काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले कोरोनाको महामारीमा उपत्यका रहेका अन्य जिल्लाका मानिसलाई गाँउ नफर्किन आग्रह गरेका छन् । नव वर्ष २०७७ को उपलक्ष्यमा सबैलाई शुभकामना दिँदै जस्तो समस्यामा परे पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै गाँउ नफर्किन आग्रह गरेका हुन् ।
कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न सबै जना आ–आफ्नै घरमा लकडाउनको अवस्थामा रहेको स्मरण गराउँदै नयाँ वर्षलाई धुमधामसँग नमनाउन पनि आग्रह गरे । यस्तो स्थितिमा नव वर्ष धुमधामपूर्वक नमनाई सरकारले लागु गरेको लकडाउनको पालन गर्दै आफ्नै घर परिवार भित्र सीमित रही मनाउनु हुन सम्पूर्ण महानगरवासीमा अपिल गरे ।
महानगरपालिकाले हरेक दिन विभिन्न वडाहरुमा किट्नाशक औषधी छर्कने, बु्रमर प्रयोग गरी नियमित सरसफाई गर्ने, नियमित फोहोर उठाउने कार्यलाई तिव्रता दिदैँ आइरहेका पनि उल्लेख गरे । ‘लकडाउनका कारणले हातमुख जाड्न समस्यामा परेका नगरवासीलाई वडा कार्यालयहरुबाट राहत सामग्री उपलब्ध गराइरहेका छौँ,’ उनले भने ।
नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेको प्रति उनले संकेत गर्दै संकटको घडीमा गाउँ नफर्किन पनि आग्रह गरे । केही नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेका समाचारहरु सुनिनमा आएका छन् ।
यो संकटको घडीमा उहाँहरुलाई सहर छाडेर नगइदिनुहुन र यहाँ बस्दा कुनै पनि प्रकारको समस्या आएको भए आफू बसेको सम्वन्धित वडा कार्यालय वा काठमाडौँ महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा सम्पर्क गर्नुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ,’ उनले भने, ‘साथै महानगपालिकाले महानगवासीको लागि प्रयोगमा ल्याएको कोभिड–१९ संक्रमण बारे स्वमुल्याकंन गर्न सकिने नेपाल कोभिड–१९ सर्भिलेन्स डाउनलोड गरी प्रयोग गर्न हुन र विरामी अस्पताल लैजान समस्या भएमा महानगरपालिकाको सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्ससेवा १०२मा सम्पर्क गर्नसक्ने व्यवस्था रहेका जनाएका छन् ।’