विकासन्युज

घोराही सिमेन्ट्सको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश दिने

काठमाडौं । घोराही सिमेन्ट्स इन्डस्ट्रीले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभामा घोराही सिमेन्टले प्रतिकुलताका बाबजुद आव २०७९/८० मा ६ करोड ३१ लाख मुनाफा आर्जन गरेको र आव २०८०/८१ को मङ्सिर महिनासम्म एक अर्ब ४२ करोड २५ लाख बराबरको सिमेन्ट बिक्रि गर्न सफल भएको अध्यक्ष पुरुषोत्तम लाल संघईले जानकारी दिएका छन् । आव २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाखको १४।२५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रुपैयाँ बराबरको वोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) २ करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हाल कम्पनीको अधिकृत पूँजी ६ अर्ब ८० करोड र जारी तथा चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा वृद्धि भई ४ अर्ब ५३ करोड रुपैयाँ कायम हुनेछ । त्यस्तै कम्पनिको सञ्चालक समितिका सदस्य गोविन्द लाल संघई र हर्षवर्धन संघईले कार्य अवधि बाँकी हुदै व्यक्तिगत कारणले २०८० कार्तिक २ गते राजीनामा दिएकाले सोहि मितिमा रिक्त रहेको सञ्चालक पदमा अन्जु संघई र विवेक अग्रवाललाई नियुक्त गरिएको अध्यक्ष संघईले जानकारी दिएका छन् । योसँगै कम्पनीको संस्थापक समुहमा ५ जना सञ्चालक भएका छन् ।

घाटामा चल्दै सरकार, आम्दानीभन्दा खर्च ४८ अर्ब बढी

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले ४८ अर्ब ४६ करोड ५७ लाख रूपैयाँबराबर बजेट घाटा व्यहोरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५ दशमलब १९ प्रतिशत आम्दानी र ३२ दशमलब ३५ प्रतिशत खर्च भएको छ । चालु आवका लागि सरकारले कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रूपैयाँ बराबर राजश्व उठाउने लक्ष्य लिएकोे छ । कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा ५ खर्ब १८ अर्ब १५ करोड ५६ लाख बराबर राजश्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ३५ दशमलव १९ प्रतिशत बराबर हो । ६ महिनामा कर राजश्वतर्फ ३३ दशमलव ९८ प्रतिशत अर्थात् ४ खर्ब ४३ अर्ब ५५ करोड २० लाख रूपैयाँ उठेको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ४५ दशमलव २३ प्रतिशत अर्थात् ५२ अर्ब ९४ करोड ७८ लाख रूपैयाँ बराबर असुली भएको छ । चालु आवका लागि कूल  ४९ अर्ब ९४ करोड ३० लाख रूपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म पाँच दशमलव ५२ प्रतिशत अर्थात् रु दुई अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिइएको छ । चालु आवका लागि कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट रहेकामा पुस मसान्तसम्ममा रु पाँच खर्ब ६६ अर्ब ६२ करोड १३ लाख खर्च भएको छ । यो वार्षिक लक्ष्यको ३२ दशमलव ३५ प्रतिशत बराबर हो । चालुगत शीर्षकमा कूल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रूपैयाँ बराबर बजेट छुट्याइएकामा ३८ दशमलव ३१ प्रतिशत अर्थात् रु चार खर्ब ३७ अर्ब ३८ करोड १२ लाख खर्च भएको छ । चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ३८ दशमलव ३१ प्रतिशत हो । त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा ३ खर्ब दुई अर्ब ७ करोड ४४ लाख बराबर छुट्याइएकामा १६.३ प्रतिशत अर्थात्  ४९ अर्ब २३ करोड ५८ लाख रूपैयाँ बराबर खर्च भएको छ । वित्तीय व्यवस्थामा ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रूपैयाँ बराबर बजेट विनियोजन भएकामा २६.२ प्रतिशत अर्थात् ८० अर्ब ४३ लाख रूपैयाँ बराबर खर्च भएको छ ।

