अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप
काठमाडौं । काठमाडौं उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापनका लागि तोकिएको समयसीमाभित्र काम पूरा गर्न नसकेपछि इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले अन्तिमपटक १५ दिनको थप समय मागेको छ । सूचना तथा सञ्चार मन्त्रालयमा आज बसेको सरोकारवाला निकायहरूको बैठकमा आइस्पानले काम सम्पन्न गर्न थप समय आवश्यक रहेको जनाएको हो । बैठकमा सूचना तथा सञ्चार मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, आइस्पान तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिको सहभागिता थियो । बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अव्यवस्थित तार व्यवस्थापनको प्रगति, कार्यान्वयनका क्रममा उत्पन्न समस्या र तिनको समाधानका उपाय सुझाउँदै तोकिएको समयभित्र काम सम्पन्न गर्न निर्देशन दिए । उनले वास्तविक समस्या समाधान गर्न सरकार तत्पर रहेको दोहोर्याउँदै परिणाम देखिनेगरी काम गर्न निर्देशन दिए । सञ्चारमन्त्री तिमिल्सिनाले भने, 'तार व्यवस्थापनलाई सरकारले निष्कर्षमा पु्र्याएरै छाड्छ । काम गर्दै जाँदा केही समय लाग्न सक्छ तर अब समय लम्ब्याउन सकिँदैन ।' उनले काममा देखिएका समस्या र समाधानका लागि सरकारले गर्नुपर्ने विषयबारे समयमै जानकारी गराउन पनि आइस्पानलाई आग्रह गरे । उनले अव्यवस्थित तार व्यवस्थापन सेवा प्रदायकहरूको कानुनी तथा व्यावसायिक दायित्व भएको स्पष्ट पार्दै विगतमै यो काम भएको भए अहिलेको अवस्था सिर्जना नहुने बताए । दीर्घकालीन समाधानका लागि एउटै पूर्वाधार विभिन्न सेवा प्रदायकले साझा रूपमा प्रयोग गर्न सक्ने व्यवस्थाबारे अध्ययन गर्न पनि उनले निर्देशन दिए । सञ्चारमन्त्री तिमिल्सिनाले सेवा प्रदायक र नियामक दुवै निकायको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै तोकिएको समयमा काम सम्पन्न नहुनु आइस्पान र नियामक नेपाल दूरसञ्चार प्राधिकरण दुवैको असफलता भएको उल्लेख गरे । उनले सरकारले समस्या समाधानमा सहयोग गर्ने तर काम नगर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे । उनले भने, 'आइस्पानले फेरि १५ दिनको समय मागेको छ । यसअघि साउन १५ गतेभित्र काम सक्ने प्रतिबद्धता गर्नुभएको थियो । अब मागिएको अवधिमा काम सम्पन्न हुने विश्वसनीय आधार चाहिन्छ ।' बैठकमा आइस्पानका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले काठमाडौं उपत्यकामा पहिलो चरणअन्तर्गत निर्धारण गरिएका छ वटा रुटमध्ये हालसम्म करिब ५८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । उनका अनुसार उपत्यकासँगै देशका अन्य स्थानमा पनि तार व्यवस्थापनको काम भइरहेको छ । उनले समस्याको दीर्घकालीन समाधानका लागि छुट्टै पूर्वाधार कम्पनी स्थापना आवश्यक रहेको धारणा व्यक्त गरे । आइस्पानले नेपाल विद्युत् प्राधिकरणले विद्युत्का लाइन भूमिगत गर्दा इन्टरनेट तथा केवल सेवाका तार व्यवस्थापनका लागि पर्याप्त पूर्वाधार निर्माण नभएको विषय पनि उठाएको थियो। कलङ्की–थानकोट, चाबहिल–बौद्धलगायत क्षेत्रमा पाइलट परियोजनाका रूपमा सेवा प्रदायक आफैँले भूमिगत इन्टरनेट तार विस्तार गरिरहेको जानकारी दिँदै आइस्पानले जनशक्ति थप्ने तयारी भइरहेको जनाएको छ। आइस्पानले नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणबाट आवश्यक जनशक्ति फिल्डमा नखटिने, प्रहरीले कामदारलाई रोक्ने, ट्राफिक प्रहरीले भर्याङ हटाइदिने तथा दक्ष जनशक्तिको अभाव भएको जनाएको छ । अब उपलब्ध जनशक्तिलाई एउटै क्षेत्रमा केन्द्रित गरेर काम चाँडो सम्पन्न गर्ने रणनीति अपनाइने पनि आइस्पानले जानकारी दिएको छ । गत असार ३१ गते सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको संयुक्त उपस्थितिमा भएको उच्चस्तरीय अन्तरनिकाय बैठकमा आइस्पानले पहिलो चरणअन्तर्गत काठमाडौं उपत्यकाका छ वटा क्षेत्रमा साउन १५ गतेभित्र अव्यवस्थित तार व्यवस्थापन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो । बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई नेतृत्वदायी तथा नियामकीय भूमिका निर्वाह गर्ने, सबै सेवा प्रदायकले आफ्ना तारमा स्पष्ट पहिचान खुल्ने ट्याग अनिवार्य राख्ने, सम्बन्धित निकायबीच नियमित समन्वय गर्ने तथा प्रगतिको निरन्तर समीक्षा गर्ने निर्णय गरेको थियो । पहिलो चरणमा त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोङ्गबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल गरी छ वटा स्थानमा अव्यवस्थित तार व्यवस्थापन गर्ने लक्ष्य छ ।
