प्रहरी भन्छ– धनुषामा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी होइनन्
काठमाडौं । धनुषाको सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको प्रहरीले स्पष्ट पारेको छ । सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा उनी कडेरी पुजारी भएको भन्दै फैलिएको सूचना गलत रहेको भन्दै प्रहरीले आधिकारिक जानकारी सार्वजनिक गरेको हो । मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले मृतक अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी मन्दिरका पुजारी नभएको पुष्टि गरे । जिल्ला प्रहरी कार्यालय, धनुषाले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै मृतक पुजारी नभई घुमी–हिँड्ने व्यक्ति रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार मृतक बाहिर कामकाज गर्ने र राति मन्दिरमा आएर सुत्ने गरेका थिए । उनले घटनास्थलमा कुकुरसहितको अनुसन्धान टोली परिचालन गरिएको र घटनाको गहन अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले घटनालाई धर्मसँग जोडेर भ्रम फैलाउन नहुने आग्रह गर्दै यो विशुद्ध आपराधिक घटना भएको जनाएको छ । घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ ।
ब्रड पिकमा हिमपहिरो : चार शव फेला, ६ नेपाली सम्पर्कविहीन
काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालको हिमपहिरोमा चारजनाको शव फेला परेको छ । चार जनाको शव फेला पारेको अल्पाइन क्लब पाकिस्तानका अध्यक्ष इरफान अर्शद खानले जानकारी दिएका छन् । खानले इन्स्टाग्राममा चार जनाको शव फेला परेको जानकारी दिएका हुन् । यद्यपि उनले शव क-कसको फेला परेको भनी पहिचान खुलाएका छैनन् । हिमपहिरोमा परेर सम्पर्कविहीन भएका पूर्व रोयल मरीन निर्मल पुर्जासहित नेपाली पर्वतारोही पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, ग्यालु शेर्पा र नावाङ थिन्डु शेर्पा छन् । त्यस्तै, टोलीमा पाकिस्तानी पर्वतारोही सोहेल साखी, चिनियाँ पर्वतारोही वाङ झोङ, अमेरिकी पर्वतारोही म्यालोरी गाइस तथा ओमानका पर्वतारोही अहमद अब्दुल्लाह अल हार्थी पनि रहेका छन्। क्लब अफ पाकिस्तानले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत सार्वजनिक गरेको छ । View this post on Instagram A post shared by Irfan arshad khan (@irfan.a.khan)
सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६.१८ प्रतिशत बढ्यो
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा ८६.१८ प्रतिशत बढेर १५ करोड ४ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ८ करोड ८ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ०.४७ प्रतिशत घटेर २३ करोड ३४ लाख २५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २३ करोड ४५ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ०.१२ प्रतिशत घटेर ४ करोड २३ लाख ७५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २.७९ प्रतिशत घटेर २७ करोड ७८ लाख ३२ हजार रुपैयाँ र सञ्चालन नाफा १३२ प्रतिशत बढेर २४ करोड ७९ लाख ६५ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा भने ५५ करोड ८८ लाख ५३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । ८३ करोड ४३ लाख ३८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४४ करोड ८० लाख १० हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ६६.४८ प्रतिशत बढेर ८ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ र कर्जा प्रवाह १०.४१ प्रतिशत घटेर ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले ५ अर्ब ३३ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ५ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकले आफ्नो खराब कर्जा १०.६५ प्रतिशतबाट घटाएर ६.१५ प्रतिशतमा झार्न सफल भएको छ । साथै पूँजी कोष अनुपात ८.२९ प्रतिशतबाट बढाएर ११.२९ प्रतिशत पु¥याएको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ६.६९ रुपैयाँबाट बढेर १८.०४ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दान्ी अनुपात ४०.४८ गुणा छ भने प्रतिसेयर नेटवर्थ ८६.७१ रुपैयाँ रहेको छ ।
उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा ‘अनलाइन’, सेवाग्राहीले कार्यालय धाउन नपर्ने
