विद्युत् आपूर्तिलाई नियमित एंव प्रभावकारी बनाउन विशेष अभियान
काठमाडौं । विद्युत् वितरण केन्द्र टाँडीले लकडाउनको समयमा पनि विद्युत् आपूर्तिलाई नियमित एंव प्रभावकारी बनाउन विशेष अभियान शुरु गरेको छ । विद्युत् आपूर्तिमा समस्या आउन नदिन तथा निरन्तर अनुगमनका लागि २४ घण्टै प्राविधिकसहित कर्मचारी खटाइएको केन्द्रका प्रमुख चुटनकुमार श्रीवास्तवले बताए । करिब ६० हजार विद्युत् मिटर लिने ग्राहक रहेको सो केन्द्रमा विद्युत् महसुल भुक्तानका लागि इ–सेवासमेत शुरु गरिएको बताइएको छ । लकडाउनका कारण सेवाग्राहीलाई विद्युत् कार्यालयमा भीडभाड र जमघट हुन नदिन भिडियो क्लिप एसएमएस तथा कर्मचारीको मोबाइलबाट विद्युत् मिटरको रिडिङसमेत गराउने व्यवस्था गरिएको र त्यसअनुसार काम गरिरहेको प्रमुख श्रीवास्तवले जानकारी र्दिए । मासिक छ करोड रुपैयाँ विद्युत् राजश्व सङ्कलन हुने सो केन्द्र उपभोक्तको फोनमार्फत घरघरमा गएर विद्युत् मिटर जडान हुने गरेको बताइएको छ । कोराना भाइरसबाट जोगिन कार्यालयभित्र सेनिटाइजर, साबुनपानी तथा मास्कसमेत व्यवस्था गरिएको प्रमुख श्रीवास्तवले बताए । चालु आर्थिक वर्षको पहिलो छ महिनामा सो केन्द्रले विद्युत् चुहावट गर्ने २ सय ३४ जनालाई कारवाही गरिएको जनाएको छ । रासस
एनएमबि बैंकले सातै प्रदेशमा वितरण गर्याे ७०० थान पीपीई
काठमाडाैं। एनएमबि बैंकले कोभिड-१९ विरुद्ध प्रतिरक्षाको लागी सरकार र जनतालाई सहयोग पुर्याउने कार्य जारी राखेको छ । बैंकले हालै सातै प्रदेशमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण सम्पन्न गरेको छ । बैंकले यी प्रयासहरुले भाइरसको फैलावट रोक्न मुलधारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने विश्वास लिएको छ । बैंकले सरकारलाई देशैभरी रहेका ७ वटै प्रदेश कार्यालय मार्फत ७०० पीपीइ बितरण गरिसकेको छ । देशमा भाइरसको महामारीको चर्चा भए लगतै बैंकले सरकारको कोभिड-१९ रोकथाम कोषलाई रुपैया १ करोड ५१ लाख, डा. महावीर पुनः ले नेतृत्व गरेका राष्ट्रिय अविश्कार केन्द्रलाई रुपैया ५ लाख, अनलाइन पारीहरुसँग पनि सम्झौता गरी उक्त संरचनाबाट गरिएको खरिदको आंशिक रकम कोभिड-१९ रोकथाम कोषमा प्रदान गरिने निर्णय गर्नुको साथै आफ्ना शाखा र प्रदेश कार्यालय मार्फत सरकारलाई अतिआवश्यक सामग्री सहयोगको हात अघि बढाएको छ । ‘वर्तमान समयमा हामीले सामना गरिरहेको चूनौति हामी सबैको लागी अभूतपूर्व हो, यस परिस्थितिमा हामीलाई हाम्रो समुदायको लागी आ-आफ्नो क्षेत्रबाट प्रदान गर्न सक्ने महत्वपूर्ण भुमिकाको लागी उत्प्रेरित गर्दछ । एनएमबि बैंकले आफ्नो समुदाय र यसका ईकाइलाई दीगो भविष्यको मार्गचित्र कोर्न सदैव जोड दिएको छ र यस अवसरलाई सरकार र प्रत्यक्ष प्रभावित समुदायलाई यस महामारी विरुद्ध सहयोग पुर्याउने अवसरको रुपमा लिएका छौं ।’ बैंकद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।
चाराे कुर्दै चरा, शव कुर्दै घाटे (लकडाउनमा पशुपति क्षेत्रकाे फाेटाे फिचर)