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वकार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । बिहीबार (हिजो) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धापाखेलबाट पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता अनुपमशमशेर जबराले भण्डारीलाई स्मार्ट टेलिकम प्रकरणमा पक्राउ गरेको जानकारी दिए ।
परिवार सुरक्षा बचत खाताबाट दुर्घटना बीमा दाबीबापत १० लाख रुपैयाँ हस्तान्तरण
काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले ‘परिवार सुरक्षा बचत खाता’ अन्तर्गतको बीमा सुविधाबमोजिम दुर्घटनामा ज्यान गुमाएका खातावालाको परिवारलाई १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका अनुसार श्रीमती बना देवी बोहराका श्रीमान्को दुर्घटनाजन्य निधनपछि बीमा दाबी प्रक्रिया पूरा भएसँगै परिवारलाई १० लाख रुपैयाँ बराबरको बीमा रकम प्रदान गरिएको हो । उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक राहत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा र परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । बैंकका अनुसार ‘परिवार सुरक्षा बचत खाता’ अन्तर्गतको बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक सहयोग पुर्याउनुका साथै भविष्यप्रतिको आर्थिक सुरक्षा भावना बलियो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता सुविधा सञ्चालन गरिएको बैंकले जनाएको छ । यसले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै आवश्यक समयमा ग्राहक तथा उनका परिवारलाई वित्तीय सहयोग पुर्याउने विश्वास बैंकको छ । कुमारी बैंकले विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ केन्द्रमार्फत लाखौँ ग्राहकलाई सेवा दिइरहेको छ । बैंकले शहरी, अर्धशहरी तथा ग्रामीण क्षेत्रसम्म सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै ग्राहकको वित्तीय सुरक्षाका लागि विभिन्न निक्षेप, बीमा तथा अन्य बैंकिङ सेवा सञ्चालन गरिरहेको जनाएको छ ।
चार जनाको शव भेटियो, निम्स पुर्जासहित ६ जना अझै बेपत्ता
काठमाडौं । पाकिस्तानस्थित ८ हजार ०४७ मिटर अग्लो ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परेका आरोहीमध्ये चार जनाको शव फेला परेको छ भने नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित ६ जना अझै बेपत्ता रहेका छन् । जुलाई ३० (बिहीबार) ब्रड पिकमा गएको हिमपहिरोपछि पाकिस्तानको अल्पाइन क्लबले सरकारी निकाय तथा सम्बन्धित एजेन्सीसँग समन्वय गरी खोज तथा उद्धार अभियान जारी रहेको जनाएको छ । क्लबका अनुसार हालसम्म चार जनाको शव फेला परिसकेको छ भने बाँकी ६ जनाको खोजी भइरहेको छ । अल्पाइन क्लब अफ पाकिस्तानले हिमपहिरोमा परेका सबै आरोही, उनीहरूका परिवार तथा विश्वभरका पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै सम्बन्धित निकायबाट आधिकारिक पुष्टि हुनासाथ थप विवरण सार्वजनिक गरिने जनाएको छ । हिमपहिरोमा परेका आरोहीहरूमा ओमानकी नाधिरा अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, संयुक्त राज्य अमेरिकाकी म्यालोरी गाइस तथा नेपालका निर्मल पुर्जा ‘निम्स दाइ’, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नावाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन् । उद्धार टोलीले प्रतिकूल मौसमका बीच बेपत्ता आरोहीहरूको खोजीलाई निरन्तरता दिएको जनाएको छ ।
