल्याएको कोभिड–१९ संक्रमण बारे स्वमुल्याकंन गर्न सकिने नेपाल कोभिड–१९ सर्भिलेन्स डाउनलोड गरी प्रयोग गर्न हुन र विरामी अस्पताल लैजान समस्या भएमा महानगरपालिकाको सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्ससेवा १०२मा सम्पर्क गर्नसक्ने व्यवस्था रहेका जनाएका छन् ।’

कोभिड -१९ र्यापिड टेस्टका लागि स्वास्थ्य टोली खटाइयो

काठमाडौं । कर्णालीमा कोभिड–१९ सङ्क्रमण परीक्षण गर्न र्यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) किटसहित स्वास्थ्यकर्मी गाउँ–गाउँमा खटिएका छन् । विदेशबाट फर्किएकाहरुमा कोरोनाको सङ्क्रमण भए/नभएको तत्काल पत्ता लगाउन किटसहित स्वास्थ्यकर्मी सम्बन्धित जिल्लामा पुगिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशक डा रीता भण्डारीले कर्णालीका सबै जिल्लामा गरी पाँच हजार किट नमूना सङ्कलन गरिने बताए । उनका अनुसार आरडिटी विधिबाट परीक्षण गरिँदा भारतसहित तेस्रो मुलुकबाट फर्किएका सबैको अनिवार्य र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएमा उनीहरुलाई प्राथमिकता दिइनेछ । दैलेख र डोल्पामा किटसहित स्वास्थ्यकर्मी पठाउन बाँकी छ । दैलेख जिल्ला अस्पतालले स्वाब सङ्कलन गरेर प्रदेश अस्पताल सुर्खेत पठाउन गरेको छ । यसअघि उपकरण र दक्ष स्वास्थ्यकर्मीको अभावमा ‘थ्रोट स्वाब’ सङ्कलनमा समस्या भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पिपिई, सर्जिकल मास्क, ग्लोब्स, सेनिटाइजरलगायतका अत्यावश्यक सामग्री उपलब्ध गराएपछि दु्रत परीक्षण (र्यापिड टेस्ट) का लागि स्वास्थ्यकर्मी पठाउन सहज भएको बताइएको छ । कर्णालीमा हालसम्म कोरोना सङ्क्रमणका बिरामी फेला परेका छैनन् । रासस

लकडाउनसँगै बजार नपाएपछि, फूल हेर्दै चित्त बुझाउँदै किसान

काठमाडौं । लकडाउनसँगै बजार नपाएपछि यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन् । लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौं हो । त्यहाँ फूल जान छाडेपछि बारीमा नै सुकेर नष्ट हुन थालेको छ । कतिपयले त फूल बिक्री गर्न नपाएपछि काटेर फाल्नसमेत शुरु गरेको पश्चिम चितवनमा फूल व्यवसाय गर्दै आएका बद्री रानाले जानकारी दिए । उनले भने, “लकडाउनले बजार खुल्न पाएको छैन । फूल बजारमा जान नपाएपछि काटेर फाल्न शुरु गरेका छौं ।” उनले एक बिघा १० कट्ठामा फूल खेती गर्दै आएका छन् । ग्याडुलस जातको फूल लगाएका राना अहिलेसम्म एक लाखभन्दा बढीको फूल काटेर फालेको बताउँछन् । फ्लोरीकल्चर एशोसिएशन नेपाल चितवनका अध्यक्ष प्रकाश पन्त अहिले फूल खेती गर्ने किसान चिन्तित बन्न थालेको बताए । उनका अनुसार व्यावसायिकरूपमा गरिएको फूल खेती ग्याडुलस र गोदावरी बारीमा नै सुक्न थालेका छन् । पन्तले जिल्लामा छ बिघाभन्दा बढीमा लगाइएको ग्याडुलस र गोदावरी फूल नष्ट भएको जानकारी दिए । एक बिघाको फूल बिक्री गर्दा १५ लाख रुपैयाँ हाराहारी आम्दानी हुने भए पनि ती सबै नष्ट हुने अवस्थामा पुगेको उनले बताए । अधिकांशले जग्गा भाडामा लिएर महँगोमा खरिद गरेको बीउ र गोडमेलमा धेरै खेताला लगाउने हुँदा व्यवसायी मारमा परेको उनको भनाइ छ । पन्तको दुई बिघामा ग्याडुलस र आठ कट्ठामा गोदावरी फूल रहेको छ । उनले भने, “अब ऋण कसरी तिर्ने त्यही चिन्तामा हामी छौं ।” बैंकबाट ऋण लिएर व्यवसाय गरेका किसानलाई बैंकको ब्याज तिर्नसमेत समस्या परेको उनको गुनासो छ । उनले भने, “बीउ महँगो छ । उत्पादन भएको वस्तु बिक्री गर्न पाइएको छैन । चिन्ता थपिएको छ ।” उनले राज्यले फूल व्यवसाय गर्ने किसानलाई सहयोग गर्नुपर्ने बताए । रासस