काठमाडाैं । कोरोना भाइरस (कोभिड(१९) को नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनले देश नै सुनसानमा छ । सधैं व्यस्त हुने काठमाडौंका सडक, मठ मन्दिर, स्तुप लगायतका क्षेत्रहरु सुनसान रहेका छन् । सडकमा सेना, प्रहरी, पत्रकार तथा एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्र देखिन्छन् । सरकारले सभा सम्मेलन मात्रै हैन धार्मिक तथा सामाजिक कार्यहरू पनि रोकेको छ । पशुपति क्षेत्रका भण्डारखाल, भस्मेश्वर, कैलाशडाँडा, मृगस्थलीलगायत उद्यान, सत्तल एवं पाटी पौवामा पनि समूहमा धेरै मानिस उपस्थित नहुन पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई आह्वान गरेको छ । पशुपतिनाथसँगै रहेको आर्यघाट पनि हिजोआज भने सुनसान छन् । दैनिक शव जलाउने घाट अहिले खाली खाली छन् । यसैक्रममा बिकासन्युज प्रतिनिधि प्रकाश वाग्लेले तयार गरेको फोटो फिचर श्रद्दालु बिहिन पशुपतिनाथ ब्याकुल साधु सुनसान भस्मेश्वर शवको प्रतिक्षामा मसानघाट कामबिहिन घाटे तथा रित्तो स्मसान भक्त विहिन भोलेनाथ लकडाउनले रोक्न नसकेको रोजगारी ( भष्मेश्वर बाग्मती नदिमा सिक्का दाउरा लगायत संकलन गदै ) निर्माण सामाग्री तथा सम्पदाको पुनर्निमाण हुदै चारोको पर्खाइमा पन्छिहरु
कोरोनाको कहर : नयाँ वर्षमा इतिहासमै पहिलोपटक सुनसान पोखरा
काठमाडौं । वरिष्ठ गीतकार प्रेमप्रकाश मल्लको गीतमा मात्रै हैन यो वास्तविकता नै हो, पोखरा साँच्चिकै प्रकृतिको वरदान हो । उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्कने माछापुच्छे हिमालले डुबुल्की मार्ने फेवातालका साथै यो ठाउँ प्रकृति र संस्कृतिले धनी छ । वर्षेनी ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकले पोखरा आएर यहाँका मनोरम प्राकृतिक छठाको रसस्वादन गर्ने गरेका छन् । प्रत्येक नेपाली नयाँ वर्ष होस् वा अङ्ग्रेजी पोखरामा ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटक आउने गर्दछन् । दुई चार दिन बिदा हुँदासाथ पूर्वमेचीदेखि पश्चिम महाकालीका बालकदेखि वृद्धसम्मको घुम्न जाने पहिलो रोजाइ पोखरा बनिसकेको छ । विडम्बना नै भन्नुपर्छ प्रत्येक नेपाली नयाँ वर्षका अवसरमा विशेषतः आन्तरिक पर्यटकले भरिभराउ हुने पोखरा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण र जारी लकडाउनले यतिखेर भने सुनसान बनेको छ । पोखराको प्रमुख पर्यटकीय आकर्षण ‘लेकसाइड’ यतिखेर सुनसान छ भने पोखरामा धार्मिक पर्यटकीयस्थलमा दर्शनार्थी छैनन् । लकडाउनका कारण बाहिरी जिल्लाबाट आउने आन्तरिक पर्यटक त छैनन् नै, यहाँका स्थानीयवासी पनि लकडाउनका कारण घरघरमा नै रोकिएका छन् । पोखराको पर्यटकीय इतिहाससँग आरोहणकै जेठो हिमाल अन्नपूर्ण जोडिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) गण्डकी प्रदेशका अध्यक्ष सोम थापाले बताए । उनका अनुसार सन् १९५० जुन ३ तारिखमा अन्नपूर्ण प्रथमको सफल आरोहण मौरिस हर्जोगको टाली आरोहणमा जाँदा आउँदा पोखरामा बसेका थिए । पोखरामा सन् १९६० देखि हिप्पी पर्यटकको आगमन भएसँगै यहाँको पर्यटकीय गतिविधि चलायमान बनेको हो । अन्नपूर्ण हिमाल आरोहणको झण्डै डेढ दशकपछि सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा पदयात्रा गरेका थिए । त्यसयता यस क्षेत्रको पदयात्रा होस् वा हिमाल आरोहण हरेकमा पर्यटकले केही दिन विताएर तयारी गर्ने र फर्केपछि आराम गर्ने स्थलका रुपमा पोखरा विकास भएको