सामाजिक सद्भावका लागि धार्मिक अगुवासँग रवि लामिछानेको छलफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले विभिन्न धार्मिक समुदायका अगुवासँग छलफल सुरु गरेका छन् । शुक्रबार पार्टीको संसदीय दल कार्यालयमा लामिछानेले मुस्लिम समुदायका मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग भेटवार्ता गरेका हुन् । त्यसैगरी उनले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि छलफल गरेका छन् । छलफलका क्रममा सुनसरी, सिराहालगायत देशका विभिन्न स्थानमा भइरहेका प्रदर्शन र तनावपूर्ण अवस्थाबारे कुराकानी भएको र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न दुवै समुदायका अगुवाले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिइएको रास्वपाले जनाएको छ । सभापति लामिछानेले धार्मिक अगुवाहरूलाई प्रदर्शन रोक्न तथा शान्ति, संयमता र आपसी सद्भाव कायम राख्न सार्वजनिक अपिल गर्न आग्रह गरेका छन् । पछिल्ला घटनाक्रमका कारण विभिन्न जिल्लामा उत्पन्न तनावलाई संवाद र सहकार्यमार्फत समाधान गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।
ब्रड पिक हिमपहिरोः नेपालीसहित दुई आरोहीको मृत्यु पुष्टि
काठमाडौं । ब्रड पिकको हिमपहिरोमा पुरेर एक नेपालीसहित दुई जनाको मृत्युको पुष्टि भएको छ । ओमानकी नाधिरा अल हार्थी र पुरबहादुर गुरुङ युक्ताको मृत्यु भएको हो । अल्पाइन क्लबका अनुसार हार्थीको शव फेला परेकाले हेलिकोप्टरमार्फत स्कर्दु ल्याउने प्रक्रिया भइरहेको छ। गुरुङ ‘युक्ता’ को शव ढुवानी गर्ने व्यवस्था भइरहेको छ। अन्य वेपत्ता आरोहीहरूको आधिकारिक रूपमा पुष्टि भएपछि मात्र सार्वजनिक गरिने क्लबले जनाएको छ। वेपत्ता रहेका आरोहीहरूको खोज तथा उद्धार अभियान जारी रहेको क्लबले जनाएको छ ।
मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय, परीक्षा नियन्त्रण महाशाखा मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा सञ्चालन हुने एमबीएस दोस्रो सेमेस्टरको परीक्षा स्थगित गरेको छ । त्यहाँ देखिएको असहज परिस्थतीका कारण परीक्षा स्थगीत गर्नुपरेको जनाएको छ । शुक्रबार सूचना जारी गर्दै आज सञ्चालन हुने मार्केटिङ म्यानेजमेन्ट विषयको परीक्षा ती केन्द्रहरूमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो । महाशाखाका अनुसार स्थगित गरिएको विषयबाहेक अन्य सबै विषयको परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुनेछ । साथै, स्थगित गरिएका परीक्षा केन्द्रबाहेक अन्य सबै केन्द्रमा पनि परीक्षा यथावत् सञ्चालन गरिने जनाइएको छ । स्थगित गरिएका परीक्षा केन्द्रहरूमा रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (जनकपुर), सर्लाही क्याम्पस (मलंगवा), जनज्योति बहुमुखी क्याम्पस (लालबन्दी), सूर्यनारायण सत्यनारायण मोरबैता यादव क्याम्पस (सिरहा) रहेका छन् । यस्तै जेएस मुरारका बहुमुखी क्याम्पस (लहान), श्री महेन्द्रनारायण निधि बहुमुखी क्याम्पस (राजविराज), नेसनल पिपुल कलेज (कञ्चनपुर–८, सप्तरी), जनज्योति बहुमुखी क्याम्पस (चन्द्रनिगाहपुर), गोरीशंकर यादव रौतहट क्याम्पस (गौर), सिमरा कलेज (बारा) र ठाकुरराम बहुमुखी क्याम्पस (वीरगञ्ज) रहेका छन् ।
पाँचबुँदे मागसहित माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनसन जारी
काठमाडौं । विभिन्न पाँचबुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौंको माईतीघर मण्डलामा शुरु गरेको सामुहिक आमरण अनसन शुक्रबार पनि जारी रहेको छ । ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति’को नेतृत्वमा मङ्गलबारदेखि उक्त अनसन शुरु भएको हो । आन्दोलनरत पक्षले वित्तीय शोषणको अन्त्य र सामाजिक न्यायको प्रत्याभुति हुनुपर्ने भन्दै सरकारसमक्ष विभिन्न मागहरू अघि सारेका छन् । उनीहरूले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीडितका तीनबुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने मागलाई मुख्य प्राथमिकतामा राखेका छन् । संघर्ष समितिले जारी गरेको मागपत्रमा विद्यमान विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नुपर्ने उल्लेख छ । त्यसैगरी, गरिब, मजदुर, सुकुम्बासी र किसानलाई ब्याज छुटसहित निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने तथा नागरिकको आवश्यकता र क्षमताका आधारमा रोजगारी एवं उचित पारिश्रमिक सुनिश्चित गर्नुपर्ने माग समेत गरिएको छ । आन्दोलनकारीहरूले निजी बैंक तथा वित्तीय संस्थाहरूको अन्त्य गरी मुलुकमा समाजवादी अर्थ व्यवस्था कायम गर्नुपर्ने दीर्घकालीन माग समेत प्रश्तुत गरेका छन् । आफ्ना मागहरू पूरा नभएसम्म अनसन र आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिने संघर्ष समितिले जनाएको छ ।