विकासन्युज

विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गरौँ : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गर्नुपर्ने बताएकी छिन् । मंगलबार महानगरपालिकाले भूकम्प दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले धेरै मानिसहरुको संख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनःनिर्माणको काम थाल्नुपर्ने जरुरी भइसकेको बताइन् । विद्यालयको पुनःनिर्माणका लागि स्थानीय सरकारको श्रोत, साधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने बताइन् । भूकम्प लगायतका विपद्मा स्थानीय प्रविधि प्रयोग गर्नुपर्नेमा जोड दिइन् । आगामी दिनमा विपद्बाट जोगिनका लागि संघ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्ने बताइन् । ‘भूकम्पबाट हाम्रो देश धेरै नै जोखिममा छ । पूर्वतयारीलाई काठमाडौं महानगरले प्राथमिकतामा राखेको छ । त्यसको अध्ययन अनुसन्धान गर्नुपर्छ । विद्यालयको पुनःनिर्माण गर्ने काम थाल्नुपर्ने जरुरी छ, त्यसको लागि स्थानीय सरकारको श्रोतले मात्रै नपुग्न सक्छ । सबैले मिलेर काम गर्न आवश्यक छ । विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्बाट जुध्न थेग्ने संरचना निर्माण गरौँ’, उनले भनिन् । उपप्रमुख डंगोलले नेपाल भूकम्पको जोखिममा विश्वमा ११ औं नम्बरमा पर्ने भएकाले कुनैपनि बेला भूकम्प आउनसक्ने अवस्थालाई मध्यनजर गरी विपद् पूर्वतयारी गर्नुपर्ने बताइन् । पूर्वतयारीलाई काठमाडौं महानगरले प्राथमिकतामा राखेको जानकारी दिइन् ।

