काठमाडौंमा हिमालयन ग्रीन इनर्जी एक्स्पोको आयोजना हुँदै

१०० भन्दा बढी प्रदर्शनी स्टल रहने, ३० हजारभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा ।

काठमाडौं । आगामी माघ ३, ४ र ५ गते  काठमाडौंमा हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ आयोजना हुने भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा हिमालयन ग्रीन इनर्जी एक्स्पोको आयोजना हुन लागेको हो ।

उत्थानशील ऊर्जा, समृद्ध नेपाल भन्ने नाराका साथ आयोजना हुन लागेको यो एक्स्पो पाँचौं संस्करण हो । 

नेपाल सरकारले १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा यो एक्स्पोलाई इप्पानले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष माघ ३, ४ र ५ गते वार्षिक ऊर्जा इभेन्टका रूपमा नियमित गर्ने लक्ष्य लिएको छ ।

नेपालको ऊर्जा क्षेत्र अहिले करिब ४०० मेगावाट विद्युत उत्पादन क्षमताबाट सन् २०३५ सम्म ३० हजार मेगावाट पुर्याउने रूपान्तरणको चरणमा छ । 

यो लक्ष्य आन्तरिक खपतका साथै औद्योगिक विकास, विद्युतीय सवारी र भारत तथा बङ्गलादेशसँगको अन्तरदेशीय विद्युत व्यापारसँग जोडिएको छ । 

अर्कोतर्फ हालैका वर्षहरूमा आएको बाढी-पहिरोले जलविद्युत पूर्वाधारमा क्षति पुर्याएकाले जलवायु परिवर्तनजन्य जोखिम सामना गर्न सक्ने सुरक्षित ऊर्जा पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता छ । 

यसैलाई ध्यानमा राखी नेपालको ऊर्जा क्षेत्र अब जलविद्युतमा मात्र सीमित नरही सौर्य, वायु, बायोग्यास, ऊर्जा भण्डारण, ग्रीन हाइड्रोजन, डिजिटल ऊर्जा र एआई प्रविधिसहितको एकीकृत स्वच्छ ऊर्जा प्रणालीतर्फ अघि बढिरहेको छ । 

विक्रम संवत् २०५७ माघ ४ मा स्थापित इप्पानले निजी क्षेत्रको ऊर्जा उत्पादन, लगानी र नीतिगत सुधारका लागि निरन्तर पहल गर्दै आएको छ ।

तीन दिनसम्म सञ्चालन हुने यस एक्स्पोका प्रमुख आकर्षणहरूमा बीटुबी बिजनेश मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी कलेज हब, प्रत्यक्ष प्रविधि प्रदर्शन, हाइड्रो–कन शो, इभी र्याली तथा गाला नेटवर्किङ डिनर रहेका छन् । 

प्रदर्शनीमा टर्बाइन, जेनेरेटर, सोलर पीभी, इन्भर्टर, ब्याट्री, ट्रान्सफर्मर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि र स्मार्ट ऊर्जा समाधानहरू प्रदर्शन गरिनेछ भने विद्यार्थी तथा नवप्रवर्तकहरूका नयाँ अवधारणा र वस्तुहरूको प्रतिस्पर्धासमेत समावेश गरिनेछ ।

यस एक्स्पोमा भारत, चीन, क्यानाडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, इटाली, बेलायत, ब्राजिललगायत विभिन्न मुलुकका कम्पनी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, नीति निर्माता, प्रविधि उत्पादक र विज्ञ(विशेषज्ञहरूको सहभागिता रहनेछ । 

१०० भन्दा बढी प्रदर्शनी स्टल रहने यस एक्स्पोमा ३० हजारभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।

हाल यस एक्स्पोका लागि सहभागिता तथा स्टल बुकिङ खुला भइसकेको र थप जानकारीका लागि इप्पान सचिवालय वा इभेन्ट सोलुसन प्रालिमा सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन् ।

Share News