सिटिजन्स बैंकले सुदूरपश्चिममा गर्‍यो बजेट तथा व्यवसाय वृद्धि समीक्षा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा बजेट उपलब्धि, रणनीतिक योजना तथा व्यवसाय विस्तारबारे समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा ‘अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सन : बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु–सुदूरपश्चिम प्रोभिन्स (२०८३/८४)’ विषयक सेमिनार आयोजना गरेको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतसहित वरिष्ठ कार्यकारीहरूको सहभागिता थियो। कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताका विषयमा छलफल गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय र प्रदेश तहबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत अन्तरक्रिया गरिएको थियो।

सुदूरपश्चिम प्रदेशका सात जिल्लामा बैंकका १० शाखा सञ्चालनमा छन्। यसअघि बैंकले बागमती, कोशी र मधेश प्रदेशमा पनि व्यवसाय विस्तार तथा रणनीतिक योजनासम्बन्धी यस्तै कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ। सोही कार्यक्रमको निरन्तरताका रूपमा सुदूरपश्चिममा सेमिनार आयोजना गरिएको हो। अन्य प्रदेशमा पनि क्रमशः यस्ता कार्यक्रम आयोजना गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, निक्षेप संकलन ९.२२ प्रतिशतले वृद्धि भई २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

सो अवधिमा बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

बैंकले पछिल्लो समय डिजिटल तथा लक्षित ग्राहक केन्द्रित विभिन्न सेवा पनि विस्तार गरेको जनाएको छ । फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको बैंकले ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ समेत सञ्चालनमा ल्याएको छ।

त्यस्तै, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर लिन सकिने सुविधा तथा अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआरमार्फत नगद प्राप्त गर्न सकिने क्रस–बैंक टेलर सुविधा उपलब्ध गराएको बैंकले जनाएको छ।

सिटिजन्स बैंकले हाल ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

Share News