दुई महिनाको पारिश्रमिक कोरोना कोष र राहत प्याकेजमा दिने राष्ट्रियसभा सदस्य श्रेष्ठको घोषणा

काठमाडाैं । राष्ट्रियसभाका सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई महिनाको पारिश्रमिक कोभिड–१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका छन्। उनले साेमबार ट्वीटमार्फत यसबेला एकताबद्ध भई आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु जरूरी रहेको बताएका हुन्। काेरेाना भाइरस (कोभिड–१९) र उत्पन्न संकटको सामना गरिरहेको भन्दै साे रकम दिने घाेषणा गरेका हुन् । उनले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमार्फत सांसद विकास कोषको साढे १६ अर्ब रूपैयाँ बजेट पनि खर्चिनुपर्ने माग गर्दै आएका छन्।

कोरोना संकट अन्त्य नभएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी समाप्त नहुञ्जेलसम्म पारिश्रमिक नलिने निर्णय गरेको जानकारी दिएका हुन् । आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’ प्रधानमन्त्री ओलीले मुलुकको प्रगतिमा हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन हामी सबैले मिलेर गर्नुपर्ने बताएका छन् । देशभित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरी रहनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।

काेराेनाकाे संक्रमण सकिए लगत्तै आर्थिक गतिविधिलाई तीव्रता दिइनेछ : प्रधानमन्त्री (भिडियाेसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना भाइरसकाे संक्रमण सकिने बित्तिकै आर्थिक गतिविधिलाई तीव्रता दिइने बताएका छन् । नयाँ वर्ष २०७७ का अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले महामारीपछि आर्थिक गतिविधिलाई तीव्रता दिन लगानीको नीति अपनाइने बताएका हुन्। सरकारले आफ्नो ध्यान कोरोना संक्रमितको पहिचान, परीक्षण र उपचारमा केन्द्रित गरेको उनकाे भनाइ छ। ‘जतिबेला हामी यस महामारीको ग्राफलाई सिधा पार्छौ, त्यसपछि हाम्रा गतिविधिलाई तीव्रता दिन लगानीको नीति अपनाउनेछौं,’ उनले भने। प्रधानमन्त्री ओलीले अहिले सरकारको अध्ययन तथा सर्वेक्षण, टुटेको उत्पादन सम्बन्धको कडी फेरि कसरी  जोड्ने, अवरुद्ध उत्पादन प्रणालीलाई कसरी सुचारु गर्ने भन्नेमा केन्द्रित रहेको उल्लेख गर्दै यसै अध्ययन र सिफारिसका आधारमा सरकारले अर्थतन्त्रको पुनरुत्थानको प्याकेज नीति तथा कार्यक्रम र बजेटमार्फत् सार्वजनिक गर्ने पनि बताए । प्रधानमन्त्री ओलीको नयाँ वर्षको शुभकामना । प्रधानमन्त्री ओलीको नयाँ वर्षको शुभकामना । Gepostet von Bikashnews.com am Sonntag, 12. April 2020