सूचीकृत ६७ कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

काठमाडौं । पुँजी बजारमा साढे २ सय कम्पनी सूचीकत छन् । नेपाल स्टक एक्सचेञ्जको पछिल्लो तथ्याङ्क अनुसार २४९ कम्पनी सूचीकृत छन् । जसमध्ये हालसम्म ६७ वटा सूचीकृत कम्पनीले मात्रै लाभांश बाँड्ने भएका हुन् । सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये ११ वटा बैंकले मात्रै हालसम्म लाभांश वितरण गरेका हुन् । राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन । यस्तै, १६ वटा सूचीकृत विकास बैंकमध्ये हालसम्म ७ वटा बैंकले लाभांश प्रस्ताव गरेका छन् । यस्तै, ३ वटा फाइनान्स कम्पनी, १२ वटा लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेका छन् । यस्तै, होटल तथा पर्यटन समूहका ३ वटा कम्पनी, जलविद्युत समूहका १४ वटा कम्पनी, इन्भेष्टमेन्ट समूहका ४ वटा कम्पनीले गत वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका हुन् । यस्तै, २ वटा जीवन र ३ वटा निर्जीवन बीमा कम्पनी, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूहका ६ कम्पनी, ट्रेडिङ तथा अन्य समूहका १/१ कम्पनीले गत वर्याको नाफाबाट सेयरधनीहरूलाई लाभांश प्रस्ताव गरेका हुन् । लाभांश प्रस्ताव गरेका अधिकांश कम्पनीले वार्षिक साधारण सभा समेत सम्पन्न गरिसकेका छन् । वाणिज्य बैंक हालसम्ममा १२ वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट लाभांश घोषणा गरेका छन् । माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, सिटिन्स बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय बाणिज्य बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गरेका हुन् । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गरेको हो । असोज १८ गते सम्पन्न बैंकको २५औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । एभरेष्ट बैंकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गरेको हो । उक्त लाभांश असोज ३० गते सम्पन्न २९औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । सानिमा बैंकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गरेको हो । उक्त लाभांश कात्तिक २ गते सम्पन्न १९औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । एनआईसी एशिया बैंकले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गरेको हो । उक्त लाभांश असोज २८ गते सम्पन्न २६औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश असोज २६ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४.२१ प्रतिशत अर्थात् ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश मंसिर ५ गते सम्पन्न २२औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । स्टयान्डर्ड चार्टर्ड बैंकले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत लाभांश वितरण गरेको हो । उक्त लाभांश मंसिर २४ गते सम्पन्न ३७औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश वितरण गरेको हो । उक्त लाभांश मंसिर २८ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँको ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कूल १०.५५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकको पुस १३ गते सम्पन्न ३०औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश पुस १२ गते सम्पन्न ३९औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद (करसहित) गरी कूल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस २६ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँको ५.५ प्रतिशत अर्थात् ८६ करोड ५५ हजार ७३८ रुपैयाँ बराबरको नगद प्रस्ताव गरेको हो । पुस २९ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । विकास बैंक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ नगद गरी कूल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँको ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१३२ प्रतिशत नगद गरी कूल १०.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरलाई हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.५ प्रतिशत नगद गरी कूल ८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजी ४ अर्ब १७ करोड रुपैयाँको ६.४० प्रतिशत अर्थात् २६ करोड ६९ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद गरी कूल ५.२६३ प्रतिशत लाभांश बाँडेको हो । फाइनान्स कम्पनी मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको ५.२६३ प्रतिशत अर्थात् ७ करोड ११ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । आइसिएफसि फाइनान्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँको ६.५ प्रतिशत अर्थात् ७ करोड ६९ लाख २५ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार रुपैयाँको ५.०५ प्रतिशत अर्थात् ४ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । होटल तथा पर्यटन तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश बाँडेको हो । पुस २४ गते सम्पन्न २७औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । सोल्टी होटलले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ८८ करोड ४७ लाख १५ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र २६.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको हो । पुस २६ गते सम्पन्न कम्पनीको ४९औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ । ओरियन्टल होटलले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश बाँडेको हो । कम्पनीको असोज २५ गते सम्पन्न २६औं बार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ । जलविद्युत कम्पनी सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । माण्डु हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशत अर्थात् १३ करोड ६३ लाख ६३ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । नेपाल हाइड्रोपावर डेभलपरले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । चिलिमे हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको १०.