चितवनमा अवैध भीओआईपी सञ्चालन, २६ मोबाइल र ९५ सिमकार्ड बरामद

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चितवनको भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सीआईबी र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले नेपाल टेलिकम र एनसेल आजियाटाको प्राविधिक समन्वयमा भरतपुर महानगरपालिका–२ आँपटारीस्थित एक घरमा छापा मारेर २५ वर्षीय भारतीय नागरिक कथराम नितिनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बरामद भएका उपकरण अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालनमा प्रयोग भइरहेको खुलेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

छापाका क्रममा प्रहरीले २६ वटा मोबाइल फोन, २ वटा ल्यापटप, एनसेलका ७७ वटा सिमकार्ड, नेपाल टेलिकमका १८ वटा सिमकार्ड, ४ वटा सीपीयू, एउटा इन्भर्टर, २ वटा ब्याट्री, ६ वटा २० पोर्टका यूएसबी हब, ३३ वटा यूएसबी सेलुलर मोडेम, ३० वटा यूएसबी ओटीजी टु अडियो केबल, एउटा नेटवर्क स्विच, २ वटा इन्टरनेट राउटर तथा विभिन्न डेटा केबल बरामद गरेको छ ।

प्रहरीले दुरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान अघि बढाइएको जनाएको छ ।

Share News