उनले जानकारी दिए । विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमण र जारी लकडाउनका कारण पोखराको पर्यटककीय इतिहासमा पहिलो पटक यो पर्यटकविहीन बन्न पुगेको थापाले बताए । सन् १९८० को दशकदेखि पोखराको फस्टाउँदै गएको पोखराको पर्यटनमा भूकम्प, नाकाबन्दी, हुदहुद, अन्नपूर्ण क्षेत्रका हिमपहिरो जस्ता विभिन्न व्यवधानले बेला बेलामा असर गरे पनि अहिलेको जस्तो भने यसअघि भोग्नु नपरेको पर्यटन व्यवसायी बताउँछन् । पोखरामा माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालका साथै दृश्यावलोनका लागि सराङकोट, विश्वशान्ति स्तूप, काहुँडाडा, पुम्दीकोट, हुडिकोट, ठूलाकोट जस्ता धेरै स्थान छन् । यहाँका महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफासहित बीचभाग भएर बग्ने सेती नदी र पातले छाँगो महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् । यी स्थानका अतिरिक्त पोखराकै कमलपोखरी, लेखनाथ क्षेत्रका वेगनास, रुपा, खास्टे, दिपाङ, मैदी, न्युरेनी जस्ता ताल महत्वपूर्ण स्थल हुन् । प्रत्येक नेपाली नयाँ वर्ष होस् वा अङ्ग्रेजी नयाँ वर्ष ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटकले पोखरा भरिभराउ हुने गरेको पश्चिमाञ्चल होटेल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । पोखरामा पर्यटक लक्षित होटेल ५ सयभन्दा बढी सङ्ख्यामा रहेको जानकारी दिँदै उनले होटेल व्यसायमा मात्रै एक खर्बभन्दा बढी लगानी भइसकेकाे बताउँछन् । इतिहासमा नै पहिलो पटक पोखरा पर्यटकविहीन बनेको बताउँदै उहाँले कोरोना सङ्क्रमणको मारमा यहाँका व्यवसायी परिरहेको जानकारी दिए । उनका अनुसार पश्चिमाञ्चल होटेल सङ्घले वर्षेनी गर्दै आएको फेवा नववर्ष महोत्सव कोरोनाका कारण यस वर्ष स्थगन गरिएको छ । नयाँ वर्षमा पोखरा आउने पर्यटक विगतमा फेवातालमा डुङ्गा शयरका साथै तालका बीचमा रहेको तालबाराही मन्दिर दर्शन गर्न जाने गर्दथे । अहिले भने लकडाउनका कारण यहाँका डुङ्गा व्यवसायीले फेवातालमा डुङ्गा सञ्चालन बन्द गरिसकेका छन् । नयाँ वर्षका साथै महत्वपूर्ण चाडपर्व र तिथि मितिमा ठूलै भीडाभाड हुने पोखराको विन्ध्यवासिनी मन्दिर आज भने सुनसान रहेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले बताए । लकडाउनसँगै मन्दिरमा सर्वसाधारणका लागि पूजा अर्चनाका लागि रोक लगाइएको जानकारी दिए । “प्रत्येक नयाँ वर्षमा निकै भिडभाड हुने विन्ध्यवासनी मन्दिर यसपटक भने सुनसान बनेको छ”, संस्कृतिविद्समेत रहेका श्रेष्ठले भने, “इतिहासमा नै पहिलो पटक पोखराका धार्मिक पर्यटकीय स्थल दर्शनार्थीविहीन बनेका छन् ।” रासस
मजदुरको दुखेसो–रोगभन्दा भोक सहन गाह्रो
काठमाडाैं । चैत १० गतेअघिसम्म सिन्धुलीका हरि माझीलाई दिन बितेको पत्तो हुँदैनथ्यो । दिनभर भारी बोक्यो, साँझ खाना खायो थुपुक्क सुत्यो । एकै निद्रामा बिहान झिसमिस भइहाल्थ्यो । जुरुक्क उठेपछि भारी बोक्ने काम शुरु हुन्थ्यो । यसरी बित्थे माझीका दिनहरु । दैनिक गुजाराका लागि भारी बोकेर उपत्यकामा भौंतारिएको धेरै वर्ष भइसक्यो तर उनलाई अहिलेको जस्तो सकस पहिले कहिल्यै परेको थिएन । “दिनदिनैको बन्दले केही गर्न पाएको छैन । आज २० दिन भयो दुई