काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी समाप्त नहुञ्जेलसम्म पारिश्रमिक नलिने निर्णय गरेको जानकारी दिएका हुन् ।
आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’
प्रधानमन्त्री ओलीले मुलुकको प्रगतिमा हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन हामी सबैले मिलेर गर्नुपर्ने बताएका छन् । देशभित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरी रहनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।