काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनाको अवधिमा रेमिट्यान्स २१.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.६ प्रतिशत बढेर ८ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशत बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशत बढेर ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतबढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १४ हजार ७६७ र १ लाख ६७ हजार ७०८ रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २० प्रतिशत बढेर ९ खर्ब १० अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेको थियो ।