चार पैसा कमाइ पनि छैन । विकल्प नै केही नभएपछि के गर्नु भोकभोकै बस्नुपरिरहेको छ”, भक्तपुर थिमिस्थित शङ्खधर चोकमा भेटिएका माझीले मलिन स्वरमा दुःख पोखे । माझी थोत्रो ज्याकेट र पाइन्ट, धेरै दिन नुहाउन नपाएर जिङ्रिङ परेको कपाल, मुखमा कालो मास्क र फाट्न लागेको चप्पलमा देखिन्थे । उनका अरु मजदुर साथीहरु पनि सडकपेटीमा सुस्ताउँदै थिए । माझीले हामीलाई व्यथा पोख्न भ्याए । समस्या सबैको उही न हो, बीचबीचमा उनीहरु पनि थप्दै थिए । कसरी दिन काट्ने होला भन्ने नै थियो सबैको साझा चिन्ता । सकड खाली नै थियो । एकै छिनमा मानवसेवा आश्रमको गाडी हुँइकिएर आयो । माझीलगायत उनका मजदूरहरु साथीहरु र सडक पेटीमा बसिरहेका अरुको अनुहार उज्यालो भयो । सबै खुशी देखिए । लकडाउनको शुरूवातमा भोकभोकै परेका मजदूरहरुलाई केही दिनदेखि त्यही गाडीले खाना ल्याएर खुवाउने रहेछ । यसो हेर्दैगर्दा उनीहरु बसेकै सडकपेटीमा खाना आइपुग्थ्यो । आश्रमले यसरी नियमित खाना खुवाउन थालेदेखि उनीहरुको मुहारमा चमक देखिन थालेको रहेछ जुन आज पनि झल्कियो । “केही दिन भयो यसैगरी खाना बाँड्न ल्याउनुहुन्छ, खायो बस्यो, बेलुका पाटीमा गयो सुत्यो, यसरी चल्दैछन् हिजोआजका दिन”, माझीले सुनाए । शुरुका दिनहरुमा भोकभोकै पर्याैं उनले भने । कतिदिन त एक छाक खान पायौँ अनि धेरै दिन भोकै रहेको पीडा भुल्न नसकेको भन्दै अब त्यस्ता दिन नआएनी हुने भन्दै थिए । पछिल्ला केही दिन खान त पाएका छन् तर उनीहरुको मनले मानेको छैन । उनीहरु काम गर्न चाहन्छन् । तर पाएका छैनन् । सरकारसँग रासन माग्न पनि गएकै हो, तर मजदुरले पाएनन् । “सिफारिस लिएर गएको हो खोइ साहुहरुलाई दियो, हामीलाई दिएन” खाना खुवाउने आश्रमलाई धन्यवाद दिँदै माझीले थपे, “हजुर रोग लागेर त केही हुँदैनथ्यो भोक सहन सकिँदैन जस्तो लाग्नथाल्यो ।” उनले रोग लागेर पनि सबै जना मर्दैनन् भनेर आफूले सुनेको बताए । नजिकै रहेका अन्य सहकर्मीहरु भाइकाजी खत्री, रामबहादुर वाइवा, बाबुराम गुरुङ, प्रेम धिमाल, पूर्ण लामा सडकपेटीमै बसेर धमाधम खाना खाँदै थिए । खाना खानुअघि आश्रमले नै स्यानिटाइजरको व्यवस्था गरेको थियो । सामाजिक दूरी कायम गरेर खाना खुवाइएको थियो । बेखर्ची भएर सडकमै बस्न बाध्य धेरैजसोको काम भारी बोक्ने नै हो । नुवाकोटका पूर्ण लामाको कथा केही फरक छ जात्रा हेर्न चैत ९ गते उपत्यका भित्रिएको रहेछन् । तर बन्दाबन्दीले निस्कनै पाएनन् । चैत १० मा भेटघाट सकेर ११ गते फर्कने सोच थियो उनकाे । तर १० गते साँझ सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर निस्किन नपाउने बन्दाबन्दी ‘लकडाउन’ को आदेश जारी गर्यो । राति मात्रै थाहा पाएका लामा उपत्यकामा अलपत्र परे। साथमा रहेको पैसा पनि केही दिनमा सकियो, खाना खान भौतारिए । अहिले कहिले पेटभर त कहिले आधी पेटमा दैनिकी चल्दैछ । विगत पाँच दिनदेखि भने पेटभर खान पाएको उनले सुनाए । काठमाडौंको कोटेश्वरमा एक सानो खाजा पसलमा कुक काम गर्ने रामेछापका वीरबहादुर खड्का पनि आफू कहिल्यै अभावमा परेको मान्छे नभए पनि यतिखेरको जस्तो समस्या कहिल्यै सामना गर्न नपरेको बताउछन् । लकडाउनलाई अघिपछिको बन्दजस्तै होला भन्ने ठानेका उनी मुलुक नै