विकासन्युज

७ जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दाका सात जना फरार प्रतिवादीलाई बिहीबार (आज) पक्राउ गरेको छ ।  चेक अनादरमा छ र बैंकिङ कसुरमा एक जनालाई नियन्त्रणमा लिइ कैद सजाय तथा जरिवाना असुलका लागि अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । पक्राउ परेका प्रतिवादीबाट तीन दिन कैद सजाय र रु एक लाख आठ हजार ६०० जरिवाना रकम असुलउपर हुने उनको भनाइ छ ।  कास्की प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी नियन्त्रणमा तीव्रता दिँदै आएको छ । गत महिना ६६ जना प्रतिवादी पक्राउ परेका थिए ।  

राष्ट्रका नाममा सम्बोधनपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । सुनसरीबाट सुरु भई तराई-मधेशका विभिन्न जिल्लामा फैलिएको तनाव र त्यसबाट उत्पन्न सुरक्षा अवस्थाबारे देशवासीका नाममा सम्बोधन गरेपछि प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् । शीतल निवासका अनुसार प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई तराई-मधेशमा उत्पन्न तनाव साम्य पार्न सेना परिचालन भए/ गरेको जानकारी गराए । राष्ट्रपतिलाई सुनसरी, सिरहा लगायत जिल्लामा भइरहेको तनाव र समस्या समाधानका लागि सरकारले गरिरहेको प्रयासबारे प्रधानमन्त्रीले ब्रिफिङ गरेको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति सेनाको परमाधिपति समेत हुन् । प्रधानमन्त्रीले सम्बोधनका क्रममा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गर्दै अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा रहन अपिल गरेका थिए ।  उनले सरकार शान्ति-सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको र हिंसामा संलग्न जो-कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेका थिए । शीतल निवासमा भइरहेको भेटमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, तराई-मधेशमा विकसित घटनाक्रम तथा सरकारले अघि बढाएका सुरक्षा र शान्ति स्थापनासम्बन्धी प्रयासबारे छलफल हुने जनाइएको छ ।

साम्प्रदायिक तनावबीच प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रका नाममा पहिलो सम्बोधन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा पहिलोपटक सम्बोधन गर्दै सुनसरी र सिराहालगायत क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर चासो व्यक्त गरेका छन् । उनले सबै पक्षलाई संयमता अपनाउन, अफवाहको पछि नलाग्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । सुनसरी र सिराहामा दुई समुदायबीच भएको झडपमा तीन जनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । सम्बोधनमा प्रधानमन्त्री शाहले हिंसात्मक गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै कानुन हातमा नलिन सबैलाई आग्रह गरे । उनले शान्ति, सुरक्षा र नागरिकको जिउधनको संरक्षण सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै दोषीमाथि कानुनअनुसार कारबाही हुने विश्वास दिलाए । प्रधानमन्त्रीले सामाजिक तथा धार्मिक सद्भाव नेपाली समाजको बलियो आधार भएकाले कुनै पनि उक्साहट, घृणात्मक अभिव्यक्ति वा अफवाहबाट प्रभावित नहुन नागरिकलाई आग्रह गरे । उनले सामाजिक सञ्जालमा अपुष्ट सूचना नफैलाउन पनि सबैसँग अपिल गरेका छन् । सुनसरी घटनापछि प्रधानमन्त्रीको मौनतामाथि सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको अवस्थामा उनले पहिलोपटक सार्वजनिक रूपमा राष्ट्रलाई सम्बोधन गरेका हुन् । सरकारले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाएको तथा परिस्थितिलाई सामान्य बनाउन आवश्यक सबै कदम चालिरहेको प्रधानमन्त्रीले बताएका छन् । यस्तो छ प्रधानमन्त्री शाहको राष्ट्रका नाममा पहिलो सम्बोधनको पूर्णपाठ: आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू, म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु ।  केही दिनअघि सुनसरीको देवानगन्ज, सिरहा लगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ । यस दुःखद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, शोकसन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।  घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ ।  घटना भएलगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति–सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन् ।  घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ । म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ । घटनामा संलग्न दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ । अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ ।  परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ भने स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ । स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति–सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं, सुरक्षा निकायका उच्च अधिकारीहरूसहित घटनास्थलतर्फ प्रस्थान गरिसक्नुभएको छ । साथै, देशको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरूसमेत गरिसकिएको छ । यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गर्दछु । साथै, सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु ।  प्रत्येक नागरिकको जीउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो । आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ । प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिनेछन्। शान्ति–सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौं पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत छ र यस्ता गतिविधिमाथि कडा कदम चालिनेछ । नेपालको संविधानले प्रत्येक नागरिकलाई आ–आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ । यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ । धर्म, समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो । संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन । सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो ।  देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत हुन सक्दैन ।  आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू, हाम्रो इतिहास साक्षी छ- कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रा सबैभन्दा ठूला शक्ति बनेका छन् ।  हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ । आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार सञ्चारके माध्यम सबके धैर्यता आ संयमता अपना क शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राख के लेल सरकार के तरफ स हार्दिक अपिल गर्दछु । धन्यवाद ।