आईएमई इलेक्ट्रिकको डिलर्स मिट सम्पन्न

काठमाडौं । मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई ग्रुप अन्तर्गतको आईएमई इलेक्ट्रिकले डिलर्स मिट सम्पन्न गरेको छ । गत शुक्रबार होटल एभरेष्टमा सम्पन्न सो डिलर मिटमा उपत्यकाका विभिन्न डिलरहरुको सहभागिता रहेको थियो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देश मन्दी समापनको अवस्थामा पुगेको समयमा विश्वकै एक प्रतिष्ठित लुब्रिकेन्टसँग जोडिएर आईएमई ग्रुप नयाँ बाटोमा प्रवेश गरेको बताए । आईएमई अटोमोबाइल डिभिजनका सीईओ हेमन्त पुराणिकले विगत २५ वर्ष अघिदेखि विभिन्न व्यवसायमा संलग्न आईएमई ग्रुप अब लुब्रिकेन्ट व्यवसायमा समेत प्रवेश गरेको बताए । उच्च गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउँदै आएको प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्ड मोटुलसँग जोडिन पाएकोमा उनले खुसी व्यक्त गरे । मोटुल इन्डिया प्रालिका सीईओ नागेन्द्र पाईले नेपालकै ठूलो र प्रतिष्ठित ग्रुपसँग जोडिएर रणनीतिक सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै भारत र अन्य देशमा प्रतिष्ठित रहेको मोटुल ब्रान्डलाई नेपालमा समेत प्रतिष्ठित बनाउनका लागि आवश्यक कार्य गर्ने उनले बताए । मोटुल इन्डियाका मार्केटिङ डाइरेक्टर प्रितम गोश्वामीले रियल सिन्थेटिक ब्रान्ड प्रयोग गर्ने पहिलो कम्पनी मोटुल भएको बताउदै ‘युवाहरुको ब्रान्ड’ को पहिचान बनाएको मोटुलको विभिन्न विशेषता वारेमा जानकारी प्रदान गरे । आईएमई अटोमोबाइल डिभिजनका कार्यकारी निर्देशक निशान ढकालले डिलरहरुसँग मिलेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । सोही अवसरमा विभिन्न डिलरहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो भने नयाँ उत्पादन र स्किम समेत सार्वजनिक गरिएको थियो । स्किममा राम्रो प्रतिकृया दिदै, डिलरहरुहरुले ठुलो मात्रमा अर्डर गरेका थिए । भारतमा उत्पादन हुने फ्रेन्च लुब्रिकेन्ट ब्रान्ड मोटुल विश्वका १७५ भन्दा बढी देशमा बिक्री–वितरण भइरहेको छ । टु–ह्विलर, फो–ह्विलर,ट्रक, बस, ट्रयाक्टर देखि हेभी ड्युटी कमर्सियल भेइकलसम्ममा प्रयोग गर्न मिल्ने विभिन्न रेन्जका प्रिमियम लुब्रिकेन्ट्स मोटुलले उत्पादन गर्दै आएको छ । यी सवै रेन्ज नेपाली बजारमा समेत उपलब्ध हुने आईएमई इलेक्ट्रिकको भनाइ छ । सिन्थेटिक लुब्रिकेन्टका लागि आवश्यक एस्टर कोर टेक्नोलोजी मोटुलसँग मात्र छ । एस्टर कोर टेक्नोलोजीका कारण लामो समय सम्म इन्जिन प्रयोग भइरहेमा पनि समस्या आउदैन । मोटुल ब्रान्डलाई युवाहरुसँग जोडिएको ब्रान्ड पनि भनिन्छ । यसै अनुसार विभिन्न इभेन्ट, रेसिङ आदिमा समेत मोटुलको लगानी रहेको पाइन्छ ।

पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेको उस्तै छ पीडा

पोखरा । माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिइन् । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौंमा हुनुहुन्थ्यो । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौंमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउने जानकारी प्रतिभालाई थियो । तर नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पौडेलको योजना भने त्यस्तो थिएन । परिवारलाई ‘सप्राइज’ दिन रुचाउने पौडेलले दिउँसोको नभई बिहानै घर पुग्ने योजनाअनुसार विमानको टिकट काटेका थिए । उनले टिकट काटेको यति एयरलाइन्सको ९ एन–एएनसी एटीआर–७२ विमान जुन त्यसै दिन बिहान १०ः५७ बजे विमानस्थल नजिकैको नयाँगाउँस्थित सेती खोँचमा खस्यो । दुर्घटनामा परी चालक दलका चारसहित ७२ जनाले ज्यान गुमाए । दुर्घटनासम्बन्धी समाचार, तस्बिर र भिडियो समाचार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्याप्छ्याप्ती हुँदा पनि प्रतिभालाई श्रीमान् पनि त्यही विमानमा सवार थिए भन्ने हेक्का थिएन । त्यस दिन दिउँसोसम्म सामाजिक सञ्जालमा मृतकको सूचीमा श्रीमान्को नाम देख्दा पनि उनलाई विश्वास लागेको थिएन । ‘उनी (श्रीमान् पौडेल) हरेक समय मलाई ‘सरप्राइज’ दिनुहुन्थ्यो, अझै पनि ढोकामा आएर के छ बुढी भनेर बोलाउनुहुन्छ जस्तै लाग्छ’, प्रतिभाले भनिन्, ‘आज घर आउन पाउँदिन भन्ने अनि टुप्लुक्क आइपुग्ने, अबेर हुन्छ भनेका दिन पनि छिट्टै घर आएर सरप्राइज दिनुहुन्थ्यो ।’ दुर्घटना भएको आज एक वर्ष बित्यो तर प्रतिभालाई एउटा कुराले अहिले पनि सोचमग्न बनाएको छ । ‘त्यो बेला त्रिभुवन काठमाडौं जानुअघि साइत हेरेर जानुभएको थियो, त्यसभन्दा अगाडि कतै जाँदा कहिल्यै साइत जुराएको मलाई याद छैन’, प्रतिभाले श्रीमान् काठमाडौं जानुअघिको दिन सम्झँदै भनिन्, ‘सायद त्यो मृत्युको साइत रहेछ भन्ने आज लागेको छ ।’ प्रतिभाको काँधमा श्रीमान् गुमाउनुको पीडासँगथै छोरा र परिवारको पनि जिम्मेवारी छ । त्यसैले छोराकै लागि भए पनि उनी आफूलाई सामान्य अवस्थामा ल्याउने प्रयासमा छिन् उनी । छोरा इभान अहिले पाँच वर्षमा प्रवेश गर्दैछन् । अटिज्म भएकाले छोराको नियमित उपचार गराइरहनुपर्छ । छोरालाई निको पारेर उनीबाटै श्रीमान्को सपना पूरा गर्ने अठोट पनि प्रतिभासँग छ । ‘म आफ्नो भविष्यबारेमा अहिले केही भन्नसक्ने अवस्थामा छैन ।’ दुर्घटना भएयता न सरकार, न जहाज कम्पनी कसैले पनि आफ्नो अवस्थाबारे सोधपुछ नगरेको उनको भनाइ छ । ‘अरूका लागि त्यो दुर्घटना एउटा दुःखलाग्दो घटना मात्रै होला, तर हाम्रा लागि त जीवन सकिएजस्तो अन्धकार भएको छ’, प्रतिभाले पीडा सुनाइन् । सोही दुर्घटनामा ज्यान गुमाएका पत्रकार अनिल शाहीकी श्रीमती रेनु गुरुङ पनि त्यो दिन भुलाउन सकिरहेकी छैनन् । ‘भारतको केरलाबाट घर आउँदै हुनुहुन्थ्यो, म खाना बनाएर उनको प्रतीक्षा गरिरहेक थिएँ’, उनले भनिन्, ‘तर त्यस दिनदेखि त मेरो एउटा पखेटा नै गुम्यो, यति छोटो समयमै म एक्लै हिँड्नुपर्छ भन्ने कहिल्यै लागेन ।’ गुरुङ श्रीमान् गुमाउनुको पीडाबाट आफूलाई सम्हाल्दै दुई छोरा, सासूससुराको जिम्मेवारी निर्वाह गर्दै आएकी छिन् । अनिल रेडियो एपोस्टलका प्रबन्धक थिए भने दुबईमा आइटीसम्बन्धी व्यापारको तयारीमा पनि जुटेका थिए । दुई साताअघि दुबईबाट नेपाल आएका शाही तत्काल कामविशेषले केरला पुगेका थिए । अनिलले आफू पोखरा आउने बित्तिकै सपरिवार दुबई घुम्न जाने योजना बनाएका थिए । प्रतिभा र रेनुको जस्तै त्यो दिन पोखराका मदनकाजी श्रेष्ठको परिवारमा पनि ब्रजपात भयो । मदनकाजीले कान्छा छोरा डा सुशील श्रेष्ठ, बुहारी डा सोना दिवाकर श्रेष्ठ र नाति शर्भिनलाई गुमाए । सन्तान गुमाउनुको पीडाबाट मनदकाजी अझै बाहिर निस्कन सकेका छैनन् । ‘मानवीय त्रुटिका कारण भएको दुर्घटनाका दोषीले सजाय पाउनै पर्छ’, उनले भने । दुर्घटनाको छानबिन गर्न घटना भएकै दिन गठित दुर्घटना जाँच आयोगले गत पुस १२ गते सरकारलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटिलाई कारक मानेको थियो । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको थियो । प्रतिवेदनमा ‘पाइलटले फ्लेप लिभर तान्नुपर्नेमा ‘कन्डिसन लिभर’ तानेको देखिएको र जसले गर्दा जहाज ‘फिदर कन्डिसन’ मा गएपछि अगाडिको ‘मोसन’ जहाजले नपाएकाले दुर्घटना भएको उल्लेख छ । आयोगले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई आठबुँदे सुझाव दिएको छ । उडान समयमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलको मौसम, ‘भिजिबिलिटी’ तथा प्राविधिक पक्ष राम्रो रहेको जनाइएको छ । रासस