सुनसान बन्द भएपछि छक्क परे । मासिक १६ हजार रूपैयाँ तलब खाने खड्का अहिले बेखर्ची भएपछि सडकमै छन् । घर जान सकिने अवस्था रहेन । सरकारले राहत पनि दिएन । “राहत दिन्छ रे भनेर नागरिकता लिएर गएको दिएन”, खड्काले दुःख पोखे, “त्यही सडकमा डुल्ने, खाने, ठेला र प्रतिक्षालयमा सुत्ने अवस्थामा छु, दिन काट्नै पर्याे के गर्नु ?” उनलाई शुरुमा कोटेश्वरमा एउटा युवा क्लबले खाना दिन्थ्यो । अहिले सो आश्रमले खाना दिन थालेपछि भने सजिलो भएको सुनाए । खाना खुवाउन आइतबार साँझ मध्यपुरथिमि नगपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी सरिक भएका थिए । घरमा असहायको संरक्षण गरी सडक मानव र पशुपक्षीको सहयोग गर्दै आएको संस्थाले लकडाउनका बेला आफ्नो नगरपालिकामा आएर भोकाएका मजदूरलाई खाना खुवाएकामा उपप्रमुख मधिकर्मीले आश्रमको प्रशंसा गरे । उनले पकाउने चुलो नभएकालाई चामल दिँदा बेचेर खाने अवस्था रहेको भन्दै खानादिनु नै उत्तम विकल्प हो भने । चीनको वुहानमा गत डिसेम्बर ३१ मा शुरु भई विश्वव्यापी महामारीको रुप लिँदै गएको कोभिड–१९ को सङ्क्रमण विश्वका २१३ देशमा फैलिइसकेको छ । उक्त रोगबाट आजसम्म १८ लाख ५३ हजार १५५ नागरिक सङ्क्रमणमा परेका छन् । एक लाख १४ हजारले ज्यान गुमाइसकेका छन् । नेपालमा १२ जनामा यो सङ्क्रमण देखिए पनि फैलिएको भने छैन । यहाँ रोगको सङ्क्रमण नफैलिए पनि अप्रत्यक्षरुपमा देशभरका मानिस प्रभावित भएका छन् । कैयौं भोकै बस्नुपर्ने बाध्यता छ । यस्तो अवस्था देखिएकाले सरकारी निर्णयअनुसार स्थानीय तहबाट राहत वितरण जारी छ । पकाएर खाने ठाउँ नहुँदा मजदुरलाई राहत आकाशको फल झैं हुन्छ । राहत पाउनेमा पनि सम्पन्नको बाहुल्यता देखिने गरेको गुनासो गरिब मजदूरको छ । त्यसैले मजदूरलाई दैनिक खाना खुवाउनु नै प्रभावकारी ठानिएको छ । नेपालमा यसरी भोकै सडकमा पुगेकालाई विभिन्न संस्थाले राहत र खान खुवाउँदै आएको छ । यो क्रम उपत्यकामा पनि जारी छ । वितरण प्रभावकारी नहुँदा अझै कतिपय मजदूर भोकभोकै बस्नु परेको छ भने भोकभोकै पैदलै गाउँ फर्कन पनि कतिपय बाध्य छन् । भक्तपुरका विभिन्न ठाउँमा मानवसेवा आश्रम र नेपाल स्वयंसेवक सङ्घका प्रतिनिधि मिलेर अहिले भोकै रहेका मजदूरलाई खोजीखोजी खाना खुवाउन थालिएको हो । सङ्घका अध्यक्ष सन्तोष निरौलाका अनुसार शुरुका दिनमा सडकमा भएका कुकुरलाई खाना खुवाउन थालिएको थियो । सोही क्रममा सडकमा मजदूर भोकै बसेको फेला पर्यो । “दुई/तीन दिनदेखि खान नपाएको उनीहरुको दुखेसो सुन्यौँ, अब केही त गर्र्नै पर्यो भनेर आश्रममा खबर गर्याैं, अनि सबैको सल्लाहमा अभियान थालेका हौ”, निरौलाले अभियानको बारेमा जानकारी दिए । स्वयंसेवकले भोकाएका मजदूर कहाँकहाँ छन् भनेर खोजी गर्छन् । त्यसपछि मानवसेवा आश्रमले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर स्थानीय तहको समन्वयमा खान पकाएर वितरण गर्दै आएको छ । खानामा भात, दाल, तरकारी, सलाद दिने गरिएको छ । आश्रमले विगत सात वर्षदेखि मुलुकलाई नै असहाय सडक मानवमुक्त बनाउने अठोटका साथ सडकमा मागेरसमेत खान नसक्ने, वेसहारा, मनोरोगीको उद्धार गरी संरक्षणको अभियान चलाउँदै आएको छ । लकडाउनको अहिलेको समयमा आश्रमले दोहोरो