तरकारीले बजार पाएनः किसानलाई पास छैन

काठमाडौं । बन्दाबन्दीका कारण बाँकेमा उत्पादित तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदां किसान मर्कामा परेका छन् । बजारसम्म तरकारी बिक्रीका लागि पुर्याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री गर्न किसान बाध्य छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारीले बजार नपाउँदा लगानी पनि नउठ्ने कोहलपुरका किसान किसान लक्ष्य खड्काले बताए । बाँकेमा यस याममा एक हजार ७५० हेक्टरमा तरकारी खेती तथा सरदर २१ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । अहिले लौका, करेला, भिन्डी(रामतोरियाँ), बोडी, टमाटर(गोलभेंडा), काँक्रा, सागलगायत तरकारी उत्पादन भएको छ । सबैभन्दा बढी काँक्रा खेतीमा संलग्न जिल्लाका किसानलाई मर्का परेको छ । बन्दाबन्दीका कारण बिक्रीका लागि थोक बजारसम्म तरकारी पुर्याउन नसकिएकाले किसान मर्कामा परेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको भनाइ छ । नेपालगञ्ज आसपासका तरकारी थोक बजारमा बिक्रीका लागि ल्याउन सकिए पनि टाढा कोहलपुर, बैजानाथ, नरैनापुर र राप्तीसोनारीको बजार पठाउन किसानलाई समस्या भएको छ । नेपालगञ्जमा तरकारीको थोक बजार खुला भए पनि कोहलपुरको थोक तरकारी बजार बन्द भएकाले पनि समस्या भएको छ । बन्दाबन्दीमा किसानसँग आवतजावतको ‘पास’ नहुँदा बजारमा तरकारी बिक्री गर्न ल्याउन नसकिएको र यस सम्बन्धमा प्रशासनसँंग पहल भइरहेको प्रमुख ढकालको भनाइ छ । बाँकेमा उत्पादित तरकारी किसानलाई बिक्री गर्न मात्रै समस्या छैन, तिनले विषादी तथा मल समेत किन्न पाएका छैनन् । खेतीबारीमा काम गर्नका लागि आउजाउमा पनि समस्या भइरहेको उनीहरुको गुनासो छ । झिमरुक– प्युठान नगरपालिका वडा नं ८ खप्रेङखोलाकी विपना भण्डारीले चार वर्षदेखि तरकारी खेती गर्दै आएका उनले चार रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरेका छन् । तरकारी बारीमा अहिले बन्दागोभी, काँक्रा, सिमी, लौका, घिरौँला, फर्सीलगायत तरकारी उत्पादन भएका छन् । उत्पादित सब्जी बेचिन ठीक परेका छन् तर उनले लकडाउनका कारण बेच्न पाएका छैन। आफूले उब्जाएको तरकारी दैनिक प्युठान ८ बाग्दुला बजारमा रहेको तरकारी संकलन केन्द्रमा पुर्याएर बिक्री गर्ने गरेको भए पनि लकडाउनका कारण संकलन केन्द्रसँंगै बजार सबै बन्द भएपछि बेच्न नपाइएको बताए ।  मुख्य पेशाकै रुपमा तरकारी खेती गर्दै आउनुभएका भण्डारीलाई यस समयमा तरकारी बेच्न नपाएकामा पिरलो छ । उनले भने , ‘जग्गा भाडा लिएर तरकारी खेती गरेको हुँ तर उब्जाउ भएको तरकारीले बजार नपाएपछि खेतमै सड्न थालेको छ ।’ वार्षिक ३० हजार रुपैयाँ जग्गाको भाडा तिरेर तरकारी खेती गरेका उनले बीउ, विषादी र मलको लागतसमेत तरकारी बेचेर कमाउन नसकेको बताए । बिक्रीका लागि तयार भएको करीब १० क्विन्टल तरकारी खेतबारीमै कुहिन थालेको स्थानीयवासी किसान माधवा गिरी बताए । ‘आर्थिक आम्दानीको स्रोत भनेकै यही तरकारी खेती हो’, उनले भने, ‘बजार नपाएपछि दैनिकी चलाउन समस्या भएको छ ।’ आफ्नो मेहनतभन्दा पनि ऋणधन गरेर बीउ खरीद गर्दाको लागत र जग्गाको भाडा तिर्ने रकमसम्म भए पनि उठाउन पाए केही राहत हुने उनले बताए । तरकारी व्यवसायी रेखा सार्कीले पनि जग्गा भाडा लिएर तरकारी खेती गरेको बताउँदै लकडाउनका कारण उब्जाउ भएको सबै तरकारी सड्न थालेकामा चिन्ता व्यक्त गरे । प्युठान ८ खप्रङ्खोला, गेजवाङ र सूर्यनगरका करीब ६० घरपरिवारले व्यावसायिक तरकारी खेतीबाट आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । यसरी लम्बिँदै गएको लकडाउनका कारण तरकारी बिक्री गर्न नपाएपछि छाक टार्नसमेत समस्या हुन थालेको उनीहरुको गुनासो छ । किसानले उब्जाएको तरकारी स्थानीय सरकारले बजारसम्म लैजाने व्यवस्था मिलाउनुपर्ने उनीहरुको माग छ । प्युठान ८ का वडाध्यक्ष लिलापसिंह केसीले किसानले उत्पादन गरेको तरकारी बजार व्यवस्थापनका लागि पहल गरिएको बताए । “किसानलाई निराश हुन दिन्नौँ, कुनै माध्यमबाट उहाँहरुको लगानीसम्म भए पनि उपलब्ध गराउँछौँ,” उनले भने । रासस

