काठमाडौं । दशैंले घरआँगन छोइसकेको छ । गाउँघरमा लिङ्गे पिङको चहलपहल बढेको छ, बजारमा किनमेल गर्नेको भीड छ र बसपार्कमा घर फर्किने यात्रुको घुइँचो । वर्षभरि काममा व्यस्त रहनेहरू बिदा मिलाएर परिवारसँग दशैं मनाउने तयारीमा छन् । विदेशमा रहेका नेपालीदेखि सहरमा जागिर गर्नेहरूसम्मलाई यतिबेला एउटै कुराले तानेको छ, आफ्नो घर, परिवार र आफन्तको साथ ।
तर, सबैका लागि दशैं घर फर्किने र बिदा मनाउने अवसर हुँदैन । कसैको दशैं यात्रामा बित्छ, कसैको परिवारसँगको भेटघाटमा । अनि कसैको दशैं भने नागरिकको जिउधनको सुरक्षा गर्दै सडक, चोक र कार्यालयमा बित्छ । ती हुन्, नेपाल प्रहरी ।
अरूका घरमा दशैंको खुसी भित्रिँदै गर्दा प्रहरीको काँधमा भने सुरक्षा व्यवस्थापनको जिम्मेवारी थपिन्छ । मानिसहरू घर छाडेर गाउँ फर्किने, बजारमा किनमेल बढ्ने र सार्वजनिक स्थानमा भीडभाड हुने समय भएकाले चोरी, लुटपाट, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी थप सक्रिय हुनुपर्छ । नागरिकले ढुक्कसँग चाडपर्व मनाउन पाऊन् भनेर प्रहरी कर्मचारी आफ्नो पारिवारिक खुसीलाई थाती राखेर कार्यक्षेत्रमा खटिन्छन् ।
यस वर्ष प्राकृतिक विपत्तिका घटनाले प्रहरी संगठनलाई थप संवेदनशील बनाएको छ । सुरक्षामा खटिनुपर्ने नियमित जिम्मेवारीसँगै विपत्तिका कारण गुमाएका सहकर्मीको पीडा पनि प्रहरी कर्मचारीका लागि दशैंको भावनासँग जोडिएको छ ।
दशैंको तयारी र योजनाबारे विकासन्युजले नेपाल प्रहरीका विभिन्न तहका अधिकृतसँग कुराकानी गरेको छ । उनीहरूको अनुभवमा प्रहरीका लागि दशैं अरू नागरिकको जस्तो लामो बिदा र घुमफिरको अवसर होइन । ड्युटीको समय मिलाएर परिवारसँग केही क्षण बिताउने, कार्यालयमै सहकर्मीसँग खुसी साट्ने र जिम्मेवारी पूरा गर्ने अवसर हो ।
प्रहरीका लागि दशैंभन्दा ड्युटी ठूलो
नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबीनारायण काफ्लेका लागि दशैंको अर्थ अरू नागरिकको भन्दा फरक छ । प्रहरी सेवामा रहँदासम्म व्यक्तिगत खुसीभन्दा नागरिकको सुरक्षा प्राथमिकतामा पर्ने भएकाले चाडपर्वमा पनि नियमित जिम्मेवारीबाट अलग हुन नसकिने उनी बताउँछन् ।
“प्रहरीका लागि दशैं भन्ने हुँदैन । प्रहरीले नागरिकको जिउधनको सुरक्षा गर्नुपर्छ,” काफ्ले भन्छन्, “हामीले जनता र समाजको सुरक्षामा ध्यान दिनुपर्छ । चाडपर्वमा चोरी तथा झैझगडा हुने सम्भावना हुने भएकाले प्रहरी तैनाथ हुनुपर्छ ।”
दशैंमा धेरै मानिस घरबाहिर निस्किने, कतिपय परिवार घरमा ताला लगाएर गाउँ जाने र बजारमा भीडभाड बढ्ने भएकाले सुरक्षा चुनौती पनि बढ्ने उनको भनाइ छ । यस्ता सम्भावित घटनालाई रोक्न प्रहरी अधिकृतदेखि जवानसम्मलाई जिम्मेवारीअनुसार परिचालन गर्नुपर्ने हुन्छ ।
यस वर्ष प्राकृतिक विपत्तिको अवस्थाले प्रहरीलाई थप सतर्क रहनुपर्ने बनाएको काफ्ले बताउँछन् । नियमित शान्ति सुरक्षा कायम राख्नुपर्ने दायित्वसँगै विपद् व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने भएकाले प्रहरीको जिम्मेवारी अझ संवेदनशील बनेको उनको भनाइ छ ।