अभिभारा ग्रहण गरेको छ । असहायको संरक्षणसँगै भक्तपुरका सडकमा भोको रहेका व्यक्तिलाई खाना खुवाउन थालेको छ । अन्य जिल्लामा आवश्यक सहयोग, समन्वय र सडक मानवको उद्धार गरिरहेको छ । आश्रममै खाना तयार हुन्छ र गाडीमा बोकेर जहाँजहाँ भोका मानिस छन्, त्यहीँ पुगेर खाना खुवाउने गरिएको छ । यतिबेला कोभिड– १९ को डरले गर्दा खाना खुवाउने क्रममा पनि सामाजिक दूरी कायम गरिन्छ । व्यक्तिगत सुरक्षा उपकरण प्रयोग गरेर आश्रमका अभियानकर्मीहरु खाना दिन जान्छन् । हिजोआज दैनिक करिब ३ सय जनालाई बिहान बेलुकाको खाना खुवाइने गरिएको छ । आश्रमका अध्यक्ष रामजी अधिकारीले चैत २४ गतेदेखि नियमित खाना खुवाउने गरिएको बताए । उद्धार गर्ने अभियानसँगै विभिन्न परिस्थितिमा सकडमा रहेका मजदूरको अवस्था कमजोर देखिएकाले आश्रमको इच्छा कटौती गरेर खाना खुवाउन थालिएको अधिकारी बताए। सात प्रदेशका १४ जिल्लाका १९ शाखाबाट आश्रमले बेसहारालाई सेवा दिइरहेको छ । यसरी बेसहारा र सडकबाट उद्धार गरिएकामध्ये अहिले एक हजार १ सय जना संरक्षणमा छन् भने ६ सय बढीलाई परिवारमा मिलन गराइसकिएको जनाइएको छ । रासस
क्वारेन्टाइनका लागि होस्टल एसोसिएसनले एक हजार बेड उपलब्ध गराउने
काठमाडौं । नेपाल होस्टल एसोसिएसनले क्वारेन्टाइनका लागि एक हजार बेड उपलब्ध गराउने भएकाे छ । एसोसिएसन जिल्ला समन्वय समितिका संयोजक सुनिल भेटवालले एसोसिएसनले अहिले नै साे मात्राकाे बेड उपलब्ध गराउन सक्षम रहेकाे बताएका हुन् । नेपालभर १२ सय भन्दा बढी होस्टल रहेका छन् । एसोसिएसनले काठमाडौं उपत्यकाका अलावा मोरङ, चितवन, रुपन्देही र काभ्रे जिल्लामा आवश्यक पर्ने क्वारेन्टाइनका लागी बेड र भवन उपलब्ध गराउने भएको हो । ‘यदि आवश्यक पर्याे भने थप सहयोग गर्न सक्छौं। उप-प्रधानमन्त्री ईश्वर पोख्रेललाई समेत यस्तो सहयोगको तत्परताबारे जानकारी गराइसकेका छाैं ।’ – संयोजक भेटवालले भने । नेपालका व्यवसायीहरूले सरकारलाई क्वारेन्टाइन स्थल निर्माणमा सहयोग गर्ने भएका छन् । नेपाल होस्टल एसोसिएसनका अध्यक्ष भक्ति पाठकद्वारा सोमबार जारी गरिएको शुभकामना मन्तव्य तथा सार्वजनिक आव्हान सहितको वक्तव्य मार्फत यस्तो घोषणा गरेका हुन् । पाठकले जारी गरेको वक्तव्यमा लेखिएको छ, ‘हामीले राज्यले आवश्यक ठानेको खण्डमा कोभिड-१९ का सम्भावित सङ्क्रमितको लागि आवश्यक पर्ने क्वारेन्टाइन निर्माणको लागि आवश्यक पर्ने बेड तथा भवनहरू समेत सरकारलाई उपलब्ध गराउने निर्णय गरेका छौँ । नेपाल सरकारलाई यसै सन्देश मार्फत आवश्यक परे हाम्रो तर्फबाट जस्तोसुकै सहयोग उपलब्ध हुने समेत जानकारी गराउन चाहन्छौं ।’ उनले सरकारलाई भौतिक सहयोग गर्ने निर्णय एसोसिएसनको अनलाइन बैठकले गरेको समेत उल्लेख गरेका छन् । आफूहरूको निर्णय बारे स्पष्ट पार्दै पाठकले भने, ‘यो बेला सबै क्षेत्र, वर्ग, व्यवसायी र समुदायले सरकारलाई सहयोग गर्ने समय भएकोले कर्तब्यबोध गर्दै यो निर्णय गरिएको हो ।’ एसोसिएसनका केन्द्रीय सल्लाहकार दीपक बरालले सरकारलाई आवश्यक परेको खण्डमा तीन सय भन्दा बढीलाई क्वारेन्टाइनमा राख्न सक्ने गरिको संरचना उपलब्ध गराउन आफू स्वयम् समेत तयार रहेको जानकारी दिए । उनले यो विषम परिस्थितिमा होस्टल व्यवसायीहरूले थोरै सहयोग गर्दा समेत त्यसले राज्यलाई महत्त्वपूर्ण सहयोग पुग्ने ठहर गरी यस्तो निर्णय गरेको बताए । नयाँ बानेश्वर स्थित एभरेष्ट अस्पतालका सञ्चालक समेत रहेका बरालले भने, ‘होस्टलको संरचना क्वारेन्टाइनका लागी उपयुक्त हुन्छ । त्यसैले व्यवस्थापनमा पनि सहज हुन्छ भन्ने सोचेरै हामीले सरकारलाई सहयोग गर्ने सोच बनाएका हौं।’