सर्वोच्चको आदेश कार्यान्वयनमा ढिलाइ, भारतीय क्वारेन्टाइनमा बसेका नेपाली जोखिममा

काठमाडौं । सर्वोच्च अदालतले सीमामा फसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन दिएको आदेश कार्यान्वयनमा सरकारले ढिलाइ गरेको छ । चैत २४ गते सर्वोच्चले सरकारका नाममा परमादेश जारी गर्दै उनीहरुलाई नेपाल ल्याई अनिवार्य क्वारेन्टाइनमा राख्न भनेको थियो तर सीमापारि फसेका नेपाली मजदूरलाई तत्कालै स्वदेश फर्काउने विषयमा कुनै परिपत्र नआएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । सर्वोच्च अदालतले सीमापारि फसेका नेपालीको उद्धार गरी स्वदेशकै क्वारेन्टाइनमा राख्न आदेश दिएको भए पनि सरकारका तर्फबाट स्थानीय प्रशासनमा कुनै परिपत्र नआएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। उनले भने, “परिपत्र नआउँदासम्म भारतीय क्वारेन्टाइनमा बसेकालाई नेपाल ल्याउन सकिने अवस्था छैन ।” बैतडीसँग सीमा जोडिएका भारतको झुलाघाटका विभिन्न ठाउँमा २५० भन्दा बढी नेपाली मजदूर भारतीय क्वारेन्टाइनमा बसेका छन् । नेपाली मजदूरलार्ई स्वदेश फर्काउन सर्वोच्चले दिएको आदेशका बारेमा एफएम रेडियोबाट सुनेको र आफूहरुलाई छिट्टै स्वदेश फर्काउँछन् भन्ने आशा पलाएको बैतडीको पुर्चौंडी नगरपालिका–८ मल्लादेहीका दीर्घराज जोशीले बताए । “भारतीय क्वारेन्टाइनमा आफूहरुलाई खान, बस्न र पानीको निकै समस्या छ”, उहाँले भन्नुुभयो, “एकै कोठामा कोचाकोच गरेर बस्नु परिरहेको छ ।” कोरोनाको जोखिम न्यूनीकरणका लागि दूरी कायम गरेर बस्नुपर्ने भए पनि आफूहरु कोचिएर बस्नु परिरहेको अर्का नेपाली मजदूर रमेश जोशीको भनाइ छ । यस्तै पुर्चौंडी घर भएका पुष्कर बोहराले पनि आफूहरु १०० जति डिडिहाटमा अलपत्र परेको बताउनुुभयो । उनले भने, “हामीलाई स्वदेशकै क्वारेन्टाइनमा राख्न आग्रह छ ।” सर्वोच्च अदालतले दिएको आदेश छिटो कार्यान्वयन गर्न पनि मजदूरले सरकारलाई आग्रह गरेका छन् । भारतीय क्वारेन्टाइनमा बसोबासको सहज व्यवस्था नहुँदा अझै पनि ट्युबमार्फत जोखिम मोलेर नेपाल फर्कने क्रम भने रोकिएको छैन । भारतीय क्वारेन्टाइनमा बसेका नेपाली समस्यामा लकडाउनपश्चात सीमा बन्द भएपछि भारतको झुलाघाटका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका नेपाली मजदूरलाई बसोबासको समस्या भएको छ । क्वारेन्टाइनमा बसेका नेपालीलाई खानपिनको व्यवस्था भारतीय प्रशासनले गरेको भए पनि उनीहरु एकै कोठाको भुइँमा बस्नुपर्ने बाध्यता रहिआएको छ । सीमानाका बन्द भएपछि अलपत्र परेका नेपालीलाई भारतीय प्रशासनले क्वारेन्टाइनमा राखेको हो । दुई सय ५१ नेपाली मजदूरलाई झुलाघाटको तालेश्वर धर्मशाला, खरक्युडा, रज्युडा र जामीरपानीका आधारभूत विद्यालयका क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका नेपाली मजदूर आफैंसँग भएको कपडा बिछ्याएर भुइँमै सुत्न बाध्य भएको भारतबाट फर्केका सुर्नया–८ का मानबहादुर बोहराले बताए । उनले भने, “क्वारेन्टाइनमा कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहिआएको छ ।” झुलाघाटका तीन ठाउँमा बसिरहेका नेपाली मजदूरले एकै कोठामा कोचाकोच गरेर