काठमाडौं । हरियो रुख । डमी छ । जय नेपाल ! जय नेपाल ! म केन्द्रीय सदस्यको उम्मेदवार गणेश खड्का हुँ ।
यो दृश्य र आवाज राष्ट्रिय सभा गृहको प्राङगणमा सुनिएको हो । उम्मेदवार तथा प्रतिनिधिको घाटीमा फोटोसहितको माला झुण्डिएको छ ।
हात- हातमा भिजिटिङ कार्ड बाँडिरहेका छन् । त्यहीँ चर्को आवाजकै सुनिएको भीडमा भेटिए ५३ वर्षीय दयानिधि सापकोटा । उनी बेलायतबाट जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेर काठमाडौं आएका हुन् ।
सापकोटा बेलायतमा बसेको तीन दशक बढी भयो । उनी पेशाले होटल तथा रेष्टुरेण्ट व्यवसायी समेत हुन् । यति मात्र नभइ नेपाली विद्यार्थी र अन्य मुलुकका नागरिकलाई काम समेत दिएका छन् ।
व्यवसायसँगै राजनीतिलाई सेवा ठानेका उनी यो पटकको महाधिवेशनमा सहभागी हुन काठमाडौंसम्म आइपुगेका छन् । तीन पुस्ते नेपाली कांग्रेसको राजनीतिमा लागेकाले आफू पनि त्यसबाट भाग्न नसकेको सापकोटा बताउँछन् ।
'राजनीति सेवा रहेछ । नेपालको राजनीतिलाई चासो लिने गरेकाले पनि महाधिवेशनले यहाँसम्म ल्याएको छ,' उनले विकासन्युजसँग भने, 'राजनीतिसँगै व्यवसायलाई निरन्तरता दिँदै आएको छु ।'
नेपाली कांग्रेसले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न पुर्याएको योगदानले पार्टीको राजनीति छाड्न नसकिएको उनले बताए ।
'प्रजातान्त्रिक विचारलाई सधैं आत्मसात गर्ने भएकाले नेपाली राजनीतिमा फरक पहिचान बनाएको दल हो,’ उनी भन्छन्,’ कांग्रेसले नेपालको शासकीय व्यवस्थामा ठूलो भूमिका निभाएको छ ।'
दयानिधि सापकोटा ।
युवा पुस्तालाई समेट्न सकेकाले यो अधिवेशनमा आकर्षण बढेको सापकोटाको बुझाइ छ । नेपाली राजनीतिको करेक्सन बदलिएको उनले बताए । मुलुकको माटो सुहाउँदो राजनीति र सिद्धान्त हुनुपर्ने उनले उल्लेख गरे । नेपाली राजनीतिमा कांग्रेसले पुर्याएको योगदानलाई भुल्न नसकिने उनको भनाइ छ ।
विदेशमा बसेका नेपालीलाई वंशजको नागरिकता दिलाउन कांग्रेसले पहल गर्नुपर्ने उनको भनाइ छ। विदेशमा रहेका नेपालीले रेमिट्यान्स मार्फत नेपाललाई योगदान पुर्याइरहेको उनले बताए ।
विदेशमा बसेका नेपालीलाई एक पटकको नेपाली सधैंका लागि नेपाली हो भनेर सम्झनुपर्ने उनले सुझाए । विदेशमा रहेका नेपालीले जन्मभूमिलाई कहिले पनि बिर्सन नसक्ने उनले बताए । विदेशमा ठूला लगानी भित्र्याउन एनआरएन नेपालीले गरिरहेका लगानीको सुरक्षित वातावरण हुनुपर्ने सापकोटाको भनाइ छ ।
'लगानी गरेका पैसा जन्मभूमिमा योगदान गर्न पाइयोस र कर्मभूमिमासमेत लैजान पाइयोस भन्ने छ,' उनले अगाडि सुनाए ।
राजनीतिले डोर्याएर युरोपबाट नेपालसम्म
बदलिँदो राजनीतिको दृश्यमा परिवर्तनको सन्देश बोकेर आएको महाधिवेशन नयाँ सन्देश बोकेको बताउँछन् स्पेनबाट आएका प्रतिनिधि ४७ वर्षीय चिन्तामणी सापकोटा । विदेशमा बसे पनि नेपालको राजनीतिले टाढा पुर्याउन नसकेको उनले बताए ।
'नेपालको राजनीतिमा कांग्रेस सधैं अगाडि रहेको छ,' उनले भने,' हरेक परिवर्तनको साक्षी कांग्रेस हो । अहिले पनि मुलुक विषम परिस्थितिमा गुज्रिरहेको छ । यस्तो अवस्थामा कांग्रेसले लिड गर्नुपर्ने हुन्छ ।'