लकडाउनकाे माैका छाेपि नदीजन्य पदार्थको अवैध उत्खनन्
काठमाडौं । मुलुकमा जारी बन्दाबन्दीको मौका छोपेर बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गत पर्ने खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ । राप्तीसोनारी ३ खैरेनी र साइपुर नाका, वडा नं ४ को लालपुर तथा वडा नं ५ का आलिनगर र ललै नाकाबाट नदीजन्य पदार्थको अवैध रुपमा निकासी भइरहेको छ । वडा नं २ का मुगुवा, माथेवास र मदुई नाकाबाट पनि बन्दाबन्दीको मौका छोपेर खुलेआम अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको स्थानीयवासी हेमन्त चौधरीले बताए । राप्ती नदीसँगै जोडिएको स्थानीय भुवरभवानी सामुदायिक वन क्षेत्रबाट समेत अवैधरूपमा ढुङ्गा उत्खनन भइरहेको स्थानीय अगुवा विश्वसागर परियारको भनाइ छ । राप्ती नदीबाट दैनिक सयौंँ घनमिटर ढुङ्गा अवैध रुपमा उत्खनन हुँदा बस्ती असुरक्षित हुनाका साथै स्थानीय सरकारलाई राजश्वमा समेत घाटा भएको पूर्वसभासद् एवम् स्थानीय अगुवा पट्टुु थारु चिन्ता व्यक्त गरे । गाउँपालिकाले यस वर्ष नदीजन्य पदार्थ निकासीका लागि ठेक्का लगाउन नसकेका कारण अमानतमा निकासी गर्ने निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि बन्दाबन्दी जारी भएपछि नदीजन्य पदार्थ निकासी रोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । उनले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न गाउँपालिकाले नियमित अनुगमन गरे पनि अहिले कोरोना भाइरस रोकथामको अभियानमा गाउँपालिका र सबै जनप्रतिनिधि सक्रिय हुँदा कहीँकतै अवैध निकासी भएको हुन सक्ने बताउँदै यस्ता अवैध कार्य रोकथाममा गाउँपालिकालाई सहयोग गर्न स्थानीयवासीलार्ई आग्रह गरे । एक टिपर नदीजन्य पदार्थ उत्खननका लागि चार हजार रोयल्टी तिर्नुपर्ने भए पनि बन्दाबन्दीको मौका छोपेर रातको समयमा अवैध उत्खनन हुँदा प्रत्यक्ष रुपमा गाउँपालिकालाई राजश्व घाटा भएको छ । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाले रु १४ करोडभन्दा बढी राजश्व सङ्कलन गरेकामा यस वर्ष चार पटकसम्म आह्वान गरिएको बोलपत्र रद्द भएपछि नदीजन्य पदार्थ अमानतमा दिने निर्णय गरिएको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुले आफूहरु कोरोना भाइरस महामारी फैलिएका समयमा जनतालाई राहत दिनेतर्फ लागेकाले नियमित अनुगमन गर्न नसके पनि अवैध उत्खननमा रोक लगाउन प्रहरीलाई खबर गरिएको बताए । रासस
एनसेल अफरः अन्तर्राष्ट्रिय कलको दरमा छुट, डिजिटल सेवाहरु सित्तैमा लिन पाइने