५२६३ प्रतिशत अर्थात् ६ करोड २ लाख १७ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ । मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बुटवल पावर कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीका ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । रू रू जलविद्युत परियोजनाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सिक्लेस हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत अर्थात् ५ करोड १० लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । कालिका पावर कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ७९ करोड ३५ लाख रुपैयाँको १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । राधी विद्युत कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको २ प्रतिशत अर्थात् ४ करोड २० लाख रुपैयाँ कर बाहेक र कर प्रयोजनका लागि २२ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । माउन्टेन इनर्जीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । इन्भेष्टमेन्ट कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशत अर्थात् ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश बैंकको पुस १७ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । इमर्जिङ्ग नेपालले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ५५ करोड ५६ लाख रुपैयाँको ८.४२०५ प्रतिशत अर्थात् ४ करोड ६७ लाख ८७ हजार ३६८ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर १५ गते सम्पन्न आठौँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । हाथवे इन्भेष्टमेन्ट नेपालले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कूल १०.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुस २६ गते सम्पन्न १५औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २२ अर्ब ७७ करोड ५७ लाख रुपैयाँको ५.२६ प्रतिशत अर्थात् १ अर्ब १९ करोड ८७ लाख २६ हजार २८३ रुपैयाँ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । पुस २९ गते सम्पन्न १२औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब रुपैयाँको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद गरी कूल १६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सिटिजन लाइफले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कूल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.३७ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९÷८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार रुपैयाँको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद गरी कूल ५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । म्यानुफ्याक्चरिङ एण्ड प्रडक्ट्स नेपाल ल्युब आयलले आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । पुस २५ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । बोटलर्स नेपाल (तराई)ले गत वर्षको नाफाबाट सेयरधनीलाई ६० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । पुस २७ गते सम्पन्न ३७औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । युनिलिभर नेपालले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १ हजार ५८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । मंसिर २६ गते सम्पन्न ३०औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । शिवम् सिमेन्टले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँको १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । घोराही सिमेन्ट इण्डष्ट्रीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँको १५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । अन्य समूह नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गर्नेछ । पुस २९ गते सम्पन्न १६औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । ट्रेडिङ समूह साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश लाभांश प्रस्ताव गरेको हो । लघुवित्त संस्था यस्तै, आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गरेको हो । लघुवित्तको गत मंसिर १५ गते सम्पन्न १०औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । यस्तै, स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार रुपैयाँको १२.३६ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद गरी कूल १३.०१ प्रतिशत लाभांश वितरण गरेको हो । लघुवित्तको पुस ४ गते काठमाडौंमा सम्पन्न २२औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । यस्तै, एनआईसी एशिया लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को हाल कायम चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको हो । लघुवित्तको पुस ६ गते सम्पन्न छैठौँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । यस्तै, सपोर्ट लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँको १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद गरी कूल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । पुस २७ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । यस्तै, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । पुस २८ गते सम्पन्न १४औं वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ । यस्तै, साना किसान विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । पुस २९ गते सम्पन्न २२औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । यस्तै, समता घरेलु लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँको ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.२८४४ प्रतिशत नगद गरी कूल ५.७०७६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यस्तै, आत्मनिर्भर लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । पुस २८ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ । यस्तै, ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ६ करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस २९ गते सम्पन्न ११औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । यस्तै, छिमेक लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँको ५ प्रतिशत र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस २९ गते सम्पन्न २२औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । यस्तै, जीवन विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.७३६९ प्रतिशत नगद गरी कूल १४.७३६९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस २९ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । मिर्मिरे लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ६६ करोड ५७ लाख ६४ हजार रुपैयाँको ६.३२ प्रतिशत अर्थात् ४ करोड २० लाख ७६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । [pdf id=457944]