काठमाडौं । उद्योग विभागले आफूबाट प्रवाह हुने अधिकांश सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा आइसकेको भन्दै सेवाग्राहीलाई सेवा लिन भौतिक रूपमा विभागमा उपस्थित नहुन आग्रह गरेको छ । विभागले अत्यावश्यक सूचना जारी गर्दै हालसम्म अनलाइन प्रणालीमा समावेश हुन बाँकी रहेका सेवासमेत क्रमशः अनलाइनमा ल्याउने प्रयास जारी रहेको जनाएको छ । अनलाइन प्रणालीमार्फत सञ्चालन भइरहेका सेवाका लागि सेवाग्राही स्वयं कार्यालयमा उपस्थित हुनुनपर्ने व्यवस्था भएको छ । हाल भौतिक रूपमा उपस्थित भई सेवा लिनुपर्ने अवस्थामा सम्बन्धित प्रतिष्ठान (फर्म, कम्पनी, उद्योग वा व्यवसाय) का सञ्चालक स्वयं, कर्मचारी वा प्रतिष्ठानले तोकेको आधिकारिक प्रतिनिधि मात्र परिचय खुल्ने आधिकारिक परिचयपत्रसहित उपस्थित हुनुपर्नेछ । विभागले यही साउन १८ गतेदेखि विभागबाट प्रदान गरिने सेवाको आवेदन तथा सम्बन्धित कागजात औद्योगिक व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस)मार्फत अनलाइनबाट मात्रै उपलब्ध हुने जनाएको छ । ती सेवाका लागि भौतिक रूपमा आवेदन तथा कागजात दर्ता नगरिने पनि सूचनामा उल्लेख छ । विभागका अनुसार अनलाइनबाट सञ्चालन हुने सेवामा नयाँ उद्योग दर्ता अनुमति, एकाइ उद्योग दर्ता, उद्योग स्थानान्तरण, उद्योगको पुँजी तथा क्षमता वृद्धि, उद्योग अध्यावधिक, म्याद थप तथा फर्म नवीकरण, सञ्चालन जानकारी, शेयर संरचना संशोधन, उद्योगको नाम तथा उद्देश्य परिवर्तनलगायत सेवा समावेश छन् । त्यसैगरी, विदेशी लगानी स्वीकृति (अटोमेटिक रुटसमेत), व्यावसायिक भिसा सिफारिस, ‘रिप्याट्रिएसन,’ ‘टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट,’ शेयर खरिदसम्बन्धी सेवा, कच्चा पदार्थ खपतको कच्चा पदार्थ खपत मापदण्ड निर्धारण, वार्षिक प्रगति विवरण, छुट तथा सुविधा सिफारिस, संस्थाग सामाजिक उत्तरदायित्व, प्रारम्भिक वातावरणीय परीक्षण, कार्यसर्त तथा संशोधित प्रारम्भिक वातावरणीय परीक्षण स्वीकृतिसम्बन्धी सेवा पनि अनलाइनबाट उपलब्ध हुनेछन् । विभागले प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने रु २५ करोडभन्दा कम स्थिर पुँजी भएका उद्योगका हकमा उद्योग सञ्चालनका लागि आवश्यक ‘मेसिनरी’, औजार, कच्चा पदार्थ तथा रसायन आयात, ‘बन्डेड वेयरहाउस’ र कच्चा पदार्थ खपतको निर्धारणलगायत छुट, सुविधा र सहुलियत सिफारिससम्बन्धी काम प्रदेश सरकार तथा मातहतका निकायबाट हुने भएकाले सोहीअनुसार सेवा लिन पनि आग्रह गरेको छ ।
मिटरब्याजमा ऋण दिनेलाई सम्पत्ति शुद्धीकरणको मुद्दा
काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) मार्फत सर्वसाधारणलाई शोषित–उत्पीडित बनाउने कार्यलाई कडा आर्थिक अपराधका रूपमा लिँदै मिटरब्याजीहरूमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कानून अनुसार कारबाही अघि बढाउने भएको छ । गृह मन्त्रालय र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौतालाई मन्त्रिपरिषद्ले अनुमोदन गरी नेपाल राजपत्रमा प्रकाशित गरेसँगै मिटरब्याज सम्बन्धी कुप्रथाको उन्मूलनको घोषणा गर्ने तयारी गरिएको छ । यो घोषणासँगै नागरिकहरूमाथि आपराधिक तथा दूषित मनसायका साथ बनाइएका तमसुक, दृष्टि बन्धक, छिनुवा पास र बाध्यकारी चेकजस्ता सम्पूर्ण फर्जी लिखतहरू स्वतः अवैध हुनेछन् । गृह मन्त्रालयले तीन महिनाभित्र मिटरब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयकको मस्यौदा तयार गरी कानून निर्माणको प्रक्रिया अघि बढाउने व्यवस्था गरिएको छ । प्रस्तावित ऐनमा मिटरब्याजमा गैरकानुनी रूपमा ऋण लगानी गर्ने व्यक्तिहरूमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अपराधमा अनुसन्धान गरिने, अनुचित लेनदेनका कारण पीडितले गुमाएको चल–अचल सम्पत्ति फिर्ता गराई उचित क्षतिपूर्ति भराइने र मुद्दाको द्रुत न्याय निरुपणका लागि विशेष न्यायाधीकरणको गठन गरिनेछ । यसका साथै स्थानीय तह (वडा) बाट लिखत प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत, कर तिरेको निस्सा र बैंकिङ वा विद्युतीय कारोबारको प्रमाण नभएमा वा एक पक्षको मात्र उपस्थितिमा गरिएको प्रमाणीकरणलाई आधिकारिकता नदिने कानुनी प्रबन्ध मिलाइनेछ । नयाँ कानुनी ढाँचा अनुसार वास्तविकभन्दा बढी रकमको लिखत बनाउनु, सावाँमा ब्याज जोडेर नयाँ लिखत खडा गर्नु, प्रचलित कानूनभन्दा बढी ब्याज लिनु, खाली चेक वा ल्याप्चे गराउनु, धम्की दिनु, शारीरिक तथा मानसिक हिंसा वा शोषण गर्नु र सम्पत्तिको हक हस्तान्तरण गराउनु जस्ता १६ प्रकारका कार्यहरूलाई मिटरब्याज अपराधको परिभाषाभित्र समेटिनेछ । यस्ता अपराधको अध्ययन, अनुसन्धान, स्थलगत भ्रमण, सर्जमिन र फरेन्सिक परीक्षण लगायतका कार्यहरू मुलुकी फौजदारी संहिता बमोजिम अघि बढाइनेछ । पीडितका समस्या स्थानीय स्तरमै समाधान गर्न देशभरका सबै जिल्लाहरूमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भू–प्रशासन, प्रहरी