हिमालय एअरलाइन्स्का कर्मचारीद्वारा प्रधानमन्त्री राहत कोषमा १३ लाख सहयोग

काठमाडौं । हिमालय एअरलाइन्स्का कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ लाख २० हजार ६६६ रुपैयाँ सहयोग गरेका छन् ।

कम्पनीका कर्मचारीहरूले स्वेच्छिक रूपमा १४ लाख ७० हजार ६६६ रुपैयाँ संकलन गरेका थिए । त्यसमध्ये १० प्रतिशत रकम विपद्बाट प्रत्यक्ष प्रभावित हिमालय एअरलाइन्स्का कर्मचारीका परिवारलाई सहयोग गरिएको छ भने बाँकी रकम राहत कोषमा जम्मा गरिएको हो ।

हिमालय एअरलाइन्स्का उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले उक्त रकमको चेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल (गणेश) लाई हस्तान्तरण गरेका छन् ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण त्रिशूली करिडोर आसपासका बस्तीमा जनधनको क्षति हुनुका साथै धेरै नागरिक विस्थापित भएका छन् । बाढीले घर, सडक, पुललगायत भौतिक संरचनामा समेत क्षति पुर्याएको थियो ।

यसैगरी, हिमालय एअरलाइन्स्का कर्मचारीहरूले लत्ताकपडा संकलन गरी काठमाडौं स्कुल अफ ललाई पनि हस्तान्तरण गरेका छन् । उक्त सामग्री बाढी प्रभावित समुदायलाई उपलब्ध गराउने उद्देश्यले प्रदान गरिएको कम्पनीले जनाएको छ ।

हिमालय एअरलाइन्स्ले विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय सहायता प्रदान गर्दै आएको जनाएको छ ।

Share News