सहुलियतपूर्ण कर्जाको बक्यौता डेढ खर्ब नाघ्यो
काठमाडौं । बैंकहरुले प्रवाह गरेको सहुलियतपूर्ण कर्जाको बक्यौता डेढ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८० माघ मसान्तमा १ लाख ३२ हजार ७ सय ६ ऋणीलाई प्रवाह भएको १५४ अर्ब ४३ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ५२ हजार ५ सय ७४ ऋणीलाई प्रवाह भएको १०४ अर्ब ६० करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७७ हजार ६ सय २ महिला उद्यमीलाई प्रवाह भएको ४७ अर्ब ७३ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ५ सय ३० ऋणीको २ अर्ब १० करोड कर्जा बक्यौता रहेको छ ।
शोधनान्तर स्थिति ३ खर्बले बचत, प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोड
काठमाडौं । ७ महिनाको अवधिमा शोधनान्तर स्थिति झण्डै ३ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २८ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता १ खर्ब ६१ अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २९.० प्रतिशतले कमी आई ३ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोड रुपैयाँले धनात्मक रहेको थियो ।
सरकारको आन्तरिक ऋण ३.२ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा सरकारको आन्तरिक कर्जा ३.२ प्रतिशतले बढेको छ । चालु आवको सात महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले सो जनाएको हो । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो कर्जा ८.० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ४.१ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो दावी २०.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दावी ४.३ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.४ प्रतिशतले बढेको छ ।
बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट टिकट काटेर हेर्न मिल्ने
काठमाडौं । धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भएको छ । फागुन २६ शनिबार देखि सुरु हुने बुढासुब्बा गोल्ड कप फुटबल २४ औँ संस्करण हेर्न सहज बनाउने उद्देश्यले आइएमई पेबाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको हो । चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिता अवधि भर आइएमई पे बाट टिकट काट्न मिल्ने छ । यस पटकको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा ८ वटा क्लब सहभागी छन् ।
रेमिट्यान्स २१.६ प्रतिशतले वृद्धि, ७ महिनामा ८ खर्ब ३९ अर्ब भित्रियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनाको अवधिमा रेमिट्यान्स २१.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.६ प्रतिशत बढेर ८ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशत बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशत बढेर ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतबढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १४ हजार ७६७ र १ लाख ६७ हजार ७०८ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २० प्रतिशत बढेर ९ खर्ब १० अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेको थियो ।
साढे १८ खर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति, १५ महिनाको आयात धान्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकमा विदेशी मुद्राको सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको वित्तीय स्थितिअनुसार मुलुकमा विदेशी मुद्राको सञ्चिति गत आवको असार मसान्तको तुलनामा १९.९ प्रतिशतले वृद्धि भएको हो । केन्द्रीय बैंकका अनुसार २०८० असार मसान्तमा १५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई २०८० माघ मसान्तमा १८४४ अर्ब ९४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको तथ्यांकले देखाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रहेकोमा २०८० माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भई १६२३ अर्ब ९२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रहेकोमा २०८० माघ मसान्तमा १४.२ प्रतिशतले वृद्घि भई २२१ अर्ब २ करोड कायम भएको छ । २०८० माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०८०/८१ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.३ प्रतिशत, १०२.४ प्रतिशत र २८.० प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।