७ देशका ५५० अन्तर्राष्ट्रिय इभेन्ट व्यवस्थापक काठमाडौंमा

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय माइस (मिटिङ, इन्सेन्टिभ्स, कन्फेरेनेन्स तथा एक्जिविसन) तथा डेस्टिनेशन वेडिङ पर्यटन बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेको छ । भारतको अग्रणी इभेन्ट तथा वेडिङ उद्योगको संस्था इभेन्ट व्यवस्थापक महासंघ (इएमएफ) ग्लोबलले आफ्नो १३औँ ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड२०२६ पहिलो पटक नेपालमा आयोजना हुँदैछ ।  ईएमएफ ग्लोबलका संस्थापक अध्यक्ष जयदिप मेहताले यही साउन १५ देखि १७ गतेसम्म काठमाडौंस्थित द सोल्टी होटलमा हुने सम्मेलनमा भारतसहित विभिन्न ७ मुलुकका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, गन्तव्य विशेषज्ञ सहभागी हुनेछन् । सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ‘गनेस’ले गर्ने कार्यक्रम रहेको छ । नेपालमा आयोजना हुन लागेको यो सम्मेलनलाई पर्यटन क्षेत्रले उच्च मूल्यका पर्यटक (हाई-भ्यालु टुरिस्ट) आकर्षित गर्ने तथा नेपाललाई अन्तर्राष्ट्रिय सम्मेलन, प्रोत्साहन भ्रमण, लक्जरी वेडिङ र ठूला व्यवसायिक कार्यक्रमहरूको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।  सम्मेलनमा सहभागी प्रतिनिधिहरूले काठमाडौंसँगै पोखरा, जनकपुर, चितवनलगायतका प्रमुख पर्यटन गन्तव्यहरूको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ । यसबाट नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, लक्जरी आतिथ्य सेवा तथा पर्यटन पूर्वाधारलाई अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष रूपमा प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । करिब १५ वर्षअघि स्थापना भएको ईएफमएफ ग्लोबल भारतको इभेन्ट, वेडिङ तथा एक्सपेरिएन्सियल उद्योगको सबैभन्दा प्रभावशाली संस्था भएको पनि अध्यक्ष महेताको दाबी छ । संस्थाले वार्षिक रूपमा आयोजना गर्ने एएमएफ ग्लोबल कन्भेन्सन विश्वका विभिन्न पर्यटन गन्तव्यमा हुँदै आएको छ ।  प्रत्येक संस्करणले आयोजक मुलुकलाई अन्तर्राष्ट्रिय वेडिङ, कर्पोरेट इभेन्ट तथा माइस बजारमा नयाँ सम्भावनासहित परिचित गराउँदै आएको छ । संस्थापक अध्यक्ष डा. मेहताले नेपाल हिमाली सौन्दर्य, समृद्ध सांस्कृतिक सम्पदा, आध्यात्मिक आकर्षण, स्तरीय होटल पूर्वाधार तथा भारतसँगको सहज पहुँचका कारण दक्षिण एसियाकै उत्कृष्ट डेस्टिनेशन वेडिङ र माइस पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताए ।  उनका अनुसार नेपालमा सम्मेलन आयोजना गर्नुको उद्देश्य भारतीय तथा अन्तर्राष्ट्रिय इभेन्ट उद्योगलाई नेपालको सम्भावनासँग प्रत्यक्ष जोड्नु, सीमापार व्यावसायिक सहकार्य विस्तार गर्नु तथा नेपालको पर्यटन प्रवर्द्धनमा दीर्घकालीन योगदान पुर्‍याउनु हो । सम्मेलनमा अन्तर्राष्ट्रिय स्तरका व्यवसायिक नेटवर्किङ, गन्तव्य प्रस्तुति, उद्योग प्रदर्शनी, ज्ञान आदानप्रदान तथा अवार्ड आयोजना हुनेछन् ।  साथै बलिउड कलाकार शिल्पा शेट्टी, शक्ति कपूर, विक्रान्त मेसी तथा नेपाली अभिनेत्री मनीषा कोइरालाको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ । यस किसिमका अन्तर्राष्ट्रिय सम्मेलनले होटल, रिसोर्ट, ट्राभल कम्पनी, इभेन्ट व्यवस्थापन, यातायात, सांस्कृतिक प्रस्तुति, स्थानीय उत्पादन तथा सेवा क्षेत्रमा प्रत्यक्ष आर्थिक गतिविधि सिर्जना गर्नुका साथै नेपाललाई भविष्यमा अन्तर्राष्ट्रिय सम्मेलन, कर्पोरेट कार्यक्रम, प्रोत्साहन भ्रमण तथा गन्तव्य विवाहका लागि विश्व बजारमा प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने नेपाल पर्यटन बोर्डका पूर्व पदाधिकारी नन्दिनी लाहे थापाले बताएकी छन् ।