काठमाडौं । एनसेलका ग्राहकले विश्वका १५ देशमा रहेका आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग अब अझै सुलभ दरमा कुरा गर्न सक्नेछन् र विभिन्न डिजिटल सेवाहरु १ महिनाको लागि निःशुल्क प्रयोग गर्न सक्नेछन् । नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले बैशाख १ गते (सोमबार) आफ्ना ग्राहककालागि दुई आकर्षक योजनाहरु ल्याएको घोषणा गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको त्रास र लकडाउनको बढ्दो अवधिसँगै, विदेशमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त तथा साथीभाइसँग अझ सुलभदरमा सम्पर्कमा रहिरहन एनसेलले विश्वका १५ मुलुकमा अन्तर्राष्ट्रिय कलको दरमा छुट गरेको छ । त्यस्तै लकडाउनमा रहेका आफ्ना ग्राहकको मनोरञ्जनका लागि पनि विभिन्न भ्यालु एडेड डिजिटल सेवाहरु निःशुल्क गरेको छ । न्यु इयर अफर अन्तर्गत ग्राहकले विश्वको १५ मुलुकमा अन्तर्राष्ट्रिय कल अब मात्र रु २.४९ प्रति मिनेट (कर सहित रु ३.१८) मा गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय कलको दरमा छुट गरिएका देशहरुमा भारत, अस्ट्रेलिया, मलेसिया, चीन, जापान, दक्षिण कोरिया, हङकङ्, सिङ्गापुर, संयुक्त अधिराज्य बेलायत, बङ्गलादेश, स्विडेन, न्यूजिल्याण्ड, रोमानिया, भुटान र इन्डोनेशिया पर्दछन् । ग्राहकले १७१०७ डायल गरी यो योजना अन्तर्गतको अन्तर्राष्ट्रिय कलमा छुटको फाइदा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स१७१०७ह्यास डायल गरी वा अंग्रेजीमा ठुलो ए लेखि १७१०७ मा एसएमएस पठाएर पनि यो योजनाको लाभ लिन सक्नेछन् । यो योजना १ महिनाको लागि मान्य रहनेछ । नयाँ वर्षकै अर्को योजना अन्तर्गत एनसेलले आफ्ना ग्राहकको मनोरञ्जनको लागि विभिन्न डिजिटल सेवाहरु जस्तै गीत म्युजिक एप, म्युजिक स्टेशन, भक्ति संगीत र एक घण्टी रेडियो अन्तर्गतको ज्योतिष सेवा पनि १ महिनाको लागि निःशुल्क गरेको छ । गीत म्युजिक एप एनसेल नेटवर्कमा मात्र सुचारु गर्न सकिने एक संगीतिक एप सेवा हो जहाँ ग्राहकले विभिन्न नेपाली गीतहरु सुन्दै आनन्द लिन सक्छन् । यो एप सुचारु गर्न ग्राहकले पहिला एनसेलको नेटवर्कबाट मात्र सुचारु सक्छन् र त्यस पश्चात कुनै पनि नेटवर्कवाट गीत संगीतको मजा लिन सक्छन् । यो योजना अन्तर्गत ग्राहकले यो एपको निःशुल्क प्रयोग गर्न सक्छन् । त्यस्तै अर्को आकर्षक डिजिटल सेवामा म्युजिक स्टेशन १ महिनासम्म निःशुल्क चलाउन सकिने सुविधा रहेको छ । यो म्युजिक स्टेशन सेवा अन्तर्गत ग्राहकले १७१४० मा रहेका गीतहरु मध्य हरेक दिन १० मिनेटसम्म कुनै पनि आइभीआर मार्फत निःशुल्क सुन्न सक्नेछन् । ग्राहकले अंग्रेजी ठुलोमा एनवाइ टाइप गरी १७१४० मा एसएमएस पठाई यो सेवा सुचारु गर्न सक्नेछन् । यसैगरी यस नयाँ वर्षको योजना अन्तर्गतनै ग्राहकले अर्को डिजिटल सेवा भक्ति संगीतको पनि १ महिनासम्म निःशुल्क आनन्द लिन सक्नेछन् । यो सेवा अन्तर्गत ग्राहकले धार्मिक गीत संगीत तथा भजनहरु निःशुल्क सुन्न सक्नेछन् । अंग्रेजी ठुलोमा एनवाइ टाइप गरी १७१४८ मा एसएमएस पठाइ ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन् । यसका साथै ग्राहकले एक घण्टी रेडियो अन्तर्गत रहेको वार्षिक ज्योतिष परामर्शको पनि १ महिनासम्म निःशुल्क प्रयोग गर्न सक्नेछन् । ग्राहकले १७१६५ मा डायल गरी दिनमा एक पटक आफ्नो बारेमा २०७७ को ज्योतिष परामर्श लिन सक्नेछन् । उल्लेखित सबै डिजिटल सेवाहरु बैशाख ३० गते सम्म निःशुल्क उपलब्ध हुनेछन् ।