बस्नुपरेको बताएका छन् । खानाको लागि भारत सरकारले व्यवस्था गरेको भए पनि बसोबासको भने निकै समस्या भएको पुरचौंडी नगरपालिका–३ न्वादेउका जोगे पार्कीले गुनासो गरे । “एकै विद्यालयमा ८५ जना बस्नु परिरहेको छ”, उनले भने, “हामीसँग भएको कपडा बिछ्याएर रात काट्नुपर्ने बाध्यता छ ।” स्वदेश फर्कन पाए एक महिना भने पनि क्वारेन्टाइनमा बस्न तयार भएको मजदूरले बताएका छन् । भारतमा क्वारेन्टाइनमा बसेका नेपाली मजदूरलाई समस्या भएको भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए । क्वारेन्टाइनमा बसेका नेपालीको खानपिन तथा बसोबास व्यवस्था मिलाउन पिथौरागढ प्रशासनलाई आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । उद्धार गर्न सरकारलाई आग्रह नेपाल तरुण दल बैतडीले सीमानाकामा फसेका नेपाली मजदूरलाई तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । सीमामा अलपत्र परेका नागरिकको पीडा बुझेर तत्काल उद्धार गरी नेपालमै क्वारेन्टाइनमा राख्न तरुण दलले आग्रह गरेको हो । तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सीमापारि नेपालीले ठूलो कष्ट भोगिरहेकाले उनीहरुलाई स्वदेश फर्काई क्वारेन्टाइनमा राख्न आग्रह गरिएको छ । दूधे बालकसहित महिला तथा पुरुष झुलाघाट र धार्चुलालगायतका सीमामा फसेकाले उनीहरूको उद्धार गरी स्वदेश फर्काउन पनि तरुण दलले आग्रह गरेको छ । अवैध प्रवेश रोक्न सीमामा सशस्त्र प्रहरी परिचालन भारतसँग सीमा जोडिएको बैतडीका सीमाक्षेत्रमा आवागमनमा कडाइ गरिएको छ । लकडाउनका बेला महाकाली नदीबाट अवैधरूपमा नेपाल भित्रिने क्रम नरोकिएपछि भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न नाकामा सशस्त्र प्रहरी परिचालन गरी आवागमनमा कडाइ गरिएको हो । जिल्लाका विभिन्न १० भन्दा बढी नाका (घाट)मा सशस्त्र प्रहरी परिचालन गरिएको हो । सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म बैतडीबाट सीमा क्षेत्रमा पाँच टोली परिचालन भएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिए । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न सीमा क्षेत्रमा ६३ जनाको टोली परिचालन गरिएको उनले भनाई छ । शिवनाथको कुस्मतघाट र नागार्जुनघाट, पञ्चेश्वरको रोलघाट, हल्दुविनायक, धर्मघाट, विनायकघाट, रोडिदेवल र गिरेगडा र दशरथचन्द नगरपालिकाको बारोकोट र तिरखडेनीमा गरी पाँच टोली परिचालन गरिएका छन् । लकडाउनमा सीमानाका बन्द भएपछि भारतबाट अवैधरूपमा महाकालीमा ट्युबमार्फत नेपाल भित्रिने क्रम नरोकिएपछि सशस्त्रको टोली परिचालन गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । अवैधरूपमा नेपाल भित्रिने क्रम रोक्न सीमामा अस्थायी चेक पोइन्ट स्थापना गरी उच्च सतर्कता अपनाइएको उनले बताए । सशस्त्र प्रहरी परिचालनले सीमानाकाको आवागमनमा कडाइ भएको छ । लकडाउनका बेला अवैधरूपमा भारतबाट आएका सुदूरपश्चिमका नागरिकमा कोरोना सङ्क्रमण देखा परेपछि सीमा क्षेत्रमा आवागमनमा कडाइ गरिएको हो । सीमा क्षेत्रका आवागमनमा कडाइ गर्न आवश्यकताअनुुसार थप सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । रासस