आफ्नो स्वार्थ पूरा गर्न मात्र राजनीति गर्ने प्रवृत्ति हावी भयो : नेता बलराम अधिकारी

काठमाडौं । संसदीय अभ्यास सबै देशमा आ–आफ्ना किसिमका हुन्छन् । देश सञ्चालनको जिम्मेवारी बोकेको सरकारको गतिमा यसको अभ्यास निर्भर रहन्छ । देश सङ्घीयतामा प्रवेश गरेपछि संविधानको मर्म र भावनाअनुरुप विभिन्न कानुन बनाएर लागू गर्ने विषयमा केही ढिलाइ भएको छ । संसदीय गतिविधि त्यति प्रभावकारी हुन सकेको छैन । प्रतिपक्षको हैसियतमा विधेयक ल्याउन हामीले दबाब दिइरहेका छौँ । माघ लागि सक्यो । अझै हिउँदे अधिवेशन प्रारम्भ भएको छैन । आगामी संसद्मा पेस गर्न एउटा पनि विधेयक समितिबाट निष्कर्षमा पुगेको छैन । कानुनमार्फत जनताका आवश्यकता परिपूर्ति गर्न सरकारले चुस्त र छरितोसँग जुन बेगमा काम गर्नुपथ्र्यो, त्यो अनुभूति भएन । प्रतिपक्षले जनताको माग र आवाज सम्बोधन गर्न विभिन्न क्रियाकलाप अपनाउने र सरकारलाई दबाब दिनुपर्ने हो, त्यो भने हामीले गरिरहेका छौँ । प्रतिपक्षले पनि देश र जनताका हितमा सरकारसँग मिलेर काम गर्नु पर्छ । विभिन्न उद्देश्य बोकेका राजनीतिक दल मिलेर परिवर्तन ल्याएका हुँदा कसको भूमिका कस्तो रह्यो भनी हेर्ने केलाउनु पर्छ । केवल आरोपमात्रै लगाउन भएन । राजनीतिक व्यवस्था परिवर्तन भए पनि अझै पुरानै कानुन लिएर हिँड्नुपरेको छ । यसबाट मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सोचअनुसार प्रगति हुनसकेको छैन । मुलुक गणतन्त्र र सङ्घीयतामा गइसकेपछि आवश्यक कानुन बनाएर जनतालाई अधिकार दिइनुपर्नेमा त्यसमा अझै कमी छ । त्यस्ता काममा शीघ्रता प्रदान गर्न प्रतिपक्षले निगरानी र दबाब दिनुपर्छ । यसरी अघि बढ्ने सिलसिलामा  सहकार्य जरुरी छ । सरकार गठबन्धनको छ । एउटै पार्टीको बहुमत हुने अवस्था छैन । जनताका हितका लागि मिलेर जानुपर्छ भन्ने कोणबाट आएका विषयमा एमालेले सहकार्य गर्दै आएको छ । सहमतिका आधारमा संविधान बनाइएकाले हरेक विषय पनि सहमतिमै हुनुपर्छ । कानुन निर्माण र निर्वाह गर्नुपर्ने अरु दायित्व पूरा गर्न सहकार्यको सम्भावना प्रशस्तै छ । परिवर्तन नचाहने र सत्ता स्वार्थका लागि उब्जिएका शक्तिद्वारा पुराना दललाई विभिन्न कोणबाट बदनाम गर्ने चेष्टा  भइरहेको छ । हिजोका गलत क्रियाकलाप र अनियमिताको विरोध गरिँदा ‘लौ एमालेले संसद् रोक्यो’ भनेर भन्ने गरिएको छ । सुनदेखि ललिता निवास काण्ड उठाएर एमालेले सदन अवरुद्ध गरेको यथार्थ हो । यसको प्रमुख उद्देश्य जनता र देशका हितमा सरकारले सही निर्णयकासाथ पाइला चालोस् भन्ने अपेक्षा हो । अझै पनि त्यसलाई तदारुकताका साथ अघि बढाएको अवस्था छैन । सदनलाई बिजनेस दिने र सञ्चालनका लागि आह्वान गर्ने जिम्मेवारी हाम्रो होइन, सरकारको हो । सदन सञ्चालन भए अनियमितता र ढिलासुस्तीका आवाज उठाउँछौँ । सिद्धान्त र व्यवहार एक सिक्काका दुई पाटाजस्तै हुन् । सिद्धान्तलाई व्यवहारमा ढाल्ने क्रममा देशको स्थिति र चेनताको स्थिति तथा सरकारका संरचनामा भरपर्छ । परिवर्तन एउटै पार्टीले गराएको होइन् । जनताले एउटा दललाई मात्र सरकार चलाउ भनेर जनादेश दिएका छैनन् । सबै राजनीतिक दलको लक्ष्य, उद्देश्य र व्यवहार फरक भएकाले कसरी अघि बढ्ने भन्नेमा विभिन्न टीकाटिप्पणी उठेका हुन् । नेपालीले