सरकार भन्छः उद्योग चलाउछौं, उद्योगी भन्छन्ः उत्पादन मात्रै गरेर के गर्ने ?
काठमाडौं । कोरोना भाइरसका कारण देश लकडाउन भएको पनि २० दिन भइसक्यो । लकडाउनको कारणले आएको संकटमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति सहज बनाउन उत्पादनमूलक उद्योगहरूलाई प्राथमिकता प्रदान गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन लागिएकाे सरकारकाे भनाइ छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पहिलो चरणमा दैनिक उपभोग्य खाद्यवस्तु उत्पादन गर्ने उद्योगहरू सञ्चालन भइरहको बताए । दाेस्रो चरणमा कोरोना भाइरसको संक्रमणको परिस्थिति हेरेर विकास निर्माणका लागि आवश्यक कच्चापदार्थ उत्पादन गर्ने उद्योगहरू सञ्चालन हुन्छन्, त्यसपछि अन्य किसीमको उद्योगहरू सञ्चालन गर्दै जाने तयारी भइरहेको भट्टकाे भनाइ छ । तर, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे कोरोना रोकथाम तथा समन्वय समितिकामा उद्योग सञ्चालन गर्ने बारे छलफल भइरहेको बताए । सरकारले उद्याेग संचालनकाे गृहकार्य गरेकाेमा खुसी व्यक्त गरे । उद्योगी पशुपति मुरारकाले सरकारले उद्योग सञ्चालन गर्ने तयारी गरेकाे खुसी व्यक्त गर्दै उत्पादित बस्तु बजारमा विक्री गर्न सक्ने परिस्थितिकाे निर्माण हुनुपर्ने बताए । ‘म आफै उद्योग सञ्चालन गर्नका लागि पास लिन गएको थिए, तर जिल्ला प्रशासनले उद्योग भित्रै भएको कच्चा पदार्थकाे प्रयोग गरेर उद्योग सञ्चालन गर्नुस् भनेर फर्काइदियो, सरकारले माथिल्लो निकायमा मात्रै कुरा गरेर हुदैन, माथिल्लाे तहकाे निर्णय कार्यान्वयन गर्ने तहसम्म पुग्नुपर्छ, यसमा केही समस्या छ,’ नेपाल उद्याेग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत रहेका मुरारकाले भने । सरकारले उद्योग सञ्चालन गर भनेर मात्रै नहुने भन्दै उनले उत्पादन गरेको बस्तुले बजार पाउने परिस्थिति निर्माण हुनुपर्ने बताए । विकास निर्माणको काम भयो भने मात्रै उद्योगले उत्पादन गरेको बस्तुहरुले बजार पाउने उनकाे भनाइ छ । नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले सरकारले मजदुरहरुलाई काममा जाने वातावारण सिर्जन गर्नुपर्ने बताए । उद्योगले उत्पादन गरेको बस्तु बिक्री हुने वातावरण भएमा मात्रै उद्योगीले उद्योग सञ्चालन गर्ने अध्यक्ष माेरकाे भनाइ छ । ‘उद्योगले उत्पादन गरेको बस्तु भन्डारण गरेर राख्ने ठाउँ सिमित मात्रै छ, उद्योग सञ्चालन गर्दै गर्दा विकामसका काम पनि अगाडी बढे मात्रै उद्योग सञ्चालनको औचित्य रहन्छ, सरकारले उद्योग सञ्चालन गर्नका लागि उद्योगीहरुसगँ छलफल गरेर कसरी अगाडी बढ्नु पर्छ,’ अध्यक्ष मोरले भने । केही दिन अगाडी मन्त्रालयले गरिरहेको कामको जानकारी दिंदै मन्त्री भट्टले खाद्यान्न उद्योग ४१ प्रतिशत, तेलहन उद्योग ६३ प्रतिशत, खानेपानी उद्योग ९० प्रतिशत, दुग्ध उद्योग ५० प्रतिशत, पशुपन्छीको दाना उद्योग ३३ प्रतिशत, औषधि उद्योग ७३ प्रतिशत र इंटा उद्योग ४८ प्रतिशत क्षमतामा चलेको बताएका थिए ।
टीकापुरमा करोडौंको केरा बारीमै सड्दै
