अर्घाखाँची सिमेन्टले प्रदेश ५ सरकारलाई दियाे ५१ लाख रूपैयाँ
काठमाडाैं । देशकै सबैभन्दा ठूलो र उत्कृष्टमध्येको एक अर्घाखाँची सिमेन्ट प्रा लीले प्रदेश ५ सरकारद्धारा स्थापित कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि ५१ लाख रुपैयाँ बराबरको नगद सहयोग प्रदान गरेको छ । कम्पनीका संचालक राजेश अग्रवालले आइतबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई नगद चेक हस्तान्तरण गरेका हुन् । प्रदेश ५ का नागरिकको स्वास्थ्य रक्षाका लागि कोरोना भाइरसको नियन्त्रण तथा संक्रमित व्यक्तिहरुको उपचारका लागि प्रदेश ५ सरकारले सो कोष खडा गरेको थियो । “समुदायको हितप्रति सँधै सचेत यस कम्पनीले कोरोना भाइरसको विश्व महामारीको आजको समयमा नेपाल सरकारद्धारा नागरिकको जिवनरक्षाका लागि थालिएको अभियानमा स्वयंको दायित्वबोध गरी सहयोग प्रदान गरेको हो,” कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताए । उनका अनुसार यसका अलावा कम्पनीको सिमेन्ट कारखना रहेको रुपन्देहीको सियारी गाउँपालीकाद्धारा जनताका लागि राहतको ब्यवस्थापन गर्नका लागि संचालित कार्यक्रमका लागि कम्पनीले दुई लाख रुपैँया बराबरको आर्थिक सहयोग पनि प्रदान गरेको छ । कम्पनीले उपलब्ध गराएको सो रकम गाउँपालीकाद्धारा आर्थिक संकटमा परेका घरपरिवारको खाद्यान्नको लागि खर्च हुनेछ । यसका साथसाथै, अर्घाखाँची सिमेन्टको चुनढुंगा खानी रहेको पाल्पास्थित दुई गाउँपालीका – तिनाउँ गाउँपालीका र मचागढी गाउँपालीकाsf बिपन्न बर्गका घरपरिवारका लागि कम्पनीले भोली र पर्सी गाउँपालीकाको समन्वयमा करिब २० लाख रुपैँया बराबरको राहत सामाग्री बितरण गर्ने जनाएको छ । महाप्रबन्धक कार्कीका अनुसार परिवार सदस्य संख्याका आधारमा प्रतिघरपरिवारलाई १० केजी चामल, २ केजी दाल, १ केजी नुन, १ केजी मस्यौरा, आधा केजी तेल र १ थान हातधुने साबुन प्रदान गरिनेछ । “सदस्य संख्या चारभन्दा बढी भएको परिवारमा भने सोभन्दा बढी परिमाणको राहत सामाग्री दिइनेछ,” महाप्रबन्धक कार्की अगाडी भन्छन्, “हाल सरकारले तोकेको लकडाउनको पालना गर्ने क्रममा आफ्नो दैनिक ज्यालादारी काम गर्नबाट बञ्चित रहँदा आर्थिक अभाव तथा खाद्यान्न संकट झेलिरहेका परिवारहरुको पहिचान गरी उनीहरुका लागि कम्तीमा १० दिनका लागि पर्याप्त हुने सामाग्रीको वितरण गरिनेछ ।” उनका अनुसार चुनढुंगा खानी रहेको दुई गाउँपालीकाको कार्यालयले निम्नबर्ग भनेर पहिचान र सिफारिस गरेको सबै घरधुरीलाई सो राहत सामाग्री प्रदान गरिनेछ ।
काेराेना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सन अस्पतालबाट डिस्चार्ज
काठमाडाैं । कोरोना भाइरसबाट संक्रमित बनेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। लण्डन अस्पतालमा उपचाररत प्रधानमन्त्री जोन्सन बुधबार डिस्चार्ज भएको रोयटर्सले जनाएको छ। उनका प्रवक्ताले भनेका छन्, ‘स्वास्थ्यमा निरन्तर सुधार देखिएपछि प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।’ कोरोनाबाट संक्रमित भएका जोन्सनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरेर आईसीयुमा राखिएको थियो। एजेन्सी