छिटो परिवर्तनको अपेक्षा गर्छन् । हामीले पञ्चायत, बहुदल र गणतन्त्रपछिका विकासको अवस्थालाई हेर्नुपर्छ । अहिले हुँदै भएन भनिन्छ । यसबीचमा शिक्षा, स्वास्थ्य, सञ्चार, यातायातका क्षेत्रमा भएका परिवर्तनलाई कम आँक्न मिल्दैन । असीमित आवश्यकता र अपेक्षा पूरा गर्न भने सकिएको  छैन । व्यवस्थितरूपले परिचालित भई इमान्दारीपूर्वक जाने र नीति–नियम बनाउने हो भने छोटै समयमै केही गर्न सकिन्छ । प्रमुख राजनीतिक दल कुनै न कुनै समय सत्तामा गइसकेका छन् । उनीहरुले कुन काम, कसले गरे भनी सञ्चारजगत्, सर्वसाधारण र बुद्धिजीवीले विश्लेष्ण गरी सही कुरा प्रवाह गर्नुपर्छ । सबैलाई सोलोडोलोरूपमा हेरिनुहुन्न । दुईखाले निर्वाचन प्रणाली र समावेशी सिद्धान्तलाई आत्मसात् गरिएको हुनाले एउटै दल विशेषको बहुमतको सरकार बन्न सक्ने अवस्था रहेन । समानुपातिकलाई कसरी लैजाने र राजनीतिक स्थिरता कायम गर्ने भन्ने कुरा पनि अहिले चर्चामा छ । पार्टी खोलेपछि सरकारमा जान, बार्गेनिङ गर्न, तालमेल गरेर चुनाव लड्न पाइने भएपछि स्वार्थ रहेका र परिवर्तन नचाहने विभिन्न समूह प्राप्त उपलब्धि उल्टयाउन सक्रिय छन् । सो समूहले सरकार र प्रमुख दलविरुद्ध भ्रम फिजाउन खोजेका छन् । हामीले उनीहरूले लगाएका आरोपलाई चिर्न सबै क्षेत्रबाट निगरानी गर्नुपर्छ । मुलुकको विकास र समृद्धिका लागि  परिवर्तनकारी शक्तिबाट भएका पहल र प्राप्त उपलब्धिको तुलनात्मक अध्ययन जरुरी छ । अहिले सतहीमा उर्फने र स्वार्थ पूरा गर्न चिच्याउने प्रवृत्ति देखिएको छ । आम जनतामा अपेक्षा बढ्नु र आकाङ्क्षा पलाउनु राम्रो भए पनि उपलब्ध स्रोत साधनको अवस्था पनि हेर्न जरुरी छ । मेरो निर्वाचन क्षेत्र कपिलवस्तुको प्राथमिकता खेतीपातीका लागि सिँचाइ र मलखाद नै हो । शिक्षा र स्वास्थ्य पनि उत्तिकै प्राथमिकतामा छन् । जनता सम्पन्न नभई देशले विकास र समृद्धि हासिल गर्न सक्दैन । नेपालको पर्यटकीय क्षेत्रलाई अघि बढाउने हो भने कपिलवस्तुलाई खुला पर्यटकीय सङ्ग्रहालय क्षेत्र बनाउनुपर्छ । यहाँ बुद्धसँग सम्बन्धित दुई सय ठाउँ कपिलवस्तुमै छन् । कपिलधाम, लक्ष्मणघाट, शिवगढीलगायतका थुप्रै प्रसिद्ध धार्मिकस्थल छन् । ती सबैलाई मिलाएर खुला सङ्ग्राहलय बनाउनुपर्छ । यसले राज्यलाई आर्थिकरूपमा समेत ठूलो टेवा पुग्छ । जनतामा बढको अपेक्षा र आकाङ्क्षाले युवा तथा विद्यार्थीलाई विदेश पलायनमा प्रोत्साहित गरेको छ । यसमा अभिभावकको दृष्टिकोण र भावना, आर्थिक स्थिति, विदेशी र नेपाली मुद्राको सटही स्थितिले पनि मलजल गरेको छ । नेपालमा केही दुःख नगर्ने बाहिर जे गर्न पनि तयार हुने हाम्रो बानी छ । रोजीरोटीकै समस्याले पनि कतिपयलाई विदेश जान बाध्य तुल्याएको छ । नेपालको संस्कृति र सभ्यताप्रति विश्वकै आकर्षण छ । बरु थोरै खाएर र थोरै प्राप्ति गरेरै भए पनि यही काम गर्छु भन्ने भावना सबै तह र तप्कामा जागृत हुनुपर्छ । नियम, कानुन त्यही किसिमका र नेतृत्वमा पनि देशको हितमा बोल्ने आँट हुनुपर्छ । त्यसो भएमा समस्या समाधान हुने र नेपाली यही बस्ने वातावरण बन्छ भन्ने लाग्छ । रासस (सांसदसँग रासस संवादका लागि नेकपा (एमाले) का सांसद अधिकारीसँग उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानी)

त्रिशूलीमा खसेको जीप भेटियो

चितवन । त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो । आज बिहान पौने पाँच बजेको समयमा बी आर ०९ जी सी १४३९ नम्बरको जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । जीप सडकबाट करिब एक सय मिटर तल खसेको हो । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय  कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली टोली परिचालन गरिएको छ । स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घट्नास्थलमा खटाइएको हो । केहीबेरअघि गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । उक्त जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको उनले बताए । रासस

नेपाल टेलिकमले सिधै सेयरधनीहरूको बैंक खातामा जम्मा गर्याे लाभांश

काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको कम्पनीले जनाएको छ । कम्पनीको पुस २९ गते सम्पन्न १६औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई ४० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश आज माघ २ गतेदेखि सेयरधनीहरूको बैंक खातामा जम्मा गर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार सेयर दाखिला बन्द हुने मितिसम्म कायम सेयरधनीहरूको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश वापतको रकम जम्मा गरिनेछ । हालसम्म पनि अभौतिकीकरण नगराएका सेयरधनीहरूले हितग्राही खाता खोली बैंक खाताको विवरण अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ । साथै, सोही बैंक खातामा नगद लाभांशको रकम जम्मा गर्ने कम्पनीको भनाइ छ । मर्जर पश्चात गाभिने बैंक तथा वित्तीय संस्थाको खाता नम्बर रहेका सेयरधनीहरूको खाता नम्बर परिवर्तन हुने हुँदा जम्मा गरेको रकम फिर्ता आउने भएकाले परिवर्तित नयाँ खाता नम्बर अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरूले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ । कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल रहेको छ ।

रिलायन्स स्पिनिङ्ग मिल्सले माघ १० गतेदेखि बुक विल्डिङ्गमा आईपीओ बिक्री गर्ने

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले माघ १० गतेदेखि बुक बिल्डिङ्ग विधिमार्फत आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुको लागि बोलकबोल मार्फत बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६ सय कित्ता सेयर बुक बिल्डिङ्ग मार्फत बिक्री गर्नेछ । जसमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयरकाे न्यूनतम मूल्य ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँ तोकिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरू सहभागी गराई बिक्री मूल्यको सीमा भित्र रही बोलकबोल मार्फत सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । योग्य संस्थागत लगानीकर्ताहरुले नेप्सेको कार्यालयमा गई माघ १४ गतेसम्म गोप्य बोलपत्र पेश गर्नु पर्नेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ ।

ग्रीनलाईफ हाइड्रोको डेढ करोड कित्ता सेयरको ‘लकइन’ अवधि सकिँदै

काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावरको सेयरको लक इन पिरियड फागुन ६ गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनी तथा सर्वसाधारणतर्फ आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र कर्मचारीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ । संस्थापक समूहको १ करोड ४४ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाको १ लाख ३ हजार ६ सय कित्ता र कर्मचारीहरूको ६९ हजार ९२८ कित्ता गरी कूल १ करोड ४५ लाख ७३ हजार ५२८ कित्ता सेयरको लक इन अवधि सकिन लागेको कम्पनीले जनाएको छ । संचालक तथा कम्पनीको उच्च व्यबस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ । लकइन अवधि समाप्त भएपछि ती सेयर साधारणमा रुपान्तरण भइ सोही मूल्यमा कारोबार सुरु हुनेछ । लकइन समाप्त हुने सम्बन्धमा हालै धितोपत्र बोर्डले १ महिनाअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरेपछि कम्पनीहरुले यसलाई लागू गर्न थालेका हुन् ।

महालक्ष्मी विकास बैंकको लाभांश सिधै सेयरधनीहरूको बैंक खातामा जम्मा

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको बैंकले जनाएको छ । बैंकको पुस २८ गते सम्पन्न २२औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई ६.४० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको बैंकको भनाइ छ । हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूलाई तत्काल गर्न बैंकले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने बैंकको भनाइ छ । नगद लाभांश बैंक खातामा नगएका सेयरधनीहरूले सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गर्नु पर्नेछ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरूले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।