र आन्दोलनका प्रतिनिधिसहितको जिल्लास्तरीय सहजीकरण समिति गठन गरिनेछ । यो समितिले हरेक साता कम्तीमा ४ पटक बैठक बसी ६ महिनाभित्र प्राप्त सबै उजुरीहरू फछ्यौट गर्नुपर्नेछ । समितिको कामकारबाही अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति समेत रहनेछ । सहमति अनुसार मिटरब्याज पीडितहरूका विरुद्धमा सरकार वादी भई चलेका फौजदारी मुद्दाहरू कानून बमोजिम फिर्ता लिने र फैसला भइसकेका मुद्दामा सजाय माफी मिनाहाको प्रक्रिया अघि बढाउने निर्णय भएको छ । साथै, आर्थिक रूपमा विपन्न नागरिकहरूलाई पुनः मिटरब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमै विशेष आर्थिक सहायता, राहत र क्षतिपूर्तिको कार्यक्रम समावेश गर्न अर्थ मन्त्रालयमा सिफारिस गरिनेछ ।
ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० पर्वतारोही सम्पर्कविहीन
काठमाडौं । पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परेर नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना पर्वतारोही सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ६ जना नेपाली र अन्य मुलुकका चार जना नागरिक रहेका छन् । हिमपहिरोपछि उनीहरूसँग सम्पर्क टुटेको जनाइएको छ । पाकिस्तानको अल्पाइन क्लबले सार्वजनिक गरेको सूचीअनुसार बेपत्ता हुनेमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ, अमेरिकाकी मालोरी गाइस तथा नेपालका निर्मल पुर्जा ‘निम्स दाइ’, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन् । हिमपहिरोपछि उद्धार तथा खोजी अभियानबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । बेपत्ता आरोहीहरूको अवस्थाबारे थप जानकारी प्राप्त गर्ने प्रयास भइरहेको सम्बन्धित निकायले जनाएको छ ।
पूर्वी नेपालका घटनाप्रति नाडाको चिन्ता, शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले सुनसरीको कप्तानगञ्जसहित पूर्वी नेपालका केही जिल्लामा देखिएका अशान्तिपूर्ण गतिविधि र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नाडाले सामाजिक सद्भाव कायम राख्दै संवाद र लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्न सबै पक्षसँग अपिल गरेको हो । अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीद्वारा जारी विज्ञप्तिमा नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएकाले विविधताभित्रको एकता, सहिष्णुता र भाइचाराको भावना जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गरिएको छ । नाडाले संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार र माग शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट राख्ने अधिकार सुनिश्चित गरेको भए पनि हिंसा, तोडफोड, अशान्ति तथा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि कुनै पनि रूपमा स्वीकार्य नहुने जनाएको छ । विज्ञप्तिमा यस्ता घटनाले शान्ति–सुरक्षामा मात्र नभई उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल असर पार्ने उल्लेख गरिएको छ । विशेषगरी व्यवसायिक वातावरण प्रभावित हुँदा निजी क्षेत्र थप चिन्तित बनेको नाडाको भनाइ छ । नाडाले सबै सम्बन्धित पक्षलाई संयमता अपनाउन, कानुनी तथा लोकतान्त्रिक प्रक्रियाअनुसार संवाद र आपसी समझदारीमार्फत समस्याको शीघ्र समाधान खोज्न आग्रह गरेको छ । साथै, नेपाल सरकार र सम्बन्धित निकायलाई शान्ति–सुरक्षा कायम गर्दै जनधनको संरक्षण, सामान्य जनजीवन र व्यवसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न अनुरोध गरेको छ । नाडाले सम्पूर्ण नेपाली नागरिकलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहिष्णुतालाई थप सुदृढ बनाउन आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ ।
जयनगर-जनकपुर-भङ्गाहा रेल सेवा स्थगन
जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधाम धनुषाले आज सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट जारी कर्फ्यु आदेशका कारण यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ । सूचनामा प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यु आदेशका आधारमा उक्त निर्णय गरिएको उल्लेख छ । नेपाल रेल्वे कम्पनीले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डमा हाल सञ्चालन हुँदै आएको सेवा कर्फ्यु कायम रहेसम्म सञ्चालन गर्न नसकिने सूचनामा उल्लेख गरिएको छ । यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै परिस्थिति सामान्य भएपछि सेवा पुनःसञ्चालन गरिने निमित्त प्रशासन प्रमुख अजयकुमार सिंहद्वारा जारी सूचनामा उल्लेख छ ।