नयाँ बर्षको शुरुकाे दिन बिहान राष्ट्रिय गान गाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं । नयाँ वर्ष २०७७ सालको दिन नेपालीलाई राष्ट्रिय गान गाउन आग्रह गरेका छन् । नयाँ वर्षको शुरुवात सबै नागरिकले विहान ८ बजे राष्ट्रिय गान गाउन अनुरोध गरेका छन् । ग्लोबल कम्प्याक्ट नेपालले चिकित्सक, नर्स, प्रदायक कर्मचारी, लगायतको सम्मानमा राष्ट्रिय गान गाउन आग्रह गरे । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै सबैलाई सामेल हुन् आग्रह गरेका छन् । ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु’, प्रधानमन्त्री ओलीले भने । राष्ट्रिय गानको समाप्ती पछि करताल ध्वनीले एकवद्धता स्वरुप ताली बजाएर सम्मान गर्न समेत आग्रह गरेका छन् ।
नेपाल पर्वतारोहण संघले हस्तान्तरण गर्याे पाँच लाख रूपैयाँकाे चेक
काठमाडौं । नेपाल पर्वतारोहण संघले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैयाँ सहयोग रकमको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोग रकमको चेक एक समारोहका बीच संघका अध्यक्ष सन्तबीर लामाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईलाई हस्तान्तरण गरेका हुन् । संघले प्रदान गरेको सहयोगप्रति धन्यवाद दिँदै सचिव गुरागाईले कोरोना भाइरसको माहामारीको रोकथाम, नियन्त्रण र उपचारमा संघबाट प्राप्त रकमबाट सकरात्मक सहयोग पुग्ने बताए । सो अवसरमा संघका अध्यक्ष सन्तबीर लामाले पर्यटनको क्षेत्रमा रहेका विपन्न र न्यून आय भएका प्रभावित परिवारको दैनिक आवश्यक एवं उपभोग्य सामाग्रीहरुका निम्ति सहयोग पुग्ने विश्वास गरेका छन् । त्यसअवसरमा संघका महासचिव कुलबहादुर गुरुङ, सचिव टीकाराम गुरुङ, कोषध्यक्ष सुदर्शन न्यौपाने र सचिवालय सदस्य शिवबहादुर सापकोटाको सहभागिता थियो । उक्त सहयोग रकमले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका साथै पर्यटनको क्षेत्रमा रहेका विपन्न र न्यून आय भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति सहयोग पुग्ने संघको विश्वास छ । साथै, यस कोरोना भाइरसको माहावारीबाट नेपालको पर्वतीय पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको संघले जनाएको छ ।सरकारले अघि बढाएको अभियानमा संघको तर्फबाट ऐक्यवद्धता स्वरुप आर्थिक सहयोग गरिएको संघले विज्ञप्तिमार्फत जनाएको छ ।
कसरी गर्ने स्वास्थ्य बीमा ? कसरी पाइन्छ दाबी भुक्तानी ?
बिमितले आफ्नो स्वास्थ्य अवस्था कमजोर हुँदा आर्थिक सुरक्षण मिलोस भनेर बीमा गर्ने गर्छन् । जस्तोसुकै आर्थिक अवस्था भएका व्यक्तिहरु पनि स्वास्थ्य बीमामा सहभागी हुन भन्ने हिसाबले सामूहिक स्वास्थ्य बीमाका योजनाहरु अहिले उपलब्ध छन् । अहिले गरेको बीमाले भविष्यमा आउँने स्वास्थ्य जोखिम तथा दुःखमा साथ दिन्छ । बैक, अस्पताल, राजदुतावासहरु, गैरसरकारी संस्थाहरु, अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु जस्ता निकायले आफ्ना कर्मचारीहरुको अहिले सामूहिक बीमा गर्दै आएका छन् । स्वास्थ्य बीमाको सन्दर्भमा बीमा शुल्कको अनुपातमा दाबी निकै धेरै आउँने गर्छ । यसको अर्थ भनेको स्वास्थ बीमा नाफाको लागि मात्र होइन, सेवामा समेत समर्पित छ भन्ने बुझ्न सक्छौं । एउटा व्यवसायको बीमा गर्दा त्यसमा अर्को बीमा सेवा थप गर्ने (एकोमोडेट) प्रकृतिका स्वास्थ बीमा अघि बढिरहेको छ । उदाहरणको लागि होटलको बीमा गर्ने क्रममा होटलमा काम गर्ने कर्मचारीहरुको समेत स्वास्थ बीमा गर्न सकिन्छ । ट्राभल मेडीकल इन्स्योरेन्स गराउँने बिमितहरु प्रायः धेरै हुने गर्छन् । विदेश जाने क्रममा इन्स्योरेन्स नभई सम्बन्धित देशले भिसा दिदैनन् । एक महिनाका लागि घुम्न जादा पनि स्वास्थ्य बीमा गर्नुपर्छ । यो