वैदेशिक व्यापारमा गिरावट, आयात निर्यात दुवै घट्यो
काठमाडौं । नेपालको वैदेशिक व्यापारमा गिरावट आएको छ । चालु आर्थिक वर्षको ७ महिनामा मुलुकको वैदेशिक व्यापार अन्तर्गत आायत तथा निर्यात दुवैतर्फ गिरावट आएको देखिएको हो । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिनामा कुल वस्तु निर्यात ७.१ प्रतिशतले कमी आई ८६ अर्ब ८३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११.३ प्रतिशत र २ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ३३८.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, अलैंची, चिया, ऊनी गलैचा लगायतका वस्तुको निर्यात घटेको छ । त्यस्तै, चालु आवको सात महिनामा कुल वस्तु आयात २.३ प्रतिशतले कमी आई ८९७ अर्ब ९४ करोड कायम भएको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९.९ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.८ प्रतिशत र २३.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३८.४ प्रतिशतले बढेको छ ।
सहकारी र सहकार्यबाट सबल बन्दै महिला
गलेश्वर । म्याग्दीका ग्रामीण भेगका महिला सहकारी र सहकार्यको माध्यमबाट सबल तथा सक्षम बन्दै गएका छन् । सहकारी संस्थामा आवद्ध भएपछि महिलाले बचत गर्ने बानीको विकास मात्र गरेका छैनन् उनीहरुको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि हुँदैगएको छ । म्याग्दीको सदरमुकाम बेनीस्थित दोभान कृषि सहकारी संस्थामा आवद्ध बेनी नगरपालिका–५ पुलाचौरकी सरिता किसान, मञ्जु पौडेल, शारदा विक लगायतले सहकारीमा बचत गर्ने र सहकारीबाटै ऋण लिएर कृषि उद्यम गरी आत्मनिर्भर बन्न सफल भएकी छिन् । त्यसैगरी बेनी–२ खबराको राधाकृष्ण सहकारी संस्थाको सहयोगमा त्यस क्षेत्रका महिला तरकारी र फलफूलखेती, पशुपालन लगायतका उद्यमशील काममा आवद्ध भएर आर्थिक रुपमा स्वावलम्बी बन्दै गएका स्थानीय पार्वती कार्कीले बताइन्। घरायसी काममा सीमित रहने यहाँका महिला पछिल्लो समय सामाजिक क्षेत्रको नेतृत्वदायी भूमिका लिन अग्रसर बनेका छन् । आर्थिक रुपमा सक्षम भएर सामाजिक सङ्संस्थाको नेतृत्वसँगै सामाजिक विकृति न्यून गर्न उनीहरु सक्रिय छन् । गाउँगाउँमा खुलेका महिला सहकारीमार्फत सङ्गठित बनेका महिला परिवारको खर्च आफैँ जुटाउन सफल भएका छन् । बेनी–१० की अंशु रोकाले सहकारीमार्फत ऋण काढेर सुरु गरेको तरकारीखेतीबाट आफू आर्थिक रुपमा बलियो बन्दै गएको अनुभव सुनाइन् । दुई रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गरेकी उनले परम्परागत रुपमा गर्दै आएको खेतीलाई व्यावसायिक बनाउँदै गोलभेडा, आलु, काउली, बन्दा, खुर्सानी, काँक्रोलगायत तरकारीखेती विस्तार गरेकी छिन् । यसबाट मनग्य आम्दानी गर्न सफल भएको उनको भनाइ छ । रोकाले भनिन्– ‘आठ वर्ष अगाडि सहकारीबाट रु १० हजार ऋण लगेर व्यावसायिक खेती सुरु गरेँ । दोस्रो वर्ष तरकारी बेचेर ऋण तिरेँ । अहिले तरकारी बिक्रीबाट भएको आम्दानी सहकारीमा बचत गर्न थालेकी छु ।’ विसं २०६९ मा पात्लेखेतमा सिद्ध महिला बचत तथा ऋण सहकारी स्थापना भएपछि रोकामात्रै होइन, घरायसी काममा मात्रै सीमित यहाँका धेरै महिला अहिले आत्मनिर्भर बनेका छन् । पश्चिम म्याग्दीको मालिका, मङ्गला र धवलागिरि गाउँपालिका तथा उत्तरी म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका महिला पनि सहकारी संस्थामार्फत सक्षम बन्दै गएका छन् । महिलालाई आर्थिकरुपमा सम्पन्न तथा सामाजिकरुपमा सक्षम बनाउन सहकारी उपयुक्त र प्रभावकारी माध्यम बनेको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले महिलाको क्षमता अभिवृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताइन् । महिलालाई सङ्गठित गरी क्षमता विकाससँगै आयआर्जन गर्न, बचत गर्न तथा सामाजिक रुपमा सक्षम बनाउन सहकारी प्रभावकारी र भरपर्दो माध्यम भएको उनको भनाइ छ । जिल्लामा एक सयभन्दा बढी सहकारी संस्थाले महिलालाई आर्थिक रुपमा बलियो बनाउनुका साथै उनीहरुको क्षमता विकास, नेतृत्वदायी भूमिका र व्यक्तित्व विकासका लागि समेत भूमिका खेलेको जिल्ला सहकारी सङ्घका पूर्वअध्यक्ष दीपक कार्कीले बताए । रासस