काठमाडौं । देश लकडाउनमा परेपछि कैलालीको टीकापुरका केरा किसानका केरा बारीमा नै कुहिन थालेका छन् । किसानको उत्पादन भएको केरा बजारमा जान नपाएपछि बारीमै सड्न थालेको हो । आफूहरुको करोडौं मूल्य पर्ने केरा बारीमा सड्न थालेको उनीहरुको गुनासो छ । ‘‘केरा कृषकका लागि चैत महिना राम्रो बिक्री हुने समय हो । केरा राम्रो उत्पादन भए पनि बजारमा जान नपाएपछि समस्या भएको छ ’’, कृष्ण वागवानी केरा फर्म टीकापुरका सञ्चालक विनोदकुमार शाह भने, ‘‘हामी त घाटामा गयौं, दैनिक लाखौंको केरा खेर गइरहेको छ ।’’ शाहले अहिलेसम्म करीब रु ३० लाखको केरा नोक्सान भइसकेको बताए । ‘‘अझै कति दिन लकडाउन हुन्छ थाहा छैन । केरा दैनिक बोटमै पाकेर झर्न थाले’, शाहले भने, ‘‘यो आउंँदो वर्षका लागि तयार हुंँदै गरेका केरालाई मलजल गर्ने, स्याहार्ने समय पनि हो । लकडाउनका कारण कामदार पनि घर फर्किएका छन् । केराको स्याहारसमेत गर्न सकिएको छैन ।’’ असी बिघामा केरा खेती गरेका शाहका अनुसार यसको असर अर्को वर्ष उत्पादन हुने केरामा पनि पर्नेछ । उनले केरा व्यवसायीको उत्पादन सहज बजारसम्म पुग्ने व्यवस्था गराउन सरकारसँग माग गरे । मंगलदीप एग्रिकल्चर फर्मका सञ्चालक नेपबहादुर चौधरीले पनि लकडाउन लम्बिँदै गएकाले ११ लाख बराबरको केरा खेर जाने अवस्था आएको बताए । तेह्र बिघामा व्यावसायिक रुपमा केराखेती गरेका नेकपा सुदूरपश्चिमका सचिव चौधरीले हाल दैनिक तीन सय दर्जन केरा स्थानीय सरकारलाई सहयोग गरिरहेका छन् । ‘‘बारीमा केरा सडिरहेको छ, त्यसैले क्वारेन्टाइमा बसेकालाई सहयोग गरिरहेको छु’’, चौधरी भने, ‘‘उपभोक्ताले खान पाएका छैनन्, हाम्रो केरा खेर गएको छ । के गर्ने, विश्व नै समस्यामा छ ।’’ अंशु एण्ड नर्सरी कृषि फर्मका सञ्चालक रामबहादुर कुंँवर पनि करीब २७ लाख रुपैयाँ बराबरको केरा कुहिएर खेर गएको बताए । ‘‘टीकापुरको केरा नेपालका सबैजसो जिल्लामा जान्थ्यो, अहिले जान पाएको छैन, सबै कृषकको केरा बारीमै सडेको छ’’, कुंँवर भने, ‘‘हामी ऋण गरेर व्यवसाय गरेका कृषक निकै समस्यामा पर्ने देखिएको छ ।’’ कैलालीको टीकापुरमा ७५० हेक्टरमा केराखेती गरिएको टीकापुर नगरपालिका, कृषि शाखाले जनाएको छ । केराखेती विस्तारमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम नगरपालिकाले पनि सहयोग गर्दै आएका छन् । रासस
सिटिजन्स बैंकले सार्वजनिक गर्यो डिजिटल भर्सनको क्यालेन्डर
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले वि.सं.२०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । बैंककोे बिदाको सूची समावेश गरि पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कम्प्यूटरमा क्लिक गरी क्यालेन्डरको डिजिटल भर्सन सर्वजनिक गरेका हुन् । सिटिजन्स बैंकले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । कोरोना भाइरस(कोभिड १९) महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै, यस बैंकको ए.टि.एम कुनै पनि बैंकको ए.टि.एम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
काेरोना रोकथाममा सरकारको प्रयासः परीक्षण विस्तारदेखि लकडाउन कडाई गर्नेसम्म