बीमा एक प्रकारले अनिवार्य जस्तै छ भन्न सकिन्छ । के हो स्वास्थ्य बीमा ? सरकारले अहिले लघु बीमा संचालन गरिरहेको छ । ४ सदस्य भएको परिवारले २५ सय बीमा शुल्क बुझाउँदा ५० हजार रुपैयाँ बीमांक बराबरको बीमा गर्न मिल्ने व्यवस्था छ । सस्तोमा १२ सय ५० रुपैयाँ बीमा शुल्क वार्षिक रुपमा बुझाउँनु पर्छ भने महङ्गोमा ३७ हजार ५ सय बीमा शुल्क बुझाउँनु पर्ने बीमा योजना स्वास्थ्य बीमामा छन् । सबैभन्दा सस्तो बीमा शुल्क बुझाउँदा ५० हजार रुपैयाँ बीमांक तोकिएको छ भने सबैभन्दा महङ्गो बीमा शुल्क बुझाउँदा बिमांक रकम १० लाख रुपैयाँसम्म तोकिएको छ । यस्तै, अन्य पोलिसी मार्फत बिमितलाई स्वास्थ्य जोखिम परेको अवस्थामा बीमा सुरक्षा दिनु नै स्वास्थ्य बीमा अन्तर्गत पर्छ । बीमा कम्पनीहरुले अस्पतालसँग सम्झौता गरेर बिमितलाई उपचार छुट तत्काल प्रदान गर्नेदेखि भर्ना भइसकेपछि बिमितलाई बिल हेरेर दाबी भुक्तानी गराइरहेका छन् । साथै, अस्पतालमा भर्ना भएको बिमितले कम्तिमा २० घण्टासम्म अस्पतालमा बिताएको हुनुपर्छ । दाबी भुक्तानीको अवस्था अहिले बीमाको दाबी भुक्तानी लिन निकै सहज छ । यसमा २ किसिमले बिमितलाई सहज बनाइएको छ । एउटा भनेको बीमा कम्पनीहरुले नै विभिन्न अस्पतालहरुसँग समन्वय गरेका हुन्छन् । त्यस्तो अवस्थामा बिमितले तोकिएको प्रतिशतमा सम्बन्धित अस्पतालमा छुट पाउँन सक्छन् । अर्को भनेको बिमितले उपचार गराउँदा आफ्नो खल्तीबाट पैसा तिर्ने र उपचारपछि इन्स्योरेन्स कम्पनीबाट दाबी भुक्तानी लिने भन्ने हो । भुक्तानी दाबी गर्ने अवस्था सामान्यतः बीमा कम्पनीहरुले आवश्यक कागजात पूरा भएको अवस्थामा दाबी भुक्तानी सहजै गर्दै आएका छन् । स्वास्थ्य बीमामा पनि केही कागजात भने आवश्यक पर्छ । डाक्टरको प्रेस्कृप्सन लेखिएको पत्रले स्वस्थ्य बीमाको दाबी भुक्तानी मजबुद बनाउँने गर्छ । यस्तै, सोही उपचारकै क्रममा डाक्टरले तोकेको टेष्टहरु उल्लेख गर्नु आवश्यक हुन्छ । कुनैपनि बिमितले बीमा कम्पनीमा स्वास्थ्य खर्चका ओरिजिनल बिल पेश गर्नु पर्छ । मुख्यतः यी कुरामा मात्रै ध्यान पुर्याउदा पनि स्वास्थ्य बीमाको दाबी भुक्तानी लिन झण्झट व्यहोर्नु पर्ने अवस्था आउँदैन । दाबी भुक्तानी नपाइने अवस्था पहिलो कुरा त बीमालेखले नसमेटेको कुरामा बीमाको दाबी भुक्तानी पाइदैन । यस्तै, डाक्टरले नलेखेको भिटामिन वा फलफुलको मूल्य बीमाले भुक्तान गर्दैन । डेन्टल बिमितको हकमा कस्मेटिक रुपमा प्रयोगरिने ब्रासेस, क्राउनको पैसा बीमाले दिदैन । यति कुरा बुझेको अवस्थामा स्वास्थ्य बीमा गर्न र त्यसबाट दाबी भुक्तानी लिन समस्या हुँदैन । (प्रिमियर इन्स्योरेन्स कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिवारीसँग गरिएको कुराकानीमा आधारित)
हरपल फुड्सले ३५० जना विभिन्न परिवारलाई वितरण गर्यो खाद्यान्य सामाग्री
काठमाडौं । हरपल फुड्स प्रा.लि.ले ३५० जना विभिन्न परिवारलाई खाद्यान्य सामाग्री वितरण गरेको छ । फुड्सका अध्यक्ष, युवा व्यवसायी एवं समाजसेवी जनक बहादुर धामीको अगुवाइमा बर्दिया जिल्ला क्षेत्र नं. २ ख बाट तथा कालीकोटबाट काठमाडौं आई बसोवास गरी विभिन्न क्षेत्रमा काम गर्ने कामदारहरुलाई खाद्यान्न सहयोग गरेका हुन् । कोरोना भाइरस(कोभिड १९) का कारण अािथक अभावमा परेका करीव ३५० जनाभन्दा बढी मजदुर तथा कामदार एवं विपन्न वर्गलाईहरुलाई काठमाडौका विभिन्न क्षेत्रमा गएर उनी लगायतका टोलिले खाद्यान्न (चामल, दाल, नुन, तेल,मस्यौरा) लगायतका खाधान्न सामाग्री उपलब्ध गराएको हो । हाल विश्वभर फैलिएको महामारी कोरोना भाइरसका कारण देशमा बिगत १९ दिनदेखि सरकारद्वारा गरिएको लकडाउनका कारण विशेष गरी दैनिक ज्याला मजदुरी गर्ने कामदार तथा मानिसहरु सबैभन्दा बढी मारमा परेको देखिएको छ । यस्तो अवस्थामा हरपल फुड्स सदैव सहयोगको हातहरु अगाडि बढाउँदै उनीहरुको जीवन रक्षाको लागि अगाडि आएर सहयोग गरेको जनक बहादुर धामीले बताए । कोरोना कोभिड १९ भाइरसले बिश्वमा आक्रान्त मच्चाइरहेको बेला यसै सहयोगलाई निरन्तरता दिँदै आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउन, बर्दिया जिल्ला क्षेत्र नं. २ अन्तर्गतको गेरुवा गाउँपालिकाको स्थानीय राहत कोषमा एक लाख एक हजार रुपैयाँ नगद सहयोग गरिसकेको जानकारी गराएको छ ।
आजदेखि भरि सिलिण्डर ग्यास बिक्री
काठमाडौं । लकडाउनमा खाना पकाउने एलपिजी ग्यास आधा सिलिण्डर (७.१ किलो) को बिक्री वितरण हुँदै आएकामा आजदेखि भरि ग्यास सिलिण्डरको बिक्री शुरु भएको छ । निगमका अनुसार सबै ग्यास उद्योगले बजारमा १४.२ किलोको भरि ग्यास सिलिण्डर बजारमा पठाइसकेका छन् । काठमाडौं उपत्यकामा ३५ देखि ४० हजार ग्यास सिलिण्डर पठाइएको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताए । उनका अनुसार विभिन्न नाकाबाट पर्याप्त मात्रामा ग्यासका बुलेट भित्रिरहेका कारण ग्यासको अभाव छैन । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी सबै उद्योगीले आआफ्ना डिलरमार्फत बजारमा भरि सिलिण्डर ग्यास पठाइसकेको बताए । उनका अनुसार सबै ग्यास उद्योगसँग पर्याप्त मात्रामा ग्यास मौज्दात रहेको र ग्यासमा कुनै समस्या छैन । “सबै ग्यास उद्योगसँग दश हजार टन क्षमतामा ग्यास मौज्दात छ । उक्त ग्यासबाट सात लाख वटा ग्यास सिलिण्डर भर्न पुग्छ”, उनले भने,“आयात निरन्तर भएको छ, उपभोक्ताहरुले खाली सिलिण्डर घरमा राख्दा उद्योगलाई ग्यास भर्न समस्या भएको छ ।” देशभरका ५९ ग्यास उद्योगमा करीब १० हजार मेक्ट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डारगृह भरिएकाले एक सय बुलेटमा ग्यास राखिँदै आएको उनले जानकारी दिए । नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आफूसँग रहेको खाली सिलिण्डर डिलरमा बुझाउनसमेत आग्रह गरेको छ । संघका अनुसार उपभोक्ताले बजारमा आधा ग्यास सिलिण्डर आएको जनाउँदै खाली सिलिण्डर घरमा राखेका कारण सिलिण्डर अभाव भएको छ । गत बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले बिहीबारदेखि सिलिण्डर ग्यास भरी आजदेखि सबै ग्यास उद्योगलाई बजारमा ग्यास पठाउन निर्देशन दिएको थियो । बजारमा खाना पकाउने ग्यासको माग उच्च भएपछि निगमले यही चैत १२ गते बेलुकी आधा सिलिण्डर ग्यास बिक्रीवितरण गर्ने निर्णय गरेको थियो । चैत १६ गतेदेखि मुलुकभर आधा सिलिण्डर ग्यास बिक्री भएको थियो । रासस
हिमालयन एयरलाइन्सले कोरोना रोकथाम काेषमा दियाे एक करोड रूपैयाँ
काठमाडौं । हिमालयन एयरलाइन्सले सरकारद्वारा स्थापित कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त रकमकाे चेक एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आइतबार पर्यटन, संस्कृति र नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गरेका हुन् । एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काेराेना उपचारकाे लागि राहत पुग्ने उद्देश्यले उक्त सहयोग गरेको हो ।