मुलुकमा नेपाली कांग्रेस भन्ने दलले ठूलो रहेको सन्देश पुर्याउन भए पनि मातृभूमि आउनुपरेको उनले बताए ।
‘सामाजिक र राजनीतिक आन्दोलनमा नेपाली कांग्रेसले पुर्याएको भूमिकालाई बिर्सन हुँदैन, 'उनी भन्छन्,' युरोपबाट नेपालको राजनीतिलाई हरेक पल चासो राख्ने गरेकाले यहाँसम्म आउनु परेको छ।'
नेपालमा विदेशी लगानी कसरी ल्याउन सकिन्छ त्यसमा कांग्रेसले ध्यान दिनुपर्ने सापकोटा बताउँछन् । विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन के कस्तो योजना तथा नीति बनाउने त्यसमा अहिलेदेखि गृहकार्य गर्न उनले सुझाए ।
नेपाललाई अप्ठ्यारो पर्दा विदेशमा रहेका नेपालीलाई धेरै सहयोग गर्ने गरेको उनले बताए । विदेशमा रहेका नेपालीलाई राजनीति र आर्थिक क्षेत्रमा सहभागी गराउन विशेष नीति ल्याउनुपर्ने सापकोटाले उल्लेख गरे ।
चिन्तामणी सापकोटा ।
श्रमिकको आवाज बन्दै मध्यपूर्वमा
मध्यपूर्वको देशमा दुई दशकदेखि पसिना बगाउँदै आएका ४४ वर्षीय खेमराज बस्नेत पनि कांग्रेसको कुम्भ मेलामा आएका छन् । दुवईमा व्यवसाय गरिरहेका उनलाई पनि काठमाडौंमा भएको अधिवेशनले डोर्याएर ल्याएको छ ।
विदेशमा श्रम गर्नुपरे पनि राजनीतिले नछाड्ने उनले बुझेका छन् । नेपालको राजनीतिको कारण भनौ वा शासककै कारण देश छाड्नु परेको व्यथा उनले सुनाए ।
विदेशमा बसेर राजनीतिमार्फत श्रमिकको आवाज उठाउन पनि राजनीतिमा होम्मिएको उनी बताउँछन् । त्यसो त उनी यो पटक मतमात्र गर्ने छैनन् । उनी नेतृत्त्व गर्नसमेत हौसिएका छन्।
बस्नेतले मध्यपुर्वको कलष्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । विदेशमा सिकेका सीप र ज्ञानलाई नेपालमा लगानी गर्न नेपाली कांग्रेसले विशेष नीति ल्याउनु पर्ने उनले बताए ।
विदेशको भूमीलाई कर्म गर्ने क्षेत्र बनाएका उनी मत माग्दै हिँडिरहेका छन् । दुवईमा होटल व्यवसाय गरिरहेका उनी यो पटकदेखि राजनीतिमार्फत सेवा गर्ने हुटहुटीमा लागि राजनीतिको मैदानमा छन् ।
राजनीतिलाई पेशाभन्दा पनि सेवा ठानेकाले आजसम्म राजनीतिमा लाग्नुपरेको उनले बताए । 'यसभन्दा अघिल्लो अधिवेशनमा भएका पात्रहरूले राजनीतिलाई पेशा बनाएका थिए,’ उनले भने,’ अब बन्ने नयाँ नेतृत्वले सेवा मात्र गर्नु पर्छ । राजनीति सिक्ने र सेवा गर्ने ठाउँ हो ।'
खेमराज बस्नेत ।
विदेशमा रहेका श्रमिकको आवाज, सीप र ज्ञानलाई व्यवहारमा लागू गर्न सकेमा मुलुक समृद्ध बन्न सक्नेमा उनी विश्वस्त सुनिन्छन् । नेपाली राजनीतिमा देखिएका विकृती र विसंगतिलाई सदाका लागि त्याग्न सकेमा मुलुक सुनौलो युगमा प्रवेश गर्न सक्ने उनको बुझाइ छ ।
'नेपालको विकासमा विदेशबाट आएको रेमिट्यान्सले ठूलो सहयोग गरेको छ,' बस्नेत भन्छन,' रेमिट्यान्स पठाउनेहरू अपहेलित छन् । उनीहरूलाई सम्मान गर्नुपर्छ । नेपाली कांग्रेसको महाधिवेशनबाट विदेशमा बसेका नेपालीका छुट्टै नीति पारित हुनुपर्छ ।'
यतिखेर नेपाली कांग्रेसको १५ औं महाधिवेशन चलिरहेको छ । देशविदेशबाट नेपाली कांग्रेसका कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधि काठमाडौं आएका छन् ।