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको नियन्त्रणको लागि सरकारले परीक्षणको दायरा बढाउनेदेखि लकडाउनलाई थप कडाई गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियमित हुने पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो पटक पर्सामा तीन जनामा कोरोना संक्रमण देखिएसँगै थप कडाई गर्ने निर्णय गरेकाे बताएका हुन् । हालसम्म नेपालभरी कुल ८ हजार ५ सय ५ जनाको मात्र कोरोना परीक्षण भएको भन्दै अझै परीक्षणको दायरा बढाउने उनकाे भनाइ छ । उनले परीक्षण स्थानीयस्तरमा बढाउने तयारी भइरहेको जानकारी दिए। त्यस्तै, पछिल्लो समय ८५ जना मानिस आइशोलेसनमा छन् भने ७ हजार ९ सय ७३ जना क्वारेन्टाइनमा रहेका छन् ।कोरोना भाइरस फैलिन नदिन थप लकडाउनलाई पूर्ण पालन गर्नु आवश्यक रहेकोउनले बताए । नेपालमा हालसम्म १२ जनामा कोरोना भाइरस पुष्टि भईसकेको छ ।
नेपालमा १२ जना पुगे काेराेना संक्रमित, काे कुन ठाउँकाे ?
काठमाडाैं ।विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभि १९) को संक्रमण बढिरहेको छ । त्यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । हालसम्म नेपालमा १२ जनामा कोरोना संक्रमण देखिसकेको छ । नेपालमा कोरोना भाइरसको जोखिम कम गर्नका लागि चैत १० गतेदेखि बैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ । आजसम्म नेपालमा ९ जना मात्र कोरोना भाइरसको बिरामी भएपनि आज बीरगञ्जमा तीन जनामा कोरोना पोजेटिभ देखिएसँगै कोरोना संक्रमितको संख्या १२ जना पुगेको छ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा रहेका तीन नागरिकमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । आइसोलेशनमा राखिएका २१ जनामध्ये तीन जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चैत २९ गते पुनःपरीक्षण गरिएकामा ३ जनामा कोभिड–१९ पोजेटिभ देखिएको बताए । काे कुन ठाउँको हुन् ? १. पहिलाे पटक नेपालमा काेराेना भाइरसकाे संक्रमण देखिएका ३२ वर्षका पुरुष चीनबाट आएका थिए । उनलाई माघ १० गते नेपाल काेराेना देखिएकाे हाे । उनी निको भएर घर फर्किसकेका छन् । २. दाेस्राे १९ वर्षकी महिला हुन् । उनलाई १० गते काेराेना भाइरस देखिएको थियो । ३. तस्राे बिरामी ३२ वर्षका पुरुष दुबईबाट आएका थिए । उनलाई चैत १२ गते कोरोना पोजेटिभ देखिएको थियो । ४. चाैथाे, ३४ बर्षका पुरूष हुन् । उनी दुबईबाट आएका थिए । उनी धनगढीका हुन् । अहिले कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । ५. पाँचाैं, १९ बर्षकी महिला बेल्जियमबाट आएकी थिइन् । उनलाई चैत १५ गते कोरोना पोजेटिभ देखिएको थियो । उनी बागलुङकी हुन् । ६. छैटाैं, ६५ बर्षकी महिला हुन् । उनी दुबईबाट आएकी थिइन् । उनलाई चैत २० गते कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनी पनि बाग्लुङकै हुन् । ७. साताैं, २१ बर्षका पुरुष हुन् । उनी भारतबाट नेपाल आएका थिए । उनलाई चैत २२मा काेराेना भाइरस देखिएको हो । ८. उनी ४१ बर्षका पुरुष हुन् । उनी भारतबाट नेपाल आएका थिए । उनलाई पनि चैत २२ मा कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनी कञ्चनपुरका हुन् । ९) अर्को ३४ बर्षकी महिला हुन् । उनलाई पनि चैत २२ मा नै कोरोना पोजेटिभ देखिएको हो । उनी यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको भाउजु हुन् । नेपालमै देखिएको उनी पहिलो बिरामी हुन् । अन्य अर्को देशबाट आएका थिए । उनीहरु सबै सम्बन्धित जिल्लामा उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । १०. दशाैंमा पर्ने बिरामी वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शङ्कास्पद रूपमा रहेका कारण उनकाे परीक्षण गर्दा उनकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे । उनकाे चैत ३० गते देखिएकाे हाे । उनकाे नाराणी अस्पतालमा उपचार भइरहेकाेछ । उनी भारतीय नागरिक भएकाे बुझिएकाे छ । उनी ३७ वर्षका पुरूष हुन् । ११. उनी पनि भारतकै नागरिक हुन् । उनकाे पनि चैत ३० गते नै रिपाेर्ट पाेजेटिभ देखिएकाे बताइएकाे छ । उनी पनि ५५ वर्षकै पुरूष हुन् । १२. उनी ४४ वर्षका पुरूष हुन् । उनकाे पनि कोभिड–१९ को शङ्का लागि नारायणी अस्पतालको आइसोलेसनमा राखिएको र अवस्था सामान्य रहेकाे बताइएकाे छ। उनीहरुसमेत ‘थ्रोट स्वाब’ किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौंडाको ल्याबमा परीक्षण गरिएको थियो ।
भाटभटेनीले सुदूर पश्चिम प्रदेश सरकारलाई दियाे २५ लाख रूपैयाँ
काठमाडौं । भाटभटेनी सुपर स्टोर प्रालिले कोरोना भाइरस (कोभिड-१९ ) को परीक्षण एवं उपचारमा सहयोग पु-याउने उद्देश्यले सुदूर पश्चिम प्रदेश सरकारका लागि २५ लाख रूपैयाँ सहयोग गरेको छ । भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले आइतबार सिङदरबार स्थित खानेपानी मन्त्रालयमा गइ खानेपानी मन्त्री बिना मगरलाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन्। कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सुदूर पश्चिम सरकारसंग खानेपानी मन्त्री मगरले समन्वय गरिरहेकी छिन् । सूदुर पश्चिम प्रदेश सरकारसंग समन्वय गर्न खानेपानी मन्त्री मगरलाई जिम्मेवारी दिइएको छ। कोरोना राहत कोषका लागि भाट भटेनीले उक्त सहयोग गरेको हो । मन्त्री मगरले सुदूर पश्चिम प्रदेश सरकारलाई उक्त चेक हस्तान्तरण गर्ने छिन् । चेक ग्रहण गर्दै मन्त्री मगरले भाट भटेनीले यस्तो विषम परिस्थितिमा गरेको सहयोग प्रति धन्यवाद र आभार प्रकट गर्दै विपद्को समयमा आ-आफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैलाई आव्हान गरेकी छिन् । उनले यस किसिमको सहयोगले कोरोना संक्रमणको सम्भावित जोखिमलाई नियन्त्रण गर्न ठूलो मद्दत पुग्ने बताए ।
आइसोलेसनमा रहेका तीन जना कोरोना संक्रमित भएकाे पुष्टि
काठमाडौं । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा रहेका तीन नागरिकमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । आइसोलेशनमा राखिएका २१ जनामध्ये तीन जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चैत २९ गते पुनःपरीक्षण गरिएकामा ३ जनामा कोभिड–१९ पोजेटिभ देखिएको बताए । वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शङ्कास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यसमध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषलाई कोभिड–१९ को शङ्का लागि नारायणी अस्पतालको आइसोलेसनमा राखिएको र अवस्था सामान्य रहेकाे जानकारी दिए । उनीहरुसमेत ‘थ्रोट स्वाब’ किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौंडाको ल्याबमा परीक्षण गरिएको थियो । उक्त परीक्षणमा २१ जनामध्ये शङ्कास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुन परिक्षण गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । कोभिड–१९ सङ्क्रमितको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी ‘कन्ट्र्याक ट्र्यासिङ’ भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमणको उच्च जोखिमका बेला एनआईसी एशियाले के-कस्तो सतर्कता अपनाएको छ ?