“प्रहरी सेवामा रहँदासम्म आफ्नो खुसीभन्दा पनि नागरिकको सुरक्षामा ध्यान दिनुपर्छ । दशैंमा सामान्य रूपमा परिवारसँग एकछिन भेटघाट गरिन्छ,” उनी भन्छन् ।
प्रहरीमा लामो बिदाको व्यवस्था सहज नहुने भएकाले दशैंमा घुमफिरको योजना बनाउन पनि कठिन हुने काफ्ले बताउँछन् । सम्भव भएसम्म टीकाको दिन वा एक दिन समय मिलाएर अग्रजको हातबाट टीका र आशीर्वाद लिने गरे पनि नागरिकको सुरक्षाको जिम्मेवारी नै प्राथमिकतामा रहने उनको भनाइ छ ।
परिवारलाई कार्यक्षेत्रमै बोलाएर दशैं
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटाको यस वर्षको दशैं योजना पनि कार्यक्षेत्रमै केन्द्रित छ । कार्यालयको जिम्मेवारी छाडेर अन्यत्र जानुभन्दा परिवारका सदस्यलाई आफू बसेकै ठाउँमा बोलाएर दशैं मनाउने उनको तयारी छ ।
सापकोटाका अनुसार प्रहरी कर्मचारीलाई जिम्मेवारीअनुसार आलोपालो बिदा मिलाइएको छ । नजिकै घर भएका कर्मचारीलाई टीका लगाउन जाने र फर्किएर ड्युटी सम्हाल्ने व्यवस्था मिलाइएको छ ।
“यस वर्ष प्रदेश प्रहरी कार्यालयमै बसेर दशैं मनाउने योजना छ । परिवारका सबैलाई यतै बोलाएको छु,” उनी भन्छन् ।
दशैंमा सबै प्रहरी कर्मचारीलाई एकैपटक बिदा दिन सम्भव नहुने उनी बताउँछन् । नागरिकको सुरक्षा कायम राख्न प्रहरीको उपस्थिति आवश्यक हुने भएकाले लामो बिदाभन्दा छोटो समय मिलाएर परिवारसँग भेटघाट गर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।
चाडपर्वको समयमा सुरक्षा चुनौती बढ्ने भएकाले प्रहरी कर्मचारीले व्यक्तिगत योजनाभन्दा जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने सापकोटा बताउँछन् । घरमा परिवारसँगै बसेर दशैं मनाउने रहर भए पनि सेवामा रहँदा संगठनको आवश्यकताअनुसार चल्नुपर्ने उनको अनुभव छ ।
कार्यालयमै टीका र शुभकामना
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दीपेन्द्र घर्ती क्षेत्रीको दशैं पनि कार्यालय र ड्युटीमै बित्नेछ । प्रहरीको जिम्मेवारी नै नागरिकको सुरक्षा भएकाले चाडपर्वमा समेत कार्यक्षेत्र छाड्न नसकिने उनी बताउँछन् ।
कार्यालयमा रहेका प्रहरी कर्मचारीबीच शुभकामना आदानप्रदान गरेर दशैं मनाउने गरिएको क्षेत्रीको भनाइ छ । नजिकै घर भएका कर्मचारीलाई ड्युटी सकेर टीका लगाउन जाने र फर्किएर जिम्मेवारी सम्हाल्ने व्यवस्था मिलाइएको उनले बताए ।
“नजिकै घर हुनेहरू ड्युटी सकेर टीका लगाएर आउने व्यवस्था मिलाइएको छ,” क्षेत्री भन्छन्, “प्रहरीले दशैं मनाएमा समाजमा कसले सुरक्षा गर्छ ? प्रहरीको खासै केही दशैं योजना हुँदैन ।”
प्रहरी कर्मचारीलाई एकैपटक बिदा दिँदा सुरक्षा व्यवस्थापनमा असर पर्न सक्ने भएकाले आलोपालो गरेर छोटो समयका लागि बिदा मिलाइएको उनले बताए । निरन्तर ड्युटीमा खटिनुपर्ने कर्मचारीको हकमा भने बिदा मिलाउन कठिन हुने उनको भनाइ छ ।
अरूका लागि दशैं बिदा र उत्सवको समय भए पनि प्रहरीका लागि यही समय सुरक्षा व्यवस्थापनको परीक्षा बन्ने गरेको छ । त्यसैले कार्यालयमा सहकर्मीसँग शुभकामना साट्नु र समय मिल्दा परिवारसँग टीका लगाउनु नै उनीहरूको दशैंको खुसी बन्ने गरेको छ ।
भोटेकोशीको बाढीले खल्लो बनाएको दशैं
काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापनमा खटिने प्रहरीका लागि दशैंको व्यस्तता अझ फराकिलो छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्का चाडपर्वका बेला चोरी, लुटपाट, कालोबजारी र सार्वजनिक यातायातमा यात्रुलाई दुःख दिने गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँछन् ।
दशैंमा धेरै मानिस घर जाने र कतिपय घर खाली रहने भएकाले आपराधिक गतिविधि हुन नदिन विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ । सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई ठगी गर्ने वा अनावश्यक दुःख दिने गतिविधिमाथि पनि निगरानी आवश्यक हुने उनी बताउँछन् ।
“प्रहरीको पहिलो दायित्व समाजमा शान्ति सुरक्षा कायम गर्नु हो । चाडपर्वमा झैझगडा हुने भएकाले सुरक्षामा प्रहरीको चासो रहन्छ,” खड्का भन्छन् ।
तर, यस वर्षको दशैं उनका लागि नियमित व्यस्तताभन्दा फरक भावनात्मक पीडासँग पनि जोडिएको छ । भोटेकोशीको बाढीमा प्रहरी कर्मचारीले ज्यान गुमाएको घटनाले संगठनभित्र दुःखको वातावरण बनाएको उनी बताउँछन् ।
“प्रहरी साथी गुमाउनुको पीडा रहेकाले यसपटक दशैं नरमाइलो भएको छ । विपत्तिमा परेका प्रहरी साथीहरूको सम्झनाले हामीलाई संवेदनशील बनाएको छ,” उनी भन्छन् ।
सहकर्मी गुमाउँदाको पीडाबीच पनि प्रहरीको जिम्मेवारी रोकिँदैन । नागरिकलाई सुरक्षित राख्नुपर्ने दायित्व पूरा गर्नुपर्ने भएकाले चाडपर्वमा समेत कार्यक्षेत्रमा खटिनुपर्ने खड्काको भनाइ छ ।
उनका लागि यस वर्षको दशैंमा विगतमा जस्तो परिवारसँग बसेर बुबाआमाको हातबाट टीका लगाउने योजना छैन । कार्यालयमै रहेका प्रहरी कर्मचारीसँग शुभकामना आदानप्रदान गरेर दशैं मनाउने उनले बताए ।
“पहिले दशैंमा पटकपटक बुबाआमाको हातबाट टीका लगाइन्थ्यो । यस वर्ष त्यो सम्भव नहुने भयो,” खड्का भन्छन्, “प्रहरीले आफूलाई दिइएको जिम्मेवारी पूरा गर्नुपर्छ ।”
नागरिकको खुसीका लागि प्रहरीको त्याग
दशैंमा घर फर्किने यात्रुको भीड, बजारको चहलपहल र परिवारसँग भेट्ने उत्साहसँगै सुरक्षा व्यवस्थापनको चुनौती पनि बढ्छ । यस्तो समयमा प्रहरीको सक्रियता र उपस्थितिले नागरिकलाई सुरक्षित रूपमा चाडपर्व मनाउन सहयोग पुर्याउँछ ।
तर, त्यसको अर्को पाटो पनि छ । नागरिकको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी बोकेका प्रहरी कर्मचारीले आफ्नै परिवारसँग पर्याप्त समय बिताउन पाउँदैनन् । कतिपयले घरमै पुगेर टीका लगाउन पाउँछन् भने कतिपयले कार्यालयमै सहकर्मीसँग दशैंको खुसी साट्नुपर्छ । कसैका लागि त यस वर्षको दशैं सहकर्मी गुमाउँदाको पीडा सम्झिने समय पनि बनेको छ ।
सर्वसाधारणका लागि दशैं घर फर्किने, आफन्त भेट्ने र वर्षभरिका थकान बिर्सिने पर्व हो । प्रहरीका लागि भने यही समयमा अरूको खुसी र सुरक्षाको जिम्मेवारी अझ बढ्छ । परिवारसँगको भेटघाट छोट्याएर भए पनि नागरिकलाई ढुक्कसँग दशैं मनाउने वातावरण बनाउनु उनीहरूको कर्तव्य हो ।
आफ्नो घरमा टीका लगाउन नपाए पनि अरूका घरमा खुसी र सुरक्षा कायम रहोस् भन्ने जिम्मेवारीसहित प्रहरी कर्मचारी यस वर्ष पनि सडक, चोक र कार्यक्षेत्रमा खटिनेछन् । यही नै उनीहरूको दशैंको अर्को यथार्थ हो ।