मोरङमा शुक्रबार सद्भाव र्‍याली निकालिने

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका कारण उत्पन्न परिस्थितीलाई न्यूनीकरण गर्न सद्भाव र्‍याली निकाल्ने निर्णय गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा बिहीबार (आज) बसेको सर्वपक्षीय बैठकले आमनागरिक सम्मेलित सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको छ । शुक्रबार अपराह्न ३ः०० बजे निकालिने र्‍यालीमा सबै राजनीतिक दल, नागरिक सामाज, धार्मिक तथा सामाजिक सङ्घसंस्था, सञ्चारकर्मी, युवा, व्यापारिक वर्ग, विभिन्न धार्मिक समुदायलगायत सहभागिता रहने जनाइएको छ ।  सो र्‍याली महेन्द्र चोकदेखि, ट्राफिक चोक, पञ्चमुखी हनुमान मन्दिर, वडा प्रहरी कार्यालय (क) हुँदै जिल्ला प्रशासन कार्यालय मोरङ आगाडि डाँफे चोकसम्म जानेछ । त्यसैगरी बैठकले साउन १० गते देवानगञ्जमा दुई धर्मावलम्बी समुदायबीच भएको विवादका कारण उक्त घटनामा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घटनामा घाइते भई उपचारमा रहेका व्यक्तिहरूको शीघ्र स्वास्थ्य उपचारका लागि अस्पताल प्रशासनसँग समन्वय गर्ने निर्णय गरेको छ । बैठकले सामाजिक सद्भाव विथोलिने खालका कुनै घटना, सूचना तथा अवस्था देखिएमा सबैले त्यस्ता विषयको सूचना समन्वय गर्ने र सामाजिक र धार्मिक सद्भाव कायम राख्न सबैले आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्ने निर्णय गरेको छ । 

सिरहाको गोलबजार घटना छानबिन गर्न प्रदेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

काठमाडौं । सिरहाको गोलबजारमा गोली लागेर स्थानीय एक व्यक्तिको मृत्यु भएपछि घटनाको छानबिनका लागि मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन टोली गठन गरेको छ । बिहीबार दिउँसो गोलबजारमा भएको उक्त घटनामा परी स्थानीय गणेश यादवको ज्यान गएको थियो । घटना कसरी र कसको संलग्नतामा भयो भन्नेबारे सत्यतथ्य पत्ता लगाउन मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको कमान्डमा समिति गठन गरिएको हो । गठित छानबिन समितिमा प्रहरी निरीक्षक (इन्सपेक्टर) यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक (असई) गोविन्द झा सदस्य रहेका छन् । टोलीले घटनाबारे सूक्ष्म अध्ययन तथा छानबिन सुरु गरिसकेको जनाइएको छ ।

कप्तानगन्ज घटनाप्रति महासंघको ध्यानाकर्षण, निष्पक्ष छानबिन र शान्ति सुव्यवस्थाको माग

काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिकास्थित कप्तानगन्जमा गत साउन १० गते दुई पक्षबीच भएको विवाद र झाडपपछि उत्पन्न परिस्थितिलाई लिएर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  महासंघले जारी गरेको विज्ञप्तिमा घटनामा परी ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।  साथै, झडपमा घाइते भएका सर्वसाधारण र शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको औषधोपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ । महासंघले कुनै पनि असन्तुष्टि, मतभेद वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने भन्दै सामाजिक तथा साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने गतिविधि नगर्न सबै नागरिक, धार्मिक तथा सामाजिक व्यक्तिलाई अपिल गरेको छ ।  कुनै पनि प्रकारको उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न महासंघले आग्रह गरेको छ । यसैगरी, महासंघका विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न, पीडित पक्षलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरूको निशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको छ । सुनसरीको घटनाका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत विभिन्न जिल्लाहरूमा विरोधका कार्यक्रमहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै महासंघले शान्ति सुव्यवस्था कायम गरी सार्वजनिक यातायात निर्बाध रूपमा सञ्चालन हुने वातावरण बनाइदिन तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज, आम सञ्चार माध्यम र सम्बद्ध सबै पक्षहरूसँग अनुरोध गरेको छ ।