काठमाडाैं । एनआईसी एशिया बैंकले कोरोना भाइरस संक्रमणको उच्च जोखिमका बेला ग्राहक तथा कर्मचारीको स्वास्थ्यमा विशेष सतर्कता अपनाउँदै आएको छ । बैंकले काेराेना संक्रमण न्यूनिकरण सतर्कताका विधिहरू अपनाई आफ्ना सेवाहरूलाई निरन्तरता दिएको छ । विश्वमा पहिलोपटक काेराेना-१९ संक्रमणको जोखिम भेटिएदेखि नै नेपालमा हुनसक्ने जोखिमको परिकल्पना गर्दै विशेष सावधानीका साथ बैंकले ग्राहकहरूलाई आफ्ना सेवा तथा सुविधा प्रदान गरिरहेको छ । ग्राहकहरू तथा कर्मचारीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बैंकले हालसम्म ५० वटा भन्दा बढी शाखा कार्यालय, कुल ४६१ वटा एटिएम तथा विभिन्न विद्युतीय माध्यमहरूबाट ग्राहकहरूको विभिन्न बैंकिङ्ग आवश्यकताहरू पूरा गरिरहेको छ । क. ग्राहकहरूमा अपनाईएका सुरक्षाका उपायहरूः – बैंकले सामाजिक सञ्जाल, एसएमएस तथा पोस्टरहरू मार्फत काेभिड-१९ संक्रमण तथा यसबाट सावधानीको उपायका बारेमा जनचेतनामूलक जानकारी दिइरहेको छ । – बैंकले सेवा दिइरहेका शाखा कार्यालयहरूमा ग्राहकहरू पुग्नुभन्दा २ घण्टा अगावै ग्राहकहरूको चहलपहल हुने क्षेत्र तथा कर्मचारीहरूको कार्यक्षेत्र सम्पूर्ण रुपमा काेभिड-१९ प्रतिरोधक हुने गरी डिस्इन्फेक्सन औषधी छर्किने गरेको । – शाखा कार्यालयमा खटिएका सुरक्षा गार्डद्वारा अत्यावश्यक सेवा लिन आउने ग्राहकहरूलाई मास्क तथा स्यानिटाइजर प्रयोग गर्न सल्लाह दिने गरिएको र स्यानिटाइजरले हात सफा गरेपश्चात मात्र ग्राहकलाई बैंकिङ्ग सुविधा लिन बैंक प्रवेश गराएको । – बैंकले हालसम्म आंशिक रुपमा सेवाहरू सुचारु गरिसकेको अवस्थामा सेवा लिन आएका ग्राहकहरूलाई यथाशक्य थर्मल गनको सहायताले ज्वरो (शारीरिक तापक्रम) नाप्ने व्यवस्था गरिएको र तापक्रम उच्च (१०० डिग्री फरेनहाईट भन्दा माथि) भएको खण्डमा तुरुन्त चिकित्सकीय परामर्श लिन सुझाव दिने गरिएको । – ग्राहकहरूलाई सेवा लिन आउँदा सामाजिक दुरी कायम राख्न लगाउने व्यवस्था गरिएको । – शाखामा पुगेका ग्राहकहरूलाई सकेसम्म विद्युतीय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न आग्रह गरिनुका साथै यसको लागि बैंकले विभिन्न विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सेवाहरूलाई हाल निःशुल्क गरिएको । – शाखा कार्यालयहरूमा कोरोना भाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनको लागि जनचेतनामूलक सूचना राखिएको । – ग्राहकहरूको बैंकिङ्ग कार्यमा समस्या आएको खण्डमा सो को समाधानका लागि बैंकले ‘डिजिटल हेल्प डेस्क’ तथा प्रादेशिक तथा उपप्रादेशिक क्षेत्रमा ‘ग्राहक सहायता केन्द्र’ को समेत स्थापना गरेको । ख. एटिएममा अपनाईएका सुरक्षाका उपायहरूः – ग्राहकहरूले एटिएम प्रयोग गर्दा स्यानिटाइजर प्रयोग गर्न अनिवार्य व्यवस्था गरिएको । – प्रत्येक ४८ घण्टामा एटिएममा काेभिड-१९ प्रतिरोधक हुने गरी डिस्इन्फेक्सन औषधी छर्किने व्यवस्था गरिएको । – एटिएमहरूमा कोरोना भाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनको लागि जनचेतनामूलक सूचना राखिएको । – एटिएमहरूमा भीडभाड गर्न नदिई ग्राहकहरूको दुरी कायम गराएर मात्र रकम झिक्ने व्यवस्था मिलाइएको । ग. कर्मचारीहरूमा सुरक्षाको निम्ति अबलम्बन गरिएका उपायहरूः – बैंकले विश्व जगतमा कोरोना संक्रमणको अवस्था देखिए देखि नै स्टाफ एडभाइजरी जारी गरि आफ्ना कर्मचारीलाई उच्च सतर्कता अपनाउन संचार गरिरहेको । – कार्यालयमा उपस्थित कर्मचारीहरूले मास्क, पन्जा तथा स्यानिटाइजर लगाएर ग्राहकहरूलाई सेवा दिने व्यवस्था बैंकले गरेको । – नोटको प्रयोगबाट कोरोना भाइरस जस्तो महामारी फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै बैंकले ग्राहकहरूबाट प्राप्त नगद रकमलाई समेत तुरुन्त डिस्इन्फेक्सन गरेर जम्मा गर्ने व्यवस्था गरेको । – सेवामा रहेका कर्मचारीहरूलाई बैंकले सवारीमार्फत घरसम्मै लिन र छोड्न जाने सुविधा बैंकले प्रदान गरिरहेको । – यस विपतको समयमा परिवारभन्दा अलग रहेका वा लकडाउनले गर्दा विभिन्न स्थानमा रोकिएर रहेका कर्मचारीहरूलाई लकडाउनको कार्यविधि उल्लंघन नहुने गरी परिवार रहेको स्थानसम्म उच्च सावधानीको साथ पुर्याउने व्यवस्था गरिएको । – यातायातका लागि प्रयोग हुने सवारी साधनहरूमा पर्याप्त मात्रामा डिस्इन्फेक्सन औषधी छर्किने तथा चुस्त सफाइको व्यवस्था गरिएको । – कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न सुरक्षाका कार्यक्रमहरूका साथै नेपालमा पहिलो कोरोना संक्रमित भेटिए देखि नै बैंकले कर्मचारीहरूलाई परामर्श दिइरहेको । – सामाजिक दुरी कायम राख्नका लागि बैंकले आपतकालीन कामका लागि बाहेक (एटिएम/सूचना प्रविधि) कर्मचारीहरूलाई वर्क फ्रम हाेमको व्यवस्था गरिएको छ । साथै कार्यलय आउने कर्मचारीहरूलाई स्यानिटाइजर, मास्क, पन्जा जस्ता सुरक्षाका सामग्रीको प्रबन्ध गरेको । यस विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरकेो छ ।