स्थानीय तहको जस्तो काम संघ र प्रदेशले गर्न सक्यो भने देश चाँडै समृद्ध बन्छ

स्थानीय तहसँग नागरिकका असीमित मागहरू हुन्छन् । तर, सीमित स्रोत साधन भएकोले सबै माग पुरा गर्न समस्या नै हुन्छ । असीमित अपेक्षालाई सीमित स्रोत साधनले पुरा गर्न सक्दैन । स्थानीय तहको स्रोतसाधनले न्यूनतम सेवा र विकासका काम मात्र गर्न सकिन्छ । कतिपय मानिसमा राजनीतिक प्रतिसोधको भावना पनि हुन्छ । राम्रो काम गरे पनि उसले केही गरेको छैन भन्न्ने चलन छ । राजनीतिक आस्था राख्ने मान्छेहरू सानो काम गर्ने धेरै हल्ला गर्ने प्रवृत्ति छ । काम गर्दै जाँदा हाम्रा पनि केही कमजोरी होलान् । कामको गतिलाई तीव्रता दिन नसकिएको होला । तर, हामीले जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेका छौं । जनतासँग जोडिएका काम गर्नको लागि कन्जुस्याइँ गरेका छैनौं । हामीले नगरभित्र स्मार्ट सिटीको कामलाई व्यवस्थित गर्ने टोल विकास समितिलाई सुदृढ बनाउँदै एकपछि अर्को कामहरू अगाडि बढाइरहेका छौं । टीकापुर नगरपालिकामा हामी निर्वाचित भएर आएपछि यहाँका आवश्यकता तथा विकास निर्माणमा गर्नुपर्ने कामका बारेमा अध्ययन गर्यौं । जसअनुरूप हामीले नगरपालिकाको गुरू योजना तयार पारेका छौं । उक्त योजना कार्यान्वयनका साथै महत्वपूर्ण कार्य योजनालाई प्राथमिकता दिएर अगाडि बढाएका छौं । हामीले टीकापुर पार्कको संरक्षण र सो स्थानलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना बनाएका छौं । आगामी दिनमा टीकापुर पार्कलाई नमुना प्राकृतिक पार्कको रूपमा विकास गर्नेछौं । नेपाल कृषि प्रधान देश हो । तर, कृषिका सामग्री नै आयात गरेर ल्याउनु पर्ने अवस्था छ । सोही विषयलाई मध्यनजर गर्दै नगरपालिकाले कृषिमा आधारित रोजगारका साथै उत्पादन वृद्धिको लागि कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने योजना बनाएका छौं । कृषकले कृषि उत्पादन गरेर मात्र हुँदैन उनीहरू त्यसमा दक्ष हुन सक्यो भने उत्पादन बढी गर्न सक्छन् भन्ने लक्ष्यसहित हामीले समुदायमा आधारित कृषि तथा पर्यटन परियोजना लागू गरेका छौं । नगरले बेला/बेलामा कृषकलाई कृषिमा अनुदान पनि दिँदै आइरहेको छ । अनुदान वितरण थप प्रभावकारी बनाउनको लागि नगरले कृषकलाई कृषि परिचय पत्र दिने योजना बनाएको छ । गुणस्तरीय तथा प्राविधिक शिक्षामा नगरले विशेष जोड दिएको छ । विगतका वर्षमा परम्परागत तरिकाबाट यहाँ पठन/पाठन सञ्चालन हुन्थ्यो । अभिभावकमा पनि सामुदायिक विद्यालयप्रतिको विश्वास घटिरहेको अवस्था थियो । निजी विद्यालयमा विद्यार्थीको चाप बढ्ने र सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्ने विषयलाई मध्यनजर गर्दै शैक्षिक सुधार हामीले प्राथमिकता दिइरहेका छौं । सामुदायिक विद्यालयप्रति विश्वासको वातावरण सिर्जना गर्नको लागि सोही किसिमका कार्यक्रमहरूको लञ्च गर्दै गयौं । सुधार्नु पर्ने पक्षलाई सुधार गर्दै नगरभित्रका धेरै विद्यालयमा दरबन्दीको व्यवस्थापन गर्दै अंग्रेजी माध्यमबाट पठन/पाठन सञ्चालन गरेका छौं । हाम्रो नगरपालिकामा प्रदेशस्तरीय ५१ बेडको टीकापुर अस्पताल छ । उक्त अस्पतालमा गुणस्तरीय सेवा प्रवाह गरिरहेका छौं । नगरभित्रका प्रत्येक वडामा स्वास्थ्य चौकीबाट शहरी स्वास्थ्य केन्द्र र खोप केन्द्रको व्यवस्थापन गरी सेवा प्रवाह गरिरहेका छौं । नगरभित्र भूमिहीन सुकुम्वासीहरू बढी छन् । वि.सं. २०६२/०६३ को जन आन्दोलनपछि देशभरका भूमिहीन सुकुम्वासीलाई टीकापुरमा बसाउने काम गर्यो । त्यतिबेला राजनीतिक दलहरूले लालपुर्जा दिन्छौं भन्दै झुटो आश्वासन दिएर उहाँहरूलाई यहाँ बसाउने काम भयो । उहाँहरू हाल निजी क्षेत्रको जग्गामा बसी राख्नु भएको छ । यो यहाँको मुख्य समस्या छ । यो समस्या समाधान गर्नको लागि राष्ट्रिय भूमि आयोगसँग समन्वय भइरहेको छ । सुकुम्वासी तथा अव्यवस्थित बसोबासलाई जग्गा बाँड्ने प्रक्रिया अगाडि बढाएका छौं । जसका लागि जग्गा मूल्यांकन र जग्गाको प्रकृति छुट्याउने प्रक्रिया अघि बढेको छ । नगरको सीमाना भएर धेरै नदीहरू बग्छन् । हाम्रो नगर नदीहरूको संगम स्थल पनि हो । नेपालको सबैभन्दा लामो कर्णाली नदि पनि यहीँबाट बग्छ । उक्त क्षेत्रमा तटबन्ध नहुनाले ठूलो समस्या छ । एकतर्फको समस्या समाधान गर्ने बित्तिकै अर्कोतर्फ समस्या सिर्जना हुन्छ । बाढी तथा डुबानले गर्दा नागरीकले वर्षेनी त्रासमा जिन्दगी बिताउनु पर्ने बाध्यता छ । तटबन्ध गर्नको लागि ठूलो लगानीको आवशयकता छ । यसका लागि प्रदेशबाट पनि कुनै सुनुवाई हुन सकेन । बरु प्रदेशको भन्दा बढी काम स्थानीय तहले गरेका छन् । स्थानीय तहहरू जनतासँग प्रत्यक्ष जोडिएको हुन्छ । त्यसैले स्थानीय तहले गरेको काम पारदर्शी हुन्छ । पालिकाको क्षमता अनुसार सबै स्थानीय तहले राम्रो काम गर्ने प्रयत्न गरिरहेका छन् । स्थानीय तहबाट जति काम कारबाही हुन्छ त्यसको अनुपातमा संघ र प्रदेश सरकारले काम गर्न सकेका छैनन् । उहाँहरूको बजेट कसरी आउँछ र त्यो बजेट कसरी कार्यान्वयन हुन्छ त्यति हाम्रो समन्वय पाटो पनि रहँदैन । स्थानीय तहले जसरी काम गरिरहेका छन् । त्यसरी संघ र प्रदेशले काम गर्ने हो भने देश छिटै सम्वृद्ध हुन्थ्यो । टीकापुर नगरपालिकाले स्थानीय स्रोतको पहिचान गर्दै करको दायरालाई बढाउँदै आर्थिक हिसाबले पनि सक्षम हुँदै जाने विषय तर्फ हाम्रो ध्यान केन्द्रित छ । हामीसँग निर्वाचनमा बेला पराजित हुनु भएका यहाँका अन्य राजनीतिक दलका नेताहरू प्रतिशोधको भावना बोकेको देखिन्छ । उहाँहरूमा म राजनीतिक प्रतिसोधको भावना साट्न खोजेको पाउँछु । किनभने काम गर्दै जाँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी गरिदिने जस्ता कार्य गर्दै आउनु भएको छ । वि.सं. २०४० मा आएको बाढीले यस नगरपालिकाभित्र ठूलो क्षति पुर्याएको थियो अहिले ४० वर्ष पुगिसकेको छ । बाढी पीडितलाई राज्य तथा अन्य संघ संस्थाले वितरण गरेको राहतको हिसाब गर्ने हो भने अर्बौं खर्बौं रुपैयाँ पुग्ला । हाम्रो नगरपालिका र एउटा संस्थाले पीडितलाई घर बनाएर दिने सम्झौता गर्यौं । सोही योजना अनुसार करिब एक करोड ३० लाख रुपैयाँमा ५० वटा घर बनाउने निर्णय गर्यौं । काम पनि अगाडि बढ्यो । तर, अख्तियारमा उजुरी परेर कामलाई रोक्नु पर्याे । जबकी हामी यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न खोजिरहँदा पनि समस्या आउँछ । कसैले अनियमितता गर्यो भने उजुरी पनि गर्नुपर्छ । सबै दलहरूको एकता हुन आवश्यक छ । गलत नियत छ भने जोकोही पनि कारवाहीको दायरामा आउनु पर्छ । हुन त म आफैं मैले गरेको कामबाट सन्तुष्ट छैन । किनभने हाम्रो लक्ष्य अनुसार काम भएको छैन । कतिपय अवस्थामा कानुन तथा प्राविधिक कारण रोकिएर काम गर्न सकिएको छैन । यहाँ सम्भावनाको क्षेत्रहरू धेरै छन् । ती सम्भावनालाई चुम्नका लागि हामीले विभिन्न बटम लाइनको निर्माण गरेका छौं । हामीले यो डेढ वर्षभित्रमा एउटा जगको तयार गरेका छौं । त्यसको नतिजा आउँन बाँकी छ । हामीले अहिले नै नतिजा खोज्न थाल्यौं भने नतिजा देखिँदैन । हामीले गरेको कामको ३ वर्षभित्रमा नतिजा देख्न पाइन्छ । स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारी बिच एक किसिमको अन्तर बिरोध छ । यसलाई समाधान गर्नुपर्छ । कर्मचारीलाई उहाँहरूको व्यवस्था अनुसारको व्यवस्थापन गर्ने र कर्मचारीलाई काममा प्रभावकारी रूपमा लाउन सक्यो भनदेश विकासमा मद्दत पुग्छ । (टीकापुर नगरपालिका प्रमुख थारुसँगको कुराकानीमा आधारित)

‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ शुक्रबार देखि, अष्ट्रेलियाका २८ युनिभर्सिटीका प्रतिनिधि आउने

काठमाडौं । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ सञ्चालन हुने भएको छ । अष्ट्रेलियाका विश्वविद्यालयहरूमा नेपालका विद्यार्थीहरूलाई पठाउनका लागि विगत ३२ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच नेपालले शुक्रबार, माघ ५ गते, फेयर सञ्चालन गर्न लागेको हो । काठमाडौंको डिल्लीबजार स्थित आफ्नै कार्यालयमा ग्लोबल रिचले फेयर सञ्चालन गर्न लागेको जानकारी दिएको छ । फेयरमा एकैछाना मूनी अष्ट्रेलियाका २५ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुने विद्यार्थी र अभिभावकले विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्नेछन् । कार्यक्रममार्फत विद्यार्थीहरूलाई १०० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध हुने ग्लोबल रिचले जनाएको छ । कार्यक्रममा सहभागी भएमा अष्ट्रेलियामा लागु भएको नयाँ नियम र यसले पार्ने असरबारे समेत जानकारी पाइनेछ । साथै उच्च शिक्षा अध्ययनपश्चात कस्ता कस्ता कामका लागि अवसर आउँछन् भन्नेबारे समेत जानकारी पाउनेछन् । कार्यक्रममा सहभागीताका लागि कुनै पनि शुल्क लाग्दैन । ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयरमा विश्व स्तरका विश्वविद्यालयहरू जस्तै न्यू साउथ वेल्स युनिभर्सिटी, सिड्नी, युनिभर्सिटी अफ क्वीन्सल्याण्ड, युनिभर्सिटी अफ सिड्नी , युनिभर्सिटी अफ एडिलेड का प्रतिनिधिहरू सहभागी हुनेछन् । काठमाडौंमा मात्र नभएर ग्लोबल रिचले चितवन, बुटवल र पोखरामा समेत एजुकेसन फेयर सञ्चालन गर्दैछ । काठमाडौंमा माघ पाँच गते फेयर सञ्चालन गर्न लागेको ग्लोबल रिचले चितवनमा शनिबार, माघ ६ गते १० बजेदेखि ३ बजेसम्म फेयर सञ्चालन गर्नेछ । जसमा १४ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहने कम्पनीले जनाएको छ । यस्तै बुटवलमा आइतबार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म फेयर सञ्चालन हुनेछ । जसमा ९ वटाभन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुने कम्पनीले जनाएको छ । ग्लोबल रिचको पोखरा शाखाको कार्यक्रम सोमबार, माघ ८ गते बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म सञ्चालन हुनेछ । जसमा ११ वटाभन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् । विद्यार्थीहरूले अष्ट्रेलियामा आफूले अध्ययन गर्ने विषय, विश्वविद्यालय, त्यहाँ लाग्ने खर्च तथा अध्ययनपछि सिर्जना हुने रोजगारीका अवसर लगायत विविध विषयमा अन्तक्रिर्याबाट प्रस्ट हुन सक्नेछन् ।

५ महिनामा बैंकहरूको नाफा साढे २८ अर्ब, बिग मर्जरबिनै ठूला बैंकसँग प्रतिस्पर्धा गर्दै प्राइम बैंक

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा वाणिज्य बैंकहरूले साढे २८ अर्ब रुपैयाँ नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मंसिरसम्म २० वटा वाणिज्य बैंकले २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । ५ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । नबिल बैंकले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले २ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ६० करोड ९० लाख रुपैयाँ, प्राइम बैंकले १ अर्ब ९२ करोड ८९ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले १ अर्ब ८५ करोड १ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । हिमालयन बैंकले १ अर्ब ८० करोड ४९ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ४५ करोड १३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ४१ करोड १ लाख रुपैयाँ नाफा गरेका हुन् । यस्तै, एभरेष्ट बैंकले १ अर्ब ४० करोड ३२ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ३० करोड १५ लाख रुपैयाँ, स्टयान्डर्ड चार्टर्ड बैंकले १ अर्ब २५ करोड ६० लाख रुपैयाँ, नेपाल बैंकले १ अर्ब २१ करोड ३१ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ नाफा गरेका हुन् । लक्ष्मी सनराइज बैंकले ८९ करोड ८० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ७६ करोड २७ लाख रुपैयाँ, सिटिजन्स बैंकले ७४ करोड ३५ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले ७० करोड ८० लाख रुपैयाँ, सिद्धार्थ बैंकले ६२ करोड ३८ लाख रुपैयाँ र कृषि विकास बैंकले ४० करोड ३८ लाख ६० हजार रुपैयाँ नाफा गरेका हुन् ।

नेपाल बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल बैंकको ६४ औँ वार्षिक साधारण सभा आइतबार सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/८० को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको हो । त्यसैगरी, सभाले महालेखापरीक्षकको कार्यालयबाट पुस २९ गते प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदीप कुमार श्